मलेशियालाई हराउँदै नेपाल टी-२० विश्वकप छनोटको सेमिफाइनलमा

नेपाली क्रिकेट खेलाडी

नेपाली राष्ट्रिय क्रिकेट टोली २० ओभरको विश्वकप एशिया छनोटको सेमिफाइनलमा प्रवेश गरेको छ।

मङ्गलवार कीर्तिपुर मैदानमा भएको खेलमा मलेशियालाई सङ्घर्षपूर्ण खेलमा छ विकेटले पराजित गर्दै नेपाल लीगको एक खेल बाँकी छँदै अर्को चरणमा प्रवेश गरेको हो।

टी-२० विश्वकपमा छनोट हुने यात्रामा निस्किएको नेपालको यो लगातार दोस्रो जित हो।

नेपालले अब लीगको अन्तिम खेलमा बिहीवारर ओमानसँग खेल्ने छ। त्यो खेल पनि जितेर नेपालले समूह विजेता बन्ने प्रयास गर्ने छ।

ओमान पनि दुई खेलमा विजयी भएर सेमिफाइनलमा प्रवेश गरिसकेको छ।

मङ्गलवार जित हात पार्न नेपाललाई त्यति सहज भएन।

मलेशियाले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको थियो। मलेशियाली ब्याटरहरूले उत्कृष्ट खेल खेल्दै नेपाललाई १६६ रनको लक्ष्य दिएका थिए।

नेपालले अठारौँ ओभरमा चार विकेट गुमाउँदै उक्त चुनौती पूरा गर्‍यो।

लगातार दुई खेल हारेका मलेशिया र सिङ्गापुर प्रतियोगिताबाट बाहिरिएका छन्। 

नेपालका लागि ओपनर कुशल भुर्तेलले २५ बलमा ४३ रन बनाएका थिए। उनले चार चौका र चार छक्का प्रहार गरे।

मलेशियाको चुनौती

मलेशियाको विकेट लिएपछि रमाउँदै नेपाली क्रिकेट खेलाडी

नेपालविरुद्ध उत्कृष्ट सुरुवात गरेको मलेशियाले २० ओभरमा नौ विकेट गुमाएर १६५ रन बनाएको थियो।

चार ओभर बलिङ गरेका अविनाश बोहराले २७ रन खर्चेर चार विकेट लिए।

सन्दीप लामिछाने, गुलशन झा र कप्तान रोहित पौडेलले मलेशियाका एक-एक ब्याटरलाई आउट गरेका थिए। 

जम्मा पाँच ओभर ब्याटिङ गर्दा मलेशियाले ५४ रन जोडिसकेको थियो र उक्त टोलीले विशाल स्कोर खडा गर्ने आकलन गरिएको थियो।

पहिलो विकेटका लागि प्रारम्भिक जोडी जुवैदी जुल्किफ्ली र शैयद अजिजले ५८ रनको साझेदारी गरेका थिए।

उनीहरूले पावर-प्लेको पूरा फाइदा उठाएका थिए।

नेपालले ३.४ ओभरमा विकेट लिने अवसर पाएको थियो।

चौध रन बनाएका जुवैदीले प्रहार गरेको बल कप्तान रोहित पौडेलले लङ-अफमा समात्ने प्रयास गरेको भए पनि फुत्किएको थियो।

सोमपाल कामी

तस्बिर स्रोत, BