साढे दुई महिनादेखि पानीमुनि बसिरहेका छन् अमेरिकी प्राध्यापक

एक अमेरिकी अनुसन्धानकर्ताले 'डिप्रेसराइजेशन'बिनै अर्थात् चाप नघटाईकनै सबैभन्दा लामो समय पानीमुनि बिताएर नयाँ विश्वकीर्तिमान कायम गरेका छन्।

जोसेफ डिटुरीले फ्लोरिडास्थित की लार्गोसमा एउटा ३० फीट गहिरो लगूनको पीँधमा ७४ दिनसम्म बसेर पुरानो कीर्तिमान भङ्ग गरेका हुन्।

उनी अझै त्यहीँ बसिरहेका छन् र तत्काल बाहिर निस्किने उनको योजना छैन। उनले आइतवार आफू जूल्स अन्डरसी लजमा कम्तीमा १०० दिन बस्ने बताए।

"नयाँ खोजको उत्सुकताले मलाई यहाँ ल्याएको हो," उनले भने।

"पहिलो दिनदेखि नै मेरो उद्देश्य भावी पुस्तालाई प्रेरणा दिने, पानीमुनिको जीवन अध्ययन गर्ने वैज्ञानिकहरूको अन्तर्वार्ता गर्ने र चरम वातावरणमा मानव शरीरले कसरी काम गर्छ भन्ने अध्ययन गर्नु रहेको छ।"

यसअघि सामान्य चापकै अवस्थामा पानीमुनि धेरै समय बस्ने विश्वकीर्तिमान ७३ दिनको थियो।

सन् २०१४ मा की लार्गो लजमा दुई प्राध्यापकहरूले उक्त कीर्तिमान बनाएका थिए।

पन्डुब्बीमा भन्दा फरक उक्त लजले जमिनमुनि बढ्ने चापलाई सन्तुलन गर्न कुनै प्रविधि प्रयोग गर्दैन।

अध्ययन

प्राध्यापक डिटुरी 'डा. डीप सी' उपनामले परिचित छन्।

उनी गत मार्च १ देखि उक्त लगूनको पीँधमा अवस्थित जूल्स अन्डरसी लजको एउटा सानो कोठामा बस्न थालेका हुन्।

त्यस ठाउँलाई विज्ञानकथामा आधारित पुस्तक 'ट्वेन्टी थाउजन्ड लीग्ज अन्डर द सी' का लेखक जूल्स भर्नीको नाम दिइएको छ।

'प्रोजेक्ट नेप्ट्यून वन हन्ड्रेड' नाम दिइएको उक्त परियोजनाका लागि यूनिभर्सिटी अफ साउथ फ्लोरिडामा प्राध्यापन गर्ने डिटुरिले लामो समय चरम चापमा रहँदा मानव शरीरले कस्तो प्रतिक्रिया जनाउँछ भनी अध्ययन गरिरहेका छन्।

अनुसन्धानकर्ताहरूले ५५ वर्षे डिटुरीको शारीरिक स्वास्थ्यका साथै लामो समयसम्म त्यसरी एक्लिएर र गुम्सिएर बस्दाको मनोवैज्ञानिक प्रभावका बारेमा चरणबद्ध चिकित्सकीय परीक्षण गर्दै अध्ययन गरिरहेका छन्।

पानीमुनिबाटै पढाउँछन्

यसरी पानीमुनि बस्दा पनि उनी प्राध्यापक उत्तरदायित्वबाट विमुख भएका छैनन्।

उनले त्यहीँबाटै बायोमेडिकल विषय पढाइरहेको यूनिभर्सिटी अफ साउथ फ्लोरिडाले जनाएको छ।

डिटुरीले २८ वर्ष जलसेनामा काम गरेका थिए।

आफूलाई व्यस्त राख्नका अहिले उनी प्रत्येक दिन बिहान ५ बजे उठेर व्यायाम गर्छन्।

उनी अण्डा र स्यामन माछाजस्ता अत्यधिक प्रोटीन हुने खानेकुराहरू टन्न खान्छन्। उनी माइक्रोवेभ प्रयोग गरेर ती खाद्यपदार्थ तताउँछन्।

पानीमुनिको उनको बसाइ अभूतपूर्व बनेको छ। यद्यपि उनी जमिनमा गरिने केही गतिविधिमा फर्किन पनि उत्सुक छन्।

"जमिनमा नहुँदा साँच्चिकै मैले सबैभन्दा अभाव महसुस गर्ने भनेको घाम हो," उनले समाचारसंस्था एसोसिएटेड प्रेससँग भने।