ट्रम्पको पछिल्लो यात्रा प्रतिबन्धबारे हामीलाई के थाहा छ?

अमेरिकी इमिग्रेशन कक्षको एक दृश्य

तस्बिर स्रोत, EPA

    • Author, भिक्टोरिया बोर्न
    • Role, बीबीसी न्यूज

ह्वाइट हाउसका अनुसार राष्ट्रपति डोनल्ड ट्रम्पले राष्ट्रिय सुरक्षामा खतरा देखाउँदै १२ देशका मानिसलाई अमेरिका यात्रामा प्रतिबन्ध लगाइदिएका छन्।

अमेरिकी राष्ट्रपतिले त्यो सूची "कुनै सुधार भएमा" हेरफेर गर्न सकिने र "विश्वमा कतै खतरा उत्पन्न भए" प्रतिबन्ध लाग्ने मुलुकको सङ्ख्या थपिन सक्ने बताएका छन्।

निश्चित मुलुकहरूलाई ट्रम्पको आदेशमा यसरी प्रतिबन्ध लगाइएको यो दोस्रो पटक हो।

उनको पहिलो कार्यकालमा सन् २०१७ मा पनि उनले त्यस्तै आदेशमा हस्ताक्षर गरेका थिए।

कुन कुन मुलुक प्रभावित?

ट्रम्पले १२ देशका नागरिकलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाएको घोषणामा हस्ताक्षर गरेका हुन्। ती देश निम्न उल्लेखित छन्:

  • अफगानिस्तान
  • म्यानमार
  • चाड
  • कङ्गो
  • इक्वोटरिअल गिनी
  • इरिट्रिया
  • हेइटी
  • इरान
  • लिबिया
  • सोमालिया
  • सुडान
  • यमन

थप सात मुलुकमाथि आंशिक यात्रा प्रतिबन्ध लगाइएको छ:

  • बुरुन्डी
  • क्युबा
  • लाओस
  • सिएरा लिओन
  • टोगो
  • तुर्कमेनिस्तान
  • भेनेजुएला

यो प्रतिबन्ध सोमवार १२:०१ देखि कार्यान्वयनमा आउने बताइएको छ। यस पटक केही दिनको समय दिइएकाले आठ वर्षअघि कुनै सूचना नदिई तत्काल कार्यान्वयनमा ल्याइएपछि विभिन्न विमानस्थलमा उत्पन्न भएका जस्ता ठूलो अन्योल र समस्या टर्न सक्छ।

किन प्रतिबन्ध घोषणा गरिएको हो?

यो "सामान्य ज्ञानको प्रतिबन्ध"ले "अमेरिकीहरूलाई खतरनाक विदेशी तत्वहरूबाट" जोगाउने ह्वाइट हाउसले जनाएको छ।

आफ्नो ट्रूथ सोसल वेबसाइटमा पोस्ट गरेको भिडिओमा ट्रम्पले भनेका छन् - कोलोराडोको बोल्डरमा हालै भएको कथित आतङ्कवादी हमलाले "उचित जाँच नगरिएका" विदेशी नागरिकहरूद्वारा निम्त्याउने "उच्चतम खतरा प्रस्ट पार्छ।"

आइतवार एक जना मानिसले इजरेली बन्धकहरूको समर्थनमा आयोजित एक सामूहिक भेलामा एक आक्रमण गर्दा १२ मानिस घाइते भएका थिए। त्यहाँ उनले दुईवटा आगो लगाउने उपकरण र अस्थायी आगो फ्याँक्ने हतियार प्रयोग गरेका थिए।

त्यो आक्रमण गर्ने आरोप लागेका व्यक्ति इजिप्टका नागरिक भएको बताइएको छ।

प्रतिबन्धमाथि के छ प्रतिक्रिया?

ट्रम्पको पछिल्लो आदेशले कानुनी चुनौती झेल्नु पर्ने ठानिएको छ। यसप्रति देशभित्र र बाहिर तीव्र प्रतिक्रिया आएको छ।

सोमालियाले कुनै पनि सुरक्षा चासो सम्बोधन गर्न अमेरिकासँग मिलेर काम गर्ने प्रतिबद्धता जाहेर गरेको छ।

एक विज्ञप्तिमा अमेरिकाका लागि सोमाली राजदूत दाहिर हनन अबदीले उनको मुलुकले अमेरिकासँगको "लामो समयदेखिको मित्रतालाई महत्त्व दिन्छ" भनेका छन्।

तर भेनेजुएलाका गृहमन्त्री डीओसडाडो क्याबेलोले चेतावनी दिएका छन्, "अमेरिकामा बस्नु भेनेजुएलाका नागरिकका लागि मात्र होइन जो सुकैका लागि ठूलो खतरा हो ।"

डेमोक्र्याटहरूले तत्काल आदेशको भर्त्सना गरेका थिए।

"ट्रम्पको पहिलो कार्यकालको मुस्लिममाथिको प्रतिबन्धको विस्तारित रूप अहिलेको प्रतिबन्धले हामीलाई विश्व मञ्चबाट थप एक्ल्याउने छ," वाशिङ्टनबाट प्रतिनिधित्व गर्ने ड्रेमोक्र्याट सांसद प्रमिला जयपालले एक सामाजिक सञ्जाल पोस्टमा लेखेकी छन्।

अर्का डेमोक्र्याट सांसद डन बेयरले ट्रम्पले अमेरिकाका संस्थापकहरूको सिद्धान्तलाई "घात" गरेको बताए।

पहिलो पटक के भएको थियो ?

ट्रम्पले पहिलो पटक सन् २०१७ मा उनको पहिलो कार्यकालमा त्यस्तो प्रतिबन्ध लगाएका थिए।

त्यसबेला प्रतिबन्धमा पर्नेमा अहिले पनि परेका इरान, लिबिया र सोमालिया थिए।

आलोचकहरूले त्यसलाई "मुस्लिम निषेध" भनेका थिए। किनभने सुरुमा सात मुस्लिम मुलुकमाथि प्रतिबन्ध लगाइएको थियो।

ह्वाइट हाउसले पछि पहिलो सूचीमा फेरबदल गर्दै दुई गैर मुस्लिम मुलुकहरू उत्तर कोरिया र भेनेजुएला पनि थपेको थियो।

त्यसलाई सर्वोच्च अदालतले सन् २०१८ मा सदर गरिदिएको थियो।

ट्रम्पपछि राष्ट्रपति बनेका जो बाइडेनले सन् २०२१ मा 'हाम्रो राष्ट्रको आत्मसम्मानमा एक धब्बा' भन्दै त्यो प्रतिबन्ध उल्ट्याइदिएका थिए ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।