युक्रेनविरुद्धको युद्धका निम्ति खर्च जुटाउन रुसलाई पश्चिमा देशहरूको 'घुमाउरो' सहयोग

युद्धमा मारिएका सहकर्मीको शोकमा रहेका युक्रेनी सैनिकहरू

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, पूर्ण स्तरको आक्रमणको चौथो वर्ष चल्दै गर्दा रुसले जीवाश्म इन्धन विदेश निर्यात गरेर युक्रेनविरुद्धको युद्धका निम्ति अर्बौँ रकम जुटाइरहेको छ
    • Author, भिटाली सेभचेङ्को
    • Role, रुस सम्पादक, बीबीसी मोनिटरिङ

रुसले पश्चिमा देशहरूलाई जीवाश्म इन्धन बेचेर अर्बौँ रकम निरन्तर रूपमा कमाइरहेको तथ्याङ्कले देखाएको छ। उक्त व्यापारले हाल चौथो वर्षमा चलिरहेको पूर्ण स्तरको आक्रमणलाई खर्च जुटाउन सघाइरहेको देखिएको हो।

सन् २०२२ को फेब्रुअरीमा आक्रमण सुरु भएयता रुसले 'हाइड्रोकार्बन' निर्यात गरेर युक्रेनले उसका सहयोगीहरूबाट प्राप्त गरेको सहायताभन्दा तीन गुना अधिक आम्दानी गरेको छ।

बीबीसीले गरेको तथ्याङ्क विश्लेषणले युक्रेनका पश्चिमा सहयोगीहरूले उसलाई उपलब्ध गराएको सहायताभन्दा रुसी 'हाइड्रोकार्बन'का निम्ति अधिक रकम तिरेको देखाएको हो।

अभियानकर्मीहरूले युद्धलाई बढावा दिनबाट रुसी तेल र ग्यासलाई रोक्न युरोपेली देशका सरकार तथा उत्तर अमेरिकाले अधिक प्रयत्न गर्नुपर्ने बताएका छन्।

रुसले अझै कति कमाइरहेको छ

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन

तस्बिर स्रोत, EPA

तेल र ग्यासबाट प्राप्त हुने धन रुसका लागि युद्धकार्यलाई जारी राख्न महत्त्वपूर्ण छ।

तेल र ग्यासको व्यापारले रुसको समग्र राष्ट्रिय आयमा झन्डै एकतिहाइ र निर्यातमा ६० प्रतिशतभन्दा अधिक योगदान गर्छ।

फेब्रुअरी २०२२ को आक्रमणलाई मध्यनजर गर्दै युक्रेनका सहयोगीहरूले रुसी 'हाइड्रोकार्बन'माथि प्रतिबन्ध लगाएका थिए। युरोपेली सङ्घले ग्यासमा नभई समुद्री कच्चा तेलको आयातमा रोक लगाइरहँदा यूके र अमेरिकाले तेल र ग्यास दुवैमा रोक लगाएका थिए।

तर 'सेन्टर फर रिसर्च अन एनर्जी एन्ड क्लीन एअर' (सीआरईए) का अनुसार उक्त रोकका बाबजुद २९ मेसम्ममा रुसले जीवाश्म इन्धनको निर्यातबाट ९ खर्ब ७३ अर्ब डलर आम्दानी गरेको छ। उक्त रकममध्ये २ खर्ब २८ अर्ब डलर तिनै प्रतिबन्ध लगाउने देशहरूले योगदान गरेका छन्।

त्यसको सबैभन्दा ठूलो हिस्सा अर्थात् २ खर्ब ९ अर्ब युरो ईयूका सदस्य राष्ट्रहरूबाट आएको छ।

सन् २०२५ को ज्यानुअरीमा युक्रेनले पाइपलाइनमा अवरोध नगर्दासम्म ईयूसँग आबद्ध देशहरूले रुसबाट सोझै ग्यास भित्र्याइराखेका थिए भने अहिले पनि रुसी कच्चा तेल पाइपलाइनमार्फत् हङ्गेरी र स्लोभाकिआ गइराखेको छ।

