बिहारमा पूर्णिया जिल्लाको एक गाउँमा 'नक्कली पुलिस थाना खोलेर ठगी'

तस्बिर स्रोत, Pankaj Yadav
- Author, सीटू तिवारी
- Role, बीबीसी संवाददाता
बिहारको पूर्णिया जिल्लामा नक्कली पुलिस थाना खोलेर जागिर दिने नाममा ठगी गरेको मामिला सार्वजनिक भएको छ।
यो मामिला जिल्लाको मोहनी पञ्चायतमा भएको छ र थानाको शिविर कार्यालय बनाएर कथित तालिम तथा नोकरी उपलब्ध गराउने भनेर ठगी गरिएको थियो भन्ने आरोप लगाइएको छ।
यो कथित तालिम बिहार ग्राम रक्षा दल र होम गार्डमा जागिर दिने नाममा डिसेम्बर २०२४ देखि ज्यानुअरी २०२५बीचमा भएको बताइएको छ।
पूर्णिया जिल्लाका एसपी कार्तिकेय के. शर्माले बीबीसीसँग भने, "नक्कली चौकी जस्तो कुरा होइन। पञ्चायती राज विभाग अन्तर्गत ग्राम रक्षा दलको ३० दिने तालिम दिइन्छ। मुख्य अभियुक्त राहुल कुमार साह यही बिहार ग्राम रक्षा दलसँग सम्बद्ध छन्।"
कार्तिकेय के. शर्माका अनुसार "राहुलले केही व्यक्तिसँग जागिर दिने नाममा ठगी गरेका छन्। अहिलेसम्म हामीलाई २५ जनाको निवेदन आएको छ। यो सम्पूर्ण मामिलामा स्थानीय मुखियाको भूमिकाको पनि अनुसन्धान भइरहेको छ।"
के थियो मामिला?

तस्बिर स्रोत, Pankaj Yadav
बिहारमा पूर्णिया जिल्लाको कसबा थाना क्षेत्रमा मोहनी नामको पञ्चायतको मध्य विद्यालय, बेतौनामा डिसेम्बर २०२४ मा बिहार राज्यका दलपति एवं ग्राम रक्षा दलको एक ब्यानर लगाएर एक महिनाको कथित तालिम दिइएको थियो।
बिहार ग्राम रक्षा दल एवं दलपति ग्रामीण इलाकामा आपत्कालीन स्थितिमा काम गर्ने संरचना हो। यसमा १८ देखि ३० वर्षका युवाहरूलाई राखिएको हुन्छ। जो आगलागी, बाढी, महामारी, शान्ति कायम गर्न र भीड व्यवस्थित गर्ने आदि काममा संलग्न हुने गर्छन्।
यो तालिम पूरा गरेका युवक-युवतीहरूले अहिले नोकरी दिने नाममा आफूहरूलाई ठगी गरिएको गुनासो गरेका छन्।
बीबीसीले यस सम्बन्धमा ठगीको सामना गरेका केही व्यक्तिसँग कुराकानी गरेको छ।
२३ वर्षीय संजना कुमारी बी.कमकी छात्रा हुन्। उनले पनि कसबा थानामा निवेदन दर्ता गरेकी छन्।
संजना भन्छिन्, "करिब नौ महिना पहिले हामीसँग डेढ हजार रुपियाँ लिएको थियो। हामी केही दिन स्कूल (मध्य विद्यालय, बेतौना)मा तालिम लिन पनि गयौँ। राहुलले हामीलाई यदि ग्राम रक्षा दलको मान्यता प्राप्त भयो भने हामी सबैलाई सरकारी नोकरी प्राप्त हुन्छ भनेका थिए। तर अहिले त राहुल फरार भएका छन् ।"
एक अन्य महिलाले बताइन्, "हामीले उनलाई एनसीसीदेखि नै चिन्थ्यौँ र आफ्नै भाइ जस्तो मान्थ्यौँ। गत एक वर्षदेखि उनले करिब ३०० जनालाई ठगेका छन्। उनले सरकारी स्कूलमा थाना बनाए र इन्स्पेक्टर बनेर घुम्थे जबकि उनले स्नातक गरेकै छैनन्।"
