'जनतालाई दुःख दिने काम': विमानस्थल बन्द गरेर 'भीभीआईपी'को सवारी

राष्ट्रपति रामचन्द्र अजरबैजानबाट फर्किँदा त्रिभुवन विमानस्थलमा रोकिएका आन्तरिक उडानका विमाननजिकै विमानसेवा कम्पनीका कर्मचारीहरू

तस्बिर स्रोत, Bhupal Raj Katuwal

    • Author, अशोक दाहाल
    • Role, बीबीसी न्यूज नेपाली

दशैँअघि बाढी र पहिरोका कारण सडक अवरुद्ध भएपछि संसदीय समितिको बैठक भ्याउन पोखराबाट "महँगो दरको हवाई टिकट" काटेर काठमाण्डू उड्न लागेका राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसी काठमाण्डूमा प्रधानमन्त्रीको स्वदेशफिर्तीका कारण विमानस्थल बन्द हुँदा उनको विमान दुई घण्टा ढिलो उड्यो।

लोकतन्त्र र गणतन्त्रका लागि आफूसँगै सडक आन्दोलनमा हिँडेका नेता प्रधानमन्त्री भएको समयमा विमानस्थल नै बन्द गरेर “रबाफ देखाएको” केसीलाई चित्त बुझेन। उनले भोलिपल्टै संसद्‌को राज्य व्यवस्था तथा सुशासन समितिमा गुनासो गरे। “त्यहाँ गृहमन्त्रीजी हुनुहुन्थ्यो, उहाँले केही जबाफ दिनुभएन,” उनले भने।

केसीलाई राष्ट्रपति र प्रधानमन्त्री विदेश भ्रमणमा जाँदा र आउँदा विमानस्थल नै बन्द गर्ने उनकै शब्दमा “राजाहरूको शैली” नहटाइएकोमा अझै चित्त बुझेको थिएन।

'मारिने डर'

बालुवाटारमा विपक्षी दलका नेताहरूसँग बैठक गर्दै प्रधानमन्त्री

तस्बिर स्रोत, PM Secretariat

देशका विभिन्न जिल्लामा बाढीको वितण्डा चलिरहँदा संयुक्त राष्ट्रसङ्घीय महासभाका लागि अमेरिका गएका प्रधानमन्त्री फर्किनुअघि नै उनको आलोचना भइरहेको थियो।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा त्यसलगत्तै भएको एक बैठकमा राजनीतिक दलहरूप्रति युवाहरूबाट भएको गालीगलौजको प्रसङ्ग उठ्यो। सार्वजनिक सवारीमा यात्रा गर्ने र व्यक्तिगत सुरक्षाकर्मी पनि नलिएका भूतपूर्व उपप्रधानमन्त्री केसीले आफूलाई मन नपरेको कुरा राख्ने उपयुक्त मौका भेट्टाए।

“मैले यो कुरा प्रधानमन्त्री, पूर्वप्रधानमन्त्रीहरू समेत भएको बालुवाटारको बैठकमा राखेँ। गणतन्त्र र समानताका लागि लडेका भन्नेहरूले यो रबाफ किन देखाएको भनेँ,” उनले भने।

“तर एक पूर्वप्रधानमन्त्रीले एक-दुईवटा घटनाको उदाहरण दिँदै ‘दाइ, तपाईँलाई पो केही गर्दैनन् त हामीलाई त मार्छन् के’ भन्नुभयो।”

विश्व जलवायु सम्मेलनमा भाग लिएर आएका राष्ट्रपति रामचन्द्र पौडेललाई त्रिभुवन विमानस्थलमा स्वागत गर्दै प्रधानमन्त्री केपी ओली

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, शुक्रवार राष्ट्रपति रामचन्द्र पौडेललाई स्वागत गर्न प्रधानमन्त्री केपी ओली सहित विशिष्ट व्यक्तिहरू विमानस्थल पुगेका थिए

प्रधानमन्त्री ओलीले त्यस विषयमा कुनै प्रतिक्रिया नजनाएको केसीले बताए।

केसीले गुनासो गरेको एक महिनापछि विश्व जलवायु सम्मेलनमा सहभागी भएर अजरबैजानबाट फर्किने क्रममा राष्ट्रपति रामचन्द्र पौडेल चढेको विमान अवतरण हुँदा शुक्रवार अन्य सबै उडान ३० मिनेट बन्द रहने सूचना विमानस्थल कार्यालयले जारी गर्‍यो।

केसीजस्तै यो पटक राष्ट्रपतिको सवारीका कारण विमानस्थलमा पर्खाइमा पर्नेमा अरू सयौँ यात्रुहरू थिए।

काठमाण्डूबाट भद्रपुर जान हिँडेका झापाका भूपालराज कटुवाल अघिल्लो दिनको उडान रद्द भएपछि बिहानको पहिलो उडान भ्याउन ८ नबज्दै विमानस्थल पुगेका थिए।

तर भद्रपुरमा हुस्सुका कारण उनी चढेको बुद्ध एअरको विमान ९ः३० बजे पनि उड्न पाएको थिएन।

“जब भद्रपुरको मौसम खुल्यो र विमान उड्ने समय भयो, हामीलाई थप ४५ मिनेट 'डिले' छ भनियो,” उनले सुनाए।

