'त्रासमय र तनावपूर्ण': उच्च शिक्षाका लागि अमेरिकाको विकल्प खोज्दै भारतीय विद्यार्थी

- Author, अर्चना शुक्ला र निकिता यादव
- Role, बीबीसी न्यूज, मुम्बई र दिल्ली
अठ्ठाइस वर्षका उमर सोफीले अमेरिकाको प्रख्यात कोलम्बिया विश्वविद्यालयमा भर्ना स्वीकृतिको पत्र पाएपछि आफ्नो यात्राको सबैभन्दा कठिन भाग सकिएको जस्तो उनलाई लागेको थियो।
तीन वर्षसम्म लगातार प्रयत्न गरेपछि अन्तत: सोफीले आफ्नो सपनाको विश्वविद्यालयमा भर्ना र आंशिक छात्रवृत्तिसमेत पाएका थिए। उनले पढ्न जाने भनेर आफ्नो जागिर पनि छोडे।
तर २७ मेका दिन जब अमेरिकाले विद्यार्थी भिसा कार्यक्रम नै रोकिदियो, उनलाई आफ्नो सपना भासिए जस्तो लाग्यो। "म स्तब्ध भएँ। के भइरहेको हो भन्ने ठम्याउँनै सकिनँ," भारत-प्रशासित कश्मीरका सोफीले बीबीसीलाई भने।
कश्मीरदेखि करिब २००० किलोमिटर टाढाकी मुम्बईकी बासिन्दा १७ वर्षीय समिता गर्ग (परिवर्तित नाम)ले पनि उस्तै भोगिन्।
एउटा राम्रो अमेरिकी विश्वविद्यालयमा बायोकेमिस्ट्री पढ्नका लागि भर्नाको स्वीकृति पाएको भोलिपल्ट अमेरिकाले विद्यार्थी भिसा 'अपोइन्टमेन्ट' रोकिदियो। खासमा छालारोगविज्ञ बन्ने उनको चाहनाको पहिलो खुट्किलो थियो बायोकेमिस्ट्री पढ्ने कुरा।
बीबीसीसँग गर्गले भनिन्, "त्रासमय समय छ र धेरै तनाव भएको छ। यसको अन्त्य कस्तो हुने हो भन्ने थाहा छैन, म कतै त्यसै छोडिएँ जस्तो लागिरहेको छ।"
सोफी र गर्गले भर्ना पाएका विश्वविद्यालय र कलेजमा कक्षाहरू अगस्ट महिनामा सुरु हुन्छन् तर उनीहरूको अमेरिकी कलेजमा पढ्ने योजना अगाडि बढ्ला कि नबढ्ला भनेर उनीहरू अन्योलमा छन्।
ट्रम्पका 'विद्यार्थीविरोधी' नीति

तस्बिर स्रोत, Getty Images
गत महिना राष्ट्रपति डोनल्ड ट्र्म्प प्रशासनले संसारभरिका दूतावासहरूमा विद्यार्थी भिसाका अपोइन्टमेन्टहरू रद्द गर्न आदेश दिँदै आकाङ्क्षी विद्यार्थीका सोशल मिडिया अकाउन्टहरूको जाँच बढाउन भनेको थियो ।
अमेरिकाको प्रख्यात हार्भर्ड विश्वविद्यालयलाई ट्रम्पले अत्यधिक उदार भएको तथा यहुदीविरोधी भावनासँग लड्न पर्याप्त कदम नचालेको भन्दै उक्त विश्वविद्यालयविरुद्ध विभिन्न कारबाही गरेपछि विदेशी विद्यार्थीको भिसा रोक्ने कदम अगाडि बढाइएको थियो।
अमेरिकामा संंसारभरिकै सबभन्दा धेरै विद्यार्थी पठाउँदै आएको भारतका लागि ट्रम्पको निर्णयको दूरगामी असर पर्ने छ।
गत एक महिनामा बीबीसीले त्यस्ता २० जना विद्यार्थीसँग कुरा गरेको छ जो अमेरिकी विश्वविद्यालयमा भर्ना हुने प्रक्रियाको विभिन्न चरणमा थिए ।