"उनले मेरी आमालाई पनि पोसाक दिएर सरकारी जागिर भएको बताए। तर मेरी आमालाई एक पटक पनि तलब प्राप्त भएन। पोसाकमा बीजीआरडी (बिहार ग्राम रक्षा दल) लेखिएको छ। उनले दसदेखि पन्ध्र हजार रुपियाँ माग्थे र भन्थे- तलब २२ हजार रुपैयाँ आउनेछ। उनले मलाई पनि भर्ना हुन भनेका थिए तर मलाई शङ्का लागेको थियो।"

तस्बिर स्रोत, Pankaj Yadav
कसबा थानाको 'मोहनी' शाखा
केही मानिसको दाबी छ - राहुलले भागलपुर, सुपौल, पूर्णिया, कटिहारसहित कैयौँ जिल्लाका युवाहरूलाई नोकरी दिलाउने नाममा ठगेका छन्।
तिनैमध्ये एक नरेश कुमार राय भन्छन्, "बेरोजगारीका कारण मैले ग्राम रक्षा दलको फर्म भरेको थिएँ। त्यसपछि म चयन भएको भनेर राहुलले फोन गरेका थिए। त्यसपछि ऋण लिएर पहिले मैले डेढ हजार र त्यसपछि साढे दुई हजार रुपैयाँ दिएको थिएँ। उनले जागिर हुन्छ भन्ने आश्वासन दिएका थिए तर पछि धम्क्याउन थाले।"
स्थानीय पत्रकार सैयद तहसीन अली भन्छन्, "बेतौनामा एक उप स्वास्थ्य केन्द्रको भवनमा एकातर्फ स्कूल चल्थ्यो र दोस्रोपट्टि एउटा सानो भवन खाली नै थियो त्यसैमा राहुलले थाना बनाएका थिए।"
"यो एक हिसाबले कसबा थानाको शाखा थियो जसमा पुलिसको वर्दी लगाएर उनले बेरोजगारहरूलाई ठग्थे। र प्रभाव जमाउन प्रहरीसँग सेल्फी लिएर सोसल मिडियामा राख्थे।"
करीब २५ वर्षीय राहुल कुमार साह कुनै बेला एनसीसी कार्यकर्ता थिए र त्यसैको मार्फत्बाट धेरै मानिससँग उनको सम्पर्क भएको थियो।
राहुलले डिसेम्बर २०२४मा मध्य विद्यालय, बेतौनामा बिहार राज्य दलपति एवं ग्राम रक्षा दलको ब्यानर लगाएका थिए। अहिले पनि उपलब्ध यसको तस्बिरमा कसबा थाना लेखिएको छ।
'मेलामा 'ड्यूटी' गराइएको थियो र सवारी साधनको पनि जाँच गरिएको थियो'

तस्बिर स्रोत, Pankaj Yadav
राहुलले नै खाली रहेको स्कूलमा एक महिने तालिम गराए। २६ ज्यानुअरी २०२५ मा कथित तालिम पूरा भएकोमा मोहनीका मुखिया श्यामसुन्दर उरांवलाई अतिथि बनाइएको थियो।
श्यामसुन्दर उरांवले कथित तालिम पूरा गरेका युवक युवतीलाई सम्मानित पनि गरे। राहुलकुमार साहले यो तालिमपछि पहिचान पत्र (आईडी कार्ड) पनि बाँडे।
श्यामसुन्दर उरांवले बीबीसीलाई भने, "मलाई केही पनि थाहा थिएन। राहुल आए र तालिम दिए। मलाई त्यो कुरा थानालाई थाहा होला भन्ने लाग्यो। उसले युवा युवतीलाई तीन घण्टा तालिम दिन्थ्यो। म मुखिया हुँ त्यसैले कसैले कुनै कार्यक्रममा बोलाए भने जान्छु।"
