टिकट महँगो भएकै बेला राष्ट्रिय ध्वजावाहक विमानहरू 'ग्राउन्डेड', सस्तो टिकट पाउँदा नेपालीहरू भारत हुँदै विदेश उड्न थाले

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

तस्बिर स्रोत, Kamal Pariyar / BBC

तस्बिरको क्याप्शन, त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलमा आफन्तलाई बिदा गर्न गएका मानिसहरू
    • Author, विष्णु पोखरेल
    • Role, बीबीसी न्यूज नेपाली

नेपाल वायु सेवा निगमका अन्तर्राष्ट्रिय उडान गर्ने अधिकांश विमानहरू 'ग्राउन्डेड' हुँदा वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकसहित विदेश जान लागेका हजारौँ नेपालीहरू प्रभावित हुन पुगेको व्यवसायीहरूले बताएका छन्।

ट्राभल एजेन्सी तथा म्यानपावर व्यवसायीहरूका अनुसार काठमाण्डूस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडानहरू कटौती भएका बेला राष्ट्रिय ध्वजावाहकका विमानहरू नउड्दा त्यसको असर व्यापक देखिएको छ।

अहिले स्तरोन्नतिका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालनको समयलाई सीमित पार्दै उडानहरू कटौती गरिएको छ। त्यसका कारण अन्तर्राष्ट्रिय हवाई भाडादर महँगो हुनुका साथै टिकट नै नपाउने अवस्था उत्पन्न भएको बताइन्छ।

यसैबीच अहिले नेपाल वायु सेवा निगमका अन्तर्राष्ट्रिय उडानमा रहेका चारमध्ये तीन विमानहरू "प्राविधिक" कारणले 'ग्राउन्डेड' हुँदा अवस्था जटिल बनेको व्यवसायीहरू बताउँछन्।

नेपाल वायुसेवा निगमका अधिकारीहरूले चाहिँ "प्राविधिक समस्या हल गर्ने तथा पार्टपुर्जा ल्याउने" कार्य जारी रहेको र चाँडै सबै विमानले नियमित सेवा दिने अपेक्षा गरेको बताएका छन्।

विदेश जान लागेका नेपाली
तस्बिरको क्याप्शन, फाइल तस्बिर

नेपाल वायु सेवा निगमका विमानमा कस्तो समस्या?

नेपाल वायुसेवा निगमले हाल दुईवटा वाइडबडी र दुईवटा न्यारोबडी गरी कुल चार विमानबाट अन्तर्राष्ट्रिय उडान गर्दै आएको छ।

विभिन्न देशका १० गन्तव्यमा उडान गर्ने निगमका ती चारमध्ये दुवै न्यारोबडी र एउटा वाइडबडी गरी तीन जहाजहरू यसै साताको सुरुदेखि 'ग्राउन्डेड' भएको बताइएको छ।

ती जहाजहरू बिग्रिँदा टिकट लिइसकेका हजारौँ यात्रुहरू अलपत्र परेको निगमकै अधिकारीहरूले स्वीकार गरेका छन्। निगमका प्रवक्ता रमेश पौडेलले त्यस्ता यात्रुहरूलाई अन्य जहाजबाट पठाउने तथा होटल व्यवस्था गरेर राख्ने काम गरिएको बताए।

त्रिभुवन विमानस्थलमा नेपाल वायु सेवा निगमको विमान

उनले "प्राविधिक समस्या देखिएपछि" सुरक्षाका लागि उडानहरू रद्द गर्नुपर्ने अवस्था आएको बताए।

उनका अनुसार ग्राउन्डेड विमानहरूमा "फरकफरक खालका समस्या" देखिएका छन्।

समस्या समाधान गर्ने प्रयास पनि भइरहेको उनले बताए।

बिग्रिएका विमान कहिलेदेखि सञ्चालनमा आउलान्?

