तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
के तपाईँ अरू कसैको दिसा आफ्नो शरीरमा प्रत्यारोपण गर्न रुचाउनु हुन्छ?
- Author, सुनेथ परेरा
- Role, बीबीसी विश्व सेवा
“दिसा (मानव मल) प्रत्यारोपणको विषय वास्तवमै अनौठो हो,” दान गरिएका दिसासम्बन्धी चिकित्सकीय परीक्षणमा भाग लिन बोलाइएको क्षण सम्झिँदै रिक ड्यालवे भन्छन्।
५० वर्षिय उनले हालसालै इङ्गल्यान्डस्थित बर्मिङ्घम विश्वविद्यालयको २ महिना लामो एक कार्यक्रममा भाग लिए, जस्मा साप्ताहिक रूपमा सहभागीको शरिरमा अन्य व्यक्तिको दिसा प्रत्यारोपण गरिन्थ्यो। आफूमा रहेको पुरानो दुर्लभ कलेजोसम्बन्धी रोग ‘प्राइमरी स्क्लेरोजिङ कोलानगाइटिस’ (पीएससी) का लक्षणको व्यवस्थापन हुने आशासहित उनले यसमा भाग लिएका थिए।
“यो दिसाको टुक्रा मात्रै होइन,” रिक प्रत्यारोपण प्रक्रियाबारे बताउँदा हाँस्दै भन्छन्। “यसमा सुधार गरिएको हुन्छ र प्रयोगशालामा राखिएको हुन्छ।”
हालका लागि रिकको दुर्लभ स्वास्थ्य समस्याको अन्तिम चरणमा कलेजो प्रत्यारोपण गर्ने विकल्पबाहेक कुनै उपचार छैन। यसले युकेमा एक लाख मानिसहरूमध्ये ६ देखि ७ जनालाई असर गरिरहेको हुन्छ, जसका कारण त्यस्ता व्यक्तिको आयु झन्डै १७ देखि २० वर्ष कम हुन्छ।
रिक ८ वर्षअघि ४२ वर्षको उमेरमा हुँदा उनमा यो समस्या भएको पत्ता लागेको थियो।
“म एकदमै आत्तिएको थिएँ, भविष्यलाई लिएर चिन्तित थिएँ,” उनी सम्झिन्छन्। “छाँगाबाट खसेजस्तै भएको थियो।”
दिसा प्रत्यारोपण के हो ?
मानव मलमा रहेका सूक्ष्म जीवाणुहरूको प्रत्यारोपण अर्थात् “फिकल माइक्रोबायोटा ट्रान्सप्लान्ट” (एफएमटी) मल वा दिसा प्रत्यारोपणको रूपमा पनि चर्चित छ। धेरै देशहरूमा पेटसम्बन्धी रोग भएका बिरामीहरूमा प्राय: चिकित्सकीय प्रशिक्षणका रूपमा यसको प्रयोग भइरहेको छ।
स्वस्थ मलदाताहरूको निगरानी गरिन्छ र पेटका ब्याक्टेरियाहरू उनीहरूको नमुनाबाट लिएर बिरामीको आन्द्रामा प्रत्यारोपण गरिन्छ, जसमा साधरणतया कोलोनोस्कोपी, एनीमा वा नासोग्यास्ट्रिक ट्युबको प्रयोग गरिन्छ।
रिकले पीएससीको परीक्षणको रूपमा भइरहेको उपचार गराएका थिए। तर, युकेको “न्याश्नल इन्स्टिच्युट फर हेल्थ एन्ड केयर एक्सिलेन्स” (नाईस) को मापदण्डअनुसार अहिले त्यहाँ यस्तो उपचार विधिको औपचारिक सिफारिस एउटा अवस्थामा मात्रै गरिन्छ।
‘क्लोस्ट्रिडियम डिफिसिल’ (सि डिफ)को अत्यधिक सङ्क्रमण भएका बिरामीहरूले मात्र युकेको राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस)बाट उपचार लिन पाउँछन्।
क्लोस्ट्रिडियम डिफिसिल झाडापखाला निम्त्याउने खतरनाक ब्याक्टेरिया हो र यसले लामो समयसम्म एन्टिबायोटिक्सको सेवन गरेका मानिसलाई असर गर्छ।
तरल अवस्थाको ५० मिलिलिटर एफएमटीको नमुनाको मूल्य १३ सय पाउन्ड (१ हजार ६८४ अमेरिकी डलर) पर्छ, जसलाई विज्ञहरू पटक पटक एन्टिबायोटिक्स सेवन गर्नु र अस्पतालको उपचारभन्दा सस्तो रहेको बताउँछन्। कतिपय अवस्थामा भने एफएमटी एक पटक मात्रै प्रयोग गर्नुपर्छ।
कतिपय ठाउँहरूमा मान्छेको दिसामा पाइने स्वस्थ ब्याक्टेरियाबाट बनेको मुखबाट सेवन गर्ने औषधी पनि सिफारिस गरिन्छ।
किन मानव मल महत्त्वपूर्ण?
