भारतमा बीमाका नाममा यसरी ठगिन्छन् सर्वसाधारण

बुलन्दसहरकी सुनीता

तस्बिर स्रोत, Prabhat Kumar/BBC

तस्बिरको क्याप्शन, बुलन्दसहरकी सुनीता गम्भीर रूपमा बिरामी थिइन्
    • Author, दिलनवाज पाशा
    • Role, बीबीसी हिन्दी

भारतको उत्तर प्रदेश राज्यको सम्भलमा प्रहरीले बीमाका नाममा ठगी गरी पैसा असुल्ने एक गिरोहको खुलासा गरेको दाबी गरेको छ।

यसै वर्षको ज्यानुअरीबाट सुरु गरिएको अनुसन्धानपछि ६० जनाभन्दा बढी मानिसहरूलाई पक्राउ गरेको प्रहरीले बताएको छ।

अनुसन्धानको नेतृत्व गरिरहेकी सम्भलकी प्रहरी अधिकारी एएसपी अनुकृति शर्माका अनुसार गिरफ्तार हुनेहरूमा महिला स्वास्थ्य स्वयंसेविका ('आशा वर्कर'), ब्याङ्कसँग सम्बन्धित कर्मचारी, बीमा दाबी परीक्षकहरू तथा अन्य छन्।

बीमाको पैसा हडप्नका लागि गम्भीर बिरामीहरूको बीमा गर्ने तथा पहिल्यै मरिसकेकाहरूलाई जिउँदो दाबी गर्ने मात्र नभई हत्या नै समेत हुने गरेको प्रहरीको दाबी छ।

यस्तो ठगीका लागि 'आधार कार्ड'को तथ्याङ्क परिवर्तन गर्ने गरेको पाइएको छ। कतिपय अवस्थामा सम्बन्धित व्यक्तिको जानकारीबिना उनीहरूको ब्याङ्क खाता खोल्ने गरेको पनि देखिएको छ।

बीबीसीले प्रहरीद्वारा आरोपित सबै पक्षसँग कुरा गरी उनीहरूको भनाइ समेट्ने प्रयास गरेको भए पनि कसैले पनि जबाफ दिएका छैनन्।

गम्भीर बिरामीको बीमा

सुनीताका पति सुभाष

तस्बिर स्रोत, Prabhat Kumar/BBC

तस्बिरको क्याप्शन, जुन २०२४ मा सुनीताका पति सुभाषको मृत्यु भयो

बुलन्दसहरको भीमपुर गाउँकी बासिन्दा सुनीता देवीका पति सुभाष गम्भीर बिरामी थिए। त्यसै बेला बीमा गराउने समूहले एक 'आशा वर्कर'को साथमा उनलाई सम्पर्क गर्‍यो। सुनीताका पतिले पनि बीमा गरे ।

जुन २०२४ मा उनका पतिको मृत्यु भयो। त्यसपछि सुनीताको ब्याङ्क खातामा बीमाबापत आएको रकम उक्त गिरोहले निकालेको प्रहरीको दाबी छ।

प्रहरीले खबर नगरुन्जेल सुनीतालाई यसबारे केही पनि थाहा थिएन। प्रहरीले गिरफ्तार अभियुक्तहरूको फोनमा सुनीताका कागजपत्रहरू फेला पारेको थियो।

एएसपी अनुकृति शर्मा भन्छिन्, "हामीले अभियुक्ताका फोनबाट सयौँ मानिसहरूको बीमासँग सम्बन्धित कागजात फेला पार्‍यौँ। अनुसन्धानका लागि हामीले आफूवरिपरिकै घटनाहरू छानेका थियौँ। तर सुनीतालाई हामीले सम्पर्क गर्दा न उनलाई उनका पतिको बीमा गरिएको थाहा थियो न उनको खाताबाट रकम निकालिएको कुरा।"

