युक्रेनको स्तब्धकारी हमलाको पुटिनले बदला लिने ट्रम्पको चेतावनी

तस्बिर स्रोत, Getty Images
- Author, बर्न्ड डेबुस्मान जुनिअर
- Role, बीबीसी न्यूज
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनले रुसी हवाई अखडाहरूमा गरेको बृहत् ड्रोन हमलाको बदला लिनु पर्ने अवस्था उब्जिएको आफूलाई बताएको अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भनेका छन्।
रुसी नेतासँगको टेलिफोन कुराकानीपश्चात् बोल्दै ट्रम्पले भने: "राष्ट्रपति पुटिनले भने, जोड दिएर भने, कि उनले हवाई अखडाहरूमा हालै भएका आक्रमणको जबाफ दिनै पर्ने छ।"
रुसी अधिकारीहरूले ट्रम्पको टिप्पणीको पुष्टि गर्न अस्वीकार गरे तर यसअघि मस्कोले युक्रेन हमलाका विरुद्ध 'सैन्य विकल्प' खुला रहेको प्रतिक्रिया दिएको थियो।
तत्काल शान्ति नहुने चेतावनी
सामाजिक सञ्जालमा लेख्दै ट्रम्पले पुटिनसँग उनको एक घण्टाभन्दा धेरै बेर कुराकानी भएको तर त्यसबाट रुस र युक्रेनबीच 'तत्काल शान्ति नहुने' बताए।
रुसको सरकारी समाचार एजेन्सी आरआईए नोभोस्तीले पुटिनले युक्रेनले वार्ता 'बिथोल्न' प्रयास गरेको र किएभको सरकार 'आतङ्ककारी सङ्गठनमा परिणत भएको' ट्रम्पलाई भनेको उल्लेख गरेको छ।
दुई नेताले 'दुई देश बीचको धेरै सम्भावनायुक्त आपसी सहयोग पुनर्स्थापनाको सम्भावनाबारे पनि संवाद गरेको' उसले उल्लेख गरेको छ।
युक्रेनले जुन १ तारिख लामो दूरीका परमाणु क्षमतायुक्त बमवर्षकहरूलाई लक्षित गरी रुसी हवाई अखडाहरूमा गरेको ठूलो स्तरको आश्चर्यजनक ड्रोन हमला गरे यता दुई नेताबीच भएको यो पहिलो कुराकानी हो।
फोन संवादका दौरान अमेरिकालाई उक्त हमलाबारे युक्रेनले पूर्व जानकारी नगराएको ट्रम्पले पुटिनलाई बताएको रुसी राष्ट्रपतिका सहयोगी युरी उशाकोभले बताए।
मस्कोमाथि दबाव बढ्ने युक्रेनको आश
युक्रेनका एक मन्त्रीले रेडियो फोरको वर्ल्ड टुनाइट कार्यक्रममा बोल्दै रुसद्वारा भइरहेको निरन्तर क्षेप्यास्त्र तथा ड्रोन हमलाको जबाफमा अमेरिकाले मस्कोमाथि थप आर्थिक प्रतिबन्ध तथा थप दबाव दिने उनको देशले आशा गरेको बताए।
गत साता ट्रम्पले पुटिनलाई युद्ध रोक्न दुई साताको समयसीमा दिएको जस्तो भान पर्ने टिप्पणी गरेका थिए।
तर बुधवार ट्रम्पले त्यसबारे कुनै चर्चा गरेनन्।
सामाजिक सञ्जाल एक्समा टिप्पणी गर्दै युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भने, "पुटिनका धम्कीहरू प्रति विश्व समुदायले कमजोर प्रतिक्रिया जनाए त्यसलाई उनले आफ्ना कारबाही प्रति बाँकी विश्वले आँखा चिम्लने छन् भनेर ठान्छन्।"
इस्तानबुलमा यही साता युक्रेन र रुसका प्रतिनिधिहरूबीच भएको दोस्रो चरणको प्रत्यक्ष वार्ता कुनै ठोस परिणाम विना सकिएको थियो। दुई देशले बन्दी साटासाट गर्ने सहमति चाहिँ गरेका थिए।
रुसले निशर्त युद्धविरामबारे किएभ तथा उसका पश्चिमा सहयोगी देशहरूको मुख्य मागलाई अस्वीकार गरेको युक्रेनी वार्ताकारहरूले बताएका छन्।
रुसी टोलीका अनुसार उनीहरूले युक्रेन युद्धको अग्र मोर्चामा रहेका निश्चित इलाकामा युद्धविरामहरू गर्ने प्रस्ताव राखेका छन्। त्यसको विस्तृत विवरण खुलाइएको छैन।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








