प्रत्यक्षतर्फको उम्मेदवार चयनमा जेन जी आन्दोलनको प्रभाव कस्तो देखियो

महोत्तरीको सदरमुकाम जलेश्वरमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मनोनयन दर्ता हुँदै

तस्बिर स्रोत, RSS

    • Author, विनिता दाहाल
    • Role, संवाददाता, बीबीसी न्यूज नेपाली

प्रतिनिधि सभा चुनावका लागि दर्ता भएका उम्मेदवारहरूको सूची हेर्दा गत भदौमा भएको नवयुवाहरूको आन्दोलनको भावनालाई सबैजसो राजनीतिक दलहरूले केही हदसम्म समेटिएको देखिएपनि सन्तोषजनक नरहेको केही जेन जी अभियानकर्मीहरूले टिप्पणी गरेका छन्।

निर्वाचन आयोगले मङ्गलवार(आजसम्म) सबै उम्मेदवारले आफ्नो नाम दर्ता गरिसक्नुपर्ने समय तोकेको थियो।

यसअघि नयाँ र पुराना दलहरूले समानुपातिकतर्फको उम्मेदवारहरूको सूचीमा समावेश गरेका नाममा पनि केही हदसम्म 'जेन जी' आन्दोलनको भावना समेटिएको तर 'पहुँच भएकाहरू' नै नयाँ दलहरूले दर्ता गराएको सूचीमा रहेको देखिएको भन्दै त्यसको आलोचना भएको थियो।

जेन जी आन्दोलनपछि दलहरूमा परिवर्तन देखिन्छ?

राजनीति शास्त्रका प्राध्यापक लोकराज बराल नयाँदेखि पुराना सबैजसो दलमा केही हदसम्म जेन जी आन्दोलनको प्रभाव उम्मेदवारी चयनमा परेको बताउँछन्।

"पार्टीहरूले युवालाई प्रोत्साहन गरेको ठाउँ ठाउँमा देखिन्छ। युवा पिँढीलाई समावेश गर्न खोजेको देखिन्छ," उनले भने।

"कांग्रेसमा पनि देखिएको छ। अलिअलि एमालेमा पनि देखिएको छ। जेन जी आन्दोलनको प्रभाव केही न केही परेको छ। रास्वपाले पनि दिएको देखिन्छ।"

उनले कांग्रेसको उदाहरण दिँदै निवर्तमान सभापति शेरबहादुर देउवा यो चुनावमा नलड्नुलाई सकारात्मक रूपमा हेरेका छन्।

"अब उहाँ लड्ने नलड्ने भन्ने कुनै तुक छैन। अब पाँच पटक त प्रधानमन्त्री भइसक्नुभएको छ। त्यस कारणले राजनीतिक रूपले तात्त्विक फरक पर्ने वाला छैन। नलडेको झन् राम्रो अर्को एउटाले पालो पायो," प्राध्यापक बरालले भने।

तर सबै पार्टीमा हेर्दा महिलाको सम्मानजनक उपस्थिति भने तैपनि नदेखिएको उनीहरूले बताएका छन्।

"चुनावको दौडाहामा अलि हडबड पनि भयो, दिनभरि रातभरि खट्नुपर्ने गरेर पनि हुनसक्छ," उनले भने।

"यस पटक मनी र मसलको कुरा यस पटक धेरै नहोला र मानिसको सोचाइ परिवर्तन भएको होला जस्तो लाग्छ।"

निर्वाचन कार्यालय

तस्बिर स्रोत, RSS

राजनीतिक टिप्पणीकार सरिता तिवारी पनि केही हदसम्म जेन जीको प्रभाव प्रत्यक्षतर्फ उम्मेदवारी चयनमा दलहरूमा देखिएको बताउँछिन्।

"मोटामोटी देखाउने चित्र यसअघि भन्दा केही न केही फरक त छ नै। युवा उम्मेदवारको बाहुल्य छ। त्यो पुराना दलहरूमा पनि देखिएको छ," तिवारीले भनिन्।

उनले कांग्रेस र नेपाल कम्युनिस्ट पार्टीमा जस्तो एमालेमा भने त्यति धेरै परिवर्तन आएको नदेखिएको बताइन्।

"समावेशीको दृष्टिकोणले हेर्दा त पुराना दलमा अहिले पनि समस्या छ। नयाँ दल भनिएकामा पनि वैचारिक र कतिपय व्यावहारिक हिसाबले सुविचारित हिसाबले नआएको देखिएकोले केही न केही चुनौती त छ," उनले भनिन्।

"तर जुन जेन जी उमेर समूहका युवाको भावना समेट्नुपर्ने भन्नेछ उनीहरूले चलाएका छलफल र बहस अनुसार भएन कि भन्नेछ। तर उनीहरूको खबरदारीले आज नाम टुङ्ग्याउँदा केही न केही फरक देखिएको छ।"

तर अहिले देखिएको केही परिवर्तनका लागि पनि जेन जी आन्दोलनलाई श्रेय दिनुपर्ने उनी ठान्छिन्।

जेन जी आन्दोलनमा सक्रिय सहभागिता देखाएकी तनुजा पाण्डेले आन्दोलनकारीहरूको भावना समेटिएको आफूले महसुस नगरेको बताइन्।

