नेपाल समाज सेवा: आफू निरक्षर, अरू साक्षर बनून् भनेर करोडौँको दान

तस्बिर स्रोत, BBC
- Author, प्रकाश पन्त
- Role, सुर्खेत
दैलेखकी कमला मल्ललाई सानै छँदा असाध्यै पढ्ने चाहना थियो। त्यसबेला हप्ता दिनसम्म विद्यालय गए पनि त्यो समयमा छोरीलाई खासै पढाउने चलन नहुँदा आफूले पढ्न नपाएको उनी बताउँछिन्।
''त्यो बेला मैयाहरू (ठकुरीका छोरी) विद्यालय जानुहुन्न। पढ्न गए इज्जत जान्छ भन्थे। इज्जत जाने डरले गर्दा बुबा आमाले मलाई पढाउनु भएन, म जीवनभर निरक्षर रहेँ,'' ६९ वर्षीय मल्लले भनिन्।
मोबाइलमा उनी फोन उठाउन मात्र जान्दछिन्। कसैलाई फोन गर्नु परे अरूको सहायता लिन्छिन्।
आफ्नो चाहना अधुरै रहे पनि पढ्ने अरू केटाकेटीको चाहना पूरा गर्न उनले सुर्खेत बहुमुखी क्याम्पसलाई एक करोड तीन लाख रुपैयाँ दान दिएकी छन्।
उक्त रकममध्ये ७८ लाख रुपैयाँले नयाँ क्याम्पस भवन बनाइएको र विपन्न विद्यार्थीलाई सहयोग गर्न २५ लाख रुपैयाँको अक्षयकोष स्थापना गरिएको क्याम्पसले जनाएको छ।
'धेरै सम्पत्ति किन चाहियो?'
भारतीय सेनामा कार्यरत हुँदा श्रीमान्को कमाइबाट जोडेको सुर्खेत र कोहलपुरको जग्गा बेचेर मल्लले क्याम्पसलाई रकम उपलब्ध गराएकी हुन्।
बुबाको अंश नलिएरै दैलेख खरी गौराबाट सुर्खेत हुँदै कोहलपुर झरेका उनका श्रीमान्ले भारतीय सेनामा जागिर खाँदा दु:ख गरेर जग्गा जोडेका थिए।
''धन धेरै भएर हैन, मन लागेर सहयोग गरेँ। आफू मात्रै राम्रो र धनी भएर हुँदैन, सबैजना एकनासको हुँदा राम्रो हुन्छ,'' उनले थपिन्।
''क्याम्पसलाई पैसा नदिएर महल बनाएर पनि बस्न सक्थेँ। तर त्यसले मलाई खुसी हैन झन् दुखी बनाउँथ्यो कि।''

