कोशी प्रदेशमा उद्धव थापा पदमुक्त, हिक्मत कार्कीलाई मुख्यमन्त्री बनाउन अदालतको आदेश

सर्वोच्च अदालत

तस्बिर स्रोत, Getty Images

सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मत बदर गरेको छ।

अदालतको आदेशसँगै प्रदेशका मुख्यमन्त्री थापा स्वत: पदमुक्त भएका छन्।

अदालतले सबैभन्दा धेरै सदस्य रहेको दलका नेतालाई मुख्यमन्त्री नियुक्त गर्न भनेको छ।

अदालतको आदेशसँगै नेकपा एमाले प्रदेश संसदीय दलको नेता समेत रहेका कोशी प्रदेशका पूर्व मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई पुन मुख्यमन्त्री बन्ने बाटो खुलेको छ।

कार्कीले दायर गरेको रिट निवेदनमाथि पूर्ण सुनुवाइ गर्दै न्यायाधीशत्रय सपना प्रधान मल्ल, कुमार चुडाल र नहकुल सुवेदीको पूर्ण इजलासले बिहीवार यस्तो आदेश दिएको हो।

आदेशबारे बताउँदै सर्वोच्च अदालतकाप्रवक्ता बिमल पौडेलले प्रदेशसभाबाट विश्वासको मत नपाएको देखिँदा मुख्यमन्त्री स्वत पदमुक्त हुने बताए।

संविधानले मत बराबर भएमा मात्र मतदानको अधिकार दिएको उल्लेख गर्दै अदालतले सभाध्यक्ष इस्राइल मन्सुरीले मत हाल्नुपर्ने अवस्था नदेखिएको उल्लेख गरेको छ।

"उक्त प्रस्तावउपर मतदान गरेको कार्य नेपालको संविधान, संविधानवादको मान्य सिद्धान्त र यस अदालतबाट प्रतिपादित नजिर सिद्धान्त समेतको प्रतिकूल देखिँदा निजले गरेको मतदान सो मत समेत गणना गरी उक्त प्रस्ताव प्रदेशसभाको बहुमतबाट पारित भएको भनी सो सभाले भदौ ४ गते गरेको निर्णय तथा निर्णयको जानकारी गराउन प्रदेश प्रमुखलाई गरेको पत्राचार उत्प्रेषणको आदेशबाट बदर हुने ठहर्छ," अदालतले भनेको छ।

कार्कीले आफूलाई मुख्यमन्त्रीमा नियुक्त गर्न गरेको दाबी अदालतले स्वीकार गरेको छ।

“यस स्थितिमा संवैधानिक व्यवस्था तथा यस अदालतबाट भएको पूर्व आदेश बमोजिम उपधारा ३ बमोजिम प्रदेशसभामा सबैभन्दा धेरै सदस्यहरू भएको संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्ति गर्नुपर्ने देखिन आयो,” अदालतको आदेशमा भनिएको छ।

अदालतले आदेश प्राप्त भएको मितिले ४८ घण्टाभित्र नयाँ मन्त्रिपरिषद् गठन गर्न पनि आदेश दिएको प्रवक्ता पौडेलले जानकारी दिए।

सर्वोच्च अदालतले यसअघि ७ भदौमा कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापालाई सभाध्यक्षले दिएको विश्वासको मत संविधान प्रतिकूल रहेको ठहर गर्दै प्रदेश सरकारलाई दीर्घकालीन असर पर्ने कामकारबाही नगर्न अन्तरिम आदेश दिएको थियो।

त्यससँगै प्रदेशमा चालु आर्थिक वर्षको बजेट पारित हुन नसक्ने अवस्था सिर्जना भएको छ।

जसका कारण १७ भदौबाट कोशी प्रदेश सरकारले गर्ने धेरैजसो खर्चमा अवरोध सिर्जना हुने अवस्था बनेको प्रदेशका अधिकारीहरूले बताउँदै आएका छन्।

भदौ पहिलोसाता कोशी प्रदेशसभामा भएको मतदानमा थापाको पक्षमा ४७ जना सांसदले मतदान गरेका थिए।

तर प्रदेशसभाको अध्यक्षता गरिरहेका इस्राइल मन्सुरीले समेत मतदान गरेपछि उक्त विश्वासको मत विवादित बनेको थियो।

बैठकको अध्यक्षता गर्ने व्यक्तिले निर्णायक अवस्थामा मात्रै मतदानमा भाग लिन पाउने संवैधानिक व्यवस्थाका कारण सभामुखले यसअघि थापालाई मुख्यमन्त्रीमा नियुक्तिका लागि दिएको समर्थन सर्वोच्च अदालतले अस्वीकार गरेको थियो।

