गौतम बुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानको निरन्तरतामा अझै किन शङ्का?

भैरहवा विमानस्थल

तस्बिर स्रोत, MADHAV NEPAL/BBC

    • Author, माधव नेपाल
    • Role, बुटवल

लामो समयदेखि दुबईमा काम गर्दै आएका कास्कीका चन्द्रबहादुर सिलवाल यस पटक जजीरा एअरबाट गौतम बुद्ध विमानस्थल भैरहवामा उत्रिए।

घर पुग्ने दूरीका हिसाबले काठमाण्डूको विमानस्थलमा उत्रे पनि खासै फरक नपर्ने सिलवालले यस पटक नयाँ विमानस्थल रोजे।

"मलाई यो नयाँ विमानस्थलको अनुभव गर्न मन लागेर यताको टिकट काटेको हुँ, पहिलो यात्रा रमाइलो लाग्यो," सिलवालले भने।

"मैले फर्किनको लागि पनि यही रुटको टिकट काटेको छु।"

विगत १५ वर्षदेखि कतारमा काम गर्दै आएका रुपन्देही वेल्हियाका रहमान आलमले दोस्रो पटक यो विमानस्थल प्रयोग गरेको बताए।

उनका अनुसार यसअघि उनी सन् २०२२ मा यो विमानस्थलमा उत्रेका थिए।

"मलाई घरमै पुगे जस्तो भएको छ। काठमाण्डूमा उत्रेको भए घर आउन अर्को ५/६ घण्टा लाग्थ्यो। म अब १५ मिनेटमै मेरो घर पुग्छु," उनले भने।

भैरहवा विमानस्थल

यात्रुहरूले सिधै गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट यात्रा गर्न पाउँदा निकै सहज महसुस गरेका छन्।

तर पछिल्लो पटक राष्ट्रिय ध्वजाबाहक नेपाल एअर लायन्ससहित पाँच वटा विमान कम्पनीहरूले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाबाट अन्तर्राष्ट्रिय उडान गर्दै आए पनि ती उडानको निरन्तरताबारे शङ्का कायमै रहेको पाइन्छ।

कात्तिकको दोस्रो सातादेखि कुवेतको जजीराले कुवेत-भैरहवा, संयुक्त अरब एमिरेट्स युएईको फ्लाई दुबईले दुबई-भैरहवा-काठमाण्डू र कतारको कतार एअरवेजले दोहा-भैरहवा-काठमाण्डू उडान गर्दै आएका छन्।

यस्तैगरी थाईल्यान्डको थाई एअर एसियाले ब्याङ्कक-भैरहवा र नेपाल एअरलाइन्सले काठमाण्डू–भैरहवा-दुबई उडान गर्दै आएका छन्।

"५ वटा एअरलाइन्सले भैरहवाबाट साताको २४ वटा उडान गर्दै आएका छन्," गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता दीपककुमार बज्राचार्यले बीबीसीलाई भने।

"हामी उत्साहित पनि छौँ र आशावादी पनि छौँ। यहाँबाट उडानको सङ्ख्या अझै बढ्ने छ।"

अहिले काठमाण्डूको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको मर्मत तथा बिस्तार गर्ने भन्दै त्यहाँ हुने उडान समय १० घण्टा कटौती गरिएको छ।

यो कटौतीसँगै नागरिक उड्डयन प्राधिकरणले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाबाट उडान गर्न विमान कम्पनीहरूलाई अनुरोध गरेको थियो।

तर थाई, एअर एसिया, फ्लाई दुबई र कतार एअरवेजमात्र भैरहवाबाट उडान गर्न तयार भएको विमानस्थलका अधिकारीहरू बताउँछन्।

परीक्षण अवधि

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जजिरा र फ्लाई दुबईका जहाज

तस्बिर स्रोत, Gautam Buddha International Airport

विक्रम संवत् २०७९ सालको जेठ २ गते गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन भएदेखि जजीरा एअरलाइन्सले उडान गरे पनि करिब १० महिनापछि स्थगित गरेको थियो।

हिमालय एअरलाइन्सले पनि केही दिन विमान उडाएर आफ्नो सेवा बन्द गरेको थियो।

"त्रिभुवन विमानस्थलको मर्मतको काम सकिएपछि अहिले भैरहवाबाट उडिरहेका जहाजहरू नियमित रूपमा भैरहवाबाट नै उड्छन् कि फेरि काठमाण्डूबाट मात्रै उड्न थाल्छन् भन्ने आशङ्का कायमै छ," सिद्धार्थ उद्योग वाणिज्य सङ्घका अध्यक्ष ठाकुरप्रसाद श्रेष्ठले भने।

