म्यान्मारका आपराधिक सञ्जालले बन्धक बनाएका 'साइबर दास'हरू

    • Author, एमेनुअल येल्कल
    • Role, बीबीसी एम्ह्यारिक सेवा

राम्रो भविष्यको खोजीमा लाग्दा त्यसले उनलाई म्यान्मारमा रहेको 'दास' शिविरमा कष्टपूर्ण परिस्थितिमा फसाउँछ भनेर २६ वर्षीय ईथिओपियाली मुबारक जमालले कहिल्यै कल्पनै गरेका थिएनन्।

अर्थशास्त्रमा आफ्नो पढाइ पूरा नगरी निजी कलेज छोडेर उनी ओरोमिआ क्षेत्रमा रहेको आफ्नो परिवारलाई सहयोग गर्न चाहन्थे। थाईल्यान्डमा महिनामा १,५०० डलरसम्म कमाउन सकिने लोभलाग्दो जागिरको हल्ला सुनेपछि उनी उक्त अवसर छोप्न आतुर थिए।

"मैले जागिरबारे धेरै सोधिनँ," उनले स्वीकार गरे। अब्दी नामक एक एजेन्टले उनलाई सबै कुराको व्यवस्था छिट्टै हुने बताएका थिए। त्यसको पाँच दिनभित्रै मुबारक राजधानी आडिस आबबा छोडेर ब्याङ्कक गए।

यो सन् २०२३ को सेप्टेम्बर महिनाको कुरा हो। मुबारकसँगै अर्का एक ईथिओपियाली पनि थिए। थाईल्यान्डमा उत्रिनेबित्तिकै जोडतोडले काममा लागिहाल्ने उनीहरूको आशा थियो।

उनीहरूलाई भनिएजस्तो जागिर दिनुको सट्टा अब्दीले उनीहरूलाई बसमा उत्तरी थाईल्यान्ड र त्यहाँबाट सीमामा पर्ने चिआङ राई र अझै त्यहाँबाट छिमेकी लाओसमा तस्करी गरे।

एक साताको अन्योलपछि उनीहरू थाईल्यान्ड नै फर्किए। त्यसपछि उनीहरूलाई बसले थाईल्यान्ड र म्यान्मारको सीमानजिकै रहेको मेइसोट नगरमा पुर्‍यायो।

मेइसोटमा पुगेपछि उनीहरूको जिम्मा चिनियाँ नागरिकहरूले लिए र त्यहाँ भएका छ जना ईथिओपियालीको समूहलाई डुङ्गामा मोई नदी हुँदै म्यान्मार प्रवेश गराइयो। राति अबेर उनीहरू धेरै सुरक्षा रहेको शिविरमा पुगे।

'जाव के' शिविर

मुबारकका दुःखका दिन यहीँबाट सुरु भए। उनी र उनका सहयात्रीहरू प्रवेश गरेको कार्यस्थल वैध थिएन। त्यस्तो शिविर दक्षिणपूर्वी एशियाभरि आपराधिक सञ्जालहरूले चलाएका धेरै छलहरूमध्ये थियो।

संयुक्त राष्ट्रसङ्घको लागुऔषध र अपराध हेर्ने कार्यालयका अनुसार यी शिविरहरू अन्लाइन रोमान्ससम्बन्धी ठगी, सम्पत्ति शुद्धीकरण र मानव तस्करीजस्ता विषयमा काम गर्छन्। सुरुमा यहाँ काम गर्न चिनियाँ नागरिकहरूलाई ल्याइन्थ्यो, तर अहिले भने यो विश्वव्यापी रूपमा विस्तार भएको छ र सबसहारन अफ्रिकन क्षेत्रका थुप्रैलाई ठगी काम गर्न बँधुवा मजदुरका रूपमा तस्करी गरिन्छ।

"हामी शिविर आइपुगेको रात हामी सबै अचम्ममा परेका थियौँ र हामीले केही पनि छलफल गरेनौँ। हामीले केवल उनीहरूले जे भनेका थिए, त्यो स्वीकार गर्‍यौँ," मुबारकले सम्झिए।

संयुक्त राष्ट्रसङ्घको मानव अधिकार आयुक्तका अनुसार म्यान्मारमा मात्रै कम्तीमा १२०,००० मानिसहरूलाई अन्लाइन माध्यमबाट मानिसहरूलाई झुक्याउने काम गर्नका लागि बाध्य पारिएको बताइएको छ।

त्यसमा धेरैजसो ईथिओपिया, युगान्डा, केन्या र सुडानजस्ता पूर्वी अफ्रिकाका देशहरूका मानिस रहेका छन्। तीमध्ये ईथिओपियाका अझ धेरै सङ्ख्यामा छन् किनभने थाईल्यान्डमा उनीहरूका लागि 'अनअराइभल भिसा' दिइन्छ र सीधा उडानको सुविधा छ।

'जाव के' शिविरमा आइपुग्नेबित्तिकै उनीहरूको फोन र राहदानी जफत गरिन्छ। चाङ लगाएर राखिएका कन्टेनरहरूमा प्रत्येकमा १२ देखि १५ जना मानिसहरूलाई राखिन्छ।

मुबारकका अनुसार सुरुमा उनीहरूलाई अन्लाइन ठगीको उपाय सिक्नका लागि १५ दिनको "तालिम" दिइन्छ।

'पिग बुचरिङ'

रोमान्स ठगीको तरिकामा केन्द्रित तालिमलाई 'पिग बुचरिङ' भनिने मुबारकले बताए। यो तरिकामा मानिसको बचत ठगी गर्नुअघि बिस्तारै उनीहरूको विश्वास जित्ने गरिन्छ। उनका अनुसार सुरुमा उनलाई टर्की, पाकिस्तान र साउदी अरेबियामा रहेका मानिसमा केन्द्रित हुन भनिएको थियो र त्यो ठगीका लागि उनलाई "एलिसिया" भन्ने छद्मनाम दिइएको थियो।

