पोखरा र भैरहवाबाट चीनमा सीधै उडान सुरु गर्ने सरकारी प्रयास, हालसम्म केके भयो

तस्बिर स्रोत, Pokhara International Airport
- Author, विष्णु पोखरेल
- Role, बीबीसी न्यूज नेपाली
पोखरा र भैरहवास्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट चिनियाँ सहरहरूमा नियमित उडान गर्नेबारे फेरि एक पटक चर्चा भइरहेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा जारी भएको दुई देशको संयुक्त विज्ञप्तिमा ती विमानस्थललाई चिनियाँ सहरहरूसँग जोड्ने विषय समावेश भएपछि त्यसबारे फेरि चर्चा सुरु भएको हो।
यद्यपि निर्माण सम्पन्न भएको लामो समय बितिसक्दा पनि पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नियमित हुन सकेको छैन।
भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट भने अहिले केही वायुसेवा कम्पनीहरूले नियमित उडान गरिरहेका छन्।
अधिकारीहरूले चिनियाँ ऋण सहयोगमा निर्माण भएको पोखरा विमानस्थलबाट नियमित उडानका लागि बेइजिङका अधिकारी "सकारात्मक भएको" बताउँदै आएका छन्।
संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री बद्रीप्रसाद पाण्डेले "अबको केही समयपछि नै पोखराबाट केही चिनियाँ सहरहरूमा नियमित उडानका लागि पहल जारी रहेको" बताए।
नेपाल र चीन दुवैको चासो

तस्बिर स्रोत, RSS
नेपाली अधिकारीहरू विशेष गरी पोखराबाट चिनियाँ सहरहरूलाई जोड्ने गरी नियमित उडान सुरु गर्नका लागि सहजीकरण गरिदिन चिनियाँ पक्षलाई बारम्बार आग्रह गरिएको बताउँछन्।
चिनियाँ पक्षले पनि "सकारात्मक जबाफ दिएको" उनीहरूको भनाइ छ। यद्यपि नियमित उडानहरू नहुँदा धेरैले अधिकारीहरूका ती भनाइलाई विश्वसनीय मान्न छाडेका छन्।
चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले पनि त्यसबारे कुराकानी गरेको बताइएको छ।
मङ्गलवार जारी भएको संयुक्त विज्ञप्तिमा "दुवै पक्षले नेपाल र चीनबीच नागरिक उड्डययन क्षेत्रमा विकास भएको साझेदारीलाई महत्त्व दिने" उल्लेख गरिएको छ।
त्यसमा दुवै देशले हवाई यातायात उद्यमलाई प्रोत्साहन र सहयोग गर्ने जनाउँदै "बजारको माग"अनुरूप पोखरा र लुम्बिनीलाई चिनियाँ सहरहरूसँग जोड्ने गरी "हवाई मार्ग खोल्ने" र "उडानहरू गर्ने" प्रतिबद्धता पनि जनाएका छन्।
त्यसका आधारमा "दुईपक्षीय आर्थिक तथा व्यापारिक साझेदारी र दुईतर्फी यात्रा"लाई सहजीकरण गर्नेमा पनि दुवै देश सहमत देखिएका छन्।
निगम र हिमालय एअरलाइन्सले 'गृहकार्य गर्दै'

तस्बिर स्रोत, NAC
पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डेले सरकारले दुवै विमानस्थललाई नियमित रूपमा चलाउनका लागि त्यहाँबाट उडान गर्ने वायुसेवा कम्पनीहरूलाई सहुलियत दिने नीतिलाई निरन्तरता दिएको बताए।
उनले बुधवार बीबीसीसँग भने, "हामीले सहुलियत दिँदा भैरहवामा केही गतिविधि देखियो तर पोखरामा देखिएन।"
"त्यसैले कम्तीमा नेपालमा भएका वायुसेवा कम्पनीहरूले त्यहाँबाट उडान सुरु गरेमा एउटा वातावरण बन्छ भनेर हामीले नेपाल वायुसेवा निगम र हिमालय एअरलाइन्सलाई गृहकार्यका लागि निर्देशन दिएका छौँ। उहाँहरूले गृहकार्य गर्दै हुनुहुन्छ।"
मन्त्री पाण्डेका अनुसार हिमालय एअरलाइन्सले चीनतिर र निगमले "चल्ने खालका रूटहरूमा" उडान गर्नेबारे गृहकार्य गरिरहेका छन्।
'ज्यानुअरीबाट नियमित उडानको सम्भावना'