'सीआरईए'को तथ्याङ्कले रुसी ग्यास टर्की भएर अझै पनि बढ्दो परिमाणमा पाइपलाइनमार्फत् युरोप गइरहेको देखाएको छ। सन् २०२४ को सोही अवधिको तुलनामा सन् २०२५ को ज्यानुअरी र फेब्रुअरीमा २६.७७ प्रतिशतले परिमाण बढेको देखिएको हो।

हङ्गेरी र स्लोभाकिआले अहिले पनि टर्की हुँदै पाइपलाइनमार्फत् रुसी ग्यास आयात गरिराखेका हुन्।

पश्चिमाहरूको प्रयासका बाबजुद रुसले जीवाश्म इन्धनमार्फत् प्राप्त गर्दै आएको आयमा सन् २०२४ मा अघिल्लो वर्षको तुलनामा केवल ५ प्रतिशतको र निर्यातको परिमाणमा ६ प्रतिशतको गिरावट देखियो। 'सीआरईए'को तथ्याङ्कले गत वर्ष रुसले कच्चा तेलबाट गर्ने आयमा ६ प्रतिशतले र पाइपलाइन ग्यासबाट हुने आयमा अघिल्लो वर्षको तुलनामा ९ प्रतिशतले वृद्धि भएको देखाउँछ।

'सीआरईए'ले जनाएअनुसार सन् २०२४ मा ग्यासको युरोप निर्यातमा २० प्रतिशतसम्मले वृद्धि भएको, तरलीकृत ग्यास (एलएजी) को निर्यात अहिलेमसम्मकै उच्च स्तरमा पुगेको र त्यसको कुल निर्यातको आधा युरोप गएको रुसको अनुमान छ।

ईयूकी विदेश नीति प्रमुख काजा काल्लसले केही सदस्य राष्ट्रहरू तनाव बढ्न सक्ने कारण भयभीत भएकाले र "अल्पावधिमा किन्नका निम्ति सस्तो पर्ने भएकाले" गठबन्धनले रुसी तेल र ग्यासमा "कठोर प्रतिबन्ध" नलगाएको बताइन्।

ईयूद्वारा रुसविरुद्ध स्वीकृत प्रतिबन्धहरूको सबैभन्दा पछिल्लो सत्रौँ 'प्याकेज'जमा 'एलएनजी'को आयात समेटिएको छैन तर उसले सन् २०२७ को अन्त्यसम्ममा रुसी ग्यासको आयात पूर्ण रुपले रोक्नेतर्फको मार्गचित्र अपनाएको छ।

युक्रेनले आफ्ना सहयोगीहरूद्वारा प्राप्त गर्ने सहायताभन्दा रुसले जीवाश्म इन्धन बेचेर गर्ने आय लगातार अधिक रहेको आँकडाहरूले दर्शाउँछन्।

उक्त इन्धनको आवश्यकताले युद्धका निम्ति खर्च जुटाउने रुसको क्षमतालाई सीमित पार्ने पश्चिमाहरूको प्रयत्नमा बाधा पुर्‍याउन सक्ने देखिन्छ।

'ग्लोबल विट्नेस' नामक दबाव समूहकी वरिष्ठ अभियानकर्मी माई रोज्नर धेरै पश्चिमा नीतिनिर्माताहरू रुसी इन्धनको आयात घटाउँदा ऊर्जाको मूल्य बढ्ला भनेर डराउँछन्।

"धेरै सरकारहरूमा रुसको इन्धन उत्पादन र बिक्रीलाई सीमित पार्ने कुनै वास्तविक चाह छैन। ऊर्जाको विश्वबजारमा के असर पर्ला भनेर अति भय छ। कतिसम्म क्षतिको जोखिम मोल्ने भन्नेबारे एउटा सीमा कोरिएको छ," उनले बीबीसीसँग भनिन्।

'प्रशोधित तेलको छिद्र'