तस्बिर स्रोत, PRAKASH PANTA / BBC
तीन बर्ष अघि श्रीमान् बितेपछि अहिले कोहलपुरमा एक्लै बसिरहेकी उनी जति पैसा भए पनि छोडेरै जाने भएकोले धेरै सम्पत्तिको आवश्यकता नरहेको र आफूलाई खान बस्न ठिक्कैको सम्पत्ति भए पुग्ने बताउँछिन्।
''कोहलपुरमा दुई कोठाको घर छ। श्रीमान् बितेपछि यो घर पनि मेरा लागि धेरै भएको छ,'' उनले भनिन्।
थोरै बचेको जग्गा एक मात्र सन्तान छोरीलाई दिने सोच उनको छ।
दु:ख र सङ्घर्ष
सुर्खेतका सहवीर थापाले पनि जनज्योति माध्यमिक विद्यालय बड्डी चौरलाई २ करोड ५० लाख रुपैयाँ मुल्य बराबरको २१ रोपनी जग्गा दिएका छन्।
आफूले राम्रोसँग पढ्न नपाए पनि अरू पढाईबाट वञ्चित हुन नपरोस् भनेर निस्वार्थ रूपमा विद्यालयलाई सहयोग गरेको उनले बताए।
२०३६ सालको आन्दोलनमा सहभागी भएको आरोपमा प्रहरीले पक्राउ गर्न खोजेपछि भागेर भारत गएका थापा त्यहीँ भारतीय सेनामा भर्ती भएका थिए ।
जागिरको सिलसिलामा भारतका विभिन्न ठाउँमा बसेका उनी पढाइ छाडेर मजदुरीको लागि विद्यालय पोसाकमै भारत पुगेका विद्यार्थीसँगको भेटले आफूमा विद्यालयलाई सहयोग गर्नुपर्छ भन्ने भावना पलाएको बताउँछन् ।
''पढ्न छाडेर पैसा कमाउनकै लागि भारत नजाऊन्, गाउँमै राम्रो शिक्षा आर्जन गरेर आफ्नै खुट्टामा उभिन सक्षम होऊन् भनेर विद्यालयलाई जग्गा दिएँ,'' उनले भने।
उनका बुबा रत्नबहादुर थापा गाउँका मुखिया थिए। बुबाले जोडेको र आफैले जोडेको जग्गा उनले दान गरेका हुन्।
'जति सम्पत्ति भए पनि एकदिन छोडेर जानै पर्छ'
आफू निरक्षर र साधारण लेखपढ गर्न सक्ने भए पनि अरूको शिक्षाका लागि कमला र सहवीर जस्तै सुर्खेतका मोतीप्रसाद सापकोटा र जगन्नाथ भारतीले पनि क्याम्पस र विद्यालयलाई करोडौँ मूल्य पर्ने जग्गा र नगद रकम सहयोग गरेका छन्।
मध्य पश्चिम विश्वविद्यालयलाई एक दशकअघि ५१ लाख रुपैयाँ दिएका सापकोटा आफूले पढ्न नपाए पनि अरूलाई सहयोग गर्न पाउँदा खुसी छन् ।
''विश्वविद्यालय नहुँदा आफ्नै छोराछोरी पनि बाहिर गएर पढ्न थाले। खर्च बोक्नुपर्ने भयो,'' उनले भने।
''कर्णालीवासीका छोराछोरीले सुर्खेतमै उच्चशिक्षा पढून् भनेर अन्तर मनबाटै आफ्नो खर्च कटाएर विश्वविद्यालयलाई दिएँ।''
''कसैले कर लगाएर होइन। कसैले सिकाएर पनि होइन। स्व विवेकले पैसा दिएर विश्वविद्यालय स्थापनाको अगुवाइ गरेको हुँ।''

तस्बिर स्रोत, Prakash Panta
आफ्नो सहयोगबाट विश्वविद्यालय स्थापना हुँदा गर्व लागेको उल्लेख गर्ने सापकोटा पाँच पटक जिल्ला विकास समिति सुर्खेतको सभापति पनि भएका थिए ।
सापकोटाले १४ बर्ष अघि प्रतिमिटर २ लाख ५० हजार रुपैयाँ दरले २४ मिटर जग्गा बेचेर विश्वविद्यालयलाई नगद रकम दिएका थिए।
अहिलेको बजार भाउ अनुसार त्यो जग्गाको मुल्य झन्डै ७ करोड २० लाख रुपैयाँ हुन आउने उनका दाइका छोरा नारायण सापकोटा बताउँछन्।
उनी भन्छन्, ''त्यो बेला कान्छा बुबाले २ लाख ५० हजार रुपैयाँ प्रति मिटरका दरले बेचेको त्यो ठाउँको जग्गा अहिले प्रति मिटर ३० लाख रुपैयाँमा किनबेच भइरहेको छ।''