अशिक्षित सुनीताको परिवार अति नै गरिब छ। भीमपुरमै एक छिमेकीको घरमा बस्ने सुनीताले भनिन्, "सुरुमा आशा वर्कर आएका थिए। उनीहरूले फारम भराए, आधार कार्ड र अन्य कागजपत्र लिए अनि सही गराए। उनीहरूले मलाई सरकारले नै आफूलाई बीमाको पैसा दिने र पतिको उपचार हुने बताएका थिए।"

शर्मा भन्छिन्, "यस प्रकरणमा आशा वर्करदेखि ब्याङ्कका कर्मचारीहरूसमेत मिलेका थिए। सुनीता कुनै ब्याङ्क नै गएकी छैनन् तर उनको 'केवाईसी' फारम भराएर खाता खोलिएको छ। अनि 'सेल्फचेक'को माध्यमबाट पैसा निकालिएको छ। यसबारे छानबिन गर्न हामीले ब्याङ्कका दुई उपप्रबन्धकहरूलाई पनि पक्राउ गरेका छौँ।"

बीबीसीले यस्ता गतिविधि हुन नदिन ब्याङ्क के गर्दै छ भनेर सम्बन्धित ब्याङ्कलाई सोधे पनि त्यसको जबाफ प्राप्त भएको छैन।

जमिन धितो राखियो, गहना बेचियो

प्रियङ्का शर्मा

तस्बिर स्रोत, Prabhat Kumar/BBC

तस्बिरको क्याप्शन, प्रियङ्का शर्मालाई सरकारको तर्फबाट सहयोग गर्ने वाचा गरेर गिरोहले उल्टै ठगी गरेको थियो

प्रहरीका अनुसार बीमा ठगीमा संलग्न गिरोहहरूले गम्भीर अवस्थाका बिरामी व्यक्तिहरूलाई खोज्थे। उनीहरूलाई सरकारी सहयोगको आश्वासन दिन्थे र परिवारबाट कागजातहरू लिने गर्थे। जब ती बिरामीको मृत्यु हुन्थ्यो गिरोहले तिनै कागजात प्रयोग गरेर बीमाको पैसा निकाल्थ्यो।

सम्भलको एक गाउँमा बस्ने प्रियङ्का शर्मा पनि यस्तो गिरोहको फन्दामा परिन्। उनका पति दिनेश शर्मा क्यान्सरका रोगी थिए।

"म मेरा पतिलाई अस्पताल लैजाँदै थिएँ। उनीहरूले सरकारको तर्फबाट गम्भीर बिरामीहरूलाई सहयोग गर्न आएको भन्दै उपचारको लागि पाँच लाख रुपैयाँ दिने आश्वासन दिए। मेरा पतिलाई केही भइहाले २० लाख रुपैयाँ दिने उनीहरूले सुनाए," प्रियङ्का भन्छिन्।

प्रियङ्काका अनुसार सहयोग गर्ने वाचा गरेर ती व्यक्तिहरूले उनीबाट उल्टै एक लाख ४० हजार रुपैयाँ लिए र उनका सबै कागजातहरू पनि लिएर गए।

प्रियङ्काका पति दिनेशको सन् २०२४ को मार्चमा क्यान्सरबाट मृत्यु भयो।

सम्भलमा बीमा ठगीको अनुसन्धान सुरु भएपछि प्रियङ्काले पनि प्रहरीमा उजुरी दिइन्। उनलाई ठगेका तीन जना आरोपीमध्ये दुई जना अझै फरार छन्।

पतिको निधन भएपछि बीमाको नाममा भएको ठगीले प्रियङ्कालाई स्तब्ध बनाएको छ। उनले आफ्नो जग्गा समेत धितोमा राखेकी छिन्। उनी दूध बेचेर आफ्ना तीन जना सन्तान हुर्काइरहेकी छिन्।

मृतकको पनि बीमा

क्यान्सरबाट निधन भएका त्रिलोकलाई जीवित देखाउने कागजातहरू तयार पारेर गिरोहले उनको नाममा बिमा गराएको थियो

