तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
पाकिस्तानको रेल दुर्घटनामा कम्तीमा ४० जनाको मृत्यु
दक्षिणी पाकिस्तानमा दुई वटा यात्रुवाहक रेल जुध्दा कम्तीमा ३६ जनाको ज्यान गएको छ भने दर्जनौँ घाइते भएका छन्।
एउटा रेल लिकबाट बाहिरिएपछि दोस्रो रेल त्यसमा जोतिन आइपुगेको अधिकारीहरूले बताएका छन्।
उक्त दुर्घटना सिन्ध प्रान्तमा भएको थियो।
कसरी भयो दुर्घटना?
उद्धारमा खटिएका टोलीहरूले घाइतेहरूलाई नजिकैका अस्पताल लगेका छन्। कैयन् घाइतेहरूको अवस्था गम्भीर रहेको बताइएको छ।
घोट्की जिल्लाका एक वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै दुर्घटनामा आठ वटा डिब्बा ध्वस्त भएको र त्यसकारण फसेका यात्रुलाई निकाल्न कठिनाइ भएको बताइएको छ।
के कारणले रेल लिकबाट बाहिरिएको भन्ने प्रस्ट भएको छैन।
वरपरका अस्पतालहरूलाई तयारी अवस्थामा रहन सजग गराइएको छ।
सोमवार सबेरै कराचीबाट आइरहेको मिल्लत एक्सप्रेस रेल लिकबाट बाहिरिएको थियो।
लगत्तै रावलपिण्डीबाट आइरहेको सर सैयद एक्सप्रेस रेल त्यसमा जोतियो र पल्टियो।
रेल दुर्घटनाका कारण
पाकिस्तानमा पछिल्ला वर्षहरूमा शृङ्खलाबद्ध रेल दुर्घटनाहरू भएका छन्।
खासगरी पाकिस्तानमा धेरैजसो रेल दुर्घटना रेल लिकबाट बाहिरिँदा तथा रेलवे क्रसिङ्मा रेल जुध्दा हुने गर्छ।
त्यहाँ मध्यम वर्गीय तथा न्यून आय भएका मानिसहरूका निम्ति यात्राको सबैभन्दा सजिलो माध्यम रेल रहेको छ।
रेलमार्ग देशभरि फैलिएको छ। तर रेलका डिब्बा धेरैजसो खचाखच भरिएका हुन्छन् र कतिपय रेल पुरानो र खराब अवस्थामा हुन्छन्।
अधिकारीहरूका अनुसार पाकिस्तानमा रेल दुर्घटना हुनुको तीन मुख्य कारण रहेका छन् - मर्मत सम्भारको अभाव, सिग्नलको समस्या तथा पुराना इन्जिन।
अट्नसक्नेभन्दा धेरै मानिस चढ्ने हुँदा रेल दुर्घटनामा हताहतको सङ्ख्या धेरै हुने गरेको छ।