भारतमा रोकिनु परेको एउटा ब्रिटिश जेटको अनौठो घटना

- Author, गीता पाण्डे
- Role, बीबीसी न्यूज, दिल्ली
भारतको एउटा विमानस्थलमा झण्डै तीन सातादेखि एक अत्याधुनिक ब्रिटिश लडाकु विमान रोकिएको अवस्थामा छ।
त्यससँगै कसरी यस्तो आधुनिक विमान विदेशमा कैयौँ दिनसम्म अड्किन सक्छ भन्ने प्रश्न उब्जिएको छ।
एफ-३५बी जुन १४ मा दक्षिणी राज्य केरलाको तिरुवनन्तपुरम विमानस्थलमा अवतरण गरेको थियो।
हिन्द महासागरमा उडान गर्दा खराब मौसममा परेपछि रोयन नेभीको प्रमुख क्यारिअर एचएमएस प्रिन्स अफ वेल्समा फर्कन नसकेपछि उक्त विमानलाई त्यहाँ मोडिएको थियो।
त्यो सुरक्षित रूपमा अवतरण गरेको थियो। तर त्यसबेलादेखि यसमा प्राविधिक समस्या आएको छ र अझै क्यारिअरसम्म फर्कन सकिरहेको छैन।
मूल्याङ्कन हुँदै
जेट अवतरण भएदेखि एचएमएस प्रिन्स अफ वेल्सका इन्जिनियरहरूले विमानको मूल्याङ्कन गरिरहेका छन्। तर आइरहेका टोलीहरू अहिलेसम्म यसको समस्या सुल्झाउन असमर्थ देखिन्छन्।
बिहीवार ब्रिटिश उच्चायुक्तको कार्यालयले बीबीसीलाई एक विज्ञप्तिमार्फत भनेको छ: "ब्रिटेनले विमानस्थलको मर्मतसम्भार र ओभरहल स्थलमा विमान सार्ने प्रस्ताव स्वीकार गरेको छ। ब्रिटिश इन्जिनियरिङ टोलीहरू विशेषज्ञ उपकरणहरू लिएर आइपुगेपछि यसलाई ह्याङ्गरमा सारिनेछ र त्यसपछि अन्य विमानहरूको निर्धारित मर्मत सम्भारमा कम अवरोध हुने कुरा सुनिश्चित गरिनेछ।"
"मर्मत र सुरक्षा जाँच पूरा भएपछि विमान सक्रिय सेवामा फर्किनेछ," त्यसमा थप भनिएको छ।
"सुरक्षा र सुरक्षा सावधानीहरू पालना गरिएको सुनिश्चित गर्न स्थल टोलीहरू भारतीय अधिकारीसँग निकट रहेर काम जारी राखेका छन्।"
तिरुवनन्तपुरम विमानस्थलका अधिकारीहरूले बीबीसीलाई बताए अनुसार शनिवार ब्रिटेनबाट प्राविधिकहरू आइपुग्ने अपेक्षा गरिएको छ।
११ करोड अमेरिकी डलर पर्ने यस जेटलाई रोयल नेभीका छजना अधिकारीहरूले चौबीसै घण्टा सुरक्षा दिइरहेका छन्।
यूकेसँग के-के विकल्प छ?
मुम्बईस्थित अब्जर्भर रिसर्च फाउन्डेसनो सेन्टर फर सेक्युरिटी, स्ट्र्याटेजी एण्ड टेक्नोलोजीका निर्देशक डा समीर पाटिलले बीबीसीलाई बताएअनुसार रोयल नेभीसँग यतिखेर दुईवटा मात्र विकल्प छन्: "तिनीहरूले यसलाई मर्मत गरेर उडान योग्य बनाउन सक्छन् वा यसलाई सी-१७ ग्लोबमास्टर ट्रान्सपोर्ट विमानजस्ता ठूला कार्गो विमानमा राखेर लैजान सक्छन्।"
त्यसरी रोकिनुपरेको जेटको विषय ब्रिटिश तल्लो सदन हाउस अफ कमन्समा पनि उठाइएको छ।
सोमवार विपक्षी कन्जरभेटिभ सांसद बेन ओबेज-जेक्टीले सरकारलाई त्यसलाई सुरक्षित पार्न र सेवामा फर्काउन के गरिँदैछ भनेर स्पष्ट पार्न आग्रह गरेको यूके डिफेन्स जर्नलले लेखेको छ।
"विमान सद्दे पार्न सरकारले के कदम चालिरहेको छ, त्यसमा कति समय लाग्नेछ र सरकारले जेट ह्याङ्गरमा र बाहिरबाट नदेखिने अवस्था हुँदा गोप्य प्रविधिहरूको सुरक्षा कसरी सुनिश्चित गर्नेछ?," उनको भनाइ उद्धृत गर्दै लेखिएको छ।
ब्रिटिस सशस्त्र फौजसम्बन्धी मन्त्री ल्यूक पोलार्डले विमान निकट रूपमा यूकेको नियन्त्रणमा रहेको पुष्टि गरेका छन्।