कलेजो, मृगौला वा मुटु प्रत्यारोपणको आवश्यकता परेका बिरामीहरूले महिनौं वा कहिलेकाहीँ वर्षौंसम्म पनि उपयुक्त दातालाई पर्खन्छन्।
तर यी अत्यावश्यक अङ्गहरूजस्तो नभई मानव दिसा सबैतिर पाइन्छ। मान्छेलाई अरू कसैको दिसा भन्ने कुराले भने असहज महसुस गराउन सक्छ।
तर, रिक यस्ता असाधारण पक्षभन्दा बढी विश्वास विज्ञानलाई गर्छन्। र उनकी श्रीमती र साथीभाइले पनि उनलाई यो यात्रामा साथ दिएका छन्।
“यसमा लाज मान्नुपर्ने वा अच्चम मान्नुपर्ने केही छैन,” रिक भन्छन्। “यदि यसले काम गर्न सक्छ भने किन प्रयोग नगर्ने? मैले साथीभाइ र परिवारबाट पनि यस्तै प्रतिक्रिया पाएको थिएँ।”
मानव मल भण्डारण
बर्मिङ्घम विश्वविद्यालयस्थित माइक्रोबायोम ट्रिटमेन्ट सेन्टर,एमटिसी, एफएमटी सेवा दिने सेवा प्रदायक पक्ष हो, जसले ‘सि डिफ’ सङ्क्रमण भएका सैयौं बिरामीहरूको सुरक्षित उपचारका लागि दिसाका नमुनाहरू चिकित्सकहरूलाई वितरण गर्ने र अनुसन्धानात्मक परीक्षणहरू सञ्चालन गर्ने गर्छ।
यो ठाउँमा दाताहरूले सूक्ष्म निगरानीको प्रक्रिया पार गर्नुपर्छ, जसमा उनीहरूको विस्तृत चिकित्सकीय इतिहासका साथै जीवनशैलीको मूल्याङ्कन र उनीहरूको रगत र दिसामा कीटाणु भए नभएको परीक्षण गरिन्छ।
पूर्ण रूपमा परीक्षण गरेपश्चात् दिसालाई १२ महिनासम्म -८० डिग्री सेल्सियस तापक्रमको चिस्यानमा भण्डारण गरिन्छ। जब कुनै बिरामीलाई मल प्रत्यारोपणको आवश्यकता पर्छ, तब जमेको प्रशोधित दिसाबाट बरफ हटाइन्छ र यसलाई सुईमा राखिन्छ।
“दिसा ब्याङ्कहरू नभएका देशहरूमा कठिन छ । तर, हामीले गर्ने सिफारिस जमेको एफएमटीको प्रयोग हो । यसले ती मानिसहरूलाई निगरानी गर्न तपाईंलाई समय दिन्छ,” माइक्रोबायोम ट्रिटमेन्ट सेन्टरका निर्देशक प्राध्यापक तारिक इक्बालले बीबीसीलाई भने।
दाताहरूको खर्चको पूर्ति भने १० औँ दिनको सफल दान सकिएसँगै २०० पाउन्डको उनीहरूले चाहे अनुसारको गिफ्ट कार्ड दिएर गरिन्छ ।
‘प्राइमरी स्क्लेरोजिङ कोलाङ्गाइसिस’मा एफएमसीको भूमिका के?
विज्ञहरू रिकलाई जस्तै पीएमसीको समस्या भएका ७० देखि ८० प्रतिशत मानिसहरूलाई पेट पोल्ने रोग (आईबीडी) हुने बताउँछन्। यो भनेको लामो समयदेखि पोलिरहने ‘क्रोह्नस् डिजिज र अल्सरेटिभ कोलाइटिस हो, जसले अत्यधिक पेट पोल्ने र झाडापखालाको समस्या निम्त्याउने गर्छ।
रिकको परिक्षणात्मक उपचारको नेतृत्व गरेका कलेजोसम्बन्धी रोगका चिकित्सक (हेपाटोलोजिस्ट) र पेट तथा आन्द्रासम्बन्धी रोगका चिकित्सक (ग्यास्ट्रोइन्टेरोलोजिस्ट) डाक्टर पलक त्रिवेदी वैज्ञानिकहरूलाई मानिसमा किन पीएससीको विकास हुन्छ वा यसको सम्बन्ध किन आईबीडीसँग छ भनेर थाहा नभएको बताउँछन्।
“हामीले पेटमा हुने स्वस्थ माइक्रोबायोटा (सूक्ष्म जीवाणु) रहेको दिसालाई पीएससीका बिरामीहरूको आन्द्रामा राख्ने र त्यसले कसरी कलेजोको रोगमा असर गर्छ भनेर हेर्न खोजिरहेका छौं,” सहप्राध्यापकसमेत रहेका उनी बताउँछन्।
मल प्रत्यारोपणका मापदण्डहरू
