एअर इन्डियाको उडानमा महिलामाथि पिसाब गर्ने अभियुक्त पक्राउ

गत नोभेम्बर महिनामा एअर इन्डियाको एउटा उडानमा एक जना पाकी महिलामाथि पिसाब फेरिदिएका व्यक्तिलाई बेङ्ग्लोरबाट पक्राउ गरिएको छ।

भारतीय समाचार एजेन्सी एअनलाईले दिल्ली पुलिसलाई उद्धृत गर्दै यो जानकारी दिएको बीबीसी हिन्दीले जनाएको छ।

यसअघि भारतीय समाचार एजेन्सी पीटीआईले अभियुक्तलाई पक्राउ गर्ने समयमा दिल्ली प्रहरी र बेङ्ग्लोरको प्रहरीसँगै रहेको जनाएको थियो।

अभियुक्तले आफू आफ्नी बहिनीकोमा बस्दै आएको बताएका छन्। यसअघि ती व्यक्तिका पिताले आफ्ना छोरा निर्दोष रहेको बताएका थिए।

उनले आफ्ना छोरा रहेको ठाउँबारे आफूलाई जानकारी नभएको बताएका थिए।

उनले भनेका थिए, “हामी पनि ऊसँग कुरा गर्न खोजिरहेका छौँ। मलाई थाहा छैन उ कहाँ छ। म साँचो भन्न चाहन्छु जे कुरा आइरहेको छ त्यो सही होइन।”

यसअघि भारतको एउटा अङ्ग्रेजी अखबार टाईम्स अफ इन्डियालाई उक्त विमानमा यात्राको समयमा भएका घटना र आरोपित व्यक्तिको व्यवहारका बारेमा एक जना यात्रुले बताएका थिए।

न्यूयोर्कबाट नयाँ दिल्ली आइरहेको उक्त विमानमा सवार एक व्यक्तिलाई एक जना वृद्ध महिलामाथि पिसाब गरिदिएको आरोप लागेको थियो।

नोभेम्बर २६ मा भएको भनिएको उक्त घटनाबारे प्रहरीलाई उजुरी पनि गरिएको थियो।

प्रत्यक्षदर्शी के भन्छन्

घटना भएको दिन अभियुक्तको नजिकै रहेको सिटमा अमेरिकामा रहेकी अडियोलोजी सम्बन्धी एक जना डाक्टर सुगता भट्टाचार्यजी पनि थिए।

उनी बिजनेस क्लासको पहिलो लहरमा रहेको झ्याल नजिकैको सिट ८ ए मा थिए भने अभियुक्तको सिट ८ सी रहेको थियो।

सुगताले उक्त अखबारलाई भनेका छन्, “उनी रक्सीले मातिएर नियन्त्रण गुमाएका यात्रु थिए। उनले दिउँसोको खानामा नै चार गिलास सिंगल्ट मल्ट व्हिस्की पिएका थिए। उनी मातेका थिए। उनले मलाई तीनपटक एउटै प्रश्न, तपाईँका बच्चाहरू के गर्छन् भनेर सोधे। तब मैले एअरलाइन्सका कर्मचारीलाई उनी मातेका छन् र अब उनलाई थप मदिरा नदिन भनेको थिएँ।”

उनका अनुसार उनी जसरी मातिएका देखिन्थे त्यसबाट उनले खाना खानुअघि र त्यसपछि पनि मदिरा पिएको जस्तो देखिन्थ्यो।

उनको सिटको पछाडि दुई जना महिला यात्रुहरू सवार थिए।

सुगताका अनुसार ‘जब आरोपितले सिट ९ एमा बसेकी महिलामाथि पिसाब गरिदिए त्यसबेला उनी सुतिरहेका थिए। तर त्यसपछिका घटना उनको आँखा अगाडि भएको थियो।”

उनी भन्छन्, “पीडित महिला एकदमै डराएको जस्तो देखिएकी थिइन्। परिचारिकाहरूले उनलाई अभियुक्तसँग कुरा गर्न भनिरहेका थिए। तर महिलाले उनी नशामा रहेको बताइरहेकी थिइन्। यस प्रकारको अपराध गर्ने व्यक्तिलाई तपाईँ पीडितसमक्ष माफी दिनु भनेर ल्याउन सक्नुहुन्न।”

अवतरण गर्ने वित्तिकै उजुरी

नशामा डुबेका ती व्यक्ति त्यसपछि निदाएका थिए। सुगता भन्छन्, “जब उनी ब्युँझिए र केही सम्हालिए उनले मलाई भने ‘भाइ, सायद म समस्यामा परे कि क्या हो।’ त्यो बेला मैले उनलाई बिलकुलै हो भनेर जवाफ दिएँ।”

सुगता भटटचार्यजी पीडित महिलालाई विमानका दुई कर्मचारीहरूले गरेको सहयोगको प्रशंसा गर्छन्। उनका अनुसार उनीहरूले महिलाका सामान शौचालयमा लिएर गएर सफा गरेका थिए।

उनले थपे, “उडान सकिएपछि मैले विमानका कर्मचारीहरूसँग उजुरी पुस्तिका मागे ताकि यो स्थितिलाई सम्हाल्ने तरिकाको विरुद्धमा लेख्न सकुँ। तर उनीहरूले मलाई लेख्नका लागि एउटा सादा पाना दिए। उनीहरूले उजुरीको कुनै भर्पाई पनि दिएनन्।”