तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
अमेरिकाले किन भेनेजुएलाका राष्ट्रपति पक्राउ गर्नेलाई साढे दुई करोड डलर पुरस्कार घोषणा गर्यो?
- Author, मालु कर्सिन र आयोनि वेल्स
- Role, बीबीसी न्यूज
अमेरिकाले भेनेजुएलाको राष्ट्रपतिमा तेस्रो कार्यकालका लागि शपथ लिएकै दिन निकोलस मदुरो पक्राउ पर्न सक्नेगरी सूचना दिनेलाई पहिलेकोमा बढाउँदै २ करोड ५० लाख अमेरिकी डलर पुरस्कार दिने घोषणा गरेको छ।
गत शुक्रवार आगामी छ वर्षका लागि भेनेजुएलाको राष्ट्रपतिमा भएको मदुरोको शपथ लिएका थिए।
अन्तर्राष्ट्रिय समुदाय र विपक्षी दलहरूको निन्दाको छायामा उनको सपथग्रहण समारोह परेको थियो।
भेनेजुएलाका आन्तरिक मामिला मन्त्री दियोस्तादो कबेलोलाई पक्राउ गर्न सघाउने सूचना दिने वा उनी दोषी ठहर हुनसक्ने सूचनाहरू दिनेलाई पनि अमेरिकाले पुरस्कार घोषणा गरेको छ।
त्यसैगरी रक्षामन्त्री भ्लादिमिर पद्रिनोबारे सूचना दिनेलाई अर्को एक करोड ५० लाख अमेरिकी डलर पुरस्कार तोकिएको छ।
यूकेले पनि न्यायाधीशहरूसहित सुरक्षा निकाय र सैनिक अधिकारीहरू सहित भेनेजुएलाका १५ जना शीर्ष अधिकारीहरूमाथि प्रतिबन्ध लगाएको छ।
ब्रिटिश विदेश मन्त्रालयले प्रतिबन्धमा परेका अधिकारीहरू "प्रजातन्त्र, कानुनीराज र मानव अधिकार उल्लङ्घन"मा जिम्मेवार रहेको बताएको छ।
विदेशमन्त्री डेभिड लामीले मदुरोको सत्तालाई "धोकापूर्ण" भनेका छन्।
शुक्रवार युरोपेली सङ्घले पनि भेनेजुएलामाथि प्रतिबन्ध थप बढाउने जनाएको छ।
युरोपेली सङ्घ ईयूले "विधिको शासन र प्रजातन्त्रको पुनर्बहालीमा उल्लेख्य प्रगति नभएको" कारण देखाउँदै यस्तो घोषणा गरेको हो।
यूके जस्तै ईयूले पनि भेनेजुएलाका १५ जना शीर्ष अधिकारीहरूमाथि प्रतिबन्ध लगाएको छ।
मदुरोका गतिविधिलाई "लज्जाजनक" भन्दै क्यानडाकी विदेशमन्त्री मेलनी जोलीले पनि नयाँ प्रतिबन्धहरू लगाइएको बताएकी छन्।
जोलीले क्यानडाका लागि "लोकतान्त्रिक प्रक्रियाको क्षयीकरण वा अभिव्यक्ति स्वतन्त्रताको नागरिक अधिकारमाथि दमन सह्य नहुने" बताएकी छन्।
मदुरो र उनको सरकारले पश्चिमा देशहरू र विपक्षी नेताहरूले लगाउँदै आएका कैयौँ आरोपहरू बारम्बार अस्वीकार गर्दै आइरहेको छ।
अमेरिकाले किन तोक्यो पुरस्कार
अमेरिकाले सन् २०२० मा मदुरोमाथि लागेको लागु औषध र भ्रष्टाचारको मुद्दाका कारण मदुरोलाई पक्राउ गर्न सघाउनेलाई पुरस्कार दिने घोषणा गरिएको जनाएको छ।
पाँच वर्षअघि अमेरिकाले मदुरो र उनको सरकारका अरू वरिष्ठ अधिकारीहरूमाथि "लागुऔषध-आतङ्कवाद"को आरोप लगाएको थियो।
अमेरिकाले मदुरो र अधिकारीहरूमाथि आफ्नो देशमा कोकिन आपूर्ति गरेर अमेरिकीहरूको स्वास्थ्यलाई कमजोर बनाएको आरोप लगाएको छ। मदुरोले उक्त आरोप अस्वीकार गरेका छन्।
