सन् २०२८ को एलए ओलिम्पिक्समा दर्शकहरूलाई हवाई ट्याक्सी सेवा दिने 'योजना'

हवाई ट्याक्सी

तस्बिर स्रोत, Getty Images

    • Author, अली अब्बास अहमदी
    • Role, बीबीसी न्यूज

सन् २०२८ को ओलिम्पिक खेलकुदका बेला यदि आयोजकहरूले सघाउन सके भने लस एन्जलसको आकाशमा उडेर सहरको अत्यासलाग्दो ट्राफिकबाट बच्न सकिने छ।

एलए२८ नाम दिइएको सहरको तेस्रो ग्रीष्मकालीन खेलकुद योजनाको जिम्मेवारी पाएको समितिले ओलिम्पिक र पारालिम्पिक खेलहरूका लागि हवाई ट्याक्सी सेवा दिनका लागि आर्चर एभिएशनसँग सहकार्य घोषणा गरेको छ।

उक्त कम्पनीले प्रशंसकहरूलाई खेल स्थलहरूसम्म ल्याउन र त्यसबाट फर्काउन त्यस्ता विमानहरू प्रयोग गर्ने योजना बनाएको बताएको एलए२८ गत साता घोषणा गर्‍यो।

उड्ने ट्याक्सी लामो समयदेखिको सपनाको रूपमा छ। त्यसलाई सन् २०२४ को प्यारिसका खेलहरूमा सुरुवात गर्ने योजना भए तापनि युरोपको हवाई सुरक्षा निकायले समयमै त्यसको प्रमाणीकरणको काम गर्न सकेको थिएन।

अमेरिकाले अनुमति देला?

त्यसरी नै आर्चर एभिएशनलाई अमेरिकी सङ्घीय उड्डयन प्रशासनले समेत अझै प्रमाणित गरेको छैन।

त्यसको अर्थ त्यस्ता विमानहरू व्यावसायिक प्रयोगका लागि अझै तयार छैनन्।

यसका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृतले यस वर्ष उड्डयन नियामकले डिजाइन र सुरक्षा मापदण्डहरू पूरा भएको भनिने गरी एउटा मुख्य प्रमाणीकरण पाउने आशा व्यक्त गरेका छन्।

यदि उनीहरूले सन् २०२८ खेलहरूका लागि समयमै प्रमाणीकरण प्राप्त भएमा हवाई ट्याक्सीहरूले सहरका मानिसहरू र आगन्तुकहरूलाई १० देखि २० मिनेटका उडानहरू प्रदान गर्ने छन्।

तिनले त्यस क्षेत्रका निकै ठूला ओलिम्पिक स्थलहरूसहित चुनिएका गन्तव्यहरूबीच उडान गर्नेछन्।

प्रत्येक यात्राको लागत कति हुने छ भन्ने कुरा स्पष्ट नभए तापनि आर्चर एभिएशनका संस्थापक तथा सीईओ एडम गोल्डस्टाइनले त्यो माथिल्लो श्रेणीको उबरसँग तुलना गर्न सकिने खालको बनाउन चाहेको लस एन्जलस टाइम्सले लेखेको छ।

प्रयोगमा आएमा मानिसहरूले लोकप्रिय ट्याक्सी सेवाका ग्राहकहरूले जसरी एपमार्फत् हवाई ट्याक्सी अनुरोध गर्न सक्नेछन्।

यस विमानले चार जनासम्म बोक्न सक्छ र यसको उडान तथा अवतरण हेलिकप्टर जसरी हुने छ।

प्रमाणित गर्ने आशा

पाइलटेड मिडनाइट विमान "इभिटोल्स" भनिने सवारी साधनहरूको वर्गमा पर्छ। त्यो विद्युतीय ठाडो उडान र अवतरण विमान हो।

आर्चर छोटो दूरीको हवाई यात्रा प्रदान गर्दै भीडभाड हुने सहरहरूमा यात्रा परिवर्तन गर्न खोजिरहेको धेरै इभिटोल निर्माताहरूमध्ये एक हो।

यस उद्योगले ब्याट्री डेन्सिटीसहित धेरै अवरोधहरू देखेको छ र यसका कुनै पनि विमानलाई सङ्घीय उड्डयन प्रशासनले अनुमोदन गरेको छैन।

आर्चरको मिडनाइट विमान १२ इन्जिन र प्रोपेलरहरू सहित निर्मित छ। एलए२८ का अनुसार यसले "परम्परागत हेलिकप्टर भन्दा कम आवाज र उत्सर्जन" गर्छ।

आर्चर एभिएसनले यसलाई सङ्घीय उड्डयन प्रशासन (एफएए) ले "व्यावसायिक विमानहरू जस्तै सुरक्षाको स्तरमा" प्रमाणित गर्ने आशा गरेको छ।

"हामी लस एन्जलसमा मानिसहरूको आउजाउ गर्ने तरिकालाई रूपान्तरण गर्न चाहन्छौँ र अमेरिकामा यातायातको भविष्यलाई आकार दिने विरासत छाड्न चाहन्छौँ," गोल्डस्टाइनले एक विज्ञप्तिमार्फत् भने।

"यसो गर्नको लागि एलए२८ का खेलहरूमा भन्दा राम्रो समय अरू कुनै छैन।"

ओलिम्पिक्सको अवसर

हवाई ट्याक्सी सुरु गर्ने प्रयास गरिरहेका कम्पनीहरूका लागि सुरक्षा, नियमन र लगानी ठूला अवरोध साबित भएका छन्।

त्यस्ता अवरोध र ढिलाइबीच पनि धेरैले अझै ती यातायातको भविष्य हुन सक्नेमा आशावादी छन्।

आर्चर एभिएशन आफ्ना विमानले हालैका प्रवृत्तिहरूलाई पछ्याउन सक्ने कुरामा विश्वस्त देखिन्छ र सन् २०२८ को ओलिम्पिकमा त्यो संसारसामु परिचित गराउन सकिने अवसरका रूपमा हेरेको छ।

ब्रिटिश सरकारले सन् २०२४ मा 'फ्युचर अफ फ्लाइट' कार्ययोजना घोषणा गर्दै त्यसमा सन् २०२६ सम्ममा ब्रिटेनमा पहिलो हवाई ट्याक्सी उडान भर्न सक्ने र आकाशमा नियमित दृश्य बन्न सक्ने प्रक्षेपण गरेको छ।

लस एन्जलसले यसअघि सन् १९८४ र सन् १९३२ मा ओलम्पिक आयोजना गरिसकेको छ र यस सहरले अब तेस्रो पटक ग्रीष्मकालीन खेलहरू आयोजना गर्न गइरहेको छ।

एलए सहरले सन् २०२८ खेलहरूमा कारहरूलाई अनुमति नदिने घोषणा गरेको छ।

जुन त्यस क्षेत्रको ट्रान्जिट प्रणाली विस्तार गर्ने योजनाहरू रद्द गरिएपछि आएको एक ठूलो आदेश हो।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।