तस्बिर स्रोत, Prabhat Kumar/BBC

तस्बिरको क्याप्शन, क्यान्सरबाट निधन भएका त्रिलोकलाई जीवित देखाउने कागजातहरू तयार पारेर गिरोहले उनको नाममा बीमा गरायो। त्यसपछि मात्रै उनको निधन भएको देखाएर बीमा भुक्तानी लिने प्रयास भएको थियो

बीमा ठगीको अनुसन्धानका क्रममा मृत्यु भइसकेका व्यक्तिहरूलाई पनि कागजातमा जीवित देखाएर बीमा गरिएको फेला परेको थियो।

दिल्लीमा बस्दै आएका त्रिलोक यस्तै एउटा घटनाका पात्र थिए। सन् २०२४ को जुनमा त्रिलोकको क्यान्सरबाट मृत्यु भएको थियो।

दिल्लीको निगम बोध श्मशान गृहमा उनको दाहसंस्कार गरिएको रसिद पनि सुरक्षित छ।

तर ठगी गर्ने गिरोहले दाहसंस्कार समेत भइसकेका त्रिलोकको नाममा दिल्लीको एउटा ब्याङ्कमा खाता खोले। बीमा पोलिसी पनि लिए। त्यसपछि मात्रै उनीहरूले दिल्लीको जीबी पन्त अस्पतालबाट उनको मृत्यु भएको प्रमाणपत्र बनाए। तर यो गिरोहले बीमा रकम लिन सफल चाहिँ भएन। रकम लिनुअघि नै सम्भल प्रहरीले उनीहरूलाई पक्राउ गर्‍यो।

बुटिक चलाएर आफ्नो परिवारको पालनपोषण गरिरहेकी त्रिलोककी श्रीमतीले आफ्ना पतिको मृत्युपछि पनि थप पीडा सहनुपर्‍यो। सपना आफ्ना पतिलाई सम्झेर भावुक हुन्छिन्। "हामीले सबैतिर उपचार गरायौँ, तर क्यान्सर बढ्दै गयो। उनको मृत्युपछि म धेरै नै मर्माहत भएँ," सपना भन्छिन्।

त्रिलोकको मृत्यु भएको तीन महिनापछि, बीमाको ठगी गर्ने समूहले सपनालाई सम्पर्क गर्‍यो र सरकारी सहयोग पाउने आश्वासन दियो। सरकारबाट सहयोगको पर्खाइमा रहेकी उनले विश्वास गरेर उनीहरूलाई आफ्नो पतिका सबै कागजातहरू दिइन् पनि। तर त्यसपछि ती व्यक्तिहरूले उनको फोन उठाउन बन्द गरे।

बीमा घोटालाको अनुसन्धानको क्रममा सम्भल प्रहरी सपनाकहाँ पुग्दासम्म पनि उनलाई आफ्ना पतिको मृत्युपछि बीमा गरिएकोबारे सुइँको थिएन।

"प्रहरी आउँदा त म धेरै डराएँ। प्रहरी आएपछि सबैले म विधवाले केही गल्ती गरेको ठानेका थिए। तर अनुकृति शर्माले मलाई फोन गरेर म माथि अपराध भएको र मेरा पतिलाई कागजमा जीवित राखेर फेरि मारिएको कुरा सुनाइन्," उनले भनिन्।

"यस्ता गिरोहले पहिले नै समस्यामा परेका म जस्ता मानिसहरूलाई निशाना बनाइरहेका छन्। यदि प्रहरीले मेरो अवस्था नबुझेको भए, म यो ठगीको दोषी बन्ने थिएँ, किनभने मैले दिएकै कागजातहरू त्यहाँ प्रयोग गरिएका थिए।"

अनुकृति शर्माका अनुसार बीमाको पैसा भुक्तानी लिन मृत्युको प्रमाणपत्र आवश्यक पर्छ। गिरोहले बीमा दाबीका लागि दिल्लीको जीबी पन्त अस्पतालबाट उनको नक्कली मृत्यु प्रमाणपत्र बनाएको थियो। प्रहरीलाई दिएको जबाफमा उक्त अस्पतालले त्रिलोकको मृत्यु प्रमाणपत्र नक्कली भएको बताएको थियो।