विपक्षी नेकपा एमाले र राप्रपाका सांसदहरूले तत्कालै मन्सुरीले दिएको मतको विरोधमा प्रदेशसभामा नाराबाजी गरेका थिए।

कोशी प्रदेश

एक मतको खेल

कोशी प्रदेश सरकारमा कुनै पनि दलको बहुमत नरहेकाले नेपालको संविधानको धारा १६८ (२) बमोजिम "प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्य मुख्यमन्त्रीमा नियुक्त" हुने व्यवस्थाअन्तर्गत थापा मुख्यमन्त्री बनेका हुन्।

कुल ९३ सदस्य रहेको कोशी प्रदेशसभामा कांग्रेसको २९, माओवादी केन्द्रको १३, नेकपा (एकीकृत समाजवादी)को चार र जनता समाजवादी पार्टी नेपालको एक जोडेर बहुमतका लागि आवश्यक ४७ मत पुर्‍याइएको थियो।

यसअघि सभामुखबाट राजीनामा दिएका बाबुराम गौतम माओवादी केन्द्रका प्रदेशसभा सदस्यका हैसियतमा छन्।

अर्कोतर्फ प्रदेशसभामा सबैभन्दा ठूलो दल नेकपा एमालेका ४० र राष्ट्रिय प्रजातन्त्र पार्टीका छ सांसद छन्।

दुवैको कुल मत ४६ अर्थात् प्रदेशसभाका लागि आवश्यक बहुमत भन्दा एक कम छ।

पछिल्लोपटक विश्वासको मत लिने क्रममा प्रदेशसभा बैठकको अध्यक्षता गर्ने ठानिएकी उपसभामुख सृजना दनुवार उपचारका लागि भन्दै सोमवार प्रदेशसभा बैठकअघि नै काठमाण्डू हिँडेपछि सत्ता गठबन्धनलाई अप्ठ्यारो परेको थियो।

सभामुख र उपसभामुखको अनुपस्थितिमा ज्येष्ठ सदस्यले बैठकको अध्यक्षता गर्नुपर्छ। तर बैठकको अध्यक्षता गर्ने व्यक्तिले मत बराबर भएको अवस्थामा मात्रै मत दिन पाउने संवैधानिक व्यवस्था छ।

एमाले र राप्रपाका ज्येष्ठ सदस्य पनि बिदामा बसेपछि उपसभामुखले नेपाली कांग्रेसका मन्सुरीलाई बैठकको अध्यक्षता गर्ने जिम्मेवारी दिएकी थिइन्।

अहिलेसम्म के–के भयो?

कोशी प्रदेश सभा

भदौ ७: मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मत संविधान प्रतिकूल रहेको सर्वोच्च अदालतको ठहर।

भदौ ४: उद्धव थापालाई प्रदेशसभामा विश्वासको मत। पक्षमा ४७ र विपक्षमा ३० मत।

साउन १६: सभामुख बाबुराम गौतमको राजीनामापछि कोशी प्रदेश प्रमुख परशुराम खापुङद्वारा दोस्रो पटक प्रदेशको मुख्यमन्त्रीमा गठबन्धन दलका तर्फबाट कांग्रेसका उद्धव थापा नियुक्त

साउन १२: कोशी प्रदेश प्रमुख परशुराम खापुङद्वारा प्रदेशको मुख्यमन्त्रीका लागि साउन १६ गते अपराह्ण ५ बजेभित्र दाबी पेस गर्न आह्वान

साउन ११: सर्वोच्च अदालतद्वारा कोशी प्रदेशमा उद्धव थापाको मुख्यमन्त्री नियुक्ति "नेपालको संविधानबमोजिम प्रतिकूल देखिएको" ठहर, सात दिनभित्र प्रदेशसभाको बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री पदमा नियुक्त गर्न प्रदेश प्रमुखलाई आदेश

साउन ८: सर्वोच्च अदालतद्वारा कोशी सरकारको मुद्दा पूर्ण इजलासमा पठाउने आदेश

असार २७: कोशी सरकालाई दीर्घकालीन असर पर्ने कुनै पनि कार्य नगर्न सर्वोच्च अदालतको आदेश

असार २२: कांग्रेस नेतृत्वको कोशी सरकारविरुद्ध एमालेद्वारा सर्वोच्च अदालतमा रिट निवेदन

असार २२: सभामुख समेतको समर्थनमा नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठन

असार १५: नेकपा एमालेको नेतृत्वमा रहेको कोशी प्रदेश सरकारले बहुमत गुमायो

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।