तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
सिंहदरबारबाट ‘अत्यासलाग्दो’ देखियो डढेलो तर ‘इन्द्रदेवको मुख ताक्न बाध्य’
यसै हप्ता राजधानी उपत्यकाभित्रै ललितपुरको जङ्गलमा लागेको डढेलो निभाउन गएका दुई जना युवाले ज्यान गुमाए।
धादिङको एउटा गाउँको घरमा वैशाख १९ गते राति आगो लाग्दा एक वृद्ध दम्पतीको पनि मृत्यु भयो।
यस्ता दुई प्रकृतिका घटनाहरूले अहिले देशभरि अवस्था विकराल रूप लिइरहेका छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँग रहेको आधिकारिक विवरणअनुसार डढेलो र आगलागीमा परेर वैशाख १ गतेदेखि १७ गतेसम्म १४ जनाको मृत्यु भएको छ।
त्यसमा ललितपुर र धादिङमा भएको मानवीय क्षति जोड्दा दैनिक सरदर एक जनाको मृत्यु भएको देखिन्छ।
सिंहदरबारबाट देखिने डर लाग्दो दृश्य
प्राधिकरणको कार्यालय देशको प्रशासनिक मुख्यालय सिंहदरबारमा छ। त्यसको वन डढेलो, आगलागी तथा वातावरण शाखाका प्रमुख सुन्दरप्रसाद शर्माले बिहीवार नासाको भूउपग्रहमा आधारित अनुगमन प्रणाली नियालिरहेका थिए।
“अहिले भर्खरै देशभरि ३५० ठाउँमा डढेलो लागिरहेको छ,” शर्माले भने, “हामीले विगतको तुलनामा निकै विकराल र भयावह अवस्थाको सामना गर्नु परिरहेको छ।”
देशभरिका ७७ मध्ये ४७ जिल्लामा डढेलो लागिरहेको छ। त्यसमध्ये पनि सल्यान, कैलाली, सुर्खेत, डोटी, दैलेख र पाल्पा लगायत ज्यादा प्रभावित छन्।
सन् २०२२ मा ज्यानुअरी १ देखि मे महिनामा १,२३६ वटा डढेलो लागेका थिए र त्यही अवधिमा सन् २०२३ मा २,५१९ वटा घटना भएकोमा यो वर्ष ४,५१२ वटा डढेलोका घटना भएका छन्।
शाखा प्रमुख शर्माले भने, “डढेलोको धुवाले हामी ग्यास च्याम्बरमा बसे जस्तो भएको छ। तर डढेलो कम हुने सङ्केत सम्म छैन।”
पछिल्ला दिनहरूमा पर्यटकीय नगरी पोखरामा तुवाँलोले गर्दा उडानहरू ठप्प भएका छन्। र, पर्यटकहरू समेत बसाइ छोट्टाएर फर्किने गरेको बताइएको छ। जानकारहरूका अनुसार त्यसको मुख्य कारण डढेलोले निम्त्याएको प्रदूषण हो।
मानवीय क्षति र प्राकृतिक विनाश भयावह
धादिङ जिल्ला प्रहरी कार्यालयका अनुसार वैशाख १९ गते करिब साढे ११ बजे राति आगो लागेको खबर आयो।
प्रहरी घटनास्थल थाक्रे गाउँपालिकाको गैरी खर्कतर्फ लाग्यो। डीएसपी मकेन्द्रकुमार मिश्रले बीबीसीसँग भने, “हाम्रो टोली पुग्दा आगोले घर डढिसकेको थियो।”
उनका अनुसार त्यो घरमा करिब ७० वर्षका श्रीमान् र उनकी श्रीमती बस्थे। दुवै जनाको मृत्यु भइसकेको थियो।
अधिकारीहरूका अनुसार २०७८ सालमा ९५ जना, २०७९ सालमा ११० जना र गत वर्ष २०८० सालमा ११५ जनाको मृत्यु भएको थियो।
प्राधिकरणका उपसचिव शर्मा भन्छन्, “विगतको भन्दा यो वर्ष निकै चुनौतीपूर्ण देखिएको छ तर हामीसँग डढेलो नियन्त्रणा निम्ति पर्याप्त साधन स्रोत र जनशक्तिको अभाव छ।”
नाम उल्लेख गर्न नचाहने एक जना अधिकारीले डढेलोका कारण मात्र चार महिनामा ८-९ जना जतिको मृत्यु भइसकेको, २०-२५ जना घाइते भएको र डढेलोका कारण ४-५ सय घरहरू जलेको हुनसक्ने अनुमान गरे।
उनले भने, “तर आधिकारिक तथ्याङ्क कम देखिएको हुनसक्छ।”
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार डढेलोले गर्दा वन्यजन्तु र पर्यावरण विनाशमा पनि निकै चर्को असर परेको छ। जसको वास्तविक क्षतिको मूल्याङ्कन गर्न गाह्रो छ।
प्राधिकरणका उपसचिव शर्मा पनि त्यसमा सहमत छन्। उनले बीबीसीसँग भने, “बाढी पहिरोले मानिसको ज्यान लिन्छ, भौतिक क्षति पुर्याउँछ, तर डढेलोले त वन्यजन्तु र बहुमूल्य जडीबुटी समेत सखाप पारिरहेको छ। यसले निम्त्याउने प्रदूषणले जनस्वास्थ्यमा असर गरिरहेको छ, बहु आयामिक क्षति पुर्याइरहेको छ, भयावह र विकराल अवस्था छ।”
‘भगवानको पुकारा अनि होसियारी र सतर्कता’
धादिङ प्रहरी कार्यालयका अनुसार ज्यान गुमाएका दम्पतीको घरसम्म दमकल पुग्न पनि गाह्रो थियो।
सहज पहुँच भएका घर बस्तीहरू आगो लाग्दा निभाउने दमकलहरू पनि पर्याप्त नरहेको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार साढे सात सय स्थानीय तहहरूमध्ये अधिकांशमा अझै पनि आफ्नो दमकल छैन।
त्यस्तै डढेलो लाग्ने वन जङ्गलको आगो निभाउनु त झनै चुनौतीपूर्ण बन्ने गरेको छ। अधिकारीहरूका अनुसार मानवीय कारणले गर्दा नै नेपालमा डढेलो लाग्ने गरेको छ।
अहिले हावा हुरी चल्ने भएकाले पहिले आफू सुरक्षित हुने, त्यसपछि घर बस्ती सुरक्षित राख्ने अनि मात्रै डढेलो नियन्त्रणको प्रयासमा लाग्न अधिकारीहरू सुझाव दिन्छन्।
विगतमा काठमाण्डूको जङ्गलको आगो निभाउन निजी क्षेत्रको हेलिकोप्टर प्रयोग भएको थियो। ‘हवाई दमकल’ को प्रयोग असम्भव जस्तै रहेको अधिकारीहरू स्वीकार गर्छन्।
प्राधिकरणका उपसचिव शर्माले भने, “अहिले त पानी नपरीकन सम्भव नै छैन, हामीले इन्द्र भगवानलाई पुकार्नु बाहेक केही उपाय छैन।”
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।