रुसी बमवर्षकहरूमाथि आश्चर्यजनक 'अपरेशन स्पाइडर वेब' सञ्चालन गर्न युक्रेनले अपनाएको शैली

युक्रेनी राष्ट्रपति र एसबीयू प्रमुख

तस्बिर स्रोत, Ukraine Presidential Press Service/EPA-EFE/Shutterstock

त्यो आश्चर्यजनक ढङ्गले अभूतपूर्व, बृहत् र १८ महिनाको तयारीपछि गरिएको एउटा चलाखीपूर्ण हमला थियो।

जुन १ तारिखमा १०० भन्दा बढी युक्रेनी ड्रोनहरूले रुसभित्र रहेका हवाई अखडाहरूमाथि हमला गरे, जसअन्तर्गत परमाणु क्षमतायुक्त लामो दूरीका बमवर्षकहरूलाई निसाना बनाइयो।

'स्पाइडर वेब' नाम दिइएको आक्रमणको स्तरबारे त्यो सुरुवात हुनासाथ करिबकरिब स्पष्ट हुन थाल्यो।

उत्तरतिर मर्मान्स्कमाथि आर्कटिक सर्कलदेखि युक्रेनबाट आठ हजार किलोमिटरभन्दा टाढा पर्ने पूर्वतर्फ अमुर क्षेत्रसहित रुसभरि विभिन्न स्थानमा विस्फोट भएका विवरणहरू आउन थाले।

रुसी रक्षामन्त्रीले मर्मान्स्क, इर्कुत्स्क, इभानोभ, रियाजान र अमुर गरी पाँचवटा क्षेत्रमा आक्रमण गरिएको पुष्टि गरे। तर मर्मान्स्क र इर्कुत्स्कमा मात्रै विमानहरूमा क्षति पुगेको भन्दै अरू ठाउँमा आक्रमणहरूलाई निस्तेज पारिएको बताए।

हमलापछि सार्वजनिक तस्बिरहरूमा युक्रेनी सुरक्षा सेवा (एसबीयू) का प्रमुख भासिल मालिउक हवाई अखडाहरूको एउटा भूउपग्रह नक्सा हेरिरहेका देखिन्छन्, जसमा रुसद्वारा सूचीकृत स्थानहरूमा अवस्थित ठाउँहरूलाई स्पष्ट रूपमा चिन्न सकिन्छ।

कारबाही

 एसबीयू प्रमुख

मालिउकका अनुसार ड्रोनहरूलाई लरीपछाडि काठको क्याबिनभित्र राखेर रुस पुर्‍याइएको थियो र तिनलाई रिमोटबाट सञ्चालन हुने अलग्गिने खालका छतमुनि लुकाइएको थियो।

लरीहरूलाई स्पष्ट रूपमा चालकहरूले हवाई अखडाहरूनजिक पुर्‍याए। चालकहरूलाई ती अखडाबारे थाहा थिएन। त्यसपछि ड्रोनहरूलाई सञ्चालन गरियो र तिनीहरूको निसानामा पुर्‍याइयो।

संलग्नमध्ये एउटा सवारीसाधनको छतबाट ड्रोनहरू निस्किरहेको अनलाइन भिडिओहरूमा देखिन्छ।

रुसी सरकारी सञ्चारमाध्यम रीआ नोभोत्सीले अन्तर्वार्ता लिएका एक लरी चालकले उनी र अरू चालकहरूले लरीबाट उडिरहेका ड्रोनहरूलाई ढुङ्गाले हानेर खसाल्ने प्रयास गरेको बताएका छन्।

"तिनीहरू ट्रकका पछाडि थिए र हामीहरूले उड्नबाट रोक्नका निम्ति ढुङ्गाले हान्यौँ ताकि तल नखसून्," उनले भने।

सुरक्षा सेवाहरूसँग सम्बन्धका लागि चिनिने रुसी टेलिग्राम च्यानल बाजाका अपुष्ट रिपोर्टहरूका अनुसार ड्रोनहरू उडाउन प्रयोग गरिएका लरीहरूलाई व्यापारीहरूले रुसका विभिन्न स्थानमा काठका क्याबिनहरू पुर्‍याउनका निम्ति तिनको बुकिङ गरेका भनी उस्तै विवरण सुनाए।

