दूधको भाउ बढाउन सिफारिस, उपभोक्ता र कृषक दुवै असन्तुष्ट

तस्बिर स्रोत, Getty Images
एउटा सरकारी निकायले दूधको भाउ बढाउने सिफारिस गरेपछि त्यसबाट “फाइदा पुग्ने” भनिएका कृषक र “मूल्य वृद्धिको मारमा पर्ने” ठानिएका उपभोक्ता दुवैले उक्त निर्णयप्रति असन्तुष्टि व्यक्त गरेका छन्।
राष्ट्रिय दुग्ध विकास बोर्डले “आफैँले तय गरेको नीति विपरीत दूधको मूल्य बढाउने सिफारिस गरेको” भन्दै आलोचना भइरहेका बेला उपभोक्ता र कृषकले समेत असन्तुष्टि व्यक्त गरेका हुन्।
उपभोक्ताले “बिरामी, वृद्धवृद्धा र बालबालिकाको अत्यावश्यक पौष्टिक तत्त्व” उपलब्ध हुने दूध “अचाक्ली महँगो बनाउन लागिएको” भन्दै आलोचना गरेका छन्।
अर्कातर्फ किसानहरू चाहिँ “अहिले गरिएको सिफारिसले पनि लागत नउठ्ने” भन्दै त्यसप्रति असन्तुष्ट देखिएका छन्।
बोर्डले भने कृषक, डेरी उद्योगी र उपभोक्ता अधिकारकर्मीसमेतको छलफलपछि दूधको मूल्य बढाउने सिफारिस गरिएको भन्दै आफ्नो निर्णयको बचाउ गरेको छ।
कति बढाइयो भाउ?

तस्बिर स्रोत, Getty Images
राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्रप्रसाद यादवका अनुसार दूधको न्यूनतम मूल्य प्रतिलिटर १० रुपैयाँले वृद्धि गर्न सिफारिस गरिएको छ।
“हामीले हाम्रा अध्ययनहरूलाई आधार मानेर तथा विज्ञसँग छलफल गरी सबै पक्षको सहमतिमा कृषि मन्त्रालयमा न्यूनतम मूल्य लिटरमा १० रुपैयाँ बढाउन सिफारिस गरेका हौँ,” उनले भने।
“मन्त्रालयले त्यसबारे थप अध्ययन र छलफल गरेर मन्त्रिपरिषद्मा पठाउनेछ र मन्त्रिपरिषद्ले स्वीकृत गरेको मूल्य लागु हुनेछ।”
राष्ट्रिय दुग्ध विकास नीति अनुसार हरेक दुई वर्षमा दूधको मूल्य पुनरवलोकन गर्ने व्यवस्था गरेको छ।
तर यसपालि मूल्यवृद्धि भएको एक वर्षमै बोर्डले भाउ बढाउन सिफारिस गरेको हो।
गत वर्ष माघ २८ गते दूधको न्यूनतम समर्थन मूल्य प्रतिलिटर ५९ रुपैयाँ ९३ पैसा तोकेको थियो।
त्यो भनेको उद्योगीले कृषकलाई दिनुपर्ने न्यूनतम मूल्य हो। यद्यपि कृषकहरूका अनुसार त्यसमध्ये करिब ५६ रूपैयाँ मात्र कृषकले पाउने गर्छन् भने बाँकी बिक्रीको व्यवस्थापन गर्ने दुग्ध सहकारीहरूले पाउने गर्छन्।
न्यूनतम समर्थन मूल्यक कृषकका लागि तोकिएको हुनेले दूधको उपभोक्ता मूल्य भने ८६ रुपैयाँ रहेको छ।
तर खुला रूपमा बिक्री हुने दूध साना डेरीहरूले अहिले पनि प्रतिलिटर १०० रुपैयाँ वा त्यसभन्दा माथि पनि बिक्री गरिरहेका छन्।
पशु आहाराको मूल्यवृद्धि भएकाले अहिले भाउ बढाउने सिफारिस गरेको यादवले बताए।
उनले भने, “अहिले चोकर, पिना र परालको समेत भाउ बढेको छ। त्यसको लागत हिसाब गर्दा प्रतिलिटर १४ रुपैयाँसम्म महँगो पुग्ने देखिए पनि हामीले छलफल गरेर १० रुपैयाँका सिफारिस गरेका हौँ।”
पशु आहारा तथा लागतबारे जानकारी लिन कृषकहरूले गरेको अध्ययन, बोर्ड आफैँले गरेको अध्ययन र स्वतन्त्र रूपमा गरिएका अध्ययनहरूको पनि आधार लिइएको उनको भनाइ छ।
उपभोक्ताको असहमति
दूधको भाउ पुनरवलोकनका लागि सरोकारवालाहरू रहेको एउटा समिति बनेको र त्यसैको सुझावका आधारमा उक्त सिफारिस गरिएको यादवले बताए।
तर त्यस्तो समितिमा रहेका उपभोक्तातर्फका एकजना सदस्य विष्णुप्रसाद तिम्सिनाले चाहिँ आफ्नो त्यसमा सहमति नभएको बताए।
उनले आफूले १७ बुँदे सुझाव दिएको तर त्यसलाई बेवास्ता गरिएपछि आफूले असमति जनाएर बैठकमै सहभागी नभएको जानकारी दिए।
“स्थलगत अध्ययनमा पनि उपभोक्ताका प्रतिनिधिलाई सहभागी गराइएन। वृद्धवृद्धा, बालबालिका र सुत्केरीका लागि पोषणको मुख्य माध्यम रहेकाले गर्दा दूधमा यसरी बढाउनु हुँदैन भन्ने मेरो मत हो।”
कृषक पनि बेखुसी

तस्बिर स्रोत, Getty Images
सरकारी अधिकारी र उद्योगीहरूले “कृषकको लागत उठ्ने अवस्था बनोस्” भनेर मूल्यवृद्धिको सिफारिस गरिएको दाबी गरेका छन्।
यादवले पशु आहारको भाउ बढेकाले मूल्यवृद्धिको सिफारिस गरेको बताएका बेला नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रह्लाद दाहालले पनि त्यस्तै दाबी गरे।
उनले भने, “अहिले पशु आहारको भाउ १२ प्रतिशतसम्म बढिसकेको छ। त्यसैले अहिले भाउ बढाउनु पर्ने अवस्था आएको हो। बढेको भाउको ३० प्रतिशत मात्र उद्योगीले पाउने हो, ७० प्रतिशत कृषककोमा जाने हो।”
कृषकका प्रतिनिधिहरूले भने अहिले बढाउन सिफारिस गरिएको मूल्यले पनि आफ्नो लागत उठ्ने अवस्था नरहेको भन्दै असहमति जनाएका छन्।
केन्द्रीय दुग्ध सहकारी सङ्घका अध्यक्ष अमर कुँवरले भने, “अहिलेको अवस्थामा प्रतिलिटर दूधको भाउ २० रुपैयाँ बढाए पनि हाम्रो लागत उठ्दैन। त्यसैले यसमा खुसी हुने कुरा छैन।”
“कि सरकारले पशु आहारको भाउ घटाउन र नियमन गर्न पहल गर्नुपर्यो नत्र कृषकले लागत उठाउन सक्दैनन्।”
उनले सरकारी नीतिदेखि सबैले “एकपक्षीय” भएर हेरेको तर कृषकको पीडा नबुझेको दाबी गरे।
हरेक दुई वर्षमा दूधको मूल्य पुनरवलोकन गर्ने कुरा अहिले जसरी महँगी बढेको छ त्यसका आधारमा उपयुक्त नभएको उनको तर्क छ।
मूल्यवृद्धि र फिर्ता
करिब दुई महिनाअघि केही निजी डेरी उद्योगहरूले आफूखुसी दूधको मूल्य बढाएका थिए।
तर त्यसबेला त्यसबारे व्यापक आलोचना भएपछि प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशनमा मूल्यवृद्धि फिर्ता भएको थियो।
यद्यपि त्यसबेला डेरी उद्योग सञ्चालकहरू नै पक्ष र विपक्षमा देखिएका थिए।
अहिले भने सरकारीस्तरबाटै भाउ बढाउन सिफारिस भएको हो।
त्यसबेला केही डेरी उद्योगले प्रशोधित दूधको मूल्य प्रति आधा लिटरको ५० रुपैयाँ अर्थात् प्रतिलिटर १०० रुपैयाँ बनाएका थिए।








