रुसद्वारा युक्रेनमा हालसम्मकै ठूलो हवाई हमला

तस्बिर स्रोत, Reuters
- Author, जेम्स वाटरहाउस, जरोसलाभ लुकिभ, जीमा क्रु
- Role, बीबीसी न्यूज, किएभ/लण्डन
रुसले युक्रेनका कैयौँ क्षेत्रमा प्रभाव पार्नेगरी हमलालाई तीव्रता दिनेक्रममा एकैरातमा हालसम्मकै सबैभन्दा धेरै ड्रोन तथा क्षेप्यास्त्र प्रहार गरेको छ।
क्षेत्रीय अधिकारीहरू तथा आपत्कालीन सेवासम्बन्धी निकायहरूले जनाएअनुसार रुसी ड्रोन तथा क्षेप्यास्त्र हमलाहरूमा तीनजना बालबालिकासहित कम्तीमा १४ जनाको ज्यान गएको छ भने दर्जनौँ घाइते भएका छन्।
विगत ४८ घण्टाको अवधिमा रुसले युक्रेनमाथि ठूलो स्तरमा गरेको यो दोस्रो ठूलो हमला हो। एक दिनअघि मात्र किएभले रुसी अतिक्रमणयताकै ठूलामध्येका आक्रमणहरू झेलेको थियो।
लडाइँ अन्त्य गर्ने दुई देशबीचको वार्ता कैदी साटासाटको विषय टुङ्गिएपछि रुसले शनिवार घातक आक्रमणहरू गरेको छ।
रुसले युद्धविराम गर्ने प्रस्ताव स्वीकार गरेको छैन।
२२ स्थानमा हमला
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सन् २०२२ को फेब्रुअरीमा युक्रेनमाथि पूर्ण स्तरको अतिक्रमण थालेपछि मस्कोले अहिले युक्रेनको करिब २० प्रतिशत भूभागमाथि नियन्त्रण कायम गरेको छ।
त्यसमा युक्रेनको दक्षिण प्रायःद्वीप क्राइमिया पनि पर्छ जसलाई रुसले सन् २०१४ मा आफूमा गाभेको थियो।
युक्रेनी हवाई बलका अनुसार शनिवार ८ बजेर ४० मिनेटयता रुसले विभिन्न किसिमका ३६७ वटा क्षेप्यास्त्र, यूएभी (अनम्यान्ड एरीअल भेहिकल) तथा ड्रोनहरू प्रयोग गरी हमलाहरू गरेको छ।
आफूहरूले ४५ वटा क्रूज क्षेप्यास्त्रलाई खसालिदिएको र २६६ वटा यूएभीलाई निस्तेज बनाइदिएको युक्रेनी हवाई बलले जनाएको छ।
उसका अनुसार विभिन्न २२ स्थानमा हमलाहरू भएकामा १५ वटा क्षेत्रमा क्रूज क्षेप्यास्त्र तथा यूएभहरू खसालिएको छ।
अघिल्लो रातको तुलनामा रुसले आक्रमण तीव्र पारेको देखिएको छ। अर्कोतर्फ युक्रेनी हवाई बलले रुसका छवटा क्षेत्र प्रभावित हुने गरी १४ वटा बलिस्टिक क्षेप्यास्त्र, २५० वटा यूएभ र ड्रोनहरूले हमला गरेको छ।
शनिवार रातभरिका आक्रमणबाट हताहत भएका विवरणहरू आएका छन्। युक्रेनी आपत्कालीन सेवा निकाय डीएसएनएसका अनुसार किएभ क्षेत्रमा चारजनाको ज्यान गएको छ भने १६ जना घाइते भएका छन्।
किएभका क्षेत्रीय प्रमुखले सामाजिक सञ्जालमा पोस्ट गरेका तस्वीरमा रुसी हमलाहरूपछि कैयौँ घरहरूमा आगो लागेको देखिन्छ।
राजधानी किएभमा स्थानीय अधिकारीहरूका अनुसार ११ जना घाइते भएका छन् भने आवासीय भवनहरूमा आगजनीलगायत क्षति पुगेका छन्।
सयौँ मानिसहरू सिटी मेट्रोको भूमिगत स्टेशनहरूमा आश्रय लिइरहेका छन्। आइतवार वार्षिक किएभ दिवसको बिदा परेकै दिन यी घटनाक्रम देखा परेका हुन्।
क्षेत्रीय अधिकारीहरूका अनुसार रुसी आक्रमणमा परी खार्किभमा तीनजना घाइते भएका छन्।

तस्बिर स्रोत, Reuters
रुसमा पनि असर
रुसी रक्षा मन्त्रालयका अनुसार १२ वटा उसका क्षेत्र तथा क्राइमिया प्रायःद्वीपमा मध्यरातदेखि बिहान ७ बजेको बीचमा ११० वटा युक्रेनी ड्रोनलाई खसालिएको छ भने क्षेप्यास्त्रहरू निस्तेज गरिएको छ।
मस्कोका मेयर सेर्गेई सोबियानिनले बताएअनुसार राजधानीतर्फ आइरहेका १२ वटा ड्रोन खसालिएको छ।
ड्रोनका टुक्राटाक्री खस्दा भएका क्षतिको आकलन गर्नका लागि आपत्कालीन सेवा दलहरू परिचालन गरिएको उनले बताएका छन्।
मस्कोदेखि दक्षिणमा पर्ने टुला क्षेत्रमा ड्रोनका अवशेष एउटा आवासीय भवनमाथि खस्दा अपार्टमेन्टका झ्यालका सिसाहरू फुटेको स्थानीय गभर्नर दिमित्री मिल्याएभले बताए। घटनामा कोही घाइते भएनन्।
टर्कीमा रुसी र युक्रेनी अधिकारीहरूबीच भएको वार्तामा कैदी साटासाट गर्ने सहमति भएपछि पछिल्ला आक्रमणहरू भएका हुन्।
शुक्रवार युक्रेन र रुस प्रत्येक ३९० जना सैनिक तथा गैरसैनिक कैदीबन्दी साटासाट गरे। यो साटासाट सन् २०२२ को फेब्रुअरीयताकै ठूलो हो।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका अनुसार कैदी साटासाट सम्झौताअन्तर्गत शनिवार थप ३०७ युक्रेनी कैदीहरू स्वदेश फर्के। दुई देशले कुल एक हजार कैदी साटासाट गर्ने सहमति गरेका छन्।
तीन वर्षको अवधिमा पहिलो पटक दुई देशका प्रतिनिधिबीच प्रत्यक्ष वार्ता टर्कीमा भएको थियो।
केही दिनअघि मात्रै अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र रुसी राष्ट्रपति पुटिनले अमेरिकाले प्रस्ताव गरेको युद्धविराम सम्झौताबारे दुई घण्टा लामो टेलिफोन संवाद गरेका थिए।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








