एफ-१६ लडाकु विमान दुर्घटनापछि युक्रेनी राष्ट्रपतिद्वारा वायुसेना प्रमुख बर्खास्त

युक्रेन

तस्बिर स्रोत, Getty Images

    • Author, म्यालोरी मोन्च
    • Role, बीबीसी न्यूज

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले देशको एउटा मूल्यवान् एफ-१६ जेट विमानमा पुगेको क्षतिको बहस चर्किरहँदा युक्रेनी वायुसेनाका प्रमुखलाई बर्खास्त गरेका छन्।

जेलेन्स्कीले लेफ्टिनेन्ट कर्णेल मिखोला ओलेसचुकलाई हटाउनुको कारण खुलाएका छैनन् तर "सबै हाम्रा योद्धाहरूको ख्याल गर्ने" उनको जिम्मेवारी रहेको बताए।

युक्रेनका पश्चिमा साझेदारहरूले यसै महिनाको सुरुमा अमेरिकामा निर्मित केही एफ-१६ किएभलाई दिएका थिए।

तिनैमध्येको एउटा विमान सोमवार खसालिँदा त्यसका पाइलट मारिएका थिए।

उक्त दुर्घटना रुसले एकसाथ कैयौँ क्षेप्यास्त्रहरू प्रहार गर्दा भए तापनि युक्रेनले त्यो शत्रुको हमलाको प्रत्यक्ष नतिजा नभएको जनाएको छ।

उसले ओलेसचुकले त्यसमा कसलाई दोषी मान्ने भनेर केही राजनीतिज्ञहरूसँग कुरा गरेको जनाएको छ।

पछिल्लो युक्रेनी रणनीति के छ?

रुसले सन् २०२२ को फेब्रुअरीमा युक्रेनमा पूर्ण आकारको अतिक्रमण सुरु गरेर उक्त देशको पूर्वतर्फमा रहेको ठूलो भूभाग कब्जा गरेको छ।

तर युक्रेनले समेत यस महिनाको सुरुमा रुसको पश्चिमी कुर्स्क क्षेत्रमा आश्चर्यजनक रूपमा प्रवेश गरेर हमला सुरु गर्‍यो। र उसले रुसको भित्री भूभागमा आफ्ना फौज अगाडी बढिरहेको जनाए।

जबाफमा रुसले युक्रेनभर आफ्ना हमला तीव्र पार्‍यो।

शुक्रवार रुसको नियन्त्रित बम उत्तरपूर्वी युक्रेनी सहर खार्किभमा रहेको एक खेलमैदानमा खस्दा एक जना १४ वर्षीय बालिकाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताए।

रुसी सीमा नजिकैको उक्त सहरको एक बाह्र तले आवासीय भवनमा समेत प्रहार हुँदा कम्तीमा छजना अन्य मानिसहरू मारिनुका साथै ५९ जना घाइते भए।

राष्ट्रपति जेलेन्स्कीले युक्रेनका सबै अन्तर्राष्ट्रिय साझेदारहरूलाई त्यस्ता हमला रोक्नका लागि रुसभित्रका निशानामा प्रहार गर्नका लागि आह्वान दोहोर्‍याएका छन्।

उनको कार्यालयका अनुसार मस्कोका फौजले गत सातामा मात्र युक्रेनमा ४०० भन्दा धेरै ड्रोन र क्षेप्यास्त्र हमला गरेका थिए।

चर्को बहस निम्त्याएको घटना

जेलेन्स्की

तस्बिर स्रोत, Getty Images

टेलिग्रामको एक पोस्टमा जेलेन्स्कीले लेफ्टिनेन्ट कर्णेल मिखोला ओलेसचुकलेलाई हटाउने निर्णय गरेको भन्दै "निर्देशन दिने तहमा हामी सबैले आफूलाई सुदृढ पार्दै हाम्रा नागरिकलाई बचाउनुपर्ने" बताए।

युक्रेनको वायु सेनाले यसअघि मारिएका पाइलट कर्णेल ओलेस्सी मेस रहेको जनाएको थियो।

"आकाशमा आफ्नो अन्तिम युद्ध उनले नायक जसरी लडे," त्यसमा २६ अगस्टमा उनले तीन वटा क्रुज क्षेप्यास्त्र र एउटा ड्रोन खसालेको जनाउँदै भनिएको छ।

मुनफिस कलसाइन भएका कर्णेल मेस ए-१६ मिशनका लागि विदेशमा तालिम लिएका युक्रेनका एकजना सबैभन्दा अनुभवी पाइलट थिए।

यसअघि सेन्ट्रल एअर कमाण्डको नेतृत्व गरेका लेफ्टिनेन्ट कर्णेल अनाटोली क्राइभोनोज्कोलाई अहिले युक्रेनी हवाई सेनाको अन्तरिम कमाण्डरको नेतृत्व दिइएको एक विज्ञप्तिमा जनाइएको छ।

युक्रेनमा चर्को बहस सिर्जना गराएको एफ-१६ दुर्घटनापछि क्राइभोनोज्कोले उक्त जिम्मेवारी लिएका हुन्।

अनुसन्धान

संसद्को रक्षा समितिमा रहेका एकजना युक्रेनी नेता मारिआना बेझुलाले उक्त विमान युक्रेनको प्याट्रिअट हवाइ प्रतिरक्षा प्रणालीका कारण खसेको दाबी गरेकी छन्।

यसअघि शुक्रवार जबाफ दिने क्रममा ओलेसचुकले अनुसन्धान जारी रहेको र कसैले पनि केही कुरा नलुकाउने बताए।

उनले ती सांसदलाई सैन्य नेतृत्वलाई बदनाम गराएको आरोप लगाउँदै उनले माफी माग्नुपर्ने समय आउने बताएका थिए।

सन् २०२३ को अगस्टमा अमेरिकी राष्ट्रपति जो बाइडनले आफ्ना युरोपेली साझेदारहरूलाई उनीहरूले चाहेमा युक्रेनलाई एफ-१६ दिन सक्ने अनुमति दिएका थिए।

जसयता पश्चिमा सैन्य सङ्गठन नेटोका सदस्य देशहरूले किएभलाई झण्डै ६५ वटा एफ-१६ दिने बाचा गरेका थिए।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।