"सरकारले भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरे पनि योसँग जोडिएर आउने अरू पूर्वाधारको विकास गर्ने तर्फ सरकारको ध्यान गएको देखिँदैन।"

विमानस्थलका प्रवक्ता दीपककुमार बज्राचार्यले पनि त्रिभुवन विमानस्थलले उडान समय घटाएको कारणले पनि भैरहवामा उडान थपिएको स्विकार्छन्।

"फ्लाई दुबई र कतार एअरले काठमाण्डूमा पूरा उडान नपाउँदा यहाँ 'टच' गरेर काठमाण्डूबाट यात्री लिएर गएको अवस्था छ," बज्राचार्य भन्छन्।

"भैरहवाबाट यात्री पाएको खण्डमा ती एअरलाइन्सले यतैबाट उडान गर्न सक्छन्, यो उनीहरूको लागि परीक्षणकाल पनि हो ।"

समस्या उस्तै

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल

तस्बिर स्रोत, MADHAV NEPAL/BBC

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट पाँच वटा अन्तर्राष्ट्रिय उडान हुन थाले पनि यहाँबाट काम गर्न तथा घुम्न जाने यात्रीहरूलाई सुरुमा पुर्‍याउनु पर्ने प्रक्रियाका लागि अझै पनि काठमाण्डू नै जानु पर्ने बाध्यता हटिनसकेको सरोकारवालाहरू बताउँछन्।

"यस क्षेत्रमा श्रम कार्यालय भए पनि पहिलो पटक श्रम स्वीकृति लिन काठमाण्डू नै जानु पर्छ," सिद्धार्थनगर उद्योग वाणिज्य सङ्घका अध्यक्ष ठाकुर प्रसाद श्रेष्ठले भने।

"सरकारले तुरुन्तै गर्ने भनिरहे पनि स्वास्थ्य परीक्षणको लागि अहिलेसम्म यहाँ कुनै व्यवस्था गरिएको छैन।"

त्यस्तै म्यानपावर कम्पनीहरू पनि यस क्षेत्रमा नहुँदा काठमाण्डूमै जानु पर्ने बाध्यता रहेको श्रेष्ठले बताए।

"सरकारले गर्नै पर्ने काम नगर्दासम्म विमान कम्पनीहरूलाई विमानस्थलमा सहुलियत दिन्छु यहाँबाट विमान उडाऊ भनेर मात्र हुँदैन।"

पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले साउनको अन्तिम साता भैरहवा र पोखराको अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको लागि सम्बन्धित ठाउँमा स्वास्थ्य परीक्षण गर्नेदेखि म्यानपावर कम्पनीहरूको व्यवस्था गर्ने कार्य योजना सार्वजनिक गरेको थियो।

तर अहिलेसम्म ती योजनाहरू कार्यान्वयनमा आएको देखिएको छैन।

अन्य पूर्वाधारको काम कहिले?

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल

तस्बिर स्रोत, GBIA

सिद्धार्थ होटेल एशोसिएसनका अध्यक्ष सीपी श्रेष्ठ पनि भैरहवाबाट नियमित उडान हुनेमा अझै विश्वस्त हुन नसकेको बताउँछन्।

"हामीकहाँ रोग पुरानै छ। विमानस्थल बनाएपछि सबै दायित्वबाट मुक्त भए जस्तो सरकारको व्यवहार देखिएको छ," श्रेष्ठले भने।

"यो विमानस्थल हुँदै यात्रा गर्नेका लागि अरू पूर्वाधार बनाउन कसले किन रोकिरहेको छ?"

भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थलको शिलान्याससँगै यस क्षेत्रमा होटेलमा लगानी गर्नेहरू एकाएक बढेको देखिएको थियो।

विमान सञ्चालनको अन्योल लामो समयसम्म कायम रहँदा बन्न लागेका कतिपय होटेलका भवनहरू अधुरो नै छाडिएको पाइएको छ भने बनेका होटेलहरू पनि राम्रोसँग चल्न नसकेको व्यवसायीहरू बताउँछन्।

होटेल सङ्घका अध्यक्ष सीपी श्रेष्ठका अनुसार विमानस्थलका कारण रुपन्देही जिल्लामा अहिलेसम्म करिब ८० अर्ब रुपैयाँ होटेलमा लगानी भइसकेको छ।

"विमानस्थल सञ्चालनका लागि भिसा सेन्टर म्यानपावर कम्पनीदेखि लिएर स्वास्थ्य परीक्षण जस्ता कामहरू आधारभूत काम हुन्" विमानस्थलका प्रवक्ता बज्राचार्यले भने।

"मैले सुने अनुसार ती कामहरू प्रक्रियामा छन् अब छिटै कार्यान्वयनमा पनि आउने छन्।"

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।