रुसमा युक्रेनी ड्रोन हमला तीव्र, दुई ऊर्जा केन्द्रमा आगलागी

कोनाकोभो ऊर्जा केन्द्रको फाइल तस्बिर

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, कोनाकोभो ऊर्जा केन्द्रको फाइल तस्बिर

युक्रेनले गएराती रुसमा गरेका कैयौँ ड्रोन हमलामा त्यहाँका दुई ऊर्जा केन्द्रमा आगो लागेको देखिएको छ।

रुसी रक्षा मन्त्रालयका अनुसार राजधानी मस्कोसहित देशका १५ क्षेत्रमा १५८ वटा भन्दा धेरै युक्रेनी ड्रोन लक्षित आक्रमण गरिएका थिए।

रुसी सेनाले भने ती ड्रोनको पहिचान गर्दै नष्ट पारिएको दाबी गरेको छ।

तर हमलाको नतिजास्वरुप मस्कोस्थित एक तेल प्रशोधन केन्द्रमा आगो लागेको उक्त सहरका मेयरले बताएका छन्।

सेर्गेई सोब्यानिनका अनुसार राजधानी र आसपासका क्षेत्रमा कम्तीमा ११ वटा ड्रोन निशानामा पारिएको थियो।

किएभले आन्तरिक रूपमा ड्रोन निर्माण गर्ने काम बढाएसँगै उसले आफ्ना हमलामा त्यसको प्रयोग बढाएको छ।

दुवैतर्फबाट हमला र दाबी

यसैबीच रुसी राजधानीबाट करिब १२० किलोमिटर पर टिभिर क्षेत्रमा कोनाकोभो ऊर्जा केन्द्र नजिकै ठूलो विस्फोटनको आवाज सुनिएको बताइएको छ।

रुसी सञ्चारमाध्यमहरूले उक्त केन्द्रमा आगलागी भएको बताएका छन्।

उक्त क्षेत्रका गभर्नर इगोर रुडेन्याले हमलाका कारण आगो लागेको स्वीकारेका छन्। उनले उक्त आगलागी नियन्त्रणमा आइसकेको बताए पनि त्यहाँ के प्रहार भएको थियो भन्ने खुलाएनन्।

स्थानीय अधिकारीहरूका अनुसार मस्को क्षेत्रको कशिरा ऊर्जा केन्द्रमा समेत ड्रोन हमलाको प्रयास भए पनि त्यहाँ कुनै आगलागी, क्षति वा हताहत हुने अवस्था सिर्जना भएन।

युक्रेनले ती दाबीबारे प्रतिक्रिया जनाएको छैन।

तर पछिल्ला केही महिनायता युक्रेनी फौजहरूले रुसभित्र लामो दूरीका हमलालाई तीव्रता दिएका छन्। उनीहरूले एक सातामा कैयौँ पटक एकसाथ धेरै ड्रोन प्रहार गरेका थिए।

युक्रेनको सुमी क्षेत्रमा अन्न बोकेका गाडीको लस्करमा एक रुसी हवाई हमला हुँदा २३ वर्षका लरी चालकको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन्।

अभियोजनकर्ताहरूका अनुसार उक्त हमलाका क्रममा एउटा लरीमा आगो लाग्दा अन्य चार जना घाइते भएका छन् भने झण्डै २० वटा लरीमा क्षति पुगेको छ।

बीबीसी न्यूजलाई बताइए अनुसार पश्चिमा प्रविधि र आर्थिक सहायताले किएभलाई रुसभित्र लामो दूरीका हमला गर्न सघाइरहेको छ।

डोनेट्स्कमा रुसी पकड कायमै

युक्रेनी वायु सेवाले रुसले प्रयोग गरेका ११ मध्ये आठ वटा ड्रोनलाई नष्ट पारिएको जनाएको छ।

उसले मिकोलाइभका क्षेत्रमा समेत अन्न र कृषि केन्द्रहरूलाई निशाना बनाइएको उल्लेख गरेको छ।

सुमीको सीमा रुसको कुर्स्क क्षेत्रसँग पर्छ जहाँ युक्रेनले एक महिनादेखि घुसपैठ गरेरै हमला गरिरहेको छ।

पछिल्ला दिनमा प्रगति सुस्त भए तापनि युक्रेनले गत साता १०० बस्तीहरू सहितका १,२९४ वर्ग किलोमिटर भूभाग नियन्त्रणमा लिएको जनाएको छ।

किएभले झण्डै ६०० रुसी सैनिकहरूलाई समेत पक्राउ गरिएको जनाएको छ।

संवाददाताहरू युक्रेनी हमलाबाट भएका क्षतिको पूर्ण विवरण रुसले बिरलै दिने गरेको बताउँछन्।

यसैबीच रुसी फौजहरूले तीव्र गतिमा युक्रेनको पूर्वी डोनेट्स्क क्षेत्रमा पकड जमाउने काम जारी राखेका छन्।

सो क्षेत्र पछिल्ला महिनामा मस्कोको स्थल कारबाहीको केन्द्रका रूपमा छ।

पोक्रोभ्स युक्रेनी फौजका लागि बन्दोबस्तका सामान उपलब्ध गराउने एउटा मुख्य केन्द्रका रूपमा छ।

कैयौँ महत्त्वपूर्ण सडकहरू जोडिने र एउटा मुख्य रेल स्टेसन उक्त सहरमा छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।