जब एक यात्रुले उडिरहेको विमानको ढोकाको चुकुल खुस्काइदिए...

    • Author, क्लोई किम
    • Role, बीबीसी न्यूज, न्यूयोर्क

संयुक्त राज्य अमेरिकामा उडिरहेको विमानको ढोका बिगारिदिएको र चालकदलका सदस्यमाथि धारिलो वस्तुले आक्रमण गर्न खोजेको आरोपमा एक युवक पक्राउ परेको अधिकारीहरूले बताएका छन्।

लस एन्जलिसबाट बोस्टनका लागि उडेको यूनाइटेड एअरलाइन्सको विमानमा उक्त घटना भएको थियो।

विमानभित्र हिंसात्मक गतिविधि गरेको आरोप लागेका व्यक्ति ३३ वर्षीय फ्रान्सिस्को सेभेरो टोरेस भएको बताइएको छ।

उनले विमानको ढोका खुस्काइदिएको थाहा पाएपछि विमानभित्र आतङ्क फैलिएको थियो।

त्यसपछि उनले भाँचिएको चम्चाले विमानका एक कर्मचारीमाथि आक्रमण गर्न खोजेको बताइएको छ।

बोस्टनस्थित लोगन अन्तर्राष्ट्रिय विमानस्थलमा विमानले अवतरण गरेपछि उनलाई आइतवार पक्राउ गरियो।

कसरी भयो घटना?

अभियोगपत्रका अनुसार विमानको एउटा ढोका कसैले "खुस्काइदिएको" सूचना चालकदलले ककपिटभित्र पाउँदा यूनाइटेड एअरलाइन्सको उक्त विमान अवतरण गर्न एक घण्टाभन्दा कम समय बाँकी थियो।

विमानका एक कर्मचारीलाई त्यसबारे बुझ्न आह्राइयो। उनले बन्द गरिएको ढोकाको 'लक ह्यान्डल'को ठाउँ सरेको र त्यसको आपत्कालीन स्लाइड खुस्किएको पत्ता लगाए।

उक्त स्थानमा टोरेस घुमिरहेको हुनाले विमानका कार्मचारीहरूले उनले नै ह्यान्डल बिगारेको शङ्का गरे।

एक कर्मचारीले केरकार गर्न खोज्दा टोरेसले त्यो ढोका भएको ठाउँमा क्यामरा छ र भनेर प्रतिप्रश्न गरेको बुझिएको छ।

अमेरिकाको न्याय मन्त्रालयले तयार पारेको अभियोगपत्रको सारांशका अनुसार त्यसपछि ती कर्मचारीले विमानका क्याप्टेनलाई "ती यात्रुका कारण विमानलाई खतरा भएको र क्याप्टेनले यथासम्भव चाँडै विमान अवतरण गर्नुपर्ने" बताएका थिए।

त्यसपछि टोरेस आफ्नो सीटबाट उठेर विमानका कर्मचारीहरू भएको ठाउँतिर गए।

"उनले धातुको भाँचिएको एउटा चम्चा बोकेर झम्टे अनि एक कर्मचारीलाई गर्दनमा तीन पटक प्रहार गरे," उक्त सारांशमा भनिएको छ।

विमानका कर्मचारीमाथि आक्रमण गरेपछि अरू यात्रुले टोरेसलाई नियन्त्रणमा लिने प्रयास गरेका थिए।

कस्तो सजाय हुन सक्छ?

लस एन्जलिसबाट विमान उड्न लाग्दादेखि नै टोरेसको गतिविधि अस्वाभाविक देखिएको थियो। उनले अर्का एक यात्रुलाई विमानको आपत्कालीन द्वार कहाँ छ भनेर पनि सोधेका थिए।

प्रहरीलाई दिएको बयानमा टोरेसले विमानका कर्मचारीले आफूलाई मार्छन् भन्ने आफूलाई लागेको बताएको सीबीएस न्यूजले जनाएको छ।

उक्त विमान सुरक्षित रूपमा अवतरण भएको थियो। यूनाइटेड एअरलाइन्सले चालकदल र यात्रुहरूलाई "चाँडै यथोचित कारबाही" गरेकोमा धन्यवाद दिएको छ।

यूनाइटेड एअरलाइन्सले टोरेसलाई आफ्नो सेवा प्रयोग गर्न प्रतिबन्ध लगाएको छ।

न्याय मन्त्रालयका अनुसार "डरलाग्दो हतियार प्रयोग गरेर चालकदलका सदस्यलाई हस्तक्षेप गरे वा हस्तक्षेप गर्ने प्रयास गरे" आजीवन कारावासको सजायसम्म हुन सक्छ। उसले त्यस्तो अभियोग लागेका व्यक्तिलाई पाँच वर्ष निगरानीमा राख्नेगरी रिहा गर्न पनि सकिने र २.५ लाख डलरसम्म जरिवाना हुन सक्ने जनाएको छ।

तर अदालतले दोषी ठहर नगरेसम्म टोरेसलाई "निर्दोष" मानिने न्याय मन्त्रालयले जनाएको छ।