रोबोटलाई आँखा झिम्काउन सिकाउनु जति कठिन त्यति नै महत्त्वपूर्ण

    • Author, क्रिस्टिन रो
    • Role, व्यापारको प्रविधि संवाददाता

म पहिलो पटक एउटा रोबोटसँग ड्रम बजाउँदै छु

म आइकब नामक मानवजस्तै देखिने एक मायालु रोबोटको अघिल्तिर बसेको छु। हामी दुवैसँग आ-आफ्नै बाकस र छडी छ। प्रकाशको सङ्केतसँग ताल मिलाउँदै हामीले त्यस बाकसलाई छडीले हिर्काउनु पर्ने छ। तर म त्यस रोबोटलाई पनि हेर्दै छु र उसले मलाई हेरिरहेको बारे पनि सचेत छु।

यो 'ड्रम बाजा' बजाउने अभ्यास उस्तै काम गर्ने रोबोटको उपस्थितिले मानिसको व्यवहारमा कसरी असर पार्छ भन्ने परीक्षण गर्न आयोजना गरिएको हो।

यो जेनोआको इटालियन इन्स्टिच्युट अफ टेक्नोलोजी अन्तर्गतको अनुसन्धान समूह कग्निटिभ आर्किटेक्चर फर कोलाबोरेटिभ टेक्नोलोजिज ‘कनट्याक्ट’ले गरेको मानव-रोबोट अन्तरक्रियाको अन्य थुप्रै प्रयोगहरू मध्ये एक हो।

मलाई कोठाको बत्ती र त्यहाँ रहेका अन्य मानिसहरूको बारेमा थाहा भए पनि मेरो ध्यान आइकबको गाढा सेतो आँखाको पर्दामा आकृष्ट भइरहेको छ।

जब रोबोट हरेक केही सेकेन्डमा आँखा झिम्काउँछ तब एक खालको आवाज सुनिन्छ। र, यो बच्चा जस्तो देखिने रोबोटको आँखा भावपूर्ण र साबिकभन्दा ठूला भएकाले यसको हेराइ आकर्षक छ।

"आँखा झिम्काउनुलाई सुरक्षात्मक गतिविधि र आँखालाई सुख्खा हुनबाट जोगाउनसँग सम्बन्धित एक शारीरिक कार्य मात्र हो भन्ने ठानिन्छ। यसले पारस्परिक अन्तरक्रियामा पनि महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ," फिनल्याण्डको ट्याम्परे विश्वविद्यालयकी मनोविज्ञान अनुसन्धानकर्ता हेलेना किइलाभ्वुरी भन्छिन्।

मान्छेको आँखा झिम्काइले ध्यानाकर्षण गर्नुका साथै र भावनात्मक अभिव्यक्ति दिने गर्छ। गैर-मौखिक सञ्चारको माध्यमको रूपमा यसले धेरै कुराहरू व्यक्त गर्छ जुन हामी सचेत रूपमा थाहा पाउँदैनौँ। उदाहरणका लागि कुराकानीमा कसले बोल्ने भन्ने कुराको जनाउ पनि कहिले काहीँ आँखा झिम्काउनुले बुझाउँछ।

त्यसैले यो धेरै सामाजिक सङ्केतहरू मध्ये एक हो जुन मानिसहरूले त्यसको बारे सचेत नभईकन नै निरन्तर आदानप्रदान गर्छन्।

त्यसैले सामाजिक रोबोटविद्हरूले मानिसको आँखा झिम्काइको शारीरिक र मनोवैज्ञानिक गुणहरू किन रोबोटसँग मेल खुवाउनु उपयोगी हुन सक्छ भनेर बुझ्नको लागि अध्ययन गरिरहेका छन्।

"मानव व्यवहारमा आँखा झिम्काउनुको थुप्रै महत्त्व भएका कारणले गर्दा, रोबोटहरूले आँखा झिम्काउनाले उनीहरूको मान्छेसँगको समानता उल्लेखनीय रूपमा बढ्न सक्ने अनुमान गर्न सकिन्छ। फलस्वरूप यसले मानव-रोबोट अन्तरक्रियालाई सहज बनाउन सक्छ," किइलाभ्वुरी भन्छिन्।

"रोबोटले राम्रोसँग आँखा झिम्क्याउँदा मानिसहरूले उसको चरित्र महसुस गर्छन्," ह्यान्सन रोबोटिक्सको नेतृत्व गर्ने डेभिड ह्यान्सनले भने।

