एसईई: परीक्षाफल प्रकाशित, कसरी हेर्ने नतिजा

एसईई परीक्षार्थी

तस्बिर स्रोत, RSS

राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख महिनामा लिइएको कक्षा १० को परीक्षाफल बुधवार प्रकाशित गरेको छ।

यसपालि पाँच लाखभन्दा बढी विद्यार्थीले माध्यमिक शिक्षा परीक्षा एसईईका लागि फारम भरेका थिए।

तीमध्ये करिब ४ लाख ९६ हजार परीक्षामा सहभागी भएका थिए। बोर्डका अनुसार १०३ जनाको परीक्षा रद्द भएको छ।

परीक्षा दिन फारम भर्ने छात्रा र छात्रको सङ्ख्या लगभग बराबर थियो।

अघिल्ला दुई वर्ष कोभिड सङ्क्रमणका कारण विद्यालयहरूले गरेका आन्तरिक मूल्याङ्कनकै आधारमा बोर्डले परीक्षाफल प्रमाणीकरण गरिदिएको थियो।

यसपालि विद्यार्थीहरूले सशरीर उपस्थित भएर परीक्षा दिएका थिए।

SEE examinees Nepal
RSS
यो वर्षको एसईईमा कति विद्यार्थी?

  • ५.१४ लाख कुल परीक्षार्थी

  • २,००० +परीक्षा केन्द्र

  • २,५७,९२४छात्रा

  • २,५७,०५३छात्र

स्रोत: neb.gov.np

देशभरिका करिब २,००० परीक्षा केन्द्रहरूबाट वैशाख ९ देखि २० गतेसम्म परीक्षा लिइएको थियो।

कस्तो छ नतिजा

यस वर्ष कति विद्यार्थीले कति जीपीए प्राप्त गरे?

  • ३.६० देखि ४ जीपीए ल्याउने ९ हजार ६३३
  • ३.२० देखि ३.६० सम्म ल्याउने ४१ हजार ६ सय २७
  • २.८० देखि ३.२० सम्म ल्याउने ६९ हजार ९ सय
  • २.४० देखि २. ८० सम्म ल्याउने ९० हजार ७ सय ८५
  • २.२० देखि २. ४० सम्म ल्याउने १ लाख १२ हजार ७ सय ३३
  • १.६० देखि २ सम्म ल्याउने १ लाख ५ सय ५४
  • १.२० देखि १.६० सम्म ल्याउने ४४ हजार ५ सय ६६
  • ०.८० देखि १.२० सम्म ल्याउने ३ हजार २ सय ८०

परीक्षा फारम भरेकामध्ये २२ हजार ५ सय ३६ जनाको ग्रेड प्रकाशित भएको छैन।

बोर्डका अध्यक्ष महाश्रम शर्माले उनीहरूमध्ये अधिकांशले परीक्षा नदिएको हुनसक्ने बताए।

उनले भने, "विगत दुई वर्षमा कोभिड महामारीका कारण विद्यालयहरूले पठाएको आन्तरिक मूल्याङ्कन अनुसार परीक्षाफल प्रकाशित गरिएको थियो। तर यसपालि भौतिक उपस्थितिमा भएको परीक्षाको नतिजा सार्वजनिक गरेका हौँ।"

"त्यसैले हामीले अहिलेको परीक्षाफललाई २०७५ सालको परीक्षाफलसँग तुलना गर्नुपर्ने हुन्छ। उक्त परीक्षाफलसँग तुलना गर्दा यसपालि राम्रो ग्रेड ल्याउने विद्यार्थीको सङ्ख्या धेरै देखिन्छ।"

राष्ट्रिय परीक्षा बोर्ड

शर्माका अनुसार यसपटकको परीक्षामा गणित विषयमा एप्लस ल्याउने विद्यार्थीको सङ्ख्या न्यून देखिएको छ।

गणितमा एप्लस ल्याउने विद्यार्थीको सङ्ख्या जम्मा ४ हजार ९ सय ५१ मात्र रहेको उनले बताए।

त्यस्तै अनिवार्य अङ्ग्रेजीमा १५ हजार ३ सय ९९, अनिवार्य नेपालीमा ७१ हजार ८ सय ४ र विज्ञान विषयमा ८ हजार ६ सय ५८ जनाले एप्लस ग्रेड ल्याएका छन्।

कसरी हेर्ने परीक्षाफल?

एसईईको परीक्षाफल विभिन्न वेबसाइट एवं एसएमएस तथा फोनबाट सोध्न मिल्ने आईभीआर सेवाहरूबाट प्राप्त गर्न सकिने जनाइएको छ।

वेबसाइटहरूः

  • राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय www.see.gov.np

एसएमएस (SMS) र आईभीआर (IVR):

एसएमएस सेवाअन्तर्गत विद्यार्थीले आफ्नो सिम्बल नम्बर निम्न शर्टकोड नम्बरमा पठाएर नतिजा हेर्न सक्छन्।

  • नेपाल टेलिकम (SMS/ IVR) प्रयोग हुने शर्टकोड - १६००
  • जानकी टेक्नोलोजी (SMS) प्रयोग हुने सर्टकोड - ३५००१
  • इजी सर्भिस (SMS) प्रयोग हुने सर्टकोड - ३४९४९
  • आकाश टेक (SMS) प्रयोग हुने सर्टकोड - ३१००३

१२ कक्षाको परीक्षाफल कहिले?

एसईईको नतिजा प्रकाशन भएलगत्तै बोर्डले १२ कक्षाको परीक्षाफल पनि प्रकाशन गर्ने तयारी गरिरहेको जनाइएको छ।

"कक्षा १२ को उत्तरपुस्तिका परीक्षण र संपरीक्षण हुने कुरा समानान्तर रूपमा भइरहेको छ," बोर्डका अध्यक्ष महाश्रम शर्माले भने।

एसईईको नतिजापश्चात् करिब एक-डेढ महिनामा १२ कक्षाको परीक्षाफल आउन सक्ने उनले बताए।

यो पनि हेर्नुहोस्

भिडिओ क्याप्शन सुरु हुँदैछ, खुट्टाले एसईई दिएका हरिप्रसाद बुढाथोकीको 'आफ्नै खुट्टामा उभिने सपना'