भारत अनलाइन कक्षा: भारतीय शिक्षिकाले सयौँ गरिब विद्यार्थीलाई मोबाइल उपलब्ध गराइन्

तस्बिर स्रोत, Bharti Kalra
- Author, स्वामीनाथन नटराजन
- Role, बीबीसी विश्व सेवा
कोरोना महामारीको सुरुवातसँगै विश्वका धेरै विद्यालयहरू भर्चुअल माध्यमबाट सञ्चालन भए।
नयाँ प्रविधिका ल्यापटप र गुणस्तरीय इन्टरनेट सेवामा पहुँच भएकाहरूका लागि त यो गज्जबै भयो तर जसका लागि यी दुवै कुरा पहुँच बाहिर थिए उनीहरूको अवस्था के भयो?
संयुक्त राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ)का अनुसार भारतमा १५ लाख विद्यालयहरू बन्द हुँदा २४ करोड विद्यार्थीहरूको पढाइ प्रभावित भयो। जसको मुख्य कारण थियो हरेक चारमध्ये एक जना विद्यार्थीको मात्र इन्टरनेटमा पहुँच।
यो समस्या राम्रोसँग बुझेकी शिक्षिका भारती कालराले प्रविधिको कारण कोही पनि विद्यार्थी कक्षा लिनबाट नछुटुन् भनेर एउटा अभियान नै चलाइन्।
"नियमित कक्षा नभएको र हामीले पढाइलाई अनलाइनमा लगेको अवस्थामा पनि कक्षा १० र १२ मा हाम्रा शत प्रतिशत विद्यार्थीहरू पास भए," दिल्लीस्थित एक सरकारी कार्यालयका उप प्रधानाध्यापकले भने।
भारतीय शिक्षा प्रणालीमा कक्षा १० र १२को नतिजाले विद्यार्थीको शैक्षिक यात्रा तय गर्ने बताइन्छ।
तर चुनौतीबीच शत प्रतिशत नतिजा हासिल गर्न सहज थिएन।
कालराको विद्यालयमा रहेका २६०० विद्यार्थी मध्ये अधिकांश न्यून आय भएका परिवारिक पृष्ठभूमिबाट छन्।

तस्बिर स्रोत, Bharti Kalra
भारतमा कोरोनाभाइरस फैलँदै गएपछि कालरालाई लाग्यो अब कक्षाहरू अनलाइन माध्यमबाट हुनेछन्। तर उनका धेरै विद्यार्थी र अभिभावकहरू त्यसका लागि आवश्यक प्रविधिको पहुँच बाहिर थिए। उनले आफ्नो परिवार र साथीहरूसँग अनुनय गरेर सबैभन्दा कमजोर आर्थिक अवस्थाका विद्यार्थीहरूका लागि ३२१ वटा स्मार्टफोन जुटाउन सफल भइन्।
यति भएपछि विद्यार्थीहरूले फोन उठाएर पढ्न सक्छन् र विद्यालयले राम्रो नतिजा ल्याउँछ भन्नेमा उनी ढुक्क थिइन्। यो पहलका लागि यसै महिना गुरु दिवसका दिन उनी दिल्ली सरकारबाट सम्मानित पनि भएकी छन्।
आखिर के कुराले उनलाई आफ्नो जिम्मेवारीभन्दा माथि उठेर विद्यार्थीहरूको पढाइमा सहयोग गर्न प्रेरित गर्यो?
विद्यार्थीको परिवारमा भएको एउटा मृत्यु
गत जुलाई महिनामा महामारीका कारण विद्यालयहरू बन्द भएपछि कालरालाई कक्षाकोठामा हुने पढाइलाई दूर शिक्षामा रूपान्तरण गर्ने काम हेर्ने जिम्मेवारी दिइयो।
"मलाई शिक्षकहरूले ४० मध्ये जम्मा १० देखि १२ जना मात्रै अनलाइन कक्षामा आइरहेको बताए," उनी भन्छिन्।
विद्यार्थीहरूको कक्षा छुट्न नदिनका लागि समाधान खोजिरहेकी उनी एउटा दुख पाएको परिवारमा पुगिन्।
"मेरो एक जना विद्यार्थीले उनको बुबा पाँच दिन अघि बितेका कारण आफू स्मार्टफोन किन्न नसक्ने अवस्थामा पुगेको बताए," उनले सम्झिइन्।
ती छात्रको नाम रोहन कुमार थियो।