कनट्याक्टले इटलीमा १३ वर्षभन्दा माथिका र वयस्कसँग गरेको एक अनुसन्धानले, दुवै समूहले आँखा झिम्काउने रोबोटहरू बढी मन पराएको देखाउँछ। त्यहाँ कनट्याक्टको शाखा नेतृत्व गर्ने एलेसेन्ड्रा स्क्युटीका अनुसार आँखा झिम्काउन नसक्ने रोबोटले मानिसमा आफूलाई त्यसले एकटकले हेरिरहेको हो की भन्ने खालको प्रायः अप्रिय छाप छोड्न सक्छ।

मानिसले प्राकृतिक तवरमा आँखा झिम्काउने रोबोटलाई बढी बुद्धिमान ठान्छन्। र रोबोटको बौद्धिकता मानिसहरू रोबोटमा निर्भर हुने परिस्थितिहरू जस्तै, ट्रेन स्टेसनमा जानकारी दिने लगायतका विभिन्न कार्यहरूमा महत्त्वपूर्ण हुन्छ।

प्राकृतिक देखिने झिम्काइका विविध फाइदाहरूको बाबजुद यसलाई रोबोटहरूमा समाहित गर्न (अनुहारहरूको लागि स्क्रिन डिस्प्ले भएका अवतार र रोबोटहरू बाहेकको हकमा) प्राविधिक रूपमा चुनौतीपूर्ण छ।

"आँखाको झिम्काइ मानवीय चालहरू मध्ये एक सूक्ष्म गतिविधि हो। त्यसैले यी चालको नक्कल गर्न सक्ने संयन्त्रहरू उत्पादन गर्न निकै उन्नत प्रविधि आवश्यक पर्छ," किइलाभ्वुरीले भनिन्।

उदाहरणका लागि ‘इन्जिनियर्ड आर्ट्स’ नामक कम्पनीका रोबोटविद्हरूले महँगो, एअरो स्पेस-ग्रेड मोटरहरू प्रयोग गर्छन्। साथै रोबोटहरूको नियन्त्रणका लागि आफ्नै विद्युतीय उपकरणहरू बनाउँछन्।

विशेष गरी, ह्यान्सन रोबोटिक्सका ह्यान्सन भन्छन्, "आँखा झिम्काउँदा छालाको सतहलाई चलाउने मोटरहरूको गति नियन्त्रण साँच्चै चुनौतीपूर्ण छ र आँखा झिम्काउँदा प्राकृतिक देखिने बनाउनु पनि उत्तिकै चुनौतीपूर्ण छ। साथै कृत्रिम आँखाका पर्दाहरू र आँखाको माथिल्लो भाग बीचको घर्षण कम गर्नु अर्को चुनौती हो।"

यहाँ मोटर सञ्चालित झिम्क्याइको गति र त्यसले निकाल्ने आवाजबीचको हेरफेर अर्को मुद्दा हो। कन्ट्याक्टका वरिष्ठ प्राविधिक फ्रान्सेस्को रियाका अनुसार आइकब रोबोटमा कम आवाज निकाल्ने मोटरको प्रयोग भएमा त्यसले आँखा झिम्काउँदा निस्कने आवाजलाई कम गर्न सकिन्छ। तर त्यसो गर्दा देखिने सुस्त गतिले रोबोटलाई निद्रा लागेको वा बिरालो जस्तो देखाउने उनले बताए।

आइकबको क्यामेरा आँखाको पछाडि अवस्थित भएकोले सुस्त आँखा झिम्काइले उसले सदृश्य जानकारी लिने क्षमता गुमाउने जोखिम रहन्छ। "दृश्यको हकमा उसले दुई फ्रेम गुमाउनु ठूलो समस्या होइन तर दश फ्रेम गुमाउन थाल्यो भने समस्या हुन्छ," रिया भन्छन्।

"अर्को चुनौती सही समय र झिम्काइको अवधि हो," किइलाभ्वुरीले थपिन्।

कुनै पनि व्यक्तिले झुटो बोल्दा जसरी आँखा झिम्काउने गतिलाई परिवर्तन गर्छन् त्यसरी आँखा झिम्काइका विभिन्न कार्यहरूमा आँखाका पर्दाको गतिशीलताका साथै विभिन्न भावनात्मक अवस्थाहरू समावेश गर्छ।