प्रहरीले अस्पतालका एक जना सुरक्षा गार्ड र अर्का एक जना कर्मचारीलाई पनि पक्राउ गरेको छ। त्रिलोकको बीमा भुक्तानीको २० लाख रुपैयाँ उनको नाममा खोलिएको ब्याङ्क खातामा आएको थियो। तर गिरोहका सदस्यहरूले उक्त पैसा निकाल्नु अघि नै प्रहरीले उनीहरूलाई पक्राउ गर्‍यो।

बीमाको पैसाका लागि 'हत्या'

बिमा दाबीका लागि हत्या भएका व्यक्ति

बीमाको पैसाका लागि हुने ठगीका लागि गम्भीर बिरामी वा मृतकहरूलाई मात्रै प्रयोग गरिएको छैन प्रहरीले बीमाको पैसा हडप्न हत्या पनि गरिएको दाबी गरेको छ।

प्रहरी अधिकारी अनुकृति शर्माले अनुसन्धानको क्रममा कम्तीमा चार वटा हत्याका घटनाहरू फेला पारिएको बताएकी छन्।

हत्या गरिएको ठानिएका चार जनामध्ये एक जना २० वर्षीय अमन थिए। पश्चिमी उत्तर प्रदेशको एक सुनसान ठाउँमा भएको दुर्घटनामा उनको मृत्यु भएको देखाएर बीमाको रकम असुल गरिएको थियो। पछि अनुसन्धानका क्रममा प्रहरीले बीमा ठगी गिरोहले उनको हत्या गरेको ठहर गर्‍यो।

"अभियुक्तबाट हामीले अमनका धेरै नीतिगत कागजातहरू बरामद गरेका थियौँ। उनको पोस्टमार्टम रिपोर्टमा टाउकामा चार ठाउँमा चोट बाहेक कुनै चोटपटक थिएन," शर्मा भन्छिन्।

उनका अनुसार पक्राउ परेका गिरोहका सात जनामध्ये एक जनाले आफूहरूले हत्या पनि गर्ने गरेको स्वीकारेका थिए। "सलीम नाम गरेका एक जना युवकको हत्या गरेको उनले स्वीकार गरे। यो हत्या पनि त्यसै गरी गरिएको थियो र उनीहरूले बीमा बापतको ७८ लाख रुपैयाँ भुक्तानी लिएका थिए," शर्मा भन्छिन्।

अमनको आधार कार्ड दिल्लीको छतरपुर क्षेत्रबाट बनाइएको थियो। तर स्थानीय मानिसहरूका अनुसार उनी कहिल्यै त्यहाँ बसेका थिएनन्।

सरकारी अभिलेखमै परिवर्तन

आधारकार्डको इन्टरफेसको तस्बिर

तस्बिर स्रोत, Sambhal Police

अनुसन्धानबाट भारतमा नागरिकहरूको अभिलेख राखिने 'आधार डेटा'मा समेत परिवर्तन भएको र नक्कली उमेर र ठेगानाहरू दर्ता गरिएको पत्ता लागेको थियो।

"बीमा गिरोहको सञ्जालले निकै जटिल सुरक्षा उपायहरूलाई समेत छलेर अभिलेखमा परिवर्तन गरेको पाइयो," प्रहरी अधिकारी शर्मा भन्छिन्।

बीबीसीले यूआईडीएआई अर्थात् भारतीय विशिष्ट पहिचान प्राधिकरणसँग आधार डेटामा गरिएका परिवर्तन र यस्ता ठगी रोक्न भएका प्रयासबारे सोधेको थियो। तर कुनै जबाफ प्राप्त भएन।

बीमा दाबीको जाँच गर्ने ओँकारेश्वर मिश्रा पक्राउ परेपछि यो ठगीको अनुसन्धान सुरु भएको थियो। उनी हाल जेलमा छन्। उनका वकिल नीरज तिवारीले उनी निर्दोष रहेको र छिट्टै धरौटीमा छुट्ने दाबी गरे।

