मध्य र पश्चिम नेपालमा गर्मी उत्कर्षमा, मनसुन फैलिन अझै केही दिन लाग्ने

तस्बिर स्रोत, RSS
- Author, फणीन्द्र दाहाल
- Role, बीबीसी न्यूज नेपाली
मनसुनी प्रणाली पूर्वी नेपालको कोशी प्रदेशमा प्रवेश गरिसकेको भए पनि नेपालका धेरै भूभागमा अत्यधिक गर्मी रहेको भन्दै सरकारी निकायहरूले सावधानी अपनाउन सर्वसाधारण मानिसहरूलाई आग्रह गरेका छन्।
मनसुन राजधानीहुँदै पश्चिम नेपालसम्म नफैलिएसम्म चर्को गर्मी नहट्ने मौसमविद्हरूले बताएका छन्।
जल तथा मौसम विज्ञान विभागले सुदूरपश्चिम र लुम्बिनी प्रदेशका कतिपय स्थानमा विगत केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सिअस वा सोभन्दा बढी मापन गरिएको जनाएको छ।
नेपालमा सामान्यतया जुन १३ मा मनसुन भित्रिने गरेको छ।
यद्यपि यो वर्ष तीन दिन चाँडै देशको पूर्वी भागमा मनसुन प्रवेश गरेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
सरकारी मौसमविद् के भन्छन्
जल तथा मौसम विज्ञान विभागअन्तर्गत रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले मध्य र पश्चिम नेपालमा मनसुन तत्काल पुगिहाल्ने सम्भावना नदेखिएको बताउँछन्।
“अहिले हामीले जेठ ३१ गतेसम्मको मौसमसम्बन्धी सूचना जारी गरेका छौँ। तर जेठ ३२ गतेबाट नै मज्जाले वर्षा हुन थाल्छ भन्ने पनि होइन। अहिले हामी नै 'पर्ख र हेर'को अवस्थामा छौँ। तीन दिन गर्मी नै हुन्छ, केही ठाउँमा ४० डिग्रीभन्दा बढी नै तापक्रम हुन्छ भन्ने अनुमान हो,” उनले भने।
“अहिले पनि हामी अवस्थाको विश्लेषण गरिरहेका छौँ, अब पनि फेरि तातो हावाको लहरकै चेतावनी पनि आउन सक्छ। मनसुन चार-पाँच दिनमै पश्चिम वा सुदूरपश्चिम नेपालमा पुग्ने सम्भावना देखिँदैन।”
४६.४°Cधनगढी, सन् १९९५ जुन १६
४५.८°Cसेमरी, नवलपरासी पश्चिम, सन् १९९५ अगस्ट २
यो वर्ष ४५.३°Cटीकापुर, कैलाली, मे ३०
यो वर्ष ३३.४°Cकाठमाण्डूमा मे २४, ३० र जुन १०
काठमाण्डूमा सर्वाधिक३६.६°C, सन् १९८९ मे ७
जल तथा मौसम विज्ञान विभागले जारी गरेको अद्यावधिक सूचनाअनुसार अहिले नेपालको पूर्वी भूभागमा मनसुनी प्रणालीको प्रभाव छ।
तर बाँकी भूभागमा स्थानीय वायु, पश्चिमी वायु तथा भारतको बिहार क्षेत्रनजिक बनेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव छ।
मनसुनी प्रणाली कोशी प्रदेशबाट अघि बढ्न अझै नसकेकाले अत्यधिक गर्मी कायम रहने मौसमविद्हरू बताउँछन्।
गर्मी बढ्नुको कारण के हो
मौसमविद्हरूका अनुसार मनसुन लागेसँगै पूर्वको वायुले धकेलेर नेपाली भूभागमा पश्चिमी वायुलाई निष्क्रिय बनाउँदै लैजान्छ।
तर मनसुन पूर्वबाट नेपालमा प्रवेश गरे पनि अहिले मध्य र पश्चिमी भूभागमा पश्चिमी वायु नै बलियो छ।
मौसमविद् अधिकारीले भने, “त्यही भएर भारतकै भूभागबाट तातो हावा आइरहेको अवस्था छ। मध्य र पश्चिम तराईमा तातो नै आइरहेको छ।
"तर विराटनगरआसपास तराई भईकन पनि बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा आइरहेको कारणले त्यहाँ पानी पनि पर्ने सम्भावना छ। बादल पनि लागिरहेको छ र तुलनात्मक रूपमा तापक्रम धेरै कम छ।”

