तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
पाकिस्तान रेल दुर्घटना: ३० जनाको मृत्यु, दर्जनौँ घाइते
पाकिस्तानको सिन्ध प्रान्तमा भएको एउटा रेल दुर्घटनामा कम्तीमा ३० जनाको मृत्यु भएको र १०० जना घाइते भएको प्रहरीले पुष्टि गरेको छ।
उक्त रेलमा झन्डै १,००० यात्रु सवार थिए।
देशको सबैभन्दा ठूलो सहर कराँचीबाट करिब २७५ किलोमिटर पर अवस्थित नवाबशाहको सहारा रेलवे स्टेसन नजिकै हजारा एक्सप्रेसका आठ वटा डिब्बाहरू मध्ये दुई वटा पुरै पल्टिएका हुन्।
ती ३ वटा डिब्बा रेलको लिकबाट खसेको जनाइएको छ। घाइते यात्रुलाई उद्धार गरी नजिकैको अस्पताल पुर्याइएको छ।
आवश्यक परेको खण्डमा घाइतेहरूलाई उपचारका लागि सेनाको हेलिकप्टरमार्फत् कराँची वा हैदरावाद लगिने सिन्ध प्रान्तका मुख्यमन्त्री सैयद मुराद अली शाहले बताएका छन्।
भुक्तभोगीको बयान
दुर्घटनास्थलमा परेका राशिद अली आदमले बीबीसी उर्दूसँग आफ्नो अनुभव सुनाएका छन्। उनले भने, “दुर्घटनाअघि मेरा छोराछोरी र श्रीमती आराम गरिरहेका थिए। अचानक डिब्बा पटरीबाट बाहिरियो र पल्टियो।”
“मलाई केही बेरसम्म होस थिएन। जब होसमा आएँ तब मैले आफ्नी श्रीमती र छोराछोरीको बारेमा सोचेँ। आफूले भोगेका सबै चोटहरू बिर्सिएर उनीहरूलाई खोजेँ तर कोही पनि मेरो अगाडि थिएनन्।”
उनले आफ्नो परिवारको खोजी थालेको र सबै जना 'भाग्यवश नजिकै भाँचिएको डिब्बामुनि थिचिएको' पाए।
परिवारका सबै जना सँगै थिए र सहयोगको याचनासहित चिच्याइरहेका थिए। आफूले उनीहरूलाई हौसला प्रदान गरेको र तत्काल त्यहाँबाट निकालेर एक जना मोटरसाइकल चालकको सहायतामा अस्पताल पुर्याएको राशिदले सुनाए।
जकोबाबादका असलम पनि छोरासँगै सोही रेलमा सवार थिए। उनी भन्छन्, “हामी सुतिरहेका थियौँ। अचानक डिब्बा पटरी बाहिर गयो र सर्वनाश भयो।” उनलाई केही चोट लागेको छ।
रेलमा सवार नसीर अहमदको गन्तव्य रावलपिन्डी थियो। उनी भन्छन्, “रेलको डिब्बा पटरीबाट निस्किएपछि म झ्यालबाट बाहिर हुत्तिएँ र बच्न सफल भएँ।”
उनले धेरै महिला र बालबालिकाहरू भुईँमा लडिरहेको देखेको बताए। “उनीहरू रुँदै, कराउँदै थिए। त्यस्तो परिस्थितिमा के गर्ने मलाई थाहा थिएन। त्यहाँ नजिकै एउटा नहरमा फोहर पानी थियो। मैले त्यसैलाई अँजुलीमा उठाएँ र बेहोस भएकाहरूको अनुहारमा खन्याएँ।”
त्यसो गर्दा उनीहरू होसमा आउने उनको ठम्याई थियो।
नसीर अहमद भन्छन्, “एउटी महिला आफ्नो छोराको छेउमा बसेर ‘उठ्, उठ्’ भन्दै कराइरहेकी थिइन् तर सायद बच्चाको मृत्यु भइसकेको थियो। ऊ चलमलाई रहेको थिएन।”
स्वयंसेवक रफिक लसारीका अनुसार नाजुक अवस्थामा निकालिएका २० जनाको शवहरू मध्ये केही बालबालिकाको समेत छन्।
घटनास्थलमा निकै गर्मी थियो र दुर्घटनामा परेकाहरू पानी खोज्दै हिँडिरहेका थिए।
पछिल्लो विवरण के छ?
उद्धार टोलीले भग्नावशेषमा फसेका अन्य मानिसहरूलाई निकाल्ने प्रयास भने जारी छ।
स्थानीय प्रहरी अधिकारी अबिद बलोचले दुर्घटनाग्रस्त रेलका ८ डिब्बा खालि गरिएको र दुई वटालाई सिधा बनाउन क्रेन मगाइएको जानकारी दिए।
नवाबशाह र नजिकैको सिन्ध जिल्लाका अस्पतालहरूमा सङ्कटकाल घोषणा गरिएको छ।
सामाजिक सञ्जालमा राखिएका भिडिओहरूमा पल्टिएका डिब्बाहरूमाथिबाट केही यात्रुहरू निस्किरहेको देख्न सकिन्छ।
सङ्घीय रेलवे तथा उड्डयन मन्त्री ख्वाजा साद रफिकलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमहरूले दुर्घटनाको कारणबारे अनुसन्धान गर्नुअघि सुरुमा उद्धारमा ध्यान दिइने उल्लेख गरेका छन्।
लाहौरमा एउटा पत्रकार सम्मेलनमा उनले भने, “रेल सही गतिमा गुडिरहेका थियो र उसको स्पिड ४५ किलोमिटर प्रतिघण्टा रहेको थियो।”
उनले प्राविधिक गडबडीका कारण दुर्घटना भएको हुनसक्ने बताए। यसअघि उच्च गतिका कारण उक्त दुर्घटना भएको आशङ्का गरिएको थियो।
ठूलो सङ्ख्यामा स्थानीयवासिन्दाहरू घटनास्थलमा पुगेका छन्। उनीहरूले यात्रुहरूलाई बाहिर निकाल्न सहयोग गरिरहेका छन्।
कराचीभन्दा करिब २७५ किलोमिटर पर हजारा एक्सप्रेसको सो रेल दुर्घटनाग्रस्त भएको थियो।
उक्त रेल कराचीबाट एबटाबादतर्फ गइरहेको बताइएको छ।
दुर्घटनास्थलमा रहेका मोहम्मद उस्मान मल्लाहले बीबीसीसँग भनेका छन्, “कैयौँ यात्रीहरू डिब्बाको मुन्तिर थिचिएका छन्। त्यसमध्ये कतिपयको अवस्थामा गम्भीर छ।”
पाकिस्तानको पुरानो रेलवे प्रणालीमा यस्ता दुर्घटना नौलो होइन्।
सन् २०२१ मा सिन्ध प्रान्तमा दुईवटा रेल एक आपसमा ठोक्किँदा कम्तीमा ४० जनाको ज्यान गएको थियो भने दर्जनौँ घाइते भएका थिए।
सन् २०१३ देखि सन् २०१९ सम्म यस्ता दुर्घटनामा १५० जनाको ज्यान गएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।