प्रत्यक्ष बिक्रीका अतिरिक्त रुसले निर्यात गर्नेमध्येको केही तेल तेस्रो देशमा प्रशोधन भएर पश्चिमी देशहरूमा पुग्छ। उक्त प्रकियालाई 'प्रशोधित तेलको छिद्र' भनेर चिनिन्छ। कहिलेकाहीँ त्यसलाई अन्य देशबाट आउने कच्चा तेलमा समेत मिसाइन्छ।

सीआरईएले आफूले भारत र टर्कीमा तीनतीनवटा त्यस्ता प्रशोधन केन्द्रको पहिचान गरेको जनाएको छ, जसले रुसी कच्चा पदार्थलाई प्रशोधन गरी त्यसबाट प्राप्त तेल प्रतिबन्ध लगाउने देशहरूलाई बेच्छन्।

भारतीय पेट्रोलियम मन्त्रालयले सीआरईएको प्रतिवेदनको आलोचना गर्दै त्यसलाई "भारतको छवि धमिल्याउने भ्रामक प्रयास" भनेको छ।

सबै किसिमका जीवाश्म इन्धनको आयात रोक्न माग गर्दै सन् २०२२ मा पोल्यान्डमा आयोजित विरोध प्रदर्शन

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, यूकेसहितका पश्चिमा देशहरूले प्रशोधन केन्द्रमार्फत् रुसी जीवाश्म इन्धन खरिद गर्छन्

"प्रतिबन्ध लगाउने देशहरू यसलाई स्वीकार्न इच्छुक छन् भन्ने (यी देशहरूलाई) थाहा छ। यो एउटा छिद्र हो। यो पूर्णत: वैध छ। हरकोही यसबारे जानकार छन् र कसैले यसलाई ठूलो स्तरमा रोक्न केही गरिराखेको छैन," सीआरईएमा विश्लेषकका रूपमा कार्यरत वैभव रघुनन्दन भन्छन्।

अभियानकर्मी तथा विश्लेषकहरू पश्चिमा सरकारहरूसँग ग्यास र तेलको आय रुसको ढुकुटीसम्म पुग्न नदिनका निम्ति उपकरण र साधनहरू उपलब्ध रहेको बताउँछन्।

रुसका ऊर्जामन्त्री रहिसकेका तर हाल भ्लादिमिर पुटिनका कट्टर विरोधी रहेका भ्लादिमिर मिल्कोभ रुसी 'हाइड्रोकार्बन'माथि लगाइएको प्रतिबन्ध राम्ररी लागु हुनुपर्ने बताउँछन्। खास गरी 'जी–सेभन' राष्ट्रले इन्धनको मूल्यमा अपनाएको सीमाका सन्दर्भमा उनी "त्यसले काम नगरिराखेको" टिप्पणी गर्छन्।

राष्ट्रपति डोनल्ड ट्रम्पले हलचल मच्चिने गरी अमेरिकी सरकारमा गरेका फेरबदलहरूका कारण प्रतिबन्ध लागु गर्नका निम्ति महत्त्वपूर्ण हुने 'यूएस ट्रेजरी' तथा 'अफिस अफ फरन एसेट्स कन्ट्रोल' (ओएफएसी) जस्ता निकायहरूमा असर पर्न सक्नेमा उनी चिन्तित छन्।

अर्को तरिका भने प्रतिबन्ध छल्दै हिँड्ने रुसी ट्याङ्करका लस्करहरूमाथि निरन्तर दबाव पैदा गर्नु हो।

"त्यो एउटा जटिल कारबाही हो। त्यसमा हरेक केही साता बिराएर नयाँ पानीजहाजहरू, छद्म कम्पनीहरू, व्यापारीहरू तथा बीमकहरूमाथि नयाँ प्रतिबन्ध लगाउनु पर्छ," मिल्कोभ भन्छन्। उनका अनुसार उक्त कार्यमा पश्चिमा सरकारहरू अधिक प्रभावशाली देखिएका छन्। विशेष गरी बिदा हुँदै गरेको जो बाइडन प्रशासनले सन् २००२५ को ज्यानुअरीमा लगाएको नयाँ प्रतिबन्धहरूपछि उनले त्यस्तो अनुभव गरेका हुन्।