त्यस्तो ठगी विभिन्न चरणमा सञ्चालन हुने उनले बताए।

सुरुमा "एलिसिया" एउटा सफल महिला व्यापारीका रूपमा देखा पर्छिन्। त्यसपछि मुबारक पहिला नै लेखिएको विवरण प्रयोग गरेर ह्वाट्स्यापमार्फत् कुरा गर्छन्। त्यो विश्वसनीय होस् भनेर भिडि‌‌ओ कलमा मोडलहरूलाई प्रयोग गरिने उनले बताए।

पहिला पीडितहरूलाई एमजनजस्तै कम्पनीको नक्कल गरेर बनाइएका वेबसाइटहरूमा सानो रकम लगानी गर्न भनिन्छ। उनीहरूलाई त्यसबाट फाइदा हुने र पैसासमेत झिक्न मिल्ने बनाइन्छ ता कि उनीहरूको विश्वास आर्जन गर्न सकियोस्।

यद्यपि, पछिल्लो चरणमा भने पीडितहरूलाई हजारौँ डलर पैसा राख्न उक्साइन्छ, त्यति रकम उनीहरू आफैँ नै ब्याङ्कबाट झिक्न सक्दैनन्। उनीहरूलाई ठगिएको भन्ने महसुस हुने बेलासम्म पीडितहरूले आफ्नो घर, कार र बचत सबै गुमाइसकेका हुन्छन्।

निर्मम यातना

यस्तो ठगीको काममा भाग लिन नचाहने वा पर्याप्त पैसा उठाउन नसक्ने मानिसलाई शिविरका काम लगाउनेहरूले चरम यातना दिने गर्छन्।

"एक पटक त मलाई यसरी कुटे कि मैले होस नै गुमाएँ," मुबारकले सम्झिए। "मैले आफ्नो बचाउ गर्ने कोसिस गरेँ, त्यसपछि उनीहरूले बिजुलीको प्रयोग गरेर मलाई यातना दिए।"

शिविर सञ्चालकहरू टोलीनेताका रूपमा आफ्नै देशबाट ल्याइएका मानिसहरूलाई हेर्ने केही व्यक्ति छान्छन्। मुबारकले ईथिओपियाकै नागरिकले आफूलाई टोलीनेताका रूपमा काम अह्राएको बताए। "रिसायो भने उसले सजाय दिन्थ्यो," उनले भने।

निरन्तर केही महिना ५,००० डलरको लक्ष्य भेट्न नसकेपछि मुबारकलाई यातना दिइएको थियो, सुत्न दिइएको थिएन। त्यसपछि कालो कोठरीमा बन्द गरिएको थियो र पाँच हजार डलर तिरेर मात्र शिविर छोड्न निर्देशन दिइएको थियो। उनको परिवारले आफ्नो अन्न र बस्तुभाउ बेचेर अन्तत: ४,५०० डलर तिर्‍यो।

पीडितको बयान

अन्तत: मुबारक रिहा भए र गैरसरकारी संस्थाहरूको सहायताले ईथिओपिया फर्किन सके। तर उनी अझै गहिरो दुःखमा छन्।

"ईश्वरलाई धन्यवाद, म बाँचेँ," मुबारकले आफ्नो शरीरमा भएका पिटाइका दागहरू देखाउँदै भने।

यातनाले पुर्‍याएको दीर्घकालीन असरका कारण उनी शारीरिक रूपमा पनि कमजोर भएका छन् र खासै काम गर्न सक्दैनन्। उनी अहिले ओरोमिआ क्षेत्रमा रहेको आफ्नो परिवारसँग बसिरहेका छन्।

उनका अनुसार उनीजस्तै गरी त्यस्तै थुप्रै शिविरहरूमा अरू हजारौँ मानिसहरू फसिरहेका छन्, जो त्यहाँबाट मोटो रकम घुस नखुवाएसम्म छुट्न सक्दैनन्।

पीडितका परिवारहरूले "ईथिओपिआका अधिकारीहरूलाई हस्तक्षेप गरी आफ्ना नागरिकहरू फर्काउन बारम्बार आग्रह गरेका छन्, तर प्रगति भने खासै भएको छैन।

बीबीसीले थाइल्यान्ड र म्यान्मार पनि हेर्ने जिम्मेवारी पाएका जापान र भारतमा रहेको ईथिओपियाका निकायहरूलाई बारम्बार प्रतिक्रिया जनाउन अनुरोध गरे पनि कुनै जबाफ प्राप्त भएको छैन।

गत डिसेम्बर ५ तारिखमा जारी भएको एउटा वक्तव्यमा ईथिओपियाको विदेश मन्त्रालयका प्रवक्ताले म्यान्मारमा रहेका नागरिकहरूलाई स्वदेश फिर्ता गर्ने प्रयास जारी रहेको बताएका छन्। उक्त विज्ञप्तिमा उनले विदेशमा अवसरको झुटो प्रस्ताव गरेर हुने अन्लाइन ठगीबारे आममानिसलाई सचेत रहन पनि भनेका छन्।

मुबारक अहिले पनि कहिलेकाहीँ सामाजिक सञ्जालमा देखिने भिडिओमा "अब्दी" बारेका सामग्रीहरू देख्छन्।

"ममाथि शिविरमा के भयो भन्नेबारे म सोच्छु," मुबारकले भने। "उसलाई पक्राउ गरिएको र कानुनको कठघरामा लगेको म हेर्न चाहन्छु।"

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।