लरीहरूलाई कहाँकहाँ पार्क गर्ने भनेर टेलिफोनबाट थप निर्देशनहरू आएको बताउँदै त्यसो गरेपछि ड्रोनहरू उडेको देखेर आश्चर्यमा परेको उनीहरूले सुनाए।

आइतवार राति सामाजिक सञ्जालमा गरेको एउटा विजयी भावयुक्त पोस्टमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ११७ वटा ड्रोनमार्फत्‌ गरिएको साहसिक हमलाको तयारी गर्न "एक वर्ष, छ महिना र नौ दिन लागेको" उल्लेख गरेका छन्।

एउटा निसाना चाहिँ रुसी सुरक्षा सेवा एफएसबीका कार्यालयहरूमध्ये एउटाको छेउमै थियो।

रुसले आक्रमणसँग सम्बन्ध देखिएका मानिसहरूलाई गिरफ्तार गरिएको बताएको छ भने जेलेन्स्कीले कारबाहीमा सहजीकरण गरेका मानिसहरूलाई "रुसी भूभागबाट फिर्ता ल्याइसकिएको र उनीहरू अहिले सुरक्षित रहेको" बताएका छन्।

अहिले हटाइसकिएको एउटा टेलिग्राम पोस्टमा इर्कुत्स्क क्षेत्रको उस्त-कुत सहरका अधिकारीहरूले बेलाया हवाई अखडामा गरिएको ड्रोन हमलासँग सम्बन्ध भएका एक ३७ वर्षीय व्यक्तिको खोजी भइरहेको बताएका थिए।

ड्रोनहरू

ड्रोनहरू

तस्बिर स्रोत, SBU

एउटा गोदाममा रहेका काठका क्याबिनभित्र ससाना कालो रङका ड्रोनहरू राखिएका एसबीयूले सार्वजनिक गरेका तस्बिरहरूमा देखिन्छ। रुसी सैनिक ब्लगरहरूले त्यो चेलियाबिन्स्कको एउटा स्थान भएको बताएका छन्।

यूकेमा रहेका एक ड्रोनविज्ञ स्टिभ राइटले रुसी विमानहरूमाथि हमलामा प्रयोग गरिएका ड्रोनहरू तुलनात्मक रूपमा भारी 'पेलोड' लैजाने साधारण किसिमका 'क्वाडकोप्टरहरू' भएका बीबीसीलाई बताए।

उनका अनुसार आक्रमणलाई "निकै असाधारण" बनाउने कुरा त्यसलाई रुसी भूमिसम्म पुर्‍याएर टाढाबाट सञ्चालन गर्न सक्नु थियो, जसलाई भूउपग्रह अथवा इन्टरनेटमार्फत् 'रिले' गरिएको हुन सक्छ।

जेलेन्स्कीले बताएअनुसार सञ्चालन गरिएका ११७ वटा ड्रोनका आआफ्नै पाइलटहरू थिए।

जीपीएस प्रयोग गरेर पनि ड्रोनहरू उड्न सक्षम रहेको राइट बताउँछन्। तर टाढाबाट मानिसमार्फत् नै सञ्चालन गरेर तिनले जाम गर्ने रुसी मापदण्डहरूलाई पनि जितेको हुन सक्ने उनको ठम्याइ छ।

किएभले ड्रोनहरूको उत्पत्तिबारेको विवरण सार्वजनिक गरेको छैन। तर युक्रेन युद्ध सुरु भएयता ड्रोनहरू बनाउन ऊ एकदमै निपुण भइसकेको छ र पछिल्लो हमलामा प्रयोग गरिएका ड्रोनहरू घरेलु पनि हुन सक्छन्।

निसानाहरू

"रूसले ठोस क्षति बेहोरेको छ र यो जायज पनि छ," जेलेन्स्कीले आफ्नो रात्रिकालीन भिडिओ सम्बोधनमा भने।

युक्रेनका अनुसार ४१ वटा रणनीतिक बमवर्षक विमानहरूलाई निसाना बनाइएकोमा "कम्तीमा" १३ वटा नष्ट भएका थिए।

मस्कोले केही विमानहरूमा क्षति पुगेको भन्दै विमानहरू ध्वस्त भएको चाहिँ पुष्टि गरेको छैन।

