तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
स्पाइस जेट भारत: 'विमान भकुन्डो जसरी तलमाथि उफ्रिन थाल्यो'
भारतमा आइतवार स्पाइस जेटको एउटा विमान अवतरण गर्ने क्रममा धेरै हल्लिएपछि उडानमा सवार १७ जना घाइते भएका छन्। बोइङ ७३७ को उक्त विमान करिब २०० जना यात्रुहरू र चालक दलका सदस्य लिएर मुम्बईबाट दुर्गापुरका लागि उडेको थियो। विमानमा सवार अमित बलले उक्त तनावपूर्ण अवस्थाबारे वर्णन गरेका छन्:
यो लेखमा समावेश गरिएका तस्बिरहरूले कतिपय पाठकहरूलाई विचलित तुल्याउन सक्छ।
हामीले पूर्वी सहर दुर्गापुरको लागि दुई घण्टाको उडानमा मुम्बई छोड्दा आइतबार साँझ ५:१३ बजेको थियो र निकै गर्मी थियो। म दुर्गापुरमा व्यवसाय गरेर बसेको छु।
उडान अवधिभर कुनै असामान्य अवस्था महसुस भएन। खानेकुराहरू पनि समयमै दिइएको थियो र मानिसहरू कि निदाइरहेका थिए वा मोबाइलमा झुण्डिरहेका थिए।
मैले यसअघि आधा दर्जनपटक मुम्बई र दुर्गापुरबीच ओहोरदोहोर गरिसकेको छु र समयमै उडान गर्ने भएकाले मैले पछिल्लो चार महिना यता स्पाइस जेट रोज्ने गरेको छु।
(आइतवार) विमान अवतरण गर्ने समय भन्दा ३५ मिनेट पहिले मैले विमान अलिअलि हल्लिएको महसुस गरेँ। तर त्यो पनि कुनै अस्वाभाविक थिएन।
म अन्तिम लहरमा मानिसहरू ओहोरदोहोर गर्न मिल्ने ठाउँ सँगैको सिटमा बसेको थिएँ र मैले आफ्नो सिट बेल्ट बाँधेँ।
तर विमानको उचाइ जति कम हुँदै गयो स्थिति त्यति उति धेरै खराब बन्न थाल्यो। त्यसपछिको १५-१७ मिनेट मेरो जीवनकै सबैभन्दा खराब क्षण बन्न पुग्यो।
हामी आँधीमा पर्यौँ कि के भयो मलाई थाहा छैन तर विमान कहिले माथि त कहिले तल र कहिले दायाँबायाँ गर्न थाल्यो। बोइङ ७३७ रबरको बल जसरी उफ्रिरहेको थियो।
मालाई केही सेकेन्डभित्रकै क्षणमा १०० तल्ला माथिबाट खसाएर फेरि त्यति नै माथि हुत्त्याए जस्तो महसुस भयो। मैले सिट बेल्ट कसेँ र सिटको छेउमा बेस्सरी समाएँ।
सिट बेल्ट बाँध्न बिर्सिएका यात्रुहरू उफ्रिएर झोलाहरू राख्ने ठाउँमा ठोक्किइरहेको मैले देखेँ। उनीहरूलाई नराम्रोसँग चोट लागिरहेको थियो।
मेरो छेउमै बसेका दुई जना मानिसहरूलाई पनि सामान्य चोटपटक लाग्यो, सम्भवतः उनीहरूले सिट बेल्ट नबाँधेका पनि हुन सक्छन्।
मेरो अघिल्लो सिटमा ११ वर्षकी छोरीसँग एकजना महिला थिइन्। उनीहरू आफ्नो सिटबाट कैयौँ पटकसम्म उछिट्टिएका थिए।
उनीहरूको टाउको झोलाहरू राख्ने ठाउँमा ठोक्किइरहेको थियो। अन्तिम पटक ती महिला पछारिएर मानिसहरू हिँड्ने ठाउँमा रहेका मेरो खुट्टानिर आइपुगिन्।