सबैले आफू गहिरो तनावमा रहेको बताए। धेरैले आफ्नो नाम खुलाउन चाहेनन्। कतै अमेरिकी सरकारबाट आफूलाई भविष्यमा नकारात्मक व्यवहार होला कि अथवा भोलि भिसा पाउने सम्भावना समाप्त हुन्छ वा नवीकरण गर्न सकिन्न कि भन्ने डर थियो।
'ओपन डोर्स' भन्ने विदेशी विद्यार्थीबारे तथ्याङ्क सङ्कलन गर्ने संस्थाका अनुसार ११ लाखभन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थीहरू अमेरिकी कलेजहरूमा सन् २०२३ - २४ मा भर्ना भएका थिए।
तीमध्ये एकतिहाइजति वा ३ लाख ३० हजारभन्दा बढी भारतीय विद्यार्थी थिए।
अनिश्चितताकै कारण शरद् ऋतुको सेमेस्टरका लागि आवेदन दिनेको सङ्ख्या ३० प्रतिशतले घटेको शैक्षिक परामर्शदाताहरू बताउँछन्।
"उनीहरूको सबैभन्दा ठूलो त्रास भनेको सुरक्षा हो- यदि उनीहरूको भिसा अस्वीकृत भयो भने के गर्ने वा पढाइको बीचमै 'डिपोर्ट' भइयो भने के गर्ने?" टीसी ग्लोबल नामको परामर्श कम्पनीका संस्थापक नवीन चोपडा भन्छन्।
विकल्प केके छन्

तस्बिर स्रोत, Tribune News Service via Getty Images
विज्ञहरूका अनुसार अहिले धेरै विद्यार्थीले आफ्नो योजनामा परिवर्तन गरिरहेका छन् वा यूके, जर्मनी, आयरल्यान्ड अनि अस्ट्रेलिया जस्ता तुलनात्मक रूपमा स्थिर मुलुकतर्फ लागेका छन्।
प्रेमा उन्नीले (नाम परिवर्तन) तीन अमेरिकी विश्वविद्यालयमा तथ्याङ्क विश्लेषणमा स्नातकोत्तर गर्न स्वीकृति पाएका थिए। तर उनले त्यतातिर जाने तयारी गरेका छैनन् बरु त्यो विचार नै त्यागिसके।
"हरेक चरणमा अनिश्चय छ, पहिले भिसा, त्यसपछि इन्टर्नशिप र आंशिक काममा पनि बाधा अनि क्याम्पसमा हुँदा पनि हरदम निगरानीमा परिने" उन्नी भन्छन्, "यो असाध्यै तनावपूर्ण छ।"
भिसा अन्तर्वार्ता रोकिएको चाहिँ विद्यार्थीका लागि अध्यागमन नियम कडा बनाउँदै लगेको क्रियाको पछिल्लो कदम हो। केही हप्ताअगाडि अमेरिकाले विद्यार्थीलाई चेतावनी दिँदै कक्षामा नआउनेहरूको भिसा रद्द गरिने या भविष्यमा अमेरिका प्रवेशमा रोक लाग्ने खतरा हुने बताएको थियो।
यी निर्णयहरू ७० प्रतिशत विद्यार्थीका भिसा पाइसकेपछि वा नवीकरण भइसकेपछि आएका छन् र यिनले भारतीय विद्यार्थीमा ठूलो असहजता पैदा गरेका छन्।
बोस्टन कलेजका प्राध्यापक क्रिस आर ग्लासले बीबीसीलाई भने, "कुनै पनि विद्यार्थी अकस्मात् भिसा नीति परिवर्तन हुने मुलुकमा जान चाहन्नन्, उनीहरूलाई स्थिरता र अन्य उपायहरू आवश्यक पर्छ।"
अमेरिकामा पनि आलोचना
उनका अनुसार यस्ता अनिश्चयले दीर्घकालीन समस्या ल्याउने छन् - भारतीय विद्यार्थीको आकाङ्क्षा र उच्च शिक्षाको केन्द्रका रूपमा अमेरिकाको भविष्यमाथि पनि।
ट्रम्पको पछिल्लो कदमअघि पनि अमेरिकी विश्वविद्यालयमा विदेशी विद्यार्थीको सङ्ख्या भने घट्दो क्रममा रहेको पाइन्छ।
'द इन्डिअन एक्स्प्रेस' अखबारका अनुसार सन् २०२३ देखि २०२४ सम्म अमेरिकाले ४१ प्रतिशत विद्यार्थी भिसा आवेदनहरूलाई अस्वीकृत गरिदिएको थियो। यो एक दशककै सबैभन्दा बढी दर हो र सन् २०१४ को तुलनामा त दोबर नै।
विदेशी विद्यार्थीले भिसाका नियम पालना गरेको नगरेकोबारे 'ट्र्याक' गर्ने स्टू्डन्ट एन्ड एक्स्चेन्ज भिजिटर इन्फर्मेशन सिस्टम (सेभिस)ले सन् २०२४ को तुलनामा यो वर्ष विद्यार्थी भर्ना १० प्रतिशत जतिले घटेको देखाएको छ।
कैयौँ अमेरिकी कलेजका लागि अन्तर्राष्ट्रिय विद्यार्थी कलेजको कमाइका प्रमुख आधार हुन्। खास गरी इन्जिनियरिङ र गणित पढाउने क्षेत्रीय तथा राज्यस्तरीय कलेजहरू तिनैमा पर्छन्।
यस्ता विद्यार्थीले अमेरिकी नागरिकले भन्दा बढी ट्यूशन फी तिर्छन्।
सन् २०२३-२४ को शैक्षिक वर्षमा मात्रै विदेशी विद्यार्थीले अमेरिकी अर्थतन्त्रका लागि ४३.८ अर्ब डलर थपिदिएको 'नाफ्सा' संस्थाले जनाएको छ। त्यसले करिब ३ लाख ७५ हजार जनाको जागिर भरथेग गर्न सहयोग गरेको थियो।
"यो ट्यूशनबाट आउने रकममा आएको अल्पकालीन रोकावटको मात्रै कुरा होइन, यो त दुवै मुलुकबीच हुने रणनीतिक सम्बन्धमा पर्ने दीर्घकालीन समस्या पनि हो," प्रोफेसर ग्लासले भने।
दशकौँदेखि भारतीय मेधावी विद्यार्थीहरू भारतमा उच्चस्तरीय विश्वविद्यालय र शिक्षाको अभावका कारण अमेरिकी शिक्षामा भर पर्दै आएका थिए।
त्यसको बदलामा उनीहरूले अमेरिकामा रहेको प्रतिभाको खाडल भर्न मद्दत पनि गरेका थिए।
कैयौँले आफ्नो पढाइपछि आकर्षक काम पनि लिने गरेका थिए। खास गरी बायोटेक्नोलजी, स्वास्थ्यसेवा र डेटा साइन्स क्षेत्रमा दक्ष व्यावसायिक व्यक्तिहरूको परिपूर्ति हुने गरेको थियो।
गुगलका सुन्दर पिचाईदेखि माइक्रोसफ्टका सत्या नादेलासम्म विद्यार्थीका रूपमा अमेरिका पुगेका थिए।
यसलाई इन्डियामा " ब्रेनड्रेन"को समस्याका रूपमा पनि हेर्ने गरिए पनि विज्ञहरू भन्छन् कि भारतले तत्काल नै यी विद्यार्थीहरूका लागि गुणस्तर र सङ्ख्यात्मक रूपमा घरेलु विकल्प उपलब्ध गराउन सक्दैन।
अनिश्चयको बादल छिटै नहट्ने हो भने यो स्थिति अमेरिका र भारत दुवैका लागि हार्ने हार्ने परिस्थिति बन्ने विज्ञहरू बताउँछन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