तस्बिर स्रोत, Pokhara International Airport
नेपाल नागरिक उड्डययन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार हालसम्म पोखरा वा भैरहवामा नियमित उडान गर्नका लागि कुनै पनि चिनियाँ वायुसेवा कम्पनीहरूले निवेदन दिएका छैनन्।
हाल नेपालमा चीनका पाँचवटा वायुसेवा कम्पनीहरूले नियमित उडान गर्दै आएका छन्।
तिनमा हङ्कङको क्याथी प्यासिफिकसहित एअर चाइन, चाइना साउदर्न, सिचुआन र चाइना ईस्टर्न एअरलाइन्स पर्छन्।
पहिले तिब्बत एअरलाइन्सले पनि नेपालमा उडान गर्ने गरेकोमा हाल त्यसले उडान नगरेको भुलले बताए।
नियमित उडानका लागि अनुमति माग नगरेका भए पनि चिनियाँ एअरलाइन्सहरूले आक्कलझुक्कल चार्टर्ड उडानका लागि अनुमति माग्ने गरेका छन्।
अहिले पनि सिचुआन एअरलाइन्सले पोखरामा र एअर चाइनाले भैरहवामा एकएक वटा चार्टर्ड फ्लाइटका लागि उडान अनुमति मागेको उनले बताए।
भुलका अनुसार हिमालय र नेपाल वायुसेवा निगमले पोखराबाट उडानका लागि गृहकार्य गरिरहेका छन् र सम्भवत: हिमालयले आगामी ज्यानुअरीदेखि पोखराबाट तिब्बतमा उडान गर्ने सम्भावना छ।
उनले भने, "अनौपचारिक रूपमा हिमालयले हप्ताको एउटा उडान काठमाण्डू-ल्हासा-पोखरा गर्ने गरी प्रस्ताव गरेको छ।"
"सोमवार काठमाण्डूबाट ल्हासा उडान गर्छ र त्यो पोखरामा फर्किएर राति त्यहाँ बस्छ अनि भोलिपल्ट फेरि ल्हासा गएर त्यहाँबाट काठमाण्डू फर्कन्छ।"
हाल काठमाण्डू-ल्हासा सातामा तीन उडानका लागि हिमालयले उडान तालिका स्वीकृत गराएको छ। तर पर्याप्त यात्रु नहुँदा नियमित रूपमा काठमाण्डू-ल्हासामा पनि उडान हुन नसकिरहेको बताइन्छ।
कस्तो प्रक्रिया पूरा गर्नुपर्छ?

तस्बिर स्रोत, Pokhara International Airport
लामो समयदेखि चर्चा भए पनि चीनका विभिन्न सहर र पोखरा विमानस्थलमा नियमित उडान गर्नका लागि केही प्रक्रियाहरू अझै पूरा गर्न बाँकी रहेको अधिकारीहरू बताउँछन्।
त्यसका लागि दुवै देशका नागरिक उड्डययन निकायहरूले केही निर्णयहरू गर्नुपर्ने बताइएको छ।
अधिकारीहरूका अनुसार दुई देशको हवाईसेवा सम्झौतामा भएको प्रावधानबमोजिम पोखरा विमानस्थललाई पनि सूचीकृत गर्नुपर्ने र अनुमति लिनुपर्ने हुन्छ। त्यसका लागि प्रक्रिया जारी रहेको प्राधिकरणले जनाएको छ।
भुल भन्छन्, "दुई देशको हवाईसेवा सम्झौतामा पोखरा विमानस्थल उल्लेख छैन भने नियमित उडान हुने अवस्थामा हामी अस्थायी सञ्चालन अनुमति (टेम्पोररी अपरेटिङ पर्मिट-टीओपी) पास गराउनुपर्ने हुन्छ।"
"त्यसैले चार्टर्ड उडानको जस्तो छिटो नभए पनि केही समयमा अनुमति दिन मिल्छ।"
पोखराबाट अन्तर्राष्ट्रिय उडान