तस्बिर स्रोत, Bharti Kalra
घरको आयस्रोत एक्लै धानिरहेका उनका बुबा जोखिमका बीच पनि महामारीका समयमा सुरक्षा गार्डको काम गर्थे। दुर्भाग्यवश उनलाई कोभिड सङ्क्रमण भयो र ज्यान गुमाए।
भारतमा कोभिडका कारण ४ लाख ४३ हजार बढी मानिसहरूको मृत्यु भइसकेको छ। स्वतन्त्र अध्ययनहरूले दोस्रो लहरका समयमा कोभिडका कारण भएका कतिपय मृत्युको तथ्याङ्क सरकारसँग पनि नरहेको उल्लेख गरेका छन्।
"त्यो सुनेर म रातभरि सुत्न सकिनँ," कालराले भनिन्।
"मलाई अब यी आमाले कसरी परिवार सम्हाल्ने हुन् भन्ने चिन्ता भयो। त्यसैले चामल, दाल र तेल लगायतका अत्यावश्यक वस्तुहरू लगेर मैले उनीहरूलाई दिएँ।"
रोहन एउटा दुई कोठे घरमा आमा र भाइसँग बस्छन्। शिक्षक भएका नाताले पनि कालरालाई परिवारको दुखका बीच पनि रोहनले पढाइ निरन्तर गरिदिउन् भन्ने लागेको थियो।
"मैले ११० डलरमा नयाँ फोन किनेर रोहनलाई भोलिपल्टै लगिदिएँ। उनी धेरै नै खुसी भए," कालरा भन्छिन्।
त्यसको नतिजा राम्रै भयो। नयाँ स्मार्टफोनको मद्दतले रोहनले अनलाइन कक्षामार्फत् पढाइलाई निरन्तरता दिए। तर यो सुरुवात मात्रै थियो।
आर्थिक कठिनाइ

तस्बिर स्रोत, Rohan Kumar
महामारीका कारण धेरै व्यवसायहरू बन्द भएपछि न्यून आय भएका क्षेत्रमा काम गर्ने धेरै विद्यार्थीका अभिभावकले जागिर गुमाएका थिए।
"विद्यार्थीहरूले हामीलाई घरमा खाना खानै समस्या भइरहेको सुनाएका थिए। यस्तो अवस्थामा उनीहरूले स्मार्टफोन किन्न सक्ने अवस्थै थिएन," उनले भनिन्।
कालराले उनका शिक्षकहरूलाई सहयोग चाहिने आर्थिक अवस्थाका विद्यार्थीहरूको सूची तयार गर्न लगाइन् र सहयोगका लागि सामाजिक सञ्जालको सहारा लिएर परिवार साथीहरूसँग याचना गरिन्।
सबै विद्यार्थीहरूले एकै प्रकारको फोन सेट पाउने जानकारी गराउँदै कालराले मानिसहरूलाई एउटै मोडलको फोन किन्न प्रोत्साहित गरिन्।
परिवार र साथीहरूको सहयोग
परिवार र साथीहरूको सहयोगले कालराले फोन किन्न नसक्ने सबैलाई दुई महिनाभित्र फोन जुटाउन सफल भइन्।