यो पटक विमानस्थलमा सबै उडान बन्द हुने कारण राष्ट्रपति पौडेलको सवारी थियो।

सौर्य एअरको एउटा विमानभित्र यात्रु र परिचारिकाहरू
तस्बिरको क्याप्शन, यात्रुहरू चढिसकेका विमानहरूलाई धावनमार्गमा निकै बेर रोकेर राखिएको थियो

“हामीलाई के कारण रोकिएको हो भन्ने स्पष्ट जानकारी पनि दिइएन। सोधपुछ गरेपछि मात्रै 'भीभीआईपीको सवारी' भनियो,” उनले भने।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विस्तारको काम सुरु भएसँगै राति १० बजेपछि विमानस्थल बन्द भएका कारण कटुवालसहितका यात्रुहरू अघिल्लो दिन १० बज्न लाग्दा चढिसकेको विमानबाट फर्काइएका थिए।

अर्को दिन पनि राष्ट्रप्रमुखको सवारीका कारण १०:३९ मा मात्रै विमान उडेपछि उनले भने, “यो जनतालाई दुःख दिने काम भयो। विमान नै रोकेर सवारी गर्ने काम राम्रो भएन।”

‘अन्तर्राष्ट्रिय प्रचलन हो’

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका निर्देशक समेत रहेका प्रवक्ता रिन्जि शेर्पाले सरकार प्रमुख र राष्ट्रप्रमुखहरूको राजकीय भ्रमणमा केही समय विमानस्थल बन्द गर्ने अन्तर्राष्ट्रिय प्रचलन नै रहेको बताए।

“अति विशिष्ट व्यक्तिहरूको भ्रमणमा विमानस्थलमा अन्य उडानहरू नगर्ने अन्तर्राष्ट्रिय अभ्यास नै हो। हाम्रो पनि पहिलेदेखि चलिआएको प्रचलन हो। यो हाम्रो व्यवस्थामै छ। हामी नोटाम (नोटिस टू एअरमेन) जारी गर्छौँ,” उनले भने।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

तस्बिर स्रोत, TIANepal

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको वेबसाइटका अनुसार गन्तव्य विमानस्थलको खराब मौसम र 'नोटाम'का कारण बिहानका कैयौँ आन्तरिक र बाह्य उडानहरू प्रभावित भए। तराई क्षेत्रका विमानस्थलहरूमा बिहान अबेरसम्म हुस्सुका कारण उडान नभएको र हुस्सु कम हुने समयमा राष्ट्रपतिको सवारी परेका कारण आफूहरू लामो समय विमानभित्र “थुनिएर बस्नुपरेको” गुनासो यात्रुहरूको छ।

विमानस्थल कार्यालयका प्रवक्ता राष्ट्रपतिको सवारीका समयमा अन्य उडानहरूमा पर्ने प्रभाव कम गर्न २० मिनेट मात्रै विमानस्थलमा अन्य उडान रोकिएको बताउँछन्।

“हामीले ३० मिनेट भनेर सबै वायुसेवालाई सूचना जारी गरे पनि २० मिनेटभित्र सवारी सकाएका थियौँ,” उनले भने।

“यो आज मात्रै भएको होइन। धेरै पहिलादेखि हुँदै आएको प्रचलन हो। राज्यले दिने सम्मान भनेको विमानस्थलले गर्ने निर्णय होइन।”

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका पूर्वमहानिर्देशक राजकुमार क्षेत्री पनि अतिविशिष्ट व्यक्तिहरूको भ्रमणमा विमानस्थल छोटो समय बन्द गर्ने अन्तर्राष्ट्रिय अभ्यास नै रहेको बताउँछन्।

“सुरक्षाका कारण पनि राष्ट्रपति र प्रधानमन्त्रीहरूको भ्रमण हुँदा विमानस्थल केही समय बन्द गर्ने अभ्यास हाम्रोमा मात्रै होइन, अन्यत्र पनि जहाँसुकै छ। त्यो समय कम गर्ने र यात्रुहरूलाई स्पष्टसँग पूर्वजानकारी दिने चाहिँ गर्नुपर्छ,” उनले भने।

तर राष्ट्रप्रमुखहरूको आन्तरिक उडानका क्रममा भने विमानस्थलमा उडान रोक्ने अभ्यास नभएको जानकारहरू बताउँछन्।

पूर्वमन्त्री केसी यस्तो प्रचलन कर्मचारीतन्त्रको "पञ्चायती शैली र नेताहरूको रबाफ देखाउने लोभ"का कारण अन्त्य नभएको ठान्छन्।

राष्ट्रपतिका सल्लाहकार के भन्छन्

त्रिभुवन विमानस्थलमा रामचन्द्र पौडेल

तस्बिर स्रोत, RSS

राष्ट्रपति प्रेस सल्लाहकार किरण पोखरेलले वर्तमान राष्ट्रपति पौडेल "जनतालाई दुःख र झन्झट हुने गरी आफ्नो यात्रा गर्ने पक्षमा नभएको" बताउँछन्।

“सम्माननीय राष्ट्रपति जनतालाई दुःख र झन्झट हुने गरी आवागमनको विपक्षमा भएको उहाँले सडकमा यात्रा गर्दा सर्वसाधारणको आवागमन रोक्ने अभ्यास अन्त्य गरेबाट पनि पुष्टि हुन्छ,” पोखरेल भन्छन्।

“विमानस्थलमा पनि गर्नैपर्ने अवस्थाबाहेक बढी गरिएको रहेछ भने त्यसको जानकारी उहाँलाई नभएको हुन सक्छ।”

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।