तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
लुम्बिनी लायन्स बन्यो एनपीएल २ च्याम्पिअन, रोहित पौडेलले पाए कार
- Author, निरञ्जन राजवंशी
- Role, त्रिवि क्रिकेट मैदान
नेपाल प्रिमिअर लीग (एनपीएल) को दोस्रो संस्करणको फाइनलमा लुम्बिनी लायन्सले सुदुरपश्चिम रोयल्समाथि छ विकेटको सहज जित हासिल गरेको छ।
पहिलो इनिङ्समा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई ८५ रनमा अलआउट गरेको थियो। उसले ८६ रनको लक्ष्य नौ ओभरमा हासिल गर्यो।
लगातार तीन खेलमा हार बेहोरेपछि एक समय लीग चरणबाटै आउट हुने सङ्घारमा पुगेको लुम्बिनी लायन्स अपत्यारिलो यात्रा पार गर्दै नेपाल प्रिमिअर लिग एनपीएल सिजन २ को च्याम्पिअन बनेको हो।
लुम्बिनीको लय र निरीह सुदूरपश्चिम
पछिल्लो परिणामसँगै लगातार दोस्रो वर्ष सुदुरपश्चिम रोयल्सले उपविजेतामा चित्त बुझाउनुपरेको छ।
लीग चरणको एकबाहेक सबै खेलमा जित हासिल गरेको सुदुरपश्चिम रोयल्सले फाइनलमा भने अपेक्षाकृत खेल प्रदर्शन गर्न सकेन, जसले गर्दा फाइनल खेल एकपक्षीय बन्न पुग्यो।
प्रबल दाबेदारका रूपमा रहेको सुदूरपश्चिम रोयल्सलाई छ विकेट को पराजयको स्वाद चखाएर लुम्बिनी लायन्सले सीजन २ को यात्रा सुखद रूपमा सम्पन्न गर्यो।
अघिल्लो वर्ष एनपीएलको पहिलो संस्करणमा लुम्बिनी लायन्स जम्मा १ जितसहित पुछारमा थियो।
तर यसपालि उसले एकपछि अर्को विजयको 'मोमेन्टम' लाई टोलीले फाइनलसम्म कायम राख्यो।
लुम्बिनी लायन्सका एकपछि अर्को बलरहरूले प्रभावशाली प्रदर्शन गरेपछि सुदुरपश्चिम रोयल्स सुरुबाटै दबावमा परेको थियो।
यसरी भयो छिनोफानो
प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेका सुदुरपश्चिमका ब्याटर विनोद भण्डारीलाई शून्य रनमा पहिलो ओभरमा नै रुबेन ट्रम्पलम्यानले आफ्नो सिकार बनाए।
पावर प्ले सकिँदा सुदूरपश्चिम ३ विकेट गुमाएर २० रनको अवस्थामा थियो। त्यसपछि ११ औँ ओभरमा लुम्बिनीका कप्तान रोहित पौडेलले सुदुरपश्चिमका कप्तान दिपेन्द्रसिंह ऐरीसहित तीन जनाको विकेट लिएपछि विपक्षी टोली गम्भीर सङ्कटमा पुगेको थियो।
जम्मा २० बल खेलेका दीपेन्द्र १३ रन बनाएर आउट भए भने उनीपछि आएका दीपक बोहरा र पुनीत मेहरालाई पनि रोहितले लगातार आउट गरे। त्यसपछि आएका हरमित सिंह र स्कट कुगेलाइनले १०-१० रन जोडेका थिए।
सुदूरपश्चिमका लागि ईशान पाण्डेले सर्वाधिक ३३ रन बनाए।
लुम्बिनीका लागि रुबेन ट्रम्पलम्यान, रोहित पौडेल र शेर मल्लले ३-३ तथा तिलक भण्डारीले १ विकेट लिए। ट्रम्पलम्यान 'प्लेअर अफ द म्याच' भए।
जवाफ उतिक्कै कडा
पहिलो ओभरमा दीपेन्द्रसिंह ऐरीलाई लुम्बिनीका ओपनर दिनेश अधिकारीले चार छक्का प्रहार गरेपछि आधा खेल त्यत्तिकै लुम्बिनीको पक्षमा ढल्किएको थियो।
उत्कृष्ट सुरुवात गरेको लुम्बिनीका दुवै ओपनरहरू दिनेश अधिकारी र डीजेएम शर्टको विकेट हेमन्त धामीले लिए।
अधिकारी ४२ रन बनाएर कुगलाइनद्वारा क्याच भए भने शर्ट बोल्ड भएका थिए। त्यसपछि लक्ष्य हासिल गर्नुअघि लुम्बिनीले थप दुई ब्याटर गुमायो।
कप्तान रोहित पौडेल १६ रन बनाएर आउट भए। अविनाश बोहराको बलमा दीपेन्द्रसिंह ऐरीले उनलाई क्याचआउट गरेका थिए। सन्दीप जोरा शून्य रनमा आउट भएका थिए।
समग्रमा रोहित प्रतियोगिताको शीर्ष स्करोरको दौडमा नेपाली खेलाडीमध्ये शीर्ष स्थानमा उक्लिए। उनले यो सीजनमा २७६ रन बनाए भने २६४ रन जोडेका सुदूरपश्चिमका विनोद भण्डारी समग्रमा तेस्रो र नेपालीमध्ये दोस्रो सर्वाधिक स्कोरर बने।
सार्वाधिक रन बनाउने रेकर्ड चाहिँ पोखराका एडम रोजिङ्टनको नाममा रह्यो। उनले ३२३ रन जोडेका छन्।
यो सीजनमा सर्वाधिक विकेट लिने रेकर्ड तीन जनाको नाममा रह्यो। विराटनगर किङ्ग्सका सन्दीप लामिछाने, सुदूरपश्चिम रोयल्सका अविनाश बोहरा र लुम्बिनी लायन्सका शेर मल्ल तीनै जनाले १७-१७ विकेट लिए।
प्रतियोगिताको उत्कृष्ट नेपाली खेलाडीका रूपमा लुम्बिनीका कप्तान पौडेलले कार जितेका छन्। सर्वाधिक रन बनाउने नेपाली खेलाडीका रूपमा उनले मोटरसाइकल पनि पाएका थिए।
लुम्बिनी लायन्स : एनपीएल २ को उपाधि यात्रा
- विरुद्ध चितवन राइनोज - ६ विकेटले विजयी
- विरुद्ध कर्णाली याक्स - ९ विकेटले पराजित
- विरुद्ध काठमाडौँ गोर्खाज - २२ रनले पराजित
- विरुद्ध सुदूर पश्चिम रोयल्स - ७ विकेटले पराजित
- विरुद्ध पोखरा एभेन्जर्स - ३ विकेटले विजयी
- विरुद्ध विराटनगर - ५ विकेटले विजयी
- विरुद्ध जनकपुर बोल्ट्स - ४ विकेटले विजयी (चौथो स्थान हात पार्दै इलिमिनेटर चरणमा प्रवेश)
- इलिमिनेटर -विरुद्ध काठमाण्डू गोर्खाज - ४ विकेटले विजयी
- क्वालिफायर २ -विरुद्ध विराटनगर किङ्ग्स - ४० रनले विजयी (फाइनल प्रवेश)
- फाइनल- विरुद्ध सुदूरपश्चिम रोयल्स - ६ विकेटले विजयी
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।