तस्बिर स्रोत, Bharti Kalra
"निमोनियाले बितेका आफ्ना छोराको सम्झनामा अमेरिकामा बस्ने एक जना आफन्तले ५० वटा स्मार्टफोन पठाइदिए," उनी सुनाउँछिन्।
उनका भाइ र भतिजीले अभियान नै चलाएर १०० वटा फोन जुटाइदिए। अवकाशप्राप्त एक जना काकाले दुई वटा फोन दिए र अर्का पारिवारिक सदस्यले चलाएको गैर सरकारी संस्थाले ६० वटा फोन दियो। कालराका साथीहरू पनि अभियानमा जुटे।
"कतिपय विद्यार्थीहरू त सिम कार्ड र डेटा प्याक समेत किन्न नसक्ने अवस्थामा थिए। उनीहरूलाई मैले र विद्यालयका अरू शिक्षकहरूले यो पनि किनिदियौँ," कालराले सुनाइन्।
यसले परिवारमा एक जना विद्यार्थीलाई मात्रै सहयोग पुर्याइरहेको थिएन। उनीहरूले आफ्ना दाजुभाइ वा दिदीबहिनीहरूले पनि त्यही पनि मोबाइल प्रयोग गरेर अनलाइन कक्षाहरू लिइरहेका हुन्थे।
"केटाकेटीको हातमा यस्ता सामग्रीहरू पुग्यो र उनीहरूले त्यसलाई सकारात्मक काममा प्रयोग गरे भने पछाडि फर्केर हेर्नै पर्दैन। धेरैले मलाई उनीहरूले कक्षाभन्दा बाहिरको समेत धेरै कुरा सिक्न सफल भएको सुनाए," कालराले भनिन्।
किशोर अवस्थाका विद्यार्थीहरूले मोबाइलको दुरुपयोग गरेर नपढ्लान् कि भन्ने आशङ्का परीक्षाको नतिजाले गलत साबित गरिदियो। विद्यालयमा प्रथम भएका छात्र तिनै विद्यार्थीमध्ये एक थिए जसलाई पढाइमा निरन्तरताका लागि निःशुल्क मोबाइल दिइएको थियो।
ठूलो सपना
९० प्रतिशत नतिजा ल्याएर उत्तीर्ण भएका रोहनकुमारको लक्ष्य इन्जिनियरिङ पढेर एप डेभलपर बन्ने छ।
"मैले इन्टरनेटबाट धेरै कुरा सिक्ने मौका पाएँ। मैले शेयर बजार, सामाजिक सञ्जालबाट गरिने मार्केटिङ, डिजिटल मार्केटिङसहित धेरै कुरा सिकेँ," उनले सुनाए।

तस्बिर स्रोत, Bharti Kalra
उनका घरबेटीले दिएको वाइफाईको पासवर्ड रोहनकुमारलाई समय सान्दर्भिक उपहार सरह भयो। त्यसपछि अनलाइनहरूमा घण्टौँसम्म भिडियो हेरेर उनले धेरै कुरा थाहा पाए।
"मैले अनलाइनबाटै गर्न सकिने धेरै पढाइहरू पनि पाएँ जसले मेरो सीप र क्षमता वृद्धिमा सहयोग गर्यो। अनलाइन सिकाइले मेरो दृष्टिकोण नै बदलिदियो।"
उनी १० कक्षामा पढ्दै गरेका आफ्ना भाइलाई आफूले निःशुल्क पाएको मोबाइल दिन चाहन्छन्।
यही बीचमा रोहणकी आमाले रिसेप्सनिस्टको जागिर पनि पाएकी छन्। नर पनि उनको तलब रोहनको इन्जिनियर पढ्ने सपना पूरा गर्न अझै अपर्याप्त छ।
कालराले रोहनको यो सपनामा पनि सहयोगको पहल लिइन्।
"मैले उसलाई राम्रो कलेजमा भर्ना हुने कोसिस गर भनेकी छु। यसको शुल्क तिर्ने व्यवस्थाका लागि म कुनै उपाय भेटिहाल्छु नि," कालरा भन्छिन्।
शिक्षिकाको यो मेहनत देखेर उनका विद्यार्थीहरू उनीसँग धेरै आभारी छन्। सँगसँगै उनले पनि धेरै कुरा सिक्ने मौका पाएकी छन्।
"अब फेरि कस्तो चुनौती आउँछ त्यो भन्न सक्दिनँ तर मलाई के थाहा छ भने सामाजिक सञ्जालले स्रोतहरू जुटाउन धेरै सहयोग गर्न सक्छ। आशा गरौँ त्यो अवस्था नै नआओस्।"








