कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले पाए विश्वासको मत

    • Author, विक्रम निरौला
    • Role, विराटनगर

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत पाएका छन्। प्रदेशसभामा विश्वासको मत पाएसँगै थापा नेतृत्वको सरकारले निरन्तरता पाएको छ।

सोमवार साँझ भएको मतदानमा थापाको पक्षमा ४७ जना सांसदले मतदान गरेको प्रदेशसभाको अध्यक्षता गरिरहेका इस्राइल मन्सुरीले जानकारी दिए।

"माननीय उद्धव थापाले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्न राख्नुभएको प्रस्ताव बहुमतले स्वीकृत भएको घोषणा गर्दछु," मन्सुरीले भने।

प्रदेशसभामा कायम रहेका ९३ मध्ये ७७ जना सदस्य मतदानमा उपस्थित थिए। जसमध्ये थापाको पक्षमा जम्मा ४७ मत प्राप्त भएको छ।

बैठकको अध्यक्षता गर्ने मन्सुरीले पनि नेकपा माओवादी केन्द्रकी सांसद गीता तिम्सिनालाई एक केही समय अध्यक्षता गर्ने जिम्मा दिएर मतदानमा भाग लिएका थिए। तिम्सिनाले आफूले मतदान गरिसकेपछि केही समय बैठकको अध्यक्षता गरिन्।

विपक्षी नेकपा एमाले र राप्रपाका सांसदहरूले यस्तो कार्यको विरोध गर्दै प्रदेशसभामा नाराबाजी गरेका थिए।

नेपाली कांग्रेस नेतृत्वको गठबन्धन सरकारले नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले गठबन्धनको पक्षमा बहुमत पुर्‍याउन नदिन अपनाएको उपाय निष्प्रभावी तुल्याउन फेरि कोशी प्रदेशमा "सभामुखलाई उपयोग गर्ने सूत्र" प्रयोग गरेको थियो।

गठबन्धनका नेताहरूले सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने इस्राइल मन्सुरीले पनि मतदानमा भाग लिए।

तर उनले दिएको मतले संवैधानिक र कानुनी रूपमा मान्यता पाउने वा नपाउने अन्योल कायमै रहेको जानकारहरू बताउँछन्।

मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत परीक्षण गर्ने क्रममा सत्तापक्ष र प्रतिपक्षको राजनीतिक दाउपेचका कारण कोशी प्रदेशको सत्ता राजनीति निकै पेचिलो देखियो।

प्रदेशसभा बैठकको अध्यक्षता गर्ने ठानिएकी उपसभामुख सृजना दनुवार उपचारका लागि भन्दै सोमवार प्रदेशसभा बैठकअघि नै काठमाण्डू हिँडेपछि सत्ता गठबन्धनलाई अप्ठ्यारो परेको थियो।

सभामुख र उपसभामुखको अनुपस्थितिमा ज्येष्ठ सदस्यले बैठकको अध्यक्षता गर्नुपर्छ।

एमाले र राप्रपाका ज्येष्ठ सदस्य पनि बिदामा बसेपछि उपसभामुखले नेपाली कांग्रेसका मन्सुरीलाई बैठकको अध्यक्षता गर्ने जिम्मेवारी दिएका थिए।

“आफू अस्वस्थ भएर प्रदेशबाहिर जानुपर्ने भएकाले आफ्नो अनुपस्थितिमा मन्सुरीलाई जिम्मेवारी तोक्नुभएको हो,” प्रदेशसभा सचिवालयका प्रवक्ता गौतमराज अमात्यले उपसभामुखको निर्णयबारे भने।

गठबन्धनलाई एमालेले दिएको 'झट्का'

कांग्रेसका मुख्यमन्त्रीको पक्षमा बहुमत पुर्‍याउन प्रदेशसभामा सभामुख रहेका बाबुराम गौतमलाई यसअघि नै गठबन्धनले राजीनामा गराएको थियो।

सभामुखले राजीनामा दिएपछि प्रतिपक्षी एमालेकी दनुवारले बैठकको अध्यक्षता गर्ने र सत्तापक्षका सबै सांसदले विश्वासको मत दिँदा थापाको पक्षमा बहुमत पुग्ने ठानिएको थियो।

बैठकको अध्यक्षता गर्ने व्यक्तिले निर्णायक अवस्थामा मात्रै मतदानमा भाग लिन पाउने संवैधानिक व्यवस्थाका कारण सभामुखले यसअघि थापालाई मुख्यमन्त्रीमा नियुक्तिका लागि दिएको समर्थन सर्वोच्च अदालतले अस्वीकार गरेको थियो।

दनुवारले अध्यक्षता गर्दा सत्तापक्षका सबै सांसदले थापालाई भोट हाल्न पाउने गठबन्धनको अपेक्षाविपरीत उपसभामुखले कांग्रेसकै सांसदलाई बैठकको अध्यक्षता गर्ने जिम्मेवारी दिएर काठमाण्डू हिँडिन्।

एमालेबाट निर्वाचित उपसभामुख दनुवारले बैठकको अध्यक्षता गरे थापाले विश्वासको मत लिन आवश्यक ४७ जना सांसदहरूको मत पुग्ने देखिएको थियो।

त्यसैले विपक्षी एमालेले सत्तापक्षबाटै अध्यक्ष बनाएर विश्वासको मत लिन नसक्ने अवस्था सिर्जना गर्न चाहेको सत्तापक्षको आरोप छ।

सत्तापक्षका सांसदले बैठकको अध्यक्षता गरे उनीहरूको सङ्ख्या ४६ मा झर्ने र सरकारले बहुमत गुमाउने विपक्षीको आकलन थियो।