तस्बिर स्रोत, PRAKASH PANTA / BBC
घरबाटै चामल, पिठो ल्याएर उच्च शिक्षा हासिल गर्ने अवसर
उनी जस्ता मनकारी व्यक्तिहरूको योगदानले गर्दा सुर्खेतमा मध्यपश्चिम विश्वविद्यालय पनि स्थापना भयो।
अहिले घरबाटै चामल,पिठो ल्याएर आफ्नै ठाउँमा उच्चशिक्षा हासिल गर्ने अवसर विपन्न कर्णालीवासीका छोराछोरीले पाएका छन्।
विश्वविद्यालयमा कानुन विषय पढिरहेकी जाजरकोटकी विद्यार्थी ललिता घर्ती काठमाण्डू जानुपर्ने बाध्यता हटेर अहिले सुर्खेतमै आफ्नो रुचिको विषय पढ्न पाउँदा खुसीको अनुभूति भएको बताउँछिन्।
जति सम्पत्ति भए पनि एक दिन छोडेर जानै पर्ने भएकोले बाँचुन्जेल अरूको लागि केही गर्नुपर्छ भन्ने भावनाले प्रोत्साहित गरेर सहयोग गरेको यी मनकारी व्यक्तिहरू बताउँछन्।
'शिक्षा जस्तो ठूलो अरू केही रहेनछ'
पढाइ लेखाइ नहुँदा साह्रै समस्या खेपेको अनुभव सँगालेकी कमला मल्ल भन्छिन्, ''त्यही पीडा सम्झेर छोरी र नातिनालाई पनि पढाएँ, अनि अरूलाई पनि पढ्न सघाएँ।''
मल्लले दिएको नगदबाट विद्यार्थी पढाउन र क्याम्पस सञ्चालन गर्न ठूलो टेवा पुगेको सुर्खेत बहुमुखी क्याम्पसका प्रमुख माधवप्रसाद खनाल बताउँछन्।
''त्रिभुवन विश्वविद्यालयले विद्यार्थीलाई छात्रवृत्ति दिन छाडेको ७/८ वर्ष भयो। यस्तो अवस्थामा गरिब तथा जेहेन्दार विद्यार्थीलाई सहयोग गर्न सकेका थिएनौँ,'' क्याम्पस प्रमुख खनालले बीबीसीसँग भने।
''क्याम्पसको एउटा भवन पनि निकै जीर्ण हुँदा उक्त भवनमा पठनपाठन हुँदैनथ्यो। मल्लले दिएको रकमबाट भूकम्प प्रतिरोधी चार कोठे भवन निर्माणपछि अहिले २८० विद्यार्थीले अध्ययन गर्न पाएका छन्। बर्सेनि २५ जना विपन्न विद्यार्थीलाई पढ्न सहयोग पुगेको छ।''

तस्बिर स्रोत, PRAKASH PANTA / BBC
परिवारले गर्व गर्ने ठाउँ
विगतमा थुप्रै व्यक्तिहरूले आफैले जग्गा र पैसा दिएर कर्णालीका विभिन्न ठाउँमा विद्यालय स्थापना गरेको पाइन्छ।
खेती किसानी गरेर जोडेको झन्डै पाँच-६ करोड मूल्य पर्ने साढे तीन कट्ठा जग्गा दिएर गाउँमा विद्यालय खोलेका सुर्खेतका जगन्नाथ भारतीका छोरा बलभद्र बुबाकै योगदानले गर्दा अहिले गाउँ, समाजबाट अमूल्य सम्मान, इज्जत र प्रतिष्ठा मिलेको बताउँछन्।
''आफू अनपढ भए पनि बुवाले जग्गा दिएर विद्यालय खोल्नुभयो। सबैका छोराछोरीले गाउँमै पढ्न पाए। यो देख्दा बुबाको काम प्रति गर्व लाग्छ,'' उनले थपे।
गाउँमा एउटा पनि विद्यालय नहुँदा १८ बर्ष अघि वीरेन्द्रनगरमा जगन्नाथले जग्गा दिएर गाउँलेको लागि विद्यालय खोलेका थिए।
सबैका लागि सुविधा
मनकारी दाताहरूले गरेको सहयोगले सबै वर्गका विद्यार्थीका लागि सुविधा दिएको छ।
विगतमा धर्म कमाइने मान्यता राखेर यस्ता सहयोग हुने गरेको पाइन्छ। महायज्ञ लगाएर कतिपय विद्यालय र क्याम्पसको लागि आर्थिक सहयोग र जग्गाको जोहो गर्ने प्रचलन अहिले पनि छ।
तर व्यक्तिगत रूपमा आउने सहयोग भने प्रतिष्ठासँग जोडिएको पाइन्छ।
विद्यालय मात्र नभएर यो क्षेत्रमा कतिपयले अस्पताललाई करोडौँका स्वास्थ्य उपकरण उपलब्ध गराएका छन्।