पौडेलले जहाजहरू बनाउने तथा नेपालमा नपाइएका पार्टपुर्जाहरू झिकाउने काम भइरहेको बताए।

उनले बिहीवार बिहान बीबीसीसँग भने, "एउटा उडिरहेको छ। अर्को वाइडबडी पनि आज बन्दै छ र आजैदेखि त्यो उड्दै छ।"

"दुईवटा न्यारोबडीहरू पनि शनिवारसम्ममा उड्छन्। यो 'मेकानिकल' कुरा भएकाले यसपालि त्यस्तो भएको हो। चाँडै बनाएर उडाउने कोसिसमा छौँ।"

निगमले हाल १० गन्तव्यमा अन्तराष्ट्रिय उडानहरू गरिरहेको छ।

त्यसका लागि २७५ सीट क्षमताका दुईवटा एअरबसका वाइडबडी र १५७ सीट क्षमताका एयरबसकै न्यारोबडी जेट विमानहरू उसले उडाउँदै आएको छ।

छानबिन समिति गठन

नेपाल वायुसेवा निगम

तस्बिर स्रोत, NAC

नेपाल वायुसेवा निगमले बिहीवार दिउँसो एउटा विज्ञप्ति जारी गर्दै आफूले अन्तर्राष्ट्रिय प्रचलनअनुसार विमान निर्माता कम्पनी र नियमनकारी निकायले तोकेको मापदण्डअनुसार मर्मतसम्भार गरी जहाजहरू उडाउने गरेको जनाएको छ।

उसले "पूर्ण रूपले उडानयोग्य भइसकेपश्चात यात्रुहरूको सुरक्षालाई उच्च प्राथमिकतामा राखी उडान सञ्चालन गर्दै आएको तर कहिलेकाहीँ विमानमा आकस्मिक प्राविधिक समस्याहरू आउँदा छोटो समयको लागि" विमान ग्राउन्डेड हुने गरेको उल्लेख गरेको छ।

विज्ञप्तिमा भनिएको छ, "निगमको भण्डारमा भएको भन्दा फरक पार्टपुर्जा आवश्यक पर्ने भएमा सो पार्टपुर्जाको व्यवस्थापन बाहिरी मुलुकबाट आयात गनु पर्ने अवस्थामा केही दिन पनि लाग्न सक्छ।"

विज्ञप्तिमा विभिन्न विमानहरू ग्राउन्डेड हुनुको कारणहरू पनि उल्लेख गरिएको छ।

निगमका अनुसार दुई वटा वाइडबडीमध्ये नाइनएन-एएलजेड कलसाइन भएको विमानले नियमित उडान गरिरहेको छ।

त्यस्तै अर्को वाइडबडी नाइनएन-एएलवाईलाई आवश्यक पर्ने पार्टपुर्जा बिहीवार ब्रिटेनबाट नेपाल आइपुगेको छ र त्यो जहाजले बिहीवारै काठमाण्डू-दिल्ली उडान गर्ने दाबी त्यसमा गरिएको छ।

त्यसैगरी निगमको एउटा न्यारोबडी विमान नाइनएन-एकेडब्लूले चीनमा फाइभसी-चेक सम्पन्न गरेको तर नियमअनुसार पूरा गर्नुपर्ने भन्सार तिर्नेलगायतका कार्यमा ढिलाइ भएको उल्लेख गरिएको छ।

भन्सारसम्बन्धी समस्याका कारण उडान अनुमति पुन: लिनु परेकाले उक्त विमान आगामी शनिवार मात्र काठमाण्डू आउने विज्ञप्तिमा जनाइएको छ।

निगमले उक्त ढिलाइबारे अध्ययन गरी यथार्थ पत्ता लगाउन र कसैको कमिकमजोरी पाइएमा कर्मचारी, मर्मतसम्भार गर्ने कम्पनी र एजेन्टलाई समेत कानुनी प्रक्रिया अनुसार कारबाही सिफारिस गर्न भन्दै एउटा तीन सदस्यीय छानबिन समिति गठन भइसकेको पनि जनाएको छ।

त्यस्तै अर्को न्यारोबडी विमान नाइनएन-एकेएक्सको 'नोज ल्यान्डिङ गिअर' मर्मतका लागि भारतको दिल्ली पठाउने प्रक्रिया सुरु भएको पनि विज्ञप्तिमा उल्लेख छ।

त्रिभुवन विमानस्थलमा उडान कटौती

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जडान गरिएका रेडार

तस्बिर स्रोत, EPA

दैनिक २१ घण्टा खुला हुँदै आएको उक्त विमानस्थल गत कात्तिक २३ गतेदेखि दैनिक १४ घण्टा मात्र सञ्चालन हुन थालेका थियो। त्यसले झन्डै ३० प्रतिशत उडान कटौतीमा परेको अधिकारीहरूले त्यस बेला बताएका थिए।

गत माघ १९ देखि दुई-दुई घण्टा समय थपिएपछि हाल दैनिक १६ घण्टा उडान भइरहेको त्यहाँका सूचना अधिकारी तेजबहादुर पौड्यालले बताए।