बहुमत जोगाउने थापाको प्रयास

यसअघि सभामुखको समेत समर्थनसहित बहुमत जुटाएर मुख्यमन्त्री बनेका थापा विश्वासको मत लिएर सरकार जोगाउने प्रयासमा थिए।

प्रतिपक्षी एमाले र राप्रपा बैठक छलेर भए पनि थापालाई विश्वासको मत लिनबाट रोक्ने कसरतमा सक्रिय देखिएका छन्। त्यसको सङ्केत उपसभामुख दनुवारले यसअघि नै दिएकी थिइन्।

मुख्यमन्त्रीले आइतवारै प्रदेशसभामा विश्वासको मत परीक्षण गर्ने प्रस्ताव गरेको बताइए पनि उपसभामुखले प्रदेशसभाको बैठक सोमवार मात्रै बोलाइन्।

यसअघि मुख्यमन्त्री थापाले प्रदेशसभाका सबैभन्दा ज्येष्ठ सदस्य ८० वर्षीय गयानन्द मण्डललाई राज्यमन्त्रीमा नियुक्त गरेका थिए।

उनीपछिका एमालेका छ र राप्रपाका दुई ज्येष्ठ सदस्यले पनि आइतवार घरायसी समस्या देखाउँदै केही दिन प्रदेशसभा बैठकमा उपस्थित नहुने लिखित जानकारी दिएको बताइएको छ।

कोशी प्रदेशमा सत्ता गठबन्धन थापा गत साउन १६गते दोस्रो पटक मुख्यमन्त्रीमा नियुक्त भएका थिए।

गत असार २१ गते थापालाई पहिलो पटक मुख्यमन्त्रीमा गरिएको नियुक्ति सर्वोच्च अदालतले "संविधानबमोजिम प्रतिकूल देखिएको" भन्दै साउन ११ गते बदर गर्ने आदेश दिएपछि नयाँ प्रक्रियाबाट उनी दोस्रो पटक मुख्यमन्त्री बनेका थिए।

पहिलो पटक मुख्यमन्त्री बन्ने क्रममा प्रदेश सभाका सभामुखको समेत हस्ताक्षरसहित बहुमत दाबी गरिएको विषयमा सर्वोच्च अदालतले प्रश्न उठाएको थियो।

दोस्रो पटक भने सभामुखलाई राजीनामा दिन लगाएर आवश्यक बहुमत पुग्ने हस्ताक्षर जुटाइएको थियो।

एक मतको खेल

कोशी प्रदेश सरकारमा कुनै पनि दलको बहुमत नरहेकाले नेपालको संविधानको धारा १६८ (२) बमोजिम "प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्य मुख्यमन्त्रीमा नियुक्त" हुने व्यवस्थाअन्तर्गत थापा मुख्यमन्त्री बनेका हुन्।

कुल ९३ सदस्य रहेको कोशी प्रदेशसभामा कांग्रेसको २९, माओवादी केन्द्रको १३, नेकपा (एकीकृत समाजवादी)को चार र जनता समाजवादी पार्टी नेपालको एक जोडेर बहुमतका लागि आवश्यक ४७ मत पुर्‍याइएको थियो।

सभामुखबाट राजीनामा दिएका बाबुराम गौतम अब माओवादी केन्द्रका प्रदेशसभा सदस्यका हैसियतमा छन्।

अर्कोतर्फ प्रदेशसभामा सबैभन्दा ठूलो दल नेकपा एमालेका ४० र राष्ट्रिय प्रजातन्त्र पार्टीका छ सांसद छन्। दुवैको कुल मत ४६ अर्थात् प्रदेशसभाका लागि आवश्यक बहुमत भन्दा एक कम छ।

अहिलेसम्म के–के भयो?

भदौ ४: उद्धव थापालाई प्रदेशसभामा विश्वासको मत। पक्षमा ४७ र विपक्षमा ३० मत।

साउन १६: सभामुख बाबुराम गौतमको राजीनामापछि कोशी प्रदेश प्रमुख परशुराम खापुङद्वारा दोस्रो पटक प्रदेशको मुख्यमन्त्रीमा गठबन्धन दलका तर्फबाट कांग्रेसका उद्धव थापा नियुक्त

साउन १२: कोशी प्रदेश प्रमुख परशुराम खापुङद्वारा प्रदेशको मुख्यमन्त्रीका लागि साउन १६ गते अपराह्ण ५ बजेभित्र दाबी पेस गर्न आह्वान

साउन ११: सर्वोच्च अदालतद्वारा कोशी प्रदेशमा उद्धव थापाको मुख्यमन्त्री नियुक्ति "नेपालको संविधानबमोजिम प्रतिकूल देखिएको" ठहर, सात दिनभित्र प्रदेशसभाको बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री पदमा नियुक्त गर्न प्रदेश प्रमुखलाई आदेश

साउन ८: सर्वोच्च अदालतद्वारा कोशी सरकारको मुद्दा पूर्ण इजलासमा पठाउने आदेश

असार २७: कोशी सरकालाई दीर्घकालीन असर पर्ने कुनै पनि कार्य नगर्न सर्वोच्च अदालतको आदेश

असार २२: कांग्रेस नेतृत्वको कोशी सरकारविरुद्ध एमालेद्वारा सर्वोच्च अदालतमा रिट निवेदन

असार २२: सभामुख समेतको समर्थनमा नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठन

असार १५: नेकपा एमालेको नेतृत्वमा रहेको कोशी प्रदेश सरकारले बहुमत गुमायो

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।