गुडिरहेको रेलभित्र प्रहरी जवानले गोली प्रहार गर्दा चार जनाको मृत्यु

भारतको मुम्बईनजिकै एउटा यात्रुवाहक रेलमा चार जनाको गोली हानी हत्या गरेको अभियोगमा भारतीय रेल सेवाको सुरक्षाका लागि खटिएका एक प्रहरी जवान पक्राउ परेका छन्।

रेलवे प्रोटेक्शन फोर्स 'आरटीएफ'मा कार्यरत चेतन कुमारमाथि एक वरिष्ठ सुरक्षा अधिकारी र तीन यात्रुको गोली हानी हत्या गरेको आरोप छ।

अधिकारीहरूले उनको नियतबारे अनुसन्धान भइरहेको र मृतकहरूको पहिचान गर्ने प्रयासमा आफूहरू रहेको बताएका छन्।

भारतीय रेलसेवामा यात्रु र सम्पत्तिको सुरक्षाका लागि आरटीएफका सुरक्षाकर्मीहरू परिचालित गरिन्छ।

पश्चिमी राज्य राजस्थानको जयपुरबाट महाराष्ट्रको मुम्बई जाँदै गरेको रेलमा स्थानीय समयानुसार सोमवार बिहान ५:३० बजे उक्त घटना भएको थियो।

प्रहरी जवान चेतन कुमारले सबैभन्दा पहिले नायब निरीक्षक टीकाराम मीणामाथि गोली प्रहार गरेका थिए।

त्यसपछि उनले तीन यात्रुलाई गोली हानेको आरटीएफले आफ्नो वक्तव्यमा उल्लेख गरेको छ।

उक्त घटना महाराष्ट्रको राजधानी मुम्बई बाट ९६ किलोमिटर टाढाको पालघरबाट रेल पार गरेको केही क्षणमै भएको थियो।

गोली प्रहारपछि कुमारले आपत्कालीन अवस्थामा रेल रोक्न प्रयोग गरिने सिक्री तानेका थिए।

लगत्तै उनले भाग्ने प्रयास गरेको तर मुम्बईको बाहिरी भागबाट उनलाई पक्राउ गरिएको वेस्टर्न रेल्वेजले आफ्नो वक्तव्यमा उल्लेख गरेको छ।

वेस्टर्न रेल्वेजका एक उच्च अधिकारीले गोली प्रहारको घटनाअघि कुमारको अरू व्यक्तिहरूसँग कुनै पनि विवाद भएको नदेखिएको उल्लेख गरेका छन्।

“उनी स्वस्थ नभएको जस्तो देखिन्छ,” उनले भने।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।