तस्बिर स्रोत, Pokhara International Airport
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हालसम्म अन्तर्राष्ट्रिय उडान तालिका बन्न नसकेको अधिकारीहरू बताउँछन्।
उनीहरूका अनुसार उक्त विमानस्थलको उद्घाटन भएयता हालसम्म जम्मा १० वटा अन्तर्राष्ट्रिय उडान भएका छन्।
त्यस्ता उडानमा प्राय: सबै चार्टर्ड उडान भएका छन्। जाजरकोट भूकम्पलगत्तै चीनबाट राहत सामग्री लिएर चिनियाँ सेनाका दुई जहाज पनि उक्त विमानस्थलमा अवतरण भएका थिए।
त्यसबाहेक सिचुआन एअरलाइन्सले हालसम्म तीनवटा चार्टर्ड उडान गरेको र यसै महिनाको तेस्रो साता फेरि अर्को चार्टर्ड उडानका लागि अनुमति मागेको उक्त विमानस्थलकी प्रवक्ता जसोदा सुवेदीले बताइन्।
उनका अनुसार त्यसबाहेक भुटानको ड्रुक एअरले एउटा उडान गरेको थियो भने हिमालय एअरलाइन्स र भारतबाट निजी चार्टर्ड विमान पनि उक्त विमानस्थलमा आएको सुवेदीको भनाइ छ।
भैरहवाबाट कहाँकहाँ उडान भइरहेको छ?

तस्बिर स्रोत, RSS
गौतमबुद्ध विमानस्थल भैरहवाका प्रवक्ता दीपककुमार बज्राचार्यका अनुसार भैरहवाबाट अहिले नेपाल वायुसेवा निगम, यूएईको फ्लाईदुबई, कुवेतको जजीरा र थाइल्यान्डको थाई एअर एशियाले नियमति उडानहरू गरिरहेका छन्।
उनले दिएको जानकारीअनुसार हाल नेपाल वायुसेवा निगमले सातामा चार दिन काठमाण्डू-भैरहवा-दुबई-काठमाण्डू उडान गरिरहेको छ।
त्यस्तै फ्लाई दुबईले दैनिक रूपमा दुबई-भैरहवा-काठमाण्डू-दुबई उडान सञ्चालन गर्दै आएको छ भने जजीराले सातामा तीन दिन कुवेत सिटी-भैरहवा-कुवेत सिटी उडान गरिरहेको छ।
त्यस्तै थाई एअर एशियाले सातामा दुई दिन ब्याङ्क-भैरहवा-ब्याङ्कक उडान गर्दै आएको छ।
केही समय भैरहवामा उडान गरेको कतार एअरले चाहिँ हाल आफ्नो उडान बन्द गरेको उनले बताए।
"नोभेम्बर ३० सम्म उहाँहरूको उडान तालिका थियो। त्यसपछि केही जानकारी आएको छैन," उनले भने।
कतारले पनि दैनिक दोहा-भैरहवा-काठमाण्डू-दोहा उडान गर्दै आएको थियो।
भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि हिमालय एअरलाइन्सले एकपटक चिनियाँ पर्यटकहरूलाई लिएर चीनबाट चार्टर्ड उडान गरेको थियो। त्यसपछि चिनियाँ सहरबाट भैरहवामा अन्य उडान नभएको बज्राचार्यले जानकारी दिए।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








