दीपेन्द्र सिंह ऐरीको चोटले टी २० विश्वकप खेल्ने नेपालको सपनालाई कतिको असर पार्न सक्छ?

दीपेन्द्र सिंह ऐरी मङ्गलवारको खेलअगाडि घाइते भएका थिए
तस्बिरको क्याप्शन, दीपेन्द्र सिंह ऐरी मङ्गलवारको खेलअगाडि घाइते भएका थिए
    • Author, निरञ्जन राजवंशी
    • Role, बीबीसी न्यूज नेपाली

नेपाली राष्ट्रिय क्रिकेट टोली अहिले स्पष्ट रूपमा २० ओभरको विश्वकप पुग्ने बाटोमा छ।

धेरै विषयहरू नेपालको पक्षमा देखिएको पनि छ।

राष्ट्रिय टोलीका खेलाडीहरू अहिले राम्रो फर्ममा देखिएका छन्। उनीहरूसँग 'जित्ने प्रबल चाहना' छ।

लीगको दुई खेलको विजयमा खेलाडीहरूले त्यो छनक देखाइसकेका छन्।

अनि विश्वकपको एसिया छनोट नेपालमै घरेलु मैदानमा भइरहेको छ। जहाँ नेपालले १२ औँ खेलाडी भनिने घरेलु दर्शकको साथमा खेलिरहेको छ।

तर अब नेपालले खेल्ने दुई खेल भने निकै महत्त्वपूर्ण छ।

पहिलो लिगको अन्तिम खेलमा ओमानको सामना र त्यसपछिको सेमिफाइनल।

ओमानसँगको जित/ हारले सेमिफाइनल प्रतिद्वन्द्वी निश्चित गराउनेछ। सेमिफाइनल प्रतिद्वन्द्वीले पनि कतिपय विषयहरू फरक पार्न सक्नेछ।

पछिल्लो एक वर्षमा नेपालले उत्कृष्ट क्रिकेट खेलिरहेको छ। र टोलीलाई विश्वकप पुग्ने दाबेदारमा पहिलो स्थानमा हेरिएको छ।

यद्यपि विश्वकप छनोट अगाडि भएका केही घटनाहरूका कारण नेपालले थुप्रै विषयमा चनाखो हुन जरुरी देखिन्छ।

दीपेन्द्र सिंह ऐरीको चोट

उद्घाटन खेल सुरु हुनु अगाडि अलराउन्डर दीपेन्द्र सिंह ऐरीलाई चोट लाग्नु नेपालको लागि अत्यन्तै खराब समाचार बन्यो।

यसमा कुनै शङ्का छैन कि दीपेन्द्र टोलीका मुख्य खेलाडी हुन्।

उनलाई अहिले एसोसियट क्रिकेटकै उत्कृष्ट खेलाडी मान्न सकिन्छ।

सिङ्गापुर विरुद्धको उद्घाटन खेल अगाडि अभ्यासका क्रममा उनको खुट्टा मर्किएपछि उक्त म्याच गुमाएका दीपेन्द्र चाँडै खेलमा फर्किने कतिपयको अनुमान थियो।

ऐरी नेपालका भरपर्दा अलराउन्डर हुन्
तस्बिरको क्याप्शन, ऐरी नेपालका भरपर्दा अलराउन्डर हुन्

नेपाल क्रिकेट सङ्घले उनको चोटको अवस्थाबारे कुनै आधिकारिक जानकारी नदिए पनि मलेशियाको खेल पछि पोस्ट म्याच प्रेस कन्फ्रेन्समा सन्दीप लामिछानेले कम्तीमा एक महिना अगाडि मैदान फर्किन नसक्ने जानकारी दिए।

त्यसको अर्थ दीपेन्द्रले विश्वकप छनोट खेल गुमाइसकेका छन्।

उनको अभाव सेमिफाइनलमा धेरै महसुस हुन सक्नेछ।

दीपेन्द्र नहुँदा अन्य ब्याटरहरूको जिम्मेवारी बढ्न पुगेको छ।

अफ स्पिनरको अभाव

कुशल मल्लले आफूलाई आक्रामक ब्याटरको रूपमा अघि सार्दै आएका छन्

तस्बिर स्रोत, CAN

तस्बिरको क्याप्शन, कुशल मल्लले आफूलाई आक्रामक ब्याटरको रूपमा अघि सार्दै आएका छन्

हुन त दीपेन्द्र सिंह ऐरीको अभाव सबै क्षेत्रमा हुनेछ।

९ बलमा अर्ध शतक पूरा गरेर 'तोड्नै नसकिने कीर्तिमान बनाएका' दीपेन्द्र मुख्य त ब्याटर हुन्। फिल्डिङमा उनी अत्यन्त छरिता छन्।

तर अहिले उनको अझ अभाव देखिएको क्षेत्र भने 'अफ स्पिन' मा हो।

उनी टोलीमा नहुँदा अहिले नेपाली टोलीमा दोस्रो राम्रो अफ स्पिनर छैन।

पुर्णत फिट नभएका ललित नारायण राजवंशी लेफ्ट आर्म अर्थोडक्स बलर हुन्, कुशल मल्ल पनि लेग स्पिनर नै हुन्।