यो ठगीको आरोप लागेका धेरैजसो अभियुक्तहरू उत्तर प्रदेशको सम्भल जिल्लाको सानो सहर बाबरालाका छन्। प्रहरी अनुसन्धान पछि आरोपी सचिन शर्मा र गौरव शर्माको घरमा ताला लागेको छ। उनीहरूका धेरै छिमेकीहरूले आफ्नो नाम नखुलाईकन करिब एक दशक अघिसम्म उनीहरूको बुबाले साइकलको टायर टाल्ने पसल चलाउने गरेको बताएका छन्।

सचिन शर्मा र गौरव शर्माको परिवारका ग्रेटर नोएडामा पनि धेरै घरहरू छन्। उनीहरूको कुरा बुझ्न हामीले ग्रेटर नोएडामा बस्ने परिवारका सदस्यहरूलाई भेट्यौँ, तर कुनै जबाफ आएन।

प्रहरीले बीमा ठगी अन्य राज्यमा पनि फैलिएको हुनसक्ने आशङ्का गरेको छ। बीमा रकम प्राप्त गर्नको लागि सबैभन्दा महत्त्वपूर्ण कागजात मृत्यु प्रमाणपत्र हो। यो ठगी बाहिर आएपछि, अभिवक्ता प्रवीण पाठकले मृत्यु प्रमाणपत्र जारी गर्ने प्रक्रियामा पारदर्शिताको माग गर्दै दिल्ली उच्च अदालतमा जनहितको मुद्दा दर्ता गराएका छन्।

कागजातहरूको दुरुपयोग

ठूलो स्तरको बीमा ठगीको घटना बाहिरिएपछि बीमा कम्पनीहरू पनि चिन्तित बनेका छन्।

एसबीआई लाइफका प्रमुख कार्यकारी रजनीश मधुकर आफ्नो कम्पनीले बिमकहरूलाई असुविधा नहुने गरी बीमा दाबीको भुक्तानी गर्ने गरेको तर ठगी गर्नेले त्यसको गलत फाइदा उठाएको दाबी गरे।

बीमा ठगीको प्रमुख कारण केवाईसी अर्थात् ग्राहक पहिचान सम्बन्धी कागजातहरूको दुरुपयोग रहेको प्रहरीले बताएको छ।

बीमा जोखिम व्यवस्थापन सङ्घका डा. रमेश खरेका अनुसार यस्तो ठगी बाहिरिएपछि आधार कार्ड र प्यान कार्ड प्रयोग गरिएका व्यक्तिहरू समेत समस्यामा पर्ने बताउँछन्।

बढ्दो बीमा ठगी

भारतीय बीमा नियामक तथा विकास प्राधिकरणले बीमा क्षेत्रमा ठगी रोक्न सन् २०२४ मा निर्देशिका जारी गरेको छ। जसमा कुनै पनि ठगीबारे थाहा भएपछि त्यसको अनुसन्धान अनिवार्य गरिएको छ।

बीमा ठगी कुन स्तरमा हुने गरेको छ भन्नेबारे कुनै आधिकारिक तथ्याङ्क छैन। यद्यपि अर्बौँ रकमको ठगी भएको हुनसक्ने अनुमान गरिएका छन्।

सम्भलमा हालै आयोजित बीमा सम्मेलनमा प्राधिकरणकी कार्यकारी निर्देशक मीना कुमारीले बीमा ठगी निरन्तर बढिरहेको स्वीकार गरिन्।

मीना कुमारीका अनुसार अस्वाभाविक बीमा दाबी बढ्दा त्यसको प्रत्यक्ष असर बीमा गरेका अन्य ग्राहकहरूमा पर्छ।

"हामी पाँच महिनादेखि अनुसन्धान गरिरहेका छौँ। करिब ६० जनालाई पक्राउ गरिएको छ, हजारौँ नक्कली पोलिसीहरू बाहिर आएका छन्। हामीले अहिलेसम्म करिब १० प्रतिशत मात्रै काम गरेका हुन सक्छौँ। यस्ता ठगी रोक्न अझै धेरै काम गर्न बाँकी छ।"

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।