ट्रम्पको 'नियोजित प्रहार'का माझ रामापोसा रहे शान्त

तस्बिर स्रोत, Shutterstock
- Author, ग्यारी ओ डोनाह्यु
- Role, बीबीसी न्यूज, प्रमुख उत्तर अमेरिका संवाददाता
डोनल्ड ट्रम्पको दोस्रो कार्यकालको तीन महिना बित्दै गर्दा उनीसँग ओभल अफिसमा 'प्रतिष्ठित' भेटका आकाङ्क्षी विदेशी नेताहरूले कतै ट्रम्पले सबैका सामु झाँको झार्लान् कि? कतिपय मामिलामा त उक्साहटपूर्ण तथा अपमानजनक हुने गरी भनेर, एकदमै सचेत हुनु पर्ने भएको छ।
बुधवार दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामापोसासँगको भेट त्यस्तै हुन गयो। अझ उक्त भेटमा त ट्रम्पले अचानक बत्ती मधुरो बनाउन लगाएर एउटा लामो भिडिओ अनि समाचारका टुक्राहरू नै देखाइदिए – रामापोसालाई अप्ठेरो पार्ने गरी।
के भएको थियो घटना?
केही क्षणको नरम कुराकानीपश्चात् ट्रम्पलाई एकजना पत्रकारले दक्षिण अफ्रिकामा 'श्वेतहरूको नरसंहार' भन्ने गलत ठहरिएका दाबीबारे उनी कसरी ढुक्क हुन सक्छन् भनेर सोधेका थिए।
सुरुमा त्यसको जबाफ रामापोसाले दिए। उनले त्यसका निम्ति राष्ट्रपति ट्रम्पले 'दक्षिण अफ्रिकीहरूको आवाज' सुन्नु पर्ने बताए।
तर अकस्मात् ट्रम्पले आफ्ना सहयोगीलाई बत्ती मधुरो बनाउन आदेश दिए, टेलिभिजन खोल्न लगाए र भने उनी दक्षिण अफ्रिकी नेतालाई 'केही देखाउन' चाहन्छन्।
सोफा पछाडिबाट ट्रम्पका सल्लाहकार एवं दक्षिण अफ्रिकामा जन्मिएका अर्बपति इलोन मस्कले चुपचाप सबै हेरिरहे।
त्यसपछि जे भयो त्यो असाधारण र अमेरिकी राष्ट्रपतिद्वारा श्वेत दक्षिण अफ्रिकीहरूमाथि आरोपित दमन भएको सम्बन्धमा एक निकै नियोजित प्रहार थियो। त्यो फेब्रुअरीमा ह्वाइट हाउसमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई गरिएको व्यवहारको झल्को थियो।

तस्बिर स्रोत, Shutterstock
ठूलो पर्दामा देखिएका भिडिओमा दक्षिण अफ्रिकाका राजनीतिक अतिवादीहरूले रङ्गभेदविरुद्ध गाइने 'शूट द बोएर' गीत गाएको दृश्य थियो। बारम्बार सञ्चार माध्यमले गलत प्रसारण गरेको भनेर आलोचना गर्ने ट्रम्प उक्त अपुष्ट स्रोतका दृश्य देखाउँदा खुसी देखिन्थे। श्वेत किसानहरूको आरोपित चिहानस्थल कहाँ छ भनेर सोध्दा उनले सिधै 'दक्षिण अफ्रिका' भनिदिए।
साथै दृश्यमा देखिएका राजनीतिक नेताहरू – जो दक्षिण अफ्रिकी सरकारमा सामेल छैनन् – सँग श्वेत किसानको भूमि खोस्ने शक्ति भएको पनि ट्रम्पको विश्वास थियो। जुन सत्य होइन।
यो वर्षको सुरुमा रामापोसाले विना क्षतिपूर्ति भूमि अधिग्रहण गर्न सकिने एक विवादास्पद कानुनमा हस्ताक्षर त गरेका थिए तर त्यो कानुन लागु गरिएको छैन। साथै भिडिओमा देखिएका अतिवादीहरूले प्रयोग गर्ने भाषाबाट आफूलाई रामापोसाले टाढै राख्दै आएका छन्।
कसरी प्रस्तुत भए रामापोसा?
तर नेल्सन मण्डेलाका निकट सहयोगी तथा अल्पमतको श्वेत रङ्गभेदी शासनलाई अन्त्य गराउने कुराकानीहरूमा सामेल यी दक्षिण अफ्रिकी नेता ट्रम्पसँगको भेटका लागि पूर्ण तयारीका साथ आएको देखियो।
कतिपय समयमा विदेशी नेताहरूले जानाजान आफूलाई फुर्क्याउन खोजेका प्रयासबारे ट्रम्प अनभिज्ञ रहने गरेको जस्तो देखिन्छ। दक्षिण अफ्रिकाले पनि त्यस्तै रणनीति अपनायो।
हो, ट्रम्प गल्फ खेल भनेपछि मरिहत्ते गर्छन्। तर कुनै कूटनीतिक वा व्यापार नीतिका समस्या समाधान गर्न बसेको बैठकका बेला रामापोसाले आफ्नो देशका दुई चर्चित गल्फ खेलाडी – अर्नि एल्ज र रेटिफ गुजन -लाई ल्याउनु अन्तर्राष्ट्रिय सम्बन्ध विकासको कुनै परम्परागत बुझाइमा पर्दैन।
तर ती दुई श्वेत दक्षिण अफ्रिकी गल्फरलाई देख्दा ट्रम्प खुसी भएको सबैले देखे।
श्वेत किसानहरूको भविष्यबारे तिनले बताएका कुराहरूले त्यति नै समय पायो जति दक्षिण अफ्रिकाका निर्वाचित राष्ट्रपतिले पाए। रामापोसाले धेरै समय आफूलाई शान्त नै राखे र थोरै हस्तक्षेप गरे।
त्यसबाट रामापोसा खुसी नै भएका होलान्। ती दुई गल्फर अनि उनका श्वेत कृषि मन्त्री – जो विपक्षी दलका हुन् र अहिले राष्ट्रिय एकता सरकारमा सामेल छन् – त्यहाँ उनका लागि कवचकै रूपमा प्रस्तुत भएका थिए – एक किसिमले कूटनीतिक स्वर्ण कवच।
ट्रम्पले बारम्बार दक्षिण अफ्रिकाका श्वेत किसानहरूको अवस्थाबारे कुरा उठाइरहे – दर्जनौँ श्वेत दक्षिण अफ्रिकी किसानलाई हालै अमेरिकाले शरणार्थीका रूपमा भित्र्याएको छ। तर राष्ट्रपति रामापोसा उनको जालमा परेनन् र ती उक्साहटलाई त्यत्तिकै जान दिए।
एउटा विन्दुमा उनले आफ्नो साथ रहेका दुई गल्फर र एक अफ्रिकानर (एउटा श्वेत समुदायका दक्षिण अफ्रिकी) अर्बपतितर्फ इँगित गर्दै ट्रम्पलाई भने: "यदि अफ्रिकानर किसानको नरसंहार भएको हुँदो हो त म बाजी ठोक्छु यी तीन पुरुष यहाँ मसँग हुने थिएनन्।"
रामापोसा भड्किएनन् तर ट्रम्पका प्रयत्न पूरै खेर गएको भने मान्न सकिन्न।
यस्तो किसिमको कूटनीति ओभल अफिसका पाहुनाका प्रति जति नै आफ्ना घरेलु अमेरिकी मतदाताप्रति पनि लक्षित थियो।
ट्रम्पलाई समर्थन गर्ने मेक अमेरिका ग्रेट अगेन (मागा) समूहले तिनले ठान्ने गरेका यस्ता दमनका विरुद्ध आवाज उठाइरहन्छन् अनि ट्रम्पलाई आफ्ना समर्थकहरूको चाहना राम्रोसँग थाहा छ।
यदि विदेशी नेताहरूले ट्रम्पको शैली बुझ्न थाले र त्यही अनुरूप आफूलाई प्रस्तुत गर्न थाले भने चाहिँ सायद ट्रम्पले आफ्नो प्रभाव जमाइराख्न त्यस्ता शैली बदल्नु पर्ने हुन सक्छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