अमेरिकाले भेनेजुएलामाथि गतवर्ष तेलमा पनि प्रतिबन्ध लगाएको थियो। तर मदुरोले देशमा स्वतन्त्र र निष्पक्ष निर्वाचन गराउने अपेक्षामा ती प्रतिबन्धहरू अस्थायी रूपमा खुकुलो बनाइएका थिए।
भेनेजुएलाका राष्ट्रपतिले आफ्नो देशको आर्थिक सङ्कटको कारण अमेरिकी प्रतिबन्धहरू रहेको आरोप लगाएका छन्।
उनले अमेरिकी प्रतिबन्ध अवैध र साम्राज्यवादी भएको आरोप समेत लगाउँदै आएका छन्।
मदुरोका आलोचकहरूले भने उनीमाथि भ्रष्टाचार र आर्थिक अव्यवस्थाको आरोप लगाउने गरेका छन्।
शुक्रवार शपथ ग्रहणका क्रममा मदुरोले आफ्नो आगामी छ वर्षको कार्यकाल "शान्तिको समय" हुने बाचा गरेका छन्।
"यो नयाँ राष्ट्रपतीय कार्यकाल शान्तिको समय हुनेछ। समृद्धि, समानता र नयाँ प्रजातन्त्रको समय हुनेछ," उनले भने।
"म इतिहासको कसम खान्छु, म मेरो जीवनको कसम खान्छु र म यसलाई पूरा गरेरै छाड्छु," मदुरोको बाचा थियो।
विवादित निर्वाचनबाट चुनिएका मदुरो
गत जुलाई २८ मा भएको निर्वाचनको परिणाम कैयौँ अन्तर्राष्ट्रिय समुदायले अस्वीकार गरेका थिए।
भेनेजुएलाका वामपन्थी छिमेकी देशहरू ब्रजिल र कोलम्बियाले पनि उक्त परिणाम अस्वीकार गरेका थिए।
उनको पदबहाली पनि नियन्त्रित शैलीमा भयो। भेनेजुएलाका धेरैजसो मान्यताप्राप्त सञ्चार माध्यमहरूलाई उक्त कार्यक्रमको समाचार सङ्कलन गर्न दिइएन। विदेशी पत्रकारहरूलाई देशमा रोक लगाइयो।
मदुरोका सहयोगी देशहरूको सङ्ख्या पनि घट्दो क्रममा छ। उनका सहयोगी इरान, चीन र रुस बाँकी विश्वबाट अलग जस्तो अवस्थामा छन्।
मदुरोको पदबहालीमा क्युवा र निकरागुआका राष्ट्रपति मात्रै उपस्थित थिए।
गएको जुलाईमा भएको निर्वाचनबाट ६२ वर्षका मदुरो निर्वाचित घोषणा भए पनि विपक्षी दलहरूले निर्वाचन परिणाम स्वीकार गरेनन्।
अमेरिकाले पनि परिणाम अस्वीकार गर्दै निर्वासनमा रहेका नेता एडमुन्डो गन्जालिजलाई राष्ट्रपतिमा निर्वाचित भएको मान्यता दिँदै आएको छ।
कैयौँ अन्तर्राष्ट्रिय समुदायले अस्वीकार गरेको जुलाईको निर्वाचन परिणामको विषयलाई लिएर देशमा अशान्ति सुरु भएपछि ७५ वर्षका नेताले सेप्टेम्बरमा देश छोडेका थिए।
स्पेनमा शरण लिइरहेका उनी यही ज्यानुअरीमा आफ्नो पक्षमा अन्तर्राष्ट्रिय समर्थन जुटाउन अमेरिका भ्रमणमा गएका थिए।
मदुरो सरकारले उनलाई पक्राउ गर्न सहयोग पुर्याउने सूचना दिनेलाई एक लाख अमेरिकी डलर पुरस्कार दिने घोषणा गरेको छ।
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरसले शुक्रवार निर्वाचनपछि "मनोमानी तरिकाले हिरासतमा राखिएकाहरू"को रिहाइको माग गरेका थिए।
भेनेजुएलाको कराकसबाट भनेस्सा सिल्भाको थप रिपोर्टिङ
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।