"कुनै अवस्थामा प्राकृतिक र स्वाभाविक रूपमा आँखा झिम्काउने कार्य वा झिम्काउन लाग्ने समयबाट विचलित भएको खण्डमा रोबोटलाई असहज लाग्न सक्छ," उनले भनिन्।

कन्ट्याक्ट समूहले एउटा सफ्टवेयर प्रोग्राम प्रयोग गर्छ जसले आंशिक रूपमा एक र दुई पटक आँखा झिम्किनु बीचको अन्तराललाई अनियमित बनाउँछ। किनकि, निश्चित रूपमा आँखा झिम्कँदा त्यो प्राकृतिक देखिँदैन।

डिज्नी रिसर्चमा रोबोटविद्हरू फिल्मी पात्रको एनिमेशन बनाउने एनिमेटेरहरूसँग मिलेर यथार्थपरक रोबोटिक हेराइको खाका बनाउन जुटिसकेका छन्। यस समूहको उद्देश्य आँखाको हेराइमा केन्द्रित रहेर निकै सूक्ष्म भावना व्यक्त गर्ने प्रणाली विकास गर्नु हो। यस्तो प्रणालीले एनिमेटरहरूलाई पात्रमार्फत भावना व्यक्त गर्न सहज हुने बताइएको छ।

"शरीरको अन्य चालबाट अलग्याएर आँखाको ढकनीको चाल अध्ययन गरी हामी विशिष्ट व्यवहार र सूक्ष्म विवरणमा मिहिन तरिकाले केन्द्रित हुन सक्छौँ," डिज्नी रिसर्चका अनुसन्धाता वैज्ञानिक जेम्स केनेडीले भने।

उनीहरूले रोबोट सेन्सिङ् र आँखाको हेराइ नियन्त्रण गर्ने प्रणालीको पेटेन्ट दर्ता गराएका छन्। यसमा रोबोटको छातीमा अवस्थित क्यामेराले खिचेको फोटो प्रशोधन गर्ने सफ्टवेयर, र आँखाको ढकनीलाई खुल्न वा बन्द गर्न सन्देश दिने प्रणाली समाविष्ट छ।

केनेडीका अनुसार यस अनुसन्धान अझै प्रयोगात्मक चरणमा छ र यसको प्रयोग डिज्नीको कुनै पनि थीम पार्कमा गरिएको छैन। "हाम्रो उद्देश्य कुनै एक कार्य जस्तै आँखाको ढकनीको चालमा केन्द्रित हुनु हो ताकि हामीले यथार्थपरक र विश्वासयोग्य चाल विकास गर्न सकौँ। यस्तो चाल प्रयोग गरेर बनेका रोबोटहरू सहजै मानिसहरूसँग घुलमिल हुने विश्वास हामीले राखेका छौँ"

आँखाको हेराइमा आधारित प्रणालीमा थप निखारता ल्याउनुपर्ने भने हुनसक्छ ताकि लामो र नजिकबाट भएका अन्तर्क्रियाहरू विश्वासयोग्य र यथार्थपरक देखिउन्‌।

अर्को सामान्य चुनौती भने मानवजस्तै देखिने रोबोटहरूले कुराकानीका क्रममा मानिसले जस्तै तादात्म्यताका साथ कसरी आँखा झिम्क्याउँछन् भन्ने हुन सक्छ। यस्ता कतिपय चुनौतीहरू रोबोटविद्हरूका लागि अद्भुत हुन सक्छन्। आम मनोरञ्जन संस्कृतिमा निकै बढाइचढाइका साथ निकै सहजरुपमा मानवजस्तै देखिने रोबोटहरू देखाइन्छन्। तर यथार्थमा आँखा झिम्क्याउने जस्तो सानो चाल प्राकृतिक तवरले देखाउनु आफैमा ठूलो चुनौती हो।

कहिलेकाहीँ सामान्य सोचिने आँखा झिम्क्याउने जस्तो सानो कार्य नक्कल गर्न खोज्दा "यो कार्य कति जटिल र यसमा कति सूक्ष्म चालहरू समाविष्ट छन् भनेर उजागर हुन्छ", केनेडी थप्छन्।

"वास्तवमा यहाँनिर नै हामीलाई थप अन्वेषण र खोजका निम्ति ठूलो अवसर छ।"