उनी नराम्रोसँग चोटग्रस्त भइसकेकी थिइन्। उनी त्यहीँ सिट छेउको समाउनेमा अडिएर रहिन्।
यात्रुहरू कोही रोइरहेका थिए भने कोही चिच्याइरहेका थिए। कसै कसैले प्रार्थना पनि गरिरहेका थिए। मैले झ्याल बाहिर हेर्ने प्रयास गर्दा बाहिर अँध्यारो देखिन्थ्यो।
विमान चालकले यात्रुहरूलाई सिट बेल्ट लगाउन बारम्बार भनिरहेका थिए। त्यहाँ पूरै अस्तव्यस्त अवस्था थियो। जुठो खानेकुरा विमानभित्र उडिरहेको थियो।
यात्रुहरूले छाडेको खानेकुरा, पेय पदार्थका कपहरू र बट्टाहरू थुप्रिएका थिए। केही खानेकुरा राख्ने भाँडाहरू उछिट्टिएका थिए र सिटको समाउने ठाउँ फुक्लिएका थिए।
विमानमा रहेको अक्सिजन प्यानल र मास्क खसेको थियो। मैले धेरैजना मानिसहरू चोटग्रस्त भएको देखेँ। विमानको छानातर्फको भागमा मानिसहरूको रगतका दाग देखिन्थ्यो। आफूलाई लागेको चोटको दुखाई कम गर्न मानिसहरूले आइस मागिरहेका थिए।
"छिटो गर्नुस् महोदया," यात्रुलाई सहयोग गर्न आएकी हैरान विमान परिचारिकालाई एक यात्रुले भने।
"प्रार्थना गरौँ, गरिराखौँ" अर्का यात्रु भनिरहेका थिए।
एकपटक यस्तो समय आएको थियो कि मलाई अब घर फर्कने आस मरिसकेको थियो। जब ७:१५ मा विमान अवतरण भयो मलाई मृत्युको पन्जाबाट फर्किएको जस्तो महसुस भयो।
हामीले विमान चालकलाई धेरै नै धन्यवाद दियौँ र गर्मीको तातो साँझमा दुर्गापुरतर्फ निस्कियौँ।
तर त्यसपछि पनि अझै खराब अवस्थाको सामना हामीले गर्नुपर्यो।
एम्बुलेन्स आएर घाइते यात्रुहरूलाई अस्पताल लैजान एक घण्टा पर्खनुपर्यो। त्यहाँ नजिकै कोही डाक्टरहरू पनि उपलब्ध भएनन्।
एउटा प्यारामेडिक समूहले घाइतेहरूलाई दुखाई कम गर्ने औषधी दिएर घाउमा मलहम पट्टी गरिरहे। ह्विलचियर नभएपछि यात्रुहरू आफैँ आगमन कक्षतर्फ अघि सरे।
यसले दुर्गापुर अस्पतालमा आधारभूत स्वास्थ्योपचार सेवा नभएको दर्साउँथ्यो।
मेरो खुट्टा सुन्निएपछि साँझ अबेर म एक्स-रे गर्न अस्पताल जाँदा मसँगै विमानमा यात्रा गरेकाहरूले त्यहाँ उपचार गराइरहेको देखेँ। म भन्दा अघिल्लो सिटमा बसेकी महिलाको त काँध र पेटमा गम्भीर चोटपटक लागेको रहेछ।
भारतको नागरिक उड्डयन नियामक निकायले यो घटनामा छानबिनका लागि निर्देशन दिएको छ।
उसले जारी गरेको वक्तव्यमा विमान अवतरणको क्रममा "गम्भीर हलचल" भएको भनिएको छ।
विमानमा रहेको "स्वचालित चालक यन्त्रले दुई मिनेटसम्म काम नगरेपछि चालक दलका सदस्यले विमानलाई आफैँ उडाएका थिए।"