तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
ट्रम्पद्वारा भेनेजुएला भित्रिने र बाहिरिने तेल ट्याङ्करहरूमाथि प्रतिबन्ध लगाउन आदेश
- Author, ईफा वाल्श
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भेनेजुएला प्रवेश गर्ने र बाहिरिने सबै तेल ट्याङ्करहरूलाई पूर्ण रूपमा नाकाबन्दी लगाउन आदेश दिएका छन्।
ट्रुथ सोसलमा लेखिएको एउटा पोस्टमा उनले भेनेजुएलाका नेता निकोलास मदुरोको सरकारलाई विदेशी आतङ्कवादी सङ्गठनको रूपमा तोकिएको र अमेरिकी सम्पत्ति चोरेको साथै "आतङ्कवाद, लागूपदार्थ तस्करी र मानव बेचबिखन" गरेको आरोप लगाएको बताएका छन्।
"त्यसैले, आज, म भेनेजुएला भित्रिने र बाहिरिने सबै तेल ट्याङ्करहरूमाथि सम्पूर्ण रूपमा नाकाबन्दी गर्न आदेश दिँदै छु," उनले थपे।
अमेरिकाले भेनेजुएलाको तटबाट तेल ट्याङ्कर कब्जा गरेको एक सातापछि ट्रम्पको यस्तो टिप्पणी आएको हो।
भेनेजुएलाले ट्रम्पको पछिल्लो आदेशबारेमा अहिलेसम्म कुनै प्रतिक्रिया जनाएको छैन।
ट्रम्पले आफ्नो पोस्टमा भेनेजुएला "दक्षिण अमेरिकाको इतिहासमा अहिलेसम्मको सबैभन्दा ठूलो आरमाडा (एक लडाकु पानीजहाजको समूह) ले पूर्ण रूपमा घेरिएको" बताए।
उनले यो "केवल ठूलो हुँदै जाने" र "उनीहरूले पहिले कहिल्यै नदेखेको जस्तो हुने" बताएका छन्।
ट्रम्पले मदुरोको सरकारले चोरीको तेल प्रयोग गरेर "लागुऔषध, आतङ्कवाद, मानव बेचबिखन, हत्या र अपहरण" लाई आर्थिक सहयोग गरेको आरोप पनि लगाए।
भेनेजुएलाले अमेरिकामाथि कस्तो आरोप लगाउँछ?
ट्रम्प प्रशासनले बारम्बार भेनेजुएलामाथि लागूपदार्थ तस्करीको आरोप लगाउँदै आएको छ र सेप्टेम्बरयता अमेरिकी सेनाले फेन्टनिल र अन्य अवैध लागूपदार्थ अमेरिकामा बोकेको आरोपमा डुङ्गाहरूमा आक्रमण गर्दा कम्तीमा ९० जनाको मृत्यु भइसकेको छ।
हालैका महिनाहरूमा अमेरिकाले पनि यस क्षेत्रमा युद्ध पोतहरू सारेको छ।
विश्वकै सबैभन्दा ठूला प्रमाणित तेल भण्डारहरूमध्ये एक रहेको भेनेजुएलाले वाशिङ्टनमाथि आफ्ना स्रोतहरू चोर्न खोजेको आरोप लगाएको छ।
ट्रम्प र पूर्वराष्ट्रपति जो बाइडेन दुवैको नेतृत्वमा अमेरिकाले वर्षौँदेखि मदुरो सरकारको विरोध गर्दै आएको छ र कडा प्रतिबन्धहरू लागू गरेर उनलाई हटाउन दबाव दिइरहेको छ।
गत साता अमेरिकाले भेनेजुएलाको तेल बोकेका थप छ वटा पानीजहाजहरूमा नयाँ प्रतिबन्ध लगाएको थियो।
अमेरिकाले मदुरोको अवैध शासन भनेको कुरासँग सम्बन्धित व्यवसायहरू र उनका केही आफन्तहरूमाथि पनि प्रतिबन्ध लगाएको थियो।
एक दिनअघि अमेरिकाले भेनेजुएलाको तटपारि एउटा ट्याङ्कर जफत गरेको बताएको थियो।
ह्वाइट हाउसले स्कीपर नामक जफत गरिएको जहाज "अवैध तेल ढुवानी" मा संलग्न रहेको र यसलाई अमेरिकी बन्दरगाहमा लगिने जनाएको छ।
भेनेजुएला सरकारले अमेरिकाले गरेको कब्जाको निन्दा गरेको छ मदुरोले अमेरिकाले "चालक दलको अपहरण गरेको" र पानीजहाज "चोरेको" बताएका छन्।
आक्रमण हुनुभन्दा केही दिनअघि अमेरिकाले भेनेजुएलाको उत्तरी सिमानामा पर्ने क्यारेबिअन सीमा आफ्नो सैन्य उपस्थिति बढाएको थियो।
त्यसमा हजारौँ सैनिक र विश्वको सबैभन्दा ठूलो विमानवाहक यूएसएस जेराल्ड फोर्डको प्रयोग भएको थियो जुन भेनेजुएलाबाट हमला गर्न सकिने दूरीमा राखिएको थियो।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।