के स्कूलमा त्यस्तो गतिविधि गर्न अनुमति थियो ? उनी भन्छन्, "स्कूलका शिक्षकले बारम्बार शिविर लगाउन सरकारी पत्र मागिरहन्थे तर राहुलले कहिल्यै दिएनन्। उनी बारम्बार- पटनाबाट आउँदै छ भनेर टारिरहन्थे। र तालिम दौरान शङ्कास्पद कुरा पनि केही भएन।"
राहुल कुमार साह अहिले फरार छन् र मुखिया श्यामसुन्दर उरांवको भूमिकाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।
राहुलले तालिम दिएपछि एक मेलामा मानिसहरूलाई ड्यूटीमा राखे र कैयौँ स्थानमा वाहन चेक पनि गराए।
स्थानीय पत्रकार पङ्कज यादव भन्छन्, "राहुल कुमार मोहनी पञ्चायतको इलाकामा वाहन जाँच, रक्सी जाँच, गस्ती सब गराउँथे। हेलमेट बिना, वा बिना लाइसेन्स सवारी चलाउनेहरूलाई ४०० रुपैयाँ जरिबानाको पत्र काटिन्थ्यो। यदि रक्सी फेला परे त्यसलाई जफत गरेर थानामा ल्याइन्थ्यो। बेतौनादेखि केही किलोमिटर पर रहेको कसबा थानामा यो सबै क्रियाकलाप भइरहेको थियो।"
पीडित संजीव कुमारले राहुल कुमारबाट प्राप्त आईकार्डबाट मेलामा दुई दिन ड्यूटी पनि गरेका थिए।
उनी भन्छन्, "एनसीसीमा राहुल हाम्रा सीनियर थिए। उनले मलाई ग्राम रक्षा दलमा जागिर खुलेको बताए। यसमा कुनै जाँच नहुने र सीधा बहाली हुने बताएका थिए। हामीले पहिले उनलाई साढे दुई हजार रुपैयाँ दियौँ फेरि आईकार्डका लागि २०० रुपैयाँ दियौँ। हामीले पोसाक पनि सिलायौँ। दुई दिन मेलामा ड्यूटी पनि गराए। त्यसपछि उनी फरार भए।"
राहुलले नोकरी दिने नाममा एक ह्वाट्सएप ग्रुप पनि बनाएका थिए।
पीडित अनिल कुमारका अनुसार, "उसले हामीसँग १० हजार रुपैयाँ लिएको थियो । करिब १५ देखि २० लाख रुपैयाँ ठगी भएको हुनुपर्छ। सत्य कुरा थाहा पाएपछि हामीले उसको घर गएर पैसा फिर्ता माग्यौँ तर उ भागिहाल्यो।"
पूर्णियाका एसपी कार्तिकेय के. शर्मा यो कुरा अस्वीकार गर्छन्।
उनी भन्छन्, "मेलामा ड्यूटी कसरी लगाउन सकिन्छ? वाहन जाँच या रक्सी जाँचको कुरा पनि अहिलेसम्म सार्वजनिक भएको छैन। अहिलेसम्म आएको कुरा चाहिँ जागिर लगाइदिने भनेर उसले दुईदेखि साढे दुई हजार रुपैयाँ सङ्कलन गरेको थियो भन्ने हो।"
बिहार ग्राम रक्षा दल एवं दलपतिसँग जोडिएका मानिसहरू सरकारी नोकरीको माग गरिरहेका छन्।
दलपति सङ्घका महासचिव रवि रञ्जन भन्छन्, "सरकारले माग मानेको छैन तर ग्राम रक्षा दल र दलपतिको बहाली को नाममा पूरै बिहारमा ठगी भइरहेको छ।"
बिहारमा फर्जी थानासँग जोडिएको यो पहिलो घटना होइन। यसअघि सन् २०२२ मा पनि बाँका जिल्लामा यस्तै मामिला सार्वजनिक भएको थियो। सन् २०२४ मा जमुईको सिकंदरा थाना क्षेत्रबाट एक नक्कली आईपीएस पनि पक्राउ परेका थिए।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








