गाजा युद्धको विरोध चर्किएपछि एउटा अमेरिकी विश्वविद्यालयको दीक्षान्त समारोह स्थगित

तस्बिर स्रोत, Reuters
संयुक्त राज्य अमेरिकाका दर्जनौँ क्याम्पसहरूमा इजरेलले गाजामा गरिरहेको युद्ध रोक्न माग गर्दै प्रदर्शन भइरहँदा क्यालिफोर्नियाको लस एन्जलीसस्थित एउटा विश्वविद्यालयले दुई सातापछि हुने दीक्षान्त समारोह स्थगित गरेको छ।
सुरक्षाको कारण देखाउँदै यूनिभर्सिटी अफ सदर्न क्यालिफोर्निया (यूएससी) ले मे १० मा हुन लागेको मुख्य दीक्षान्त समारोह उक्त दिन नहुने जानकारी दिएको छ।
एट्लान्टाको एमरी यूनिभर्सिटीमा बिहीवार २८ प्रदर्शनकारीलाई पक्राउ गरिएको थियो।
अमेरिकामा गत साता न्यूयोर्कको कोलम्बिया यूनिभर्सिटीबाट विरोधप्रदर्शनको लहर सुरु भएको थियो।
बिहीवार विज्ञप्ति जारी गर्दै यूएससीले आफ्नो परिसरमा "विद्यार्थी, तिनका परिवार र साथीहरू समेत गरी ६५,००० मानिस उपस्थित हुने गरेको प्रमुख कार्यक्रम गर्न नसक्ने” अवस्था बनेको बताएको छ।
प्रहरीले प्रदर्शन रोक्ने क्रममा बुधवार कैयौँ मानिसलाई पक्राउ गर्नुका साथै विश्वविद्यालयले दीक्षान्तका लागि बनाएका अस्थायी संरचना हटाउन निर्देशन दिएपछि विश्वविद्यालय उक्त निर्णयमा पुगेको हो।
यो विश्वविद्यालयले यसअघि एक मुस्लिम विद्यार्थीलाई नखुलाइएको सुरक्षा खतराका कारण दीक्षान्त समारोहमा आफ्नो मन्तव्य राख्न नदिइने जनाएको थियो।
अन्य विश्वविद्यालयमा पनि प्रदर्शन
एट्लान्टाको एमरी यूनिभर्सिटीमा पनि प्रदर्शन हुन थालेको छ। त्यहाँ प्रदर्शनकारीहरूले प्यालेस्टाइनको समर्थन गर्नुका साथै एट्लान्टामा प्रहरी तालिम केन्द्र स्थापना गर्ने विषयप्रति आपत्ति जनाएका छन्।
त्यस्तो केन्द्र स्थापना गर्ने योजनाको स्थानीयवासीहरूले विरोध गर्दै आएका थिए। विपक्षीहरूले उक्त स्थानलाई 'प्रहरी नगर' बनाउन लागिएको भन्दै विरोध गरेका छन्।
एमरीले जारी गरेको वक्तव्यमा विश्वविद्यालयबाहिर भइरहेको प्रदर्शनमा विद्यार्थीहरू पनि सहभागी भएका र त्यसबाट विश्वविद्यालयलाई अन्तिम परीक्षाको तयारी र अध्ययन अध्यापन प्रभावित भएको उल्लेख गरेको छ।
प्रहरी प्रदर्शनकारी तनाव

तस्बिर स्रोत, Getty Images
प्रदर्शनकारीहरूले प्रहरी अधिकारीहरूलाई धकेलेको दाबी एमरी प्रहरीले जनाएको छ।
"अधिकारीहरूमाथि प्रत्यक्ष आक्रमण भएपछि कानुन कार्यान्वयनकारी निकायले भिड तितरबितर पार्न रासायनिक पदार्थ प्रयोग गर्यो,” एमरी प्रहरीले भनेको छ।
एट्लान्टाको प्रहरीले पनि भिड नियन्त्रण गर्न रासायनिक पदार्थ प्रयोग गरिएको जनाएको छ तर उसले रबरका गोली प्रहार गरिएको आरोप अस्वीकार गरेको छ।
भिडिओमा एक प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिँदै गरेको देखिन्छ।
ती महिलाले आफू एमरीको दर्शनशास्त्र विभागकी प्रमुख रहेको बताएकी छन्।
उनले शान्तिपूर्ण प्रदर्शनलाई प्रहरीले नै उत्तेजित बनाएको आरोप लगाइन्।
कसरी सुरु भयो

तस्बिर स्रोत, Reuters
यसअघि न्यूयोर्कको कोलम्बिया विश्वविद्यालयमा प्रदर्शनका क्रममा १०० जना पक्राउ परेका थिए। प्रदर्शनको लहर अहिले दर्जनौँ क्याम्पसहरूमा फैलिएको छ।
अभियानकर्मीहरूले विश्वविद्यालयहरूलाई “नरसंहार रोक्न ” आग्रह गर्दै आएका छन्। उनीहरूले इजरेलले गाजामा अघि बढाइरहेको युद्धलाई सहयोग पुग्न सक्ने हतियार उत्पादन गर्ने कम्पनीमा विश्वविद्यालयको आर्थिक स्रोत लगानी नगर्न पनि आह्वान गरेका छन्।
दक्षिण अफ्रिकाले एउटा अन्तर्राष्ट्रिय अदालतमा गाजामा नरसंहार गरेको भन्दै इजरेलविरुद्ध हालेको मुद्दा चलिहरेको छ। इजरेलले भने उक्त आरोप आधारहीन भएको दाबी गर्दै आएको छ।
कनेटिकटस्थित येल यूनिभर्सिटीमा कानुनकी विद्यार्थी चिसातो मिमुराले अभियानकर्मीहरू “नरसंहारमा प्रयोग भएका हतियार उपलब्ध गराएको र त्यसका लागि अनुदान दिएकोमा” राष्ट्रपति जो बाइडन र विद्यालयका अधिकारीहरूसँग दुःखी भएको बताइन्।
यहुदी विद्यार्थीको प्रतिक्रिया
कतिपय प्रदर्शनहरू यहुदीविरोधी भावनाबाट प्रेरित भएको आरोप लागेको छ।
कतिपय यहुदी विद्यार्थीहरूले कोलम्बियामा असुरक्षित महसुस भएको बताएका छन् भने अरू केही यहुदी विद्यार्थीहरू प्रदर्शनमा सहभागी पनि भएका छन्।
यूएससी प्रशासनले प्रदर्शनकारी विद्यार्थीहरूसँग सहमतिका लागि समयसीमा तोकेको छ। सहमति नभए विश्वविद्यालय शान्त राख्न आवश्यक उपाय अवलम्बन गरिने विश्वविद्यालयले चेतावनी दिएको छ।
सो विश्वविद्यालयको क्याम्पसमा प्रदर्शनमा गर्ने एक डेमोक्र्याटिक पार्टीकी सांसदकी छोरी पनि छिन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