"हामी हाम्रा भारतीय साथीहरूसँग काम जारी राख्छौँ जसले एफ-३५बी क्यारिअरमा फर्कन नसक्दाको अवस्था उच्च दर्जाको सहयोग गरेका छन्," उनले भने।
"म ढुक्क छु कि जेटको सुरक्षा गतिलो हातमा छ किनकि रोयल नेभीका चालक दल सधैँ त्यससाथ छन्।"
एफ-३५बी लकहिड मार्टिनद्वारा निर्मित निकै उन्नत स्टिल्थ जेटहरू हुन्। ती तीव्र गतिको उडान र ठाडो अवतरण क्षमताको लागि खास गनिन्छन्।
इन्टरनेटमा व्यङ्ग्य
त्यसैले विमानस्थलमा पार्क गरिएको र केरलामा मनसुनी वर्षाले भिजेको "एक्लो एफ-३५बी" का तस्बिरहरूले सामाजिक सञ्जालमा मीमहरू जन्माइरहेको छ।
एउटा भाइरल पोस्टमा ठट्टा गर्दै ४० लाख अमेरिकी डलरको अत्यधिक प्रतिस्पर्धी मूल्यमा अनलाइन साइटमा बिक्रीको लागि राखिएको लेखिएको थियो।
जसमा उक्त जेटमा "स्वचालित पार्किङ, ब्रान्ड-नयाँ टायर, नयाँ ब्याट्री र ट्राफिक उल्लङ्घनकर्ताहरूलाई नष्ट गर्न स्वचालित बन्दुक" जस्ता सुविधाहरू समावेश रहेको भन्दै व्यङ्ग्य गरिएको थियो।
एक्समा एक प्रयोगकर्ताले उक्त जेट आफ्नो देशमा धेरै लामो समयदेखि रहेकाले भारतीय नागरिकता पाउन योग्य भएको भनेका छन् भने अर्काले भारतीयले त्यसको भाडा लिन सुरु गर्नुपर्ने र त्यसबापत कोहिनूर हीरा सबैभन्दा उपयुक्त भुक्तानी हुने लेखेका छन्।

तस्बिर स्रोत, Kerala Tourism
बुधवार केरला सरकारको पर्यटन विभाग समेत एक्समा एक पोस्ट लेख्दै त्यस ठट्यौलीमा सामेल भयो जसमा भनिएको थियो "केरला, त्यो गन्तव्य जुन तपाईं कहिल्यै छाड्न चाहनुहुन्न।"
उक्त पोस्टको पृष्ठभूमिमा नरिवलको खजूरका रूखहरू सहित धावनमार्गमा रोकिएको एफ-३५बी को एआईद्वारा बनाइएको तस्बिर समावेश छ।
त्यसको पोस्टमा लेखिएका शब्दमा पर्यटकीय पर्चाहरू वर्णन गरिएको "भगवान्को आफ्नै देश" भनिने राज्यमा कैयौँ आगन्तुकहरूझैँ जेटलाई पनि छोड्न गाह्रो भइरहेको उल्लेख थियो।
छविमा असर
डा. पाटिलले सो जेट अलपत्र परेको हरेक दिनले "एफ-३५बी र रोयल नेभीको छविलाई प्रतिकूल असर पार्ने" टिप्पणी गर्छन्।
"ठट्टा, मीम्स, अफवाह र षड्यन्त्र सिद्धान्तहरूले ब्रिटिश रोयल नेभीको छवि र विश्वसनीयतालाई असर गरिरहेको छ। जेट जति लामो समयसम्म अलपत्र रहनेछ, त्यति नै धेरै गलत जानकारी बाहिर आउनेछ।"
इन्जिनियरिङ समस्या सुरुमा सोचेको भन्दा "धेरै गम्भीर प्रकृतिको जस्तो" देखिने उनी बताउँछन्।
तर प्राय: सेनाले "सबैभन्दा खराब अवस्था" को लागि तयारी गर्नेमा यतिखेर सो जेट विदेशी भूमिमा अलपत्र परेको उनी बताउँछन्।
"धेरैजसो सेनाहरूमा यस्तो घटना हुँदा कसरी प्रतिक्रिया दिने भन्नेबारे स्ट्यान्डर्ड अपरेटिङ प्रसिजर (एसओपी) हुन्छ। त्यसो भए के रोयल नेभीसँग एसओपी छैन?"
जसरी बाहिर प्रतिक्रिया आएको छ त्यसले त्यो खराब देखाएको उनी बताउँछन्।
"यदि यस्तो घटना शत्रुको क्षेत्रमा भएको भए के उनीहरूले यति धेरै समय लिने थिए? यसले एक व्यावसायिक नौसेनाका लागि धेरै खराब पीआर बनाउँछ।"
- तिरुवनन्तपुरमबाट अस्रफ पदान्नाको थप रिपोर्टिङ
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