रुसी एलएनजी ग्यासको युरोप निर्यातमाथिको रोक र पश्चिमा क्षेत्राधिकारभित्रका प्रशोधित तेलका छिद्रहरू बन्द गरिनु "रुसी हाइड्रोकार्बनलाई पश्चिमबाट अलग्याउने प्रक्रियालाई पूरा गर्नेतर्फको महत्त्वपूर्ण कदम" हुने माई बताउँछिन्।

सीआरईएका रघुनन्दनका अनुसार ईयूलाई रुसी एलएनजीको आयात बन्द गर्न तुलनात्मक रूपमा सजिलो हुने छ।

"एलएनजी निर्यातको ५० प्रतिशत युरोपेली सङ्घ जान्छ र सन् २०२४ मा ईयूको कुल (एलएनजी) ग्यासको खपतमध्ये रुसबाट केवल पाँच प्रतिशत गएको थियो। त्यसैले ईयूले रुसी ग्यास पूरै बन्द गर्ने निधो गरेमा त्यसले ईयूका उपभोक्ताको तुलनामा रुसलाई निकै अधिक मर्का पर्छ," उनले बीबीसीसँग भने।

युद्ध रोक्न ट्रम्पको योजना

भ्लादिमिर पुटिन र डोनल्ड ट्रम्प

तस्बिर स्रोत, Mikhail Svetlov/Getty Images

तस्बिरको क्याप्शन, फाइल तस्बिर - रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग आफ्नो "निकै घनिष्ठ सम्बन्ध" भएको बताउने गरेका ट्रम्पले केही समयअघि कतै उनले आफूबाट फाइदा लिन मात्रै खोजेका त होइनन् भनेर संशय व्यक्त गरेका थिए

बीबीसीले अन्तर्वार्ता गरेका विज्ञहरूले ओपेकले तेलको मूल्य घटाएमा युक्रेनको युद्ध रोकिन्छ भन्ने ट्रम्पको विचारप्रति विमति जनाएका छन्।

"मस्कोका मान्छेहरू उनका कुरामा हाँसिरहेका छन् किनकि त्यसले अमेरिकी शेल तेल उद्योगलाई सबैभन्दा अप्ठेरोमा पार्ने छ, जो मूल्य प्रतिस्पर्धामा कमजोर छ," मिल्कोभले बीबीसीसँग भने।

रुसी कच्चा तेलको उत्पादन लागत ओपेक राष्ट्रका साउदी अरबजस्ता देशका तुलनामा कम रहेको र तेलको मूल्य घटाइएमा रुसभन्दा अघि तिनलाई मर्का पर्ने रघुनन्दन बताउँछन्।

"साउदी अरब त्यसमा सहमत हुने उपाय नै छैन। पहिल्यै यस्तो कोसिस भइसकेको छ। त्यसले साउदी अरब र अमेरिकाबीच तिक्तता पैदा गराएको थियो," उनी भन्छन्।

युक्रेनलाई समर्थन पनि गर्ने र रुसी 'हाइड्रोकार्बन' पनि किनिरहने पश्चिमाहरूको कार्यसँग नैतिक र व्यावहारिक दुवै पक्ष जोडिने रोज्नर बताउँछिन्।

"हामी हामीले निन्दा गर्दै आएको युद्धको आक्रमणकारीलाई पनि पोस्ने र उक्त युद्धको प्रतिरोध गर्न पनि सघाइरहने स्थितिमा छौँ," उनी भन्छिन्, "जीवाश्म इन्धनमाथिको निर्भरताले हामीलाई ऊर्जा बजारका उतारचढाव, विश्वस्तरका ऊर्जा उत्पादक र शत्रुतायुक्त शासकहरूका सामु कमजोर बनाएको छ।"

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।