बीबीसीले पुष्टि गरेका भिडिओहरूमा मर्मान्स्कस्थित ओलेनेगोर्स्क हवाई अखडा र इर्कुत्स्कस्थित बेलाया हवाई अखडामा क्षतिग्रस्त विमानहरू देखिन्छन्।

हमलामा परेका क्षेप्यास्त्रजडित रणनीतिक बमवर्षकहरूमध्ये टीयू-९५, टीयू-२२ र टीयू-१६० हाल उत्पादनमै छैनन्, अर्थात् तिनलाई मर्मत गर्न कठिन हुने छ भने विस्थापन गर्न असम्भव।

क्यापेला स्पेसले सार्वजनिक गरेको रेडार भूउपग्रह तस्बिरमा बेलाया हवाई अखडामा कम्तीमा चारवटा नराम्ररी क्षतिग्रस्त भएका वा नष्ट भएका लामो दूरीका रुसी बमवर्षकहरू देखिन्छन्।

यो युक्रेनी ड्रोन फुटेजसँग मेल खान्छ, जसले टीयू-९५ बमवर्षकमाथि आक्रमण गरिएको पनि देखाउँछ।

"युद्धको नियम र चलनअनुसार हामीले पूर्ण रूपमा वैध लक्ष्यहरू- सैन्य हवाई क्षेत्रहरू र हाम्रा शान्तिपूर्ण सहरहरूमा बमबारी गर्ने विमानहरू- माथि प्रहार गरेका छौँ," एसबीयूका प्रमुख भासिल मालिउकले भने।

टीयू-९५ बमवर्षक विमानहरूले गत साता मात्रै युक्रेनमा ठूलो केएच-१०१ क्षेप्यास्त्र आक्रमण गरेको बताइएको छ।

प्रत्येक बमवर्षक विमानले आठवटा निर्देशित क्रूज क्षेप्यास्त्र बोक्न सक्छ र प्रत्येक क्षेप्यास्त्रमा ४०० किलोग्राम (८८२ पाउन्ड) क्षमताका वारहेड हुन्छ।

ए-५० सैनिक जासुसी विमानहरूलाई पनि निसाना बनाइएको बताइएको छ।

ती युक्रेनी क्षेप्यास्त्रहरूलाई रोक्ने र आफ्नै आक्रमण गर्ने रुसको क्षमता अभिवृद्धि गर्ने मूल्यवान् विमान हुन्।

रुससँग कतिवटा ए-५० छन् भन्ने कुरा ज्ञात छैन। तर सन् २०२४ को फेब्रुअरीमा सैनिक गुप्तचर प्रमुख किरिलो बुदानोभले आठवटा रहेको बताएका थिए। यदि त्यो सही भए त्यसमा कुनै पनि प्रकारको क्षति मस्कोका लागि ठूलो धक्का हुन सक्छ।

सामाजिक सञ्जालमा गरिएको एउटा पोस्टमा एसबीयूले अपरेशन 'स्पाइडर वेब'बाट रुसलाई सात अर्ब डलरको क्षति भएको बताएको छ।

आक्रमणबारे रुसी सरकारी सञ्चारमाध्यमहरू चाहिँ मौन देखिए। आइतवारको प्राइमटाइम टीभी कार्यक्रमहरूले क्षेत्रीय अधिकारीहरूको बयान मात्र उद्धृत गरे। सोमवार बिहानसम्म यो समाचार बुलेटिनहरूबाट नै हराइसकेको थियो।

युक्रेनीहरूले इन्टरनेटमा र अन्यत्र खुसियाली मनाए, एक जनाले उक्त अपरेशनलाई "टाइटनिक" भनेर प्रशंसा गरे।

"अवश्य पनि अहिले सबै कुरा खुलाउन सकिँदैन," जेलेन्स्कीले टेलिग्राममा लेखे, "तर यी यस्ता युक्रेनी कार्यहरू हुन् जुन निस्सन्देह इतिहासको पुस्तकमा दर्ज हुने छन्।"

(कुमार मल्होत्रा, टम स्पेन्सर, रिचर्ड आइर्भिन-ब्राउन, पल ब्राउन र बेनेडिक्ट गार्म्यानको अतिरिक्त रिपोर्टिङ)

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।