हालको अवस्थामा मल प्रत्यारोपण कुनै पनि अवस्थामा प्रस्ताव गरिने पहिलो उपचार नभएको एफएमटीबारे औपचारिक मापदण्ड बनाउनमा योगदान गरेका इम्पिरिअल कलेज लन्डनका पेट तथा आन्द्रासम्बन्धी चिकित्सक डाक्टर होरेस विलियम्स बताउँछन्।
डाक्टर विलियम्स एनएचएसले क्लोस्ट्रिडियम डिफिसिल (सि. डिफ)को अत्यधिक सङ्क्रमण भएको अवस्थामा मात्रै एफएमटी प्रस्ताव गर्ने बताउँछन्। र, अन्य कारणले उपचार चाहने बिरामीहरूले भने रिकले जस्तै चिकित्सकीय परीक्षणमा भाग लिनुपर्छ।
इम्पिरिअल कलेज लन्डनमा गेस्ट्रोइन्टेरोलोजिस्ट तथा एफएटी सम्बन्धी ‘ब्रिटिस सोसाइटी अफ ग्यास्ट्रोइन्टेरोलोजी (बीएसजी)’ को मापदण्डका प्रमुख लेखक डाक्टर बेन्जमिन मुल्लिश धेरै मानिसहरूले आफैले एफएमटीको प्रयास गरेको बताउँछन्, जुन अत्यधिक जोखिमपूर्ण छ।
दक्षिण अफ्रिकास्थित विटवाटरस्रान्ड विश्वविद्यालयको ‘स्टिभ बिको सेन्टर फर बायोएथिक्स’ का चिकित्सकीय बायोएथिसिस्ट (जैविक चिकित्सामा नयाँ आविष्कारसँगै सिर्जना भइरहेका नैतिक, कानुनी तथा सामाजिक पक्षबारे काम गर्ने व्यक्ति) डाक्टर हेरिएट एथरेज अनुभवी अभ्यासकर्ता र स्पष्ट मापदण्ड बिना एफएमटी “मुख्य गरी स्वास्थ्य सेवाका स्रोतहरू सीमित रहेका गरिब देशहरूमा” हानिकारक हुने औल्याउँछन्।
यो उपचारका कारण अत्यन्तै दुर्लभ अवस्थामा विरामीको मृत्यु पनि भएको छ।
आफन्तको दिसा कि अपरिचित को?
अमेरिका र युरोपमा बाहेक ब्रजिल, दक्षिण अफ्रिका र भारतजस्ता देशहरूमा पनि एफएमटीको परीक्षणका रूपमा अभ्यास भइरहेको छ।
कतिपय बिरामीहरू मानव मलप्रतिको घिनका साथै विभिन्न सांस्कृतिक, सामाजिक र धार्मिक आस्थाका कारण पनि यो उपचार लिन मान्दैनन्।
“मान्छेले यो उपचारलाई निकै अचम्मको रूपमा हेर्छन् र उनीहरूलाई चिकित्सकले पनि मजाक गरिरहेको वा गम्भीर नभएको लाग्छ होला,” भारतस्थित श्री गङ्गाराम अस्पतालको ‘इन्स्टिच्युट अफ लिभर ग्यास्ट्रोइन्टेरोलोजी एन्ड पेनक्रियाटिक बाइलेरी साइन्सेज’ का डाक्टर पीयूष रञ्जन भन्छन्।
आफैसँग भएको घट्नाको स्मरण गर्दै डाक्टर रञ्जन कतिपय बिरामीहरू निगरानीमा राखिएको र स्वस्थ अपरिचितको तुलनामा भने आफ्नो आफन्तको दिसा स्विकार्ने कुरामा एक हिसाबले तयार हुने गरेको बताउँछन्।
ठिक विपरीत युकेको ‘क्रोह्नस् एन्ड कोलिट्स’ ले २०० जनामा गरेको एक सर्वेक्षणमा भने धेरैले आफूले चिनेकोभन्दा अपरिचित र चेकजाँच गरिएको स्रोतबाट प्राप्त हुने दिसा छानेका थिए।
सोही प्रश्नोत्तरमा ३७ प्रतिशतले सुरुवातमा आफूले मल प्रत्यारोपण नगर्ने बताएका थिए । तर, यसको प्रक्रियाका बारेमा जानेपछि भने यो सङ्ख्या ५४ प्रतिशत पुगेको थियो।
“शिक्षाले सधैँ धेरै बाधाहरू तोड्छ,” उक्त अध्ययन गर्ने डाक्टर ब्रेट पाल्मरले बीबीसीलाई भने।
रिक चिकित्सकीय परीक्षणले आफ्नो दुर्लभ रोग निको हुने आशा गर्छन्।
“यदि कसैले १० वर्षअघि मानव मलले रोगहरूको उपचार हुन्छ भनेको भए मैले विश्वास गर्ने थिइनँ,” उनी भन्छन्। “तर अहिले यो वास्तविकता हो र भइरहेको छ।”
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।