उनले गत साता भएको कांग्रेसको विशेष महाधिवेशनबाट आएको नयाँ नेतृत्वले टिकट वितरणमा आएका नामहरू हेर्दा 'जेन जी को भावनाको अपनत्व लिएको हो की भन्ने महसुस भएको' बताइन्। तर नयाँ दलहरूले समानुपातिकदेखि नै अघि सारेका नामहरू हेर्दा एकदमै पपुलिष्ट जस्तो देखिएको र आफूहरूको आन्दोलन त्यसको विरुद्धमा रहेको उनको भनाइ छ।

"ठूलो जेन जी को जमातले आशाचाहिँ नयाँ पार्टीहरूबाट राखेको हो। कतिले त नेतृत्व मात्रै होइन नयाँ पार्टी पनि भनेको हो। तर सुरु चयनदेखि आज नाम दर्तासम्म हेर्दा शक्ति भोकोजस्तो मात्रै देखियो। उहाँले हाम्रो आन्दोलनको गलत फाइदा उठाउनुभयो जस्तो लाग्छ," पाण्डेले भनिन्।

"एमालेबाट त खासै अपेक्षा पनि थिएन। तर रास्वपा त नयाँ भएकोले पनि अपेक्षा भएको पार्टी थियो। तर हाम्रो आन्दोलनप्रति पनि सहिद प्रति पनि घाइते साथीहरू प्रति र यो समग्र पुस्ताप्रति नै धोका दिएजस्तो भएको छ।"

दलहरूमा उम्मेदवार चयन र दर्ताको चटारो

चुनाव आउन ४४ दिन बाँकी रहँदा ठूलादेखि साना दलहरूमा पछिल्ला केही दिनयता उम्मेदवार छनोटको चटारो देखिएको थियो।

गत २०७९ सालको प्रतिनिधि सभा चुनावबाट सबैभन्दा ठूलो दल बनेको नेपाली कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवाको पकड क्षेत्र भनिएको डडेलधुरामा यस पटक नेपाली कांग्रेसबाट नैनसिंह महर उम्मेदवार बनेका छन्।

पूर्वप्रधानमन्त्री देउवाजस्तै यस पटक कतैबाट चुनाव नलड्नेमा पूर्वप्रधानमन्त्री झलनाथ खनाल पनि रहेका छन्।

अन्य पूर्व प्रधानमन्त्रीमा माधवकुमार नेपालले रौतहट-१ बाट उम्मेदवारी दर्ता गराएका छन् भने अर्का पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले गोरखा-२ बाट चुनाव लड्ने भएका छन्।

त्यस्तै कांग्रेसको विशेष महाधिवेशनबाट सभापति चुनिएका गगन थापाले काठमाण्डू क्षेत्र नम्बर ४ छोडेर यस पटक सर्लाहीको निर्वाचन क्षेत्र नम्बर ४ मा चुनाव लड्ने भएका छन्।

त्यस क्षेत्रमा रास्वपाको तर्फबाट अमरेशकुमार सिंहले पनि चुनाव लड्दै छन्। यसअघि उनी त्यहाँबाट स्वतन्त्र उम्मेदवारका रूपमा विजयी बनेका थिए।

एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली यस पटक पनि झापा क्षेत्र नम्बर ५ बाट नै चुनाव उठ्ने भएका छन्।

काठमाण्डूका पूर्व मेअर बालेन शाहले राष्ट्रिय स्वतन्त्र पार्टीबाट झापा क्षेत्र नम्बर ५ लाई आफ्नो निर्वाचन क्षेत्रका रूपमा रोजेका कारण त्यहाँ चुनावी प्रतिस्पर्धालाई लिएर धेरै चर्चा छ।

तत्कालीन माओवादी केन्द्रका अध्यक्ष तथा अहिले नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्ड चुनाव लड्न रुकुम पूर्वमा पुगेका छन्।

त्यस्तै चर्चामा रहेका अन्य केही मेअरहरूले पनि राजीनामा दिएर प्रतिनिधि सभाको चुनावमा होमिन लागेका छन्।

धरानका मेअर हर्क साम्पाङ र भरतपुरकी मेअर रेनु दाहालले पनि प्रतिनिधि सभाको चुनावमा लड्न लागेका छन्।

दाहालले यसअघि काठमाण्डू क्षेत्र नम्बर दुईबाट प्रत्यक्ष निर्वाचित बनेकी रास्वपा नेत्री सोबिता गौतमसँग चितवन क्षेत्र नम्बर तीनमा प्रतिस्पर्धा गर्न लागेकी हुन्।

त्यस्तै चितवन क्षेत्र नम्बर २ मा यसअघि निर्वाचित बनेका रास्वपा सभापति रवि लामिछाने यसपटक पनि उही क्षेत्रबाट चुनाव लड्ने भएका छन्। लामिछानेले वारेस मार्फत उम्मेदवारी दर्ता गराएका बताइएको छ।

जेनजी आन्दोलनपछि राजनीतिमा उदाएका व्यक्तित्वहरू पनि प्रतिनिधि सभामा उठ्दै छन्।

हामी नेपाल संस्थाका सुधन गुरुङले रास्वपाको तर्फबाट गोरखा क्षेत्र नम्बर १ मा आफ्नो उम्मेदवारी दिएका छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।