मिर्गौला बेच्न 'विवश' म्यान्मारका ग्रामीण बासिन्दाको पीडा

    • Author, बीबीसी बर्मिज

"मलाई केवल एक घर किन्नु थियो र ऋण तिर्नु थियो – त्यसैले मैले मिर्गौला बेच्ने निर्णय गरेँ," म्यान्मारका एक किसान जेयाले भने।

सन् २०२१ मा भएको सत्तापलटपछि चर्किएको गृहयुद्धका माझ म्यान्मारमा महँगी अकासियो। आफ्नो परिवारमा हातमुख जोर्न उनलाई गाह्रो हुन थाल्यो र उनी ऋणमा डुबे।

उनको परिवार सासूको घरमा बस्थ्यो। देशको सबैभन्दा ठूलो सहर याङ्गोनबाट केही घण्टा पर कच्ची बाटो पुगेको एक गाउँमा रहेको कच्ची घरमा उनीहरूको बास थियो।

पहिचान जोगाउनका निम्ति छद्मनाम दिइएका जेयाले एउटा मिर्गौला बेचेका केही स्थानीय मानिस चिन्दथे। "ती मानिस स्वस्थ नै देखिन्थे," उनले भने।

त्यसपछि उनले सोधपुछ गर्न थाले। भारत पुगेर मिर्गोला बेचेको बीबीसी बर्मिजलाई बताउने उनी सो क्षेत्रका आठ जनामध्ये एक हुन्।

अवैध अङ्ग व्यापार एशियाभरि फैलिएको समस्या हो। जेयाको कथाले यो कसरी हुने गर्छ भन्ने देखाउँछ।

बिक्रीको सहमति

उनले चाँडै नै एक 'दलाल' फेला पारे।

उनका अनुसार ती व्यक्तिले मेडिकल परीक्षणहरू गराउन सघाए अनि केही हप्तापछि सम्भावित क्रेताका रूपमा एक बर्मेली महिला फेला परेको बताए। साथै उनले दुवै जना शल्यक्रियाका निम्ति भारत जान सक्ने बताए।

मानवअङ्गको खरिदबिक्री म्यान्मार र भारत दुवै देशमा अवैध हो।

भारतमा यदि दाता र बिरामी निकट आफन्त होइनन् भने त्यस्तो अङ्गदानको मानवीय वा परोपकारी नियत भएको स्पष्ट पार्नुपर्छ र दुईबीचको सम्बन्ध पनि बताउनुपर्छ।

जेयाका अनुसार ती दलालले एउटा नक्कली कागजात पनि बनाइदिए। म्यान्मारमा परिवारका सदस्यहरूबारे उल्लेख गरिएको कागजात हरेक परिवारसँग हुनुपर्छ।

"ती दलालले मलाई उक्त महिलाको परिवारको सदस्य उल्लेख गरेर कागत बनाए," जेयाले भने।

जेयाले विवाहबाट गाँसिएको नाताको मानिसलाई मिर्गौला दान दिन लागेको जस्तो कागत दलालले बनाए – "रगतको नाता होइन तर अलि परको नाता।"

त्यसपछि ती दलालले याङ्गोनमा उक्त महिलालाई भेट्न लगे। अनि त्यहाँ पुगेपछि डाक्टर भनेर चिनाइएका अर्का व्यक्तिले थप कागजातहरू बनाइदिएको अनि यदि निर्णयबाट पछि हटेमा जेयाले थुप्रै पैसा तिर्नुपर्ने धम्की दिइको उनले सुनाए।

बीबीसीले ती व्यक्तिसँग पछि सम्पर्क गर्दा तिनले आफ्नो भूमिका भनेको बिरामी उक्त शल्यक्रियाका निम्ति तयार रहे वा नरहेकोबारे यकिन गर्नु मात्र रहेको र दातासँगको सम्बन्ध जाँच गर्नु नरहेको बताए।

जेयाका अनुसार उनलाई ७५ लाख म्यान्मारी क्याट दिइने भनिएको थियो। त्यो भनेको १७ सयदेखि २७ सय अमेरिकी डलरबीच हुन आउँछ – कू भएयता म्यान्मारमा अनौपचारिक विनिमय दर निकै तलमाथि भइरहन्छ।