आकलझुक्कल बलिङ गर्ने कुशल भुर्तेल पनि राइट आर्म लेग स्पिनर हुन्।

मलेशियाको खेलमा अफ स्पिनर नभएपछि कप्तान रोहित पौडेल आफैले त्यो भूमिकामा उत्रिनु पर्‍यो।

विपक्षी टोलीहरूमा राम्रा बायाँ हाते ब्याटरहरु रहेको बेला अफ स्पिनरको अभाव मज्जाले खट्किन सक्नेछ।

समूह विजेताको भिडन्त

कप्तान रोहीत पौडेलले पनि बलिङ गरिरहेका छन्

सेमिफाइनल पुगिसकेका ओमान र नेपाल दुवैको लक्ष्य समूह 'ए' को विजेता बन्नु नै हुनेछ।

किनकि समूह उपविजेता बन्नु भनेको समूह 'बी' को विजेताको रूपमा हेरिएको युएईसँग सेमिफाइनल खेल्नु हो। जसमा दुवै टोलीलाई अरुचि हुन सक्छ।

हुन त समूह 'बी' को सेमिफाइनल समीकरण स्पष्ट हुन बाँकी नै छ। त्यहाँबाट युएई, हङकङ र बहराइन मध्ये १ टोली बाहिरिने छ।

अहिले तालिकामा लगातार २ खेल जितेको युएई अगाडि छ। तर अब बिहीबार हुने खेलमा युएईलाई हङकङले पराजित गरेमा र बहराइनले कुवेतलाई पराजित गरेमा तीन वटै टोलीको अङ्क समान हुनेछ।

यस्तोमा 'रन रेट' बाट निर्णय हुने हुँदा युएई पनि बाहिरिन सक्ने अवस्था छ।

यद्यपि धेरैको आङ्कलनमा युएई नै समूह 'बी' को विजेता बन्नेछ।

यस्तोमा नेपाल समूह विजेता बने युएईसँगको सेमिफाइनल भेट छलिनेछ।

युएई पछिल्लो समय नेपालको कट्टर प्रतिद्वन्द्वी हो।

कीर्तिपुर की मूलपानी ?

समूह विजेता भएको खण्डमा नेपालले कीर्तिपुर मैदानमा आफ्नो सेमिफाइनल खेल खेल्नेछ
तस्बिरको क्याप्शन, समूह विजेता भएको खण्डमा नेपालले कीर्तिपुर मैदानमा आफ्नो सेमिफाइनल खेल खेल्नेछ

समूह विजेता बन्नुको अर्को अर्थ कीर्तिपुर मैदानमा भरिभराउ दर्शक माझ खेल्न पाउनु पनि हो।

खेल तालिका बनाउँदा समूह ए को विजेताले कीर्तिपुरमा र समूह बीको विजेता ले मुलपानीमा खेल्ने तय भएको थियो।

त्यसो हुँदा समूह उपविजेता बने नेपालले मूलपानीमा खेल्नुपर्ने हुन्छ। त्यहाँको सानो मैदानमा कीर्तिपुर मैदानमा जसरी थुप्रै दर्शक अटाउने क्षमता छैन।

नेपाल क्रिकेट सङ्घका सचिव पारस खड्काले आफू सङ्घमा आउनु अगाडि नै प्रतियोगिता तय भइसकेको बताउँदै नेपाल समूह विजेता वा उपविजेता जे भएपनि नेपालको खेल कीर्तिपुरमै राख्ने प्रयास भइरहेको बताएका छन्।

सेमिफाइनल समीकरण

यूएईलाई पनि प्रतियोगिताको प्रबल दाबेदारका रुपमा ठानिएको छ

तस्बिर स्रोत, ACC

भर्खरै सकिएको त्रिकोणात्मक शृङ्खलालाई नै हेरौँ न।

लीगका चार खेलमा युएई र हङकङलाई सजिलै पराजित गरे पनि उपाधि खेलमा नेपाल युएईले बाजी मार्‍यो।

त्यसैले कतिपयले सेमिफाइनलमा युएईको दाँजोमा हङकङ वा बहराइन नेपालको लागि सजिलो विपक्षी हुन सक्ने अनुमान गर्छन्।

नेपाल क्रिकेट सङ्घका केन्द्रीय सदस्य धिरेन्द्र साउद भन्छन्, "नेपाल कमजोर छैन। जुनै टिम आए पनि फरक पर्दैन। तर युएई भन्दा हङकङ वा बहराइन परे जोखिम कम हुनेछ।"

यी तीन प्रतिद्वन्द्वीमा नेपाललाई कडा टक्कर दिन सक्ने टोली युएई मात्र देखिन्छ।

उनका अनुसार पछिल्लो समय हङकङलाई नेपालले सहजै पराजित गरिरहेको छ भने बहराइन एसोसियट राष्ट्रमा नेपाल जति बलियो छैन।

विशेष गरी अहिले कीर्तिपुर र मूलपानी दुवै मैदान 'ब्याटिङ पिच' छ। त्यहाँ युएईले पनि राम्रो ब्याटिङ गरिरहेको साउद बताउँछन्।

सेमिफाइनलमा जित हात पारेपछि नेपाल २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी २० विश्वकपमा प्रवेश गर्नेछ।

सन् २०१४ को विश्वकप खेलेको नेपाल १० वर्षपछि अहिले पुनः त्यसको सङ्घारमा छ।