ट्रम्पको दोस्रो कार्यकालका सय दिन पूरा, उनैका दाबीमा उपलब्धि यस्ता

अमेरिकी राष्ट्रपति ट्रम्प

तस्बिर स्रोत, EPA

    • Author, माइक वेन्डलिङ, मोर्गन गिशल्ट मिनार्ड र हेलेना हम्फ्री
    • Role, बीबीसी न्यूज, वारन मिशिगन र एट्लान्टा जोर्जा

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नो दोस्रो कार्यकालको सयौँ दिनमा आफ्ना उपलब्धिहरू उल्लेख गर्दै र राजनीतिक विरोधीहरूलाई निसाना बनाएर चुनावी अभियानकै शैलीको भाषण गरेका छन्।

उनले भन्ने गरेको "सामान्य अर्थमा क्रान्ति"को प्रशंसा गर्दै ट्रम्पले मिशिगनमा समर्थकहरूको भिडमा "गहिरो परिवर्तन"का लागि आफूले आफ्नो राष्ट्रपति पदलाई प्रयोग गरिरहेको दाबी गरे।

रिपब्लिकन राष्ट्रपति ट्रम्पले आफ्ना पूर्ववर्ती डेमोक्र्याट जो बाइडनको खिल्ली उडाए।

उनले केन्द्रीय ब्याङ्कका प्रमुखमाथि लगाएका आरोपहरूले लोकप्रियतामा कमी आएको सर्वेक्षणहरूले देखाएका भए पनि ट्रम्प अमेरिकी केन्द्रीय ब्याङ्कका प्रमुखलक्षित आलोचना अभिव्यक्त गर्न चुकेनन्।

आप्रवासीको सङ्ख्या कम, अर्थतन्त्रमा दबाव

ट्रम्प राष्ट्रपति बनेपछि गैरकानुनी रूपमा अमेरिका प्रवेश गर्ने आप्रवासीको सङ्ख्यामा नाटकीय रूपले गिरावट आएको छ।

यद्यपि अर्थतन्त्र चाहिँ उनका लागि सम्भावित राजनीतिक जोखिम बनेको छ किनभने उनका नीतिहरूका कारण विश्वव्यापी व्यापारयुद्ध निम्तिएको छ।

ट्रम्पले मङ्गलबार डीट्रोइट शहरको बाहिरी क्षेत्रमा समर्थकमाझ भने, "हामीले भर्खर त सुरु गरेका छौँ, तपाईँहरूले अहिलेसम्म खासै केही देख्नु भएको छैन।"

अमेरिकाको अटोमोबाइल उद्योगको केन्द्रमा बोल्दै ट्रम्पले कार कम्पनीहरू उक्त मध्यपश्चिमी राज्यमा नयाँ उत्पादन प्लान्टहरू खोल्न "लाइन लागेको" बताए। त्यसअघि उनले आफ्नो आर्थिक योजनाको एक प्रमुख हिस्सालाई केही खुकुलो पारेका थिए।

अमेरिकी कार निर्माताहरूले मूल्य बढ्ने खतरा रहेको चेतावनी दिएपछि ट्रम्पले विदेशी कार र कारका पार्टपुर्जाहरू आयात शुल्कलाई केही खुकुलो पारेका हुन्।

आफ्ना समर्थकहरूको र्‍यालीमा बोल्दै ट्रम्पले आफ्नो लोकप्रियता घटेको जनाउने जनमत सर्वेक्षणलाई "झूटो" भनिदिए।

घट्दो जनसमर्थन

अमेरिकी राष्ट्रपति ट्रम्प

तस्बिर स्रोत, Reuters

ग्यालपका अनुसार सय दिने कार्यकालमा आधाभन्दा कम जनताको समर्थन प्राप्त गर्ने अमेरिकी राष्ट्रपतिहरूमा ट्रम्प दोस्रो विश्वयुद्ध पछिका एकमात्र राष्ट्रपति हुन्। उक्त सर्वेक्षण अनुसार ट्रम्पको अनुमोदन दर उनको पहिलो सय दिने कार्यकालमा खस्किएर ४४ प्रतिशतमा झरेको छ।

यद्यपि रिपब्लिकन मतदाताहरूको बहुमतले अझै पनि राष्ट्रपतिलाई दृढतापूर्वक समर्थन गर्छन् र प्रतिद्वन्द्वी डेमोक्र्याट पार्टीले मतदानको समर्थन जुटाउन सङ्घर्षरत रहेको पनि सर्वेक्षणले देखाएका छन्।

डेमोक्र्याटिक न्याशनल कमिटी (डीएनसी) ले ट्रम्पको पहिलो १०० दिन "व्यापक रूपमा असफल" भएको बताएको छ।

डीएनसीले भनेको छ, "जनजीवन महँगो भएको र त्यसलाई नकार्न नसकिने तथ्यका लागि ट्रम्प दोषी छन्। 'ट्रम्पका कारण उन्पन्न हुन लागेको मन्दी' हाम्रो ढोकामा आइपुगेको छ।"

ट्रम्पले मङ्गलवारको आफ्नो भाषणमा उनकै शैलीमा अनौपचारिक सर्वेक्षण सञ्चालन गरे। त्यस क्रमममा समर्थकहरूको भिडलाई उनीहरूलाई मनपर्ने बाइडेनका उपनामहरू के हुन् भनी सोधे।

उनले आफ्ना डेमोक्र्याटिक पूर्ववर्तीको मानसिक चञ्चलता र उनी कसरी स्वीम सुटमा देखा पर्छन् भन्दै खिल्ली उडाए।

ट्रम्पले सन् २०२० को चुनावमा पनि आफू नै वास्तविक विजयी भएको भन्ने पुरानो जिद्दी दोहोर्‍याए। उक्त निर्वाचनमा उनले हार बेहोरेका थिए तर उनका समर्थकले चुनावी परिणामलाई लिएर अमेरिकी संसद्‌मा वितण्डा मच्चाएका थिए।

अध्यागमनका उपलब्धि

आप्रवासीलाई लैजादै

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, साङ्केतिक तस्बिर

उनको आक्रोशको निसानामा अमेरिकी केन्द्रीय ब्याङ्कका प्रमुख जेरोम पावेल पनि परेका थिए। राष्ट्रपतिले राम्रो काम नगरेको भन्दै पावेलको आलोचना गरेका थिए।

उनले अध्यागमनसम्बन्धी विवरणहरू दिएर आफ्नो यो कार्यकालमा कति काम भए भनेर देखाउने कोसिस गरे।

ट्रम्पले गत वर्षको मार्चमा दक्षिणी सीमामा एक लाख ४० हजार मुठभेडहरू भएकामा यो वर्षको मार्चमा घटेर सात हजारमा सीमित भएको विवरण दिए।

ह्वाइट हाउसले उनको कार्यकाल सुरु भएपछि झन्डै ६५ हजार ७ सय आप्रवासीहरूलाई निष्कासन गरिएको जनाएको छ।

यो गति गत आर्थिक वर्षको तुलनामा सुस्त हो किनभने त्यस वर्ष अमेरिकी अधिकारीहरूले दुई लाख ७० हजार जनाभन्दा बढीलाई निष्कासित गरेका थिए।

आफ्नो भाषणका क्रममा ट्रम्पले अमेरिकाबाट निष्कासन गरिएको र एल साल्भाडोरको मेगा जेलमा आप्रवासीलाई पठाइएको भिडिओ पनि देखाए।

उसको अध्यागमनसम्बन्धी कारबाहीले कानुनी चुनौतिहरूको सामना गरिरहेको छ।

उदाहरणका लागि उनले अमेरिकामा जन्मेकाहरूलाई स्वत: नागरिकता दिने अधिकार अन्त्य गर्न खोजेपछि त्यसविरुद्ध जारी कानुनी चुनौतीलाई लिन सकिन्छ।

विरोधी पनि समर्थक पनि

ट्रम्पका समर्थक

तस्बिर स्रोत, EPA

मङ्गलवारको भाषणमा उनले अण्डाको मूल्य ८७ प्रतिशतले घटेको दाबी गरे। यो दाबी पछिल्लो सरकारी तथ्याङ्क अनुसार मिल्दैन।

ट्रम्पले पदभार ग्रहण गरेपछि मुद्रास्फीति, ऊर्जाको मूल्य र धितोका दरहरू घटेका छन्।

यद्यपि बेरोजगारी केही मात्रामा बढेको छ भने उपभोक्तामा आत्मविश्वास कम भएको र उनले लगाएको अन्धाधुन्ध करका कारण शेअर बजार उथलपुथल भएको छ।

ट्रम्पको भाषणअघिको कुराकानीमा मिशिगनमा सिकर्मी व्यवसायी जो डेमोनाकोले ट्रम्पको आयात करले मूल्य बढाउन थालेको बताए।

"मलाई के आशा थियो भने... उनले दोस्रो कार्यकालमा आउँदै गर्दा अलिकति अनुभवी भएकाले केही फरक तरिकाले हेर्नेछन् र कदमहरू चाल्नेछन्," डेमोनाकोले बीबीसीसँग भने।

"तर हामी त केवल पानीमा पो हिडिरहेका छौँ र केही राम्रो हुन्छ कि भनेर हेर्दैँ छौँ।"

तर के स्पष्ट छ भने ट्रम्पका सबैभन्दा दृढ समर्थकहरू उनको साथमा छन्।

जोर्जाको एटलान्टास्थित सिल्भर स्किलेट डाइनरकी मालिक टेरेसा ब्रेकिन्रिजले बीबीसीसँग भनिन्, "म रोमाञ्चित छु।"

"उनले जे सक्छन् ती कुरालाई सम्हाल्दै छन् र एकै दिनमा कैयौँ पटक उनले जनतालाई पनि त्यसको जानकारी दिइरहेका छन्… मलाई लाग्छ करहरू निश्चित रूपमा हाम्रो पक्षमा हुने छन्।"

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।