स्थानीय सरकारका प्रतिनिधि भन्छन्- ‘हामीलाई तत्काल पाल, न्यानो कपडा र औषधि चाहियो’

तस्बिर स्रोत, RSS
भूकम्प प्रभावितले हालसम्म पनि ‘अति आवश्यक सामग्री’समेत प्राप्त गर्न नसकेकाले त्यसले भुँइचालोमा बाँचेकाहरूमा स्वास्थ्य समस्या देखिन सक्ने स्थानीय तहका पदाधिकारीहरूले चेतावनी दिएका छन्।
उनीहरूले सङ्घ तथा प्रदेश सरकारलाई ‘जीवन बचाउन आवश्यक पर्ने’ सामग्रीहरू तत्काल उपलब्ध गराउन माग गरेका छन्।
गत शुक्रवार राति जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भई गएको भूकम्पबाट १५३ जनाको ज्यान गएको गएको अधिकारीहरूले बताएका छन्।
मृतकमध्ये ८३ जना महिला र ७० जना पुरुष रहेका छन्।
उक्त विपद्मा परेर कुल ३३८ जना घाइते भएकामा २४३ जना उपचारपछि अस्पतालबाट डिस्चार्ज गरिएका छन् भने ९५ जना अझै उपचाररत छन्।
यसअघि सरकारले भूकम्पमा परी १५७ जनाको ज्यान गएको बताएको थियो।
‘तत्काल पाल चाहियो’

तस्बिर स्रोत, RSS
रुकुम पश्चिमको आठविसकोट नगरपालिका पनि उक्त भूकम्पबाट अति प्रभावितमध्येमा पर्छ।
नगरपालिका क्षेत्रमा ४२ जनाको ज्यान गएको छ।
उक्त नगरपालिकाका प्रमुख रवि केसीले भने, “हामीलाई तत्काल चाहिएको भनेको पाल र लत्ताकपडा हो।”
“नगरपालिकाभरि ५ हजार भन्दा बढी घरमा पूर्ण वा आंशिक पुगेको छ। त्यसबाहेक पनि मानिसहरू फेरि भूकम्प आउने डरले बाहिरै बसिरहेका छन्।”
“बाहिर बसेका मानिसहरू अहिले पनि खुला आकाशमुनि रात बिताउन बाध्य छन्। हामीसँग पर्याप्त पाल पनि छैन। लत्ताकपडा र औषधि पनि छैन।”
“रेडक्रस सोसाइटीबाट आएको पाँच/सात सय पालले मात्र यत्रो धेरै भूकम्प पीडितलाई कसरी पुग्छ?”
उनले भूकम्प प्रभावित क्षेत्रमा प्रधानमन्त्री र मुख्यमन्त्रीहरू आए पनि तत्कालका लागि पुग्ने पर्याप्त सामग्री नआएकाले आफूहरूले सहयोग गर्न नसकेको बताए।
“हामीले आफ्नो बलले सक्ने गरिरहेका छौँ। थप पालहरू मागेका छौँ। हामीलाई पठाइँदैछ त भनिएको छ तर हामी कतिदिन पर्खेर बस्ने?” उनले भने।
‘भूकम्प पीडित बिरामी पर्न थालिसके’

तस्बिर स्रोत, RSS
भूकम्पबाट अति प्रभावितमध्ये जाजरकोटको नलगाड नगरपालिकाको वडा नम्बर २ का वडाध्यक्ष पूर्णबहादुर खत्रीले पनि उस्तै गुनासो गरे।
उनले भने, “भूकम्प पीडितलाई तत्काल चाहिएको सामग्री भनेको पाल र लत्ता कपडा हो। त्यो एक त पर्याप्त मात्रामा आइपुगेको छैन। आएको पनि पीडितसम्म पुर्याउन बाँडिएको छैन।”
उनले आफ्नो वडामा ३७७ घरधुरी रहेकोमा त्यसमध्ये ३०/३२ वटा घरहरू मात्र बस्न लायक भएको तर भुँइचालोको डरले सबैले बाहिरै रात बिताउने गरेको बताए।
“आज बल्लबल्ल पालिकाबाट मैले ७७ घरका लागि भनेर पाल लिएर आएको छु। त्यो वितरण हुँदैछ। अरूलाई के गर्ने भन्ने थाहा छैन,” सोमवार बिहान बीबीसीसँग उनले भने।
स्थानीय रेडक्रस समितिको सभापति पनि रहेका उनले नेपाल रेडक्रस सोसाइटी लगायतका संस्थाहरूले पनि पाल पालिकामा पुर्याएको तर अझै वितरणको निर्णय नभएको बताए।
“हामीलाई न्यानो लुगा र पाल तत्काल चाहियो। अलि पछि हुन्छ भनेर मात्र भएन। पाल नपाउनेले आजको रात कसरी बिताउने भन्ने भइसक्यो।”
“बालबच्चा र सुत्केरीहरू छन्। पाका मान्छे पनि छन्। उनीहरू खुलामा शीतमा बस्दा बिरामी पर्न थाले। कतिलाई रूघाखोकी लागिसक्यो।”
उनका भनाइमा भूकम्प प्रभावितलाई तत्कालै आवश्यक परेका सामग्री भनेको पाल, लत्ताकपडा र औषधि हो।
त्यस्तै कतिपयका निम्ति खानेकुरा पनि नभएकाले तत्काल खाद्य सामग्रीको पनि आवश्यकता परेको तथा सफा पिउने पानीको पनि अभाव रहेको उनले बताए।
“यो विपद्मा स्थानीय सरकारले मात्र गरेर हुने रहेनछ त्यसैले तत्कालै चाहिने कुराहरू सङ्घ र प्रदेश सरकारले पठाएर सहयोग गर्नुपर्छ,” उनले भने।
केन्द्र सरकार के भन्छ?

तस्बिर स्रोत, RSS
केन्द्रीय निकायहरूले चाहिँ भूकम्पपछिको खोजी तथा उद्धार कार्य सकिएकाले अब राहत सामग्री पुर्याउनमा आफ्नो ध्यान केन्द्रित हुने जनाएका छन्।
गृह मन्त्रालय तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण त्यसका लागि काम सुरु भइसकेको जानकारी दिए।
“अब हामी राहत पुर्याउनमा केन्द्रित भएका छौँ। आइतवारबाटै केही स्तरमा सुरु भएको त्यो काम तीन दिनसम्म चल्ने छ,” प्राधिकरणका प्रवक्ता ध्रुवबहादुर खड्काले भने।
“चाहिने जति राहत सामग्री उपलब्ध भइसकेको छ। केही सामान पुग्न थालेको छ भने केही हिँडिसकेका अवस्था छ।”
राहत सामग्री पुर्याउने काममा तीनवटै सुरक्षा बल – नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना – परिचालन गरिएको छ।
“स्थल र हवाई मार्ग दुवैबाट हामीले राहत पुर्याइरहेका छौँ,” प्रवक्ता खड्काले थपे। ठ्याक्कै कुन सामान कति पुग्यो भन्नेबारे चाहिँ उनले केही बताएनन्।
सरकारले एकद्वार प्रणालीमार्फत् राहत वितरण गर्ने निर्णय गरिसकेको छ।
त्यसो गर्दा विगतको भूकम्पमा जस्तो राहत सामग्रीको दुरुपयोग रोकिने अधिकारीहरूको तर्क छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