तस्बिर स्रोत, DHM/Google Maps/BBC
विभागले बुधवार बिहान सार्वजनिक गरेको तीनदिने मौसम पूर्वानुमानमा कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सफा रहने उल्लेख छ।
विभागले एक-दुई ठाउँमा चट्याङको पनि चेतावनी दिएको छ।
मौसमविद् अधिकारी अझै दुई-तीन दिन मनसुन प्रणाली काठमाण्डू उपत्यका प्रवेश नगर्ने देखिएको बताउँछन्।
“काठमाण्डूमा आएपछि नै यहाँबाट बिस्तारै पश्चिमतर्फ जाने हो। बिस्तारैबिस्तारै सरिरहेको छ। आजको मितिसम्म पनि कोशीलाई पार गरेर मधेश वा बागमती प्रदेशसम्म आएको छैन।”

तस्बिर स्रोत, EPA
मौसम पूर्वानुमान विभागले जारी गरेको चेतावनीमा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका जिल्लाहरूमा उच्च तापक्रम रहेको देख्न सकिन्छ।
ती प्रदेशका केही जिल्लाहरूलाई ‘रातो’ रङ्ग दिएर चेतावनी जारी गरिएको छ।
अधिकारीले भने, “त्यहाँ मनसुन पुगेको भए त्यहाँ पनि चिसो हुन्थ्यो र त्यो रातो रङ्ग हट्थ्यो। मनसुन आउन केही समय लागेको र पश्चिमतिरबाट सुक्खा अनि तातो हावा आइरहेको छ, त्यही भएर त्यहाँ तातो लहर पनि छ।”
नेपालमा मनसुन कहिले भित्रिन्छ र बाहिरिन्छ?
| साल | आरम्भ | अन्त्य |
|---|---|---|
| २०१२ | जुन १६ | सेप्टेम्बर २८ |
| २०१३ | जुन १४ | अक्टोबर १९ |
| २०१४ | जुन २० | अक्टोबर ७ |
| २०१५ | जुन १३ | अक्टोबर ३ |
| २०१६ | जुन १५ | अक्टोबर १२ |
| २०१७ | जुन १२ | अक्टोबर १६ |
| २०१८ | जुन ८ | अक्टोबर ५ |
| २०१९ | जुन २० | अक्टोबर १२ |
| २०२० | जुन १२ | अक्टोबर १६ |
| २०२१ | जुन ११ | अक्टोबर ११ |
| २०२२ | जुन ५ | अक्टोबर १६ |
| २०२३ | जुन १४ | अक्टोबर १५ |
| २०२४ | जुन १० |
यो वर्ष तापक्रमको प्रवृत्ति कस्तो छ
जल तथा मौसम विज्ञान विभागका अधिकारीहरूका अनुसार यो वर्ष नेपालमा उच्च तापक्रमका केही उल्लेख्य घटनाक्रम रेकर्ड गरिएको छ।
मे ३० तारिखमा कैलालीको टीकापुरमा ४५.२ डिग्री सेल्सिअस तापक्रम मापन गरिएको थियो। त्यसअघि सन् १९९५ मा दुई पटक त्यसभन्दा बढी तापक्रम मापन भएको थियो।
सरकारी तथ्याङ्कमा अहिलेसम्मको सबैभन्दा तातो दिन सन् १९९५ को जुन १६ हो। त्यो दिन धनगढीको अत्तरियामा ४६.४ डिग्री तापक्रम मापन भएको थियो। त्यसपछि सन् १९९५ को अगस्ट २ मा अहिलेको नवलपरासी पश्चिमस्थित सेमरीमा ४५.८ डिग्री तापक्रम मापन गरिएको थियो।
काठमाण्डूमा यो वर्ष तीन दिन ३४.४ डिग्री सेल्सिअस तापक्रम मापन गरिएको छ जुन सन् २०२४ को सर्वाधिक बढी तापक्रम हो। तर सन् १९८९ को मे ७ मा मापन गरिएको ३६.६ डिग्री सेल्सिअसलाई काठमाण्डू उपत्यकामा अहिलेसम्मकै सर्वाधिक तापक्रम मान्ने गरिएको छ।
मौसम विभागका अधिकारीहरूका अनुसार त्यसको दुई दिनअघि मापन भएको ३५.८ सेल्सिअस अहिलेसम्म काठमाण्डूमा मापन गरिएको दोस्रो उच्च तापक्रम हो।
जल तथा मौसम विज्ञान विभागकी सूचना अधिकारी विभूति पोखरेलले जलवायु परिवर्तनले गर्दा अत्यधिक गर्मीजस्ता विषम घटनाहरू बढ्दै गएको बताइन्।
उनले भनिन्, “मनसुन नभित्रिएको अवस्थामा तात्ने नै भइरहन्छ। हामीले पूर्वमा मनसुन प्रवेश गर्यो त भन्यौँ, तर मध्य र पश्चिमबारे भनेका छैनौँ। जलवायु परिवर्तनले पनि तातो लहरलाई निम्त्याइरहेको हुन्छ।”
गर्मीको प्रभावबाट जोगिन के गर्ने