सुरुमा बिहान ८ बजेदेखि राति १० बजेसम्म मात्र उडान हुने व्यवस्था गरिएको थियो। अहिले भने बिहान ७ बजेदेखि राति ११ बजेसम्म उक्त विमानस्थलबाट उडान हुने गरेको छ।

आगामी चैत १९ गतेदेखि दुई घण्टा थप गरेर बिहान ६ बजेदेखि राति १२ बजेसम्म उडान गर्न मिल्ने व्यवस्था गरिने योजना रहेको उक्त विमानस्थलले जनाएको छ।

नेपालमा टिकट नपाएपछि भारतीय बाटो

पोखरा विमानस्थल
तस्बिरको क्याप्शन, पोखरा विमानस्थल

गत कात्तिकदेखि नै नेपालबाट सीधै गन्तव्य मुलुक जाने टिकट नपाइने र पाइए पनि धेरै महँगो हुने भएपछि कैयौँ नेपालीहरूले भारत हुँदै तेस्रो मुलुक यात्रा गरिरहेको बताइएको छ।

नेपाल असोसिएशन अफ टूर्स एन्ड ट्राभल्स' अर्थात् नाट्टाका अध्यक्ष कुमारमणि थपलिया भन्छन्, "गएको कात्तिक महिनायता यहाँबाट सीमावर्ती भारतीय सहरका विमानस्थल पुग्ने अनि त्यहाँबाट दिल्ली, मुम्बईजस्ता सहर हुँदै विदेश जाने धेरै बढेका छन्।"

"हाम्रो अनुमानमा यो अवधि (कात्तिकदेखि हालसम्म) करिब ५५,००० मानिस त्यसरी गएका छन्।"

उनका अनुसार नेपालबाट सीधै उड्दा लाग्ने भाडाभन्दा भारतबाट आधा सस्तोमा टिकट पाइएपछि धेरै मानिसहरू दिल्ली पुगेर गन्तव्य देशहरूमा गएका हुन्।

त्यसरी जानेमा अधिकांश विशेष गरी खाडी मुलुकहरूमा जाने नेपाली कामदार रहेको बताइएको छ।

वैदेशिक रोजगार व्यवसायी सङ्घका अध्यक्ष राजेन्द्र भण्डारी भन्छन्, "टिकट धेरै नै सस्तो हुँदा भारतको बाटो हुँदै जानेहरू बढेका छन्। भारतीय बाटो असुरक्षित पनि छ र त्यहाँ अध्यागमनमा नेपालीहरूले दु:ख पनि पाउँछन् तर सरकारले यसमा चासो दिएको छैन।"

थपलिया पनि यस्तो प्रवृत्तिले नेपालको व्यापार भारततर्फ सरेको र सरकारले राजस्वसमेत गुमाएको बताए।

"सरकारी स्वामित्वको नेपाल वायुसेवा निगमले यस्तोमा बजार हस्तक्षेप गर्ने अवस्था बन्नुपर्नेमा उल्टै जहाजहरू ग्राउन्डेड भएका छन्। उडान रद्द हुँदा झन् त्यसमा टिकट काटेकाको चाप पनि अर्कोतिर पर्न गएको छ," उनले भने।

भैरहवा र पोखरा विमानस्थलमा उडान नहुँदा समस्या

व्यवसायीहरू भैरहवा र पोखराबाट नियमित तथा प्रभावकारी रूपमा अन्तर्राष्ट्रिय उडानहरू नहुँदा पनि समस्या उत्पन्न भएको बताउँछन्।

"कम्तीमा भैरहवाबाट हाम्रा श्रमिक जाने गन्तव्य मुलुकमा नियमित उडान भएमा र प्रभावकारी सेवा दिन सके समस्या हुँदैन थियो," व्यवसायी भण्डारीले भने।

गौतमबुद्ध विमानस्थल भैरहवाबाट अहिले नेपाल वायुसेवा निगम, यूएईको फ्लाईदुबई, कुवेतको जजीरा र थाईल्यान्डको थाई एअर एशियाले उडानहरू गरिरहेको अधिकारीहरूले बताएका छन्।

पोखराबाट भने अझै नियमित उडान हुन सकेको छैन।

यी दुवै विमानस्थलबाट नियमित उडानहरू नभएको भन्दै व्यापक आलोचना भइरहेको छ।

सरकारले दुवै विमास्थलबाट उडान गर्दा छुटहरूको व्यवस्था गरे पनि अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरू खासै इच्छुक देखिएका छैनन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।