त्यसपछि उनीहरू हवाई मार्गबाट उत्तर भारत पुगे। ठूलो अस्पतालमा शल्यक्रिया गरियो।

भारतमा विदेशी नागरिकहरूको अङ्ग प्रत्यारोपणलाई सम्बन्धित अस्पताल वा स्थानीय निकायले तोकेको समितिले स्वीकृति दिनुपर्छ।

जेयाले उनलाई अनुवादकको सहारामा करिब चार जनाले अन्तर्वार्ता लिएको बताए।

"उनीहरूले मलाई राजीखुसीले मिर्गौला दान गर्न लागेको हो वा दबावमा भनेर सोधेका थिए," उनले भने।

उनले बिरामी महिला आफ्नो नातेदार भएको बताएको र त्यसपछि प्रत्यारोपण गर्न स्वीकृति मिलेको बताए।

जेयाले शल्यक्रिया अगाडि आफूलाई बेहोस बनाएकोसम्म सम्झिएका छन्।

"शल्यक्रियापछि कुनै ठूला समस्या आएनन्। तर हिँडडुल गर्दा पीडा हुन्थ्यो," आफू एक साता अस्पतालमै बसेको उनले बताए।

'नक्कली आमा'

अर्का दाता म्यो विन (असली नाम होइन)ले पनि नचिनेको बिरामी आफ्नो नातेदार भएको भान पारेको बीबीसीलाई बताए।

"दलालले एक टुक्रा कागज दिएको थियो। त्यसमा लेखिएका कुरा रट्नुपरेको थियो," उनले भने। बिरामीले विवाह गरेको व्यक्ति आफ्नो निकट नातेदार भएको बताउन आफूलाई भनिएको विनले बताए।

"मेरो मामिला हेरिरहेका व्यक्तिले मेरी आमासँग सोधपुछ गर्छु भने। तर दलालले पहिले नै मेरी नक्कली आमा खडा गरिसकेका थिए," उनले भने। अनि ती नक्कली आमासँग फोन गर्दा तिनले उनकै राजीखुसीमा नातेदारलाई नै मिर्गौला दान दिन लागेको भनेर बताइदिएको उनले बताए।

म्यो विनलाई पनि जेयालाई जति नै रकम दिने भनिएको तर त्यसलाई 'परोपकारी दान'को सङ्ज्ञा दिइएको र त्यसको १० प्रतिशत दलाललाई दिनुपर्ने भनिएको उनले बताए।

दुवै जनाका अनुसार वाचा गरिएको रकमको एकतिहाइ उनीहरूलाई सुरुमै दिइयो। शल्यक्रिया गर्न शल्यक्रियाकक्षमा पुग्दा पनि आफ्नो दिमागमा यही विषय खेलिरहेको म्यो विन सम्झन्छन्, "मैले तिनको पैसा लिइसकेको हुनाले यो मैले गर्नैपर्छ भन्ने लाग्यो।"

आफू ऋणमा डुबेको अनि पत्नीको औषधोपचार खर्च धान्न गाह्रो भएकाले 'विवश' भएर यसो गर्नुपरेको उनी बताउँछन्।

म्यान्मारमा सैन्य कू भएयता बेरोजगारी बढेको छ। विदेशी लगानीकर्ता भागेका छन्। सन् २०१७ मा जनसङ्ख्याको एकचौथाइ गरिबीमा बाँचिरहेका थिए – तर सन् २०२३ मा आइपुग्दा यो परिमाण जनसङ्ख्याको आधामा पुगेको संयुक्त राष्ट्रसङ्घको विकास कार्यक्रम यूएनडीपीले जनाएको छ।

मिर्गौला बिक्री गर्नु गैरकानुनी काम भएको आफूलाई दलालले नबताएको म्यो विनले भने। "त्यसो भनेको भए मैले बेच्ने थिइनँ। मलाई जेल पर्छु कि भन्ने डर छ," उनले भने।

पहिचान जोगाउन अनि अन्तर्वार्ता दिएकाहरूको सुरक्षाका निम्ति बीबीसीले यी व्यक्ति तथा संस्थाको नाम लिएको छैन।

पहिचान लुकाएर बोलेका म्यान्मारका अर्का व्यक्तिले करिब १० जना मानिसलाई भारतमा शल्यक्रिया गराएर मिर्गौला किन्न वा बेच्न आफूले सघाएको बीबीसीलाई बताए।

उनले मानिसहरूलाई मध्यम्यान्मारस्थित मान्डले सहरमा रहेको 'एजेन्सी'मा सिफारिस गर्ने गरेको र त्यसले बाँकी सहजीकरण गर्ने गरेको बताए।

"दाताहरूबारे चिन्ता नलिनोस्," उनले भने, "आफ्नो मिर्गौला बेच्न आतुर मानिसहरूको लामै सूची हामीसँग छ।"

अपरिचितहरूबीच नातासम्बन्ध देखाउन नक्कली कागजातहरू बनाइने उनले पनि बताए। यस्तो काम गर्दा पैसा कति पाइन्थ्य्यो भनेर सोध्दा ती व्यक्तिले जबाफ दिएनन्।

भारतमा पक्राउ

सन् २०१० यता विश्वभरि मानव अङ्ग प्रत्यारोपण करिब ५० प्रतिशतले बढेको र अहिले वार्षिक डेढ लाख त्यस्ता शल्यक्रिया हुने गरेको विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले जनाएको छ। तर मागको तुलनामा १० प्रतिशत मात्र अङ्ग आपूर्ति हुन सकेको उसले बताएको छ।

मानव अङ्गको बेचबिखन लगभग सबै देशहरूमा अवैध हो र यसको मापन गर्न गाह्रो छ। सन् २००७ मा डब्ल्यूएचओले प्रत्यारोपणको ५-१० प्रतिशत अवैध ढङ्गले हुने गरेको अनुमान गरेको थियो तर त्यसको वास्तविक सङ्ख्या अझै धेरै हुन सक्ने बताइएको थियो।

गरिबीका कारण बाध्यतावश हुने अवैध मिर्गौला बिक्री हालैका वर्षहरूमा नेपाल, पाकिस्तान, इन्डोनेशिया, अफगानिस्तान, भारत र बाङ्ग्लादेशसहित एशियाभरि देखा परेको छ।

मेडिकल पर्यटन वा औषधोपचारका लागि गरिने यात्राका लागि भारत लामो समयदेखि प्रमुख गन्तव्य बन्दै आएको छ। त्यहाँ मिर्गौला बिक्रीको चिन्ता पनि बढेको छ।

गत जुलाईमा भारतीय प्रहरीले मिर्गौला बेचबिखनमा लागेको गिरोहसँग सम्बन्धित सात जना पक्राउ परेको जनाएको थियो, जसमा एक भारतीय चिकित्सक र उनकी सहयोगी पनि थिए।

उक्त गिरोहले गरिब बाङ्ग्लादेशीहरूलाई मिर्गौला बेच्नका लागि उपयोग गरेको र त्यसका लागि नक्कली कागजात तयार पार्ने गरेको प्रहरीले आरोप लगाएको थियो।

दिल्लीको प्रतिष्ठित इन्द्रप्रस्थ अपोलो अस्पतालकी डाक्टर विजया राजाकुमारीले उक्त अस्पतालभन्दा केही किलोमिटर पर रहेको यथार्थ नामक अर्को अस्पतालमा भिजिटिङ कन्सल्ट्यान्टका रूपमा गएर त्यस्ता शल्यक्रिया गर्ने गरेको आरोप लागेको थियो।

उनकी वकिलले ती आरोप 'पूरै आधारहीन र प्रमाणहीन' रहेको बीबीसीलाई बताए। उनले निर्दिष्ट समितिले स्वीकृत गरेका र कानुनबमोजिम मात्र शल्यक्रियाहरू गरेको वकिलले बताए। जमानतसम्बन्धी एक आदेशमा उनीमाथि नक्कली कागजात खडा गरेको आरोप लगाइएको छैन।

यथार्थ अस्पतालले उसकहाँ हुने सबै उपचार 'हाम्रा सुदृढ प्रोटोकलबमोजिम हुने गर्छन् ता कि सबै कानुनी तथा नैतिक मापदण्ड पूरा होस्' भन्ने जबाफ बीबीसीलाई दिएको छ।

उनलाई पक्राउ गरिएपछि अपोलो अस्पतालले डा राजाकुमारी त्यहाँ 'फ्रीलान्स कन्सल्ट्यान्ट'का रूपमा मात्र कार्यरत रहेको बतायो। उनीविरुद्ध अदालतमा कुनै अभियोग लगाइएको छैन।

'पछुतो छैन'

गत एप्रिलमा भारतको स्वास्थ्य मन्त्रालयका एक वरिष्ठ अधिकारीले भारतका राज्यहरूलाई पत्र लेख्दै विदेशीहरू मुछिएका प्रत्यारोपणका मामिलाहरू 'निकै बढेको' भन्दै अझ राम्ररी अनुगमन गर्न भनेको थियो।

भारतीय कानुनअनुसार अङ्गदान दिन वा लिन चाहने विदेशी नागरिकसँग सबै कागजात हुनुपर्छ, जसमा सम्बन्धित देशको भारतस्थित दूतावासले प्रमाणित गरेको नाता प्रमाणपत्र पनि पर्छ।

बीबीसीले यसबारे भारतको स्वास्थ्य मन्त्रालय र राष्ट्रिय अङ्ग प्रत्यारोपणसम्बन्धी निकाय अनि म्यान्मारको सैन्य सरकारसँग प्रतिक्रिया मागेको थियो। तर कुनै जबाफ प्राप्त भएन।

म्यान्मारका जनस्वास्थ्यसम्बन्धी एक अभियानकर्मी डा थुरेन लाइङ् विनले भने, "कानुनको कार्यान्वयन प्रभावकारी छैन।"

सम्भावित दाताहरूलाई जोखिमबारे सूचित पार्नु जरुरी रहेको उनले बताए। शल्यक्रियाका बखत हुन सक्ने रक्तस्राव अनि अन्य अङ्गमा पर्न सक्ने क्षतिबारे बताइनुपर्ने र शल्यक्रियापछि उचित स्याहार गरिनुपर्ने उनले बताए।

शल्यक्रिया भएको कैयन् महिनापछि बीबीसीले फेरि जेयासँग कुरा गरेको थियो।

"मैले कर्जा चुक्ता गरेँ अनि एक टुक्रा जग्गा किनेँ," उनले भने।

तर घर बनाउन अझै पैसा नपुगेको र बिरामीबाट तङ्ग्रदै रहेकाले पनि निर्माण गर्न नसकिएको उनले भने। उनले आफूलाई ढाड दुख्ने गरेको पनि बताए।

"मैले अब छिट्टै काम सुरु गर्नुपर्छ। स्वास्थ्यमा अन्य असर परेमा बेहोर्नुपर्छ। मलाई पछुतो छैन," उनले भने।

केही समयसम्म आफ्नो मिर्गौला लिएकी बिरामीसँग पनि सम्पर्क भएको र ती महिला उनको मिर्गौलाका कारण स्वस्थ भएको जानकारी पाएको जेयाले बताए।

पहिचान नखुलाउने सर्तमा बोल्दै ती महिलाले कुल १० करोड क्याट (२२ हजार देखि ३५ हजार डलर) खर्च भएको बीबीसीलाई बताइन्। तर जेया साँच्चिकै आफ्नो नातेदार भएको भन्दै उनले नक्कली कागजात बनाएको अस्वीकार गरिन्।

शल्यक्रिया भएको छ महिनापछि म्यो विनले लगभग सबै कर्जा चुक्ता गर्न सकेको बीबीसीलाई बताए।

"मसँग रोजगारी छैन र एक पैसा बाँकी छैन," उनले भने। शल्यक्रियापश्चात् पेट दुख्ने समस्या हुन थालेको उनले बताए।

उनले पनि कुनै पछुतो नभएको बताए तर फेरि थपे, "अरू मानिसलाई म यसो गर्ने सल्लाह चाहिँ दिन्नँ। यो ठिक होइन।"

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।