स्वास्थ्यकर्मीहरू अत्यधिक गर्मी र तातो हावाका कारण थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्न, टाउको दुख्ने, बेहोस हुने जस्ता असर देखा पर्न सक्ने बताउँछन्।
अधिकारीहरूले तातो हावाको लहरबाट जोगिन गर्मीको समयमा घरभित्र र चिसो स्थानमा रहने, घाममा बाहिर नजाने, बाहिर निस्कँदा टोपी लगाउने, नियमित रूपमा पानी तथा तरल पदार्थ पिउने र स्वास्थ्यमा समस्या देखिएमा चिकित्सकहरूसँग परामर्श गर्न सुझाव दिएका छन्।
विश्व स्वास्थ्य सङ्गठनको एउटा तथ्याङ्कले सन् १९९८ देखि २०१७ सम्म चरम तापक्रमका कारण एक लाख ६६ हजार जनाले ज्यान गुमाएको देखाउँछ।
उसले सन् २०३० पछि जलवायु परिवर्तनसँग जोडिएर आउने रोगका कारण बर्सेनि थप अढाई लाख जनाको ज्यान जान सक्ने चेतावनी दिएको छ।

उच्च तापक्रमका कारणले थकान र मानिसलाई मुर्छित बनाउने ‘हीट स्ट्रोक’ जस्तो समस्या निम्त्याउन सक्छ।
शरीरमा चरम रूपमा पानीको अभाव गराउने, शरीर सुनिने र रगत जम्ने समस्याहरू समेत अत्यधिक गर्मीको लहरले निम्त्याउने डब्ल्यूएचओको चेतावनी छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले गर्मी बढेका कारण अस्पतालहरूमा बिरामी बढेको भए पनि 'लू'का कारण मानिसहरू अस्पतालसम्म अहिलेसम्म नपुगेको बताए।
उनले भने, “गर्मी बढेकाले पाचनप्रणालीका, छालासम्बन्धी समस्या र झाडाबान्ताका बिरामीहरू अस्पतालहरूमा बढेका छन्। तर लूका कारण बेहोस भएर मानिसहरू अस्पताल पुगेको भन्ने अहिलेसम्म कुनै जानकारी छैन।”
उनले अत्यधिक गर्मीका कारण स्वास्थ्य समस्याहरू देखा पर्न सक्ने भन्दै औषधि र अन्य पूर्वाधारहरू तयार अवस्थामा राख्न जिल्लास्थित प्रशासन कार्यालय र स्वास्थ्य निकायहरूलाई निर्देशन दिइएको बताए।
त्यसबाहेक रेडिओ तथा अन्य माध्यमहरूबाट प्रचारसामग्रीहरू प्रकाशन गरेर मानिसहरूमा जनचेतना फैलाउने काम भइरहेको बताए।
भारतमा कस्तो छ अवस्था
भारतमा हालसम्मकै खराब तातो हवाको लहरका कारण मार्च देखि मे महिनासम्म तापक्रमसँग सम्बन्धित बिरामीका कारण ६० जनाले ज्यान गुमाएको आधिकारिक आँकडा मे महिनामा सार्वजनिक गरिएको थियो।

तस्बिर स्रोत, Getty Images
भारतीय अधिकारीहरूले भारतमा अभिलेख राख्न थालिएयताकै सर्वाधिक लामो ‘हीटवेभ’ फैलिएको बताएका छन्।
कतिपय ठाउँमा तापक्रम ५० सेल्सिअस नाघेको छ।
सोमवार भारतको पूर्वी राज्य ओडिशामा ७२ घण्टाको अवधिमा आठ जनाको मृत्यु भएको जनाइएको छ।
तर कैयौँ ग्रामीण क्षेत्रमा अत्यधिक गर्मीका कारण हुने मृत्युको अभिलेख नराखिने हुँदा यो सङ्ख्या अझै उच्च हुन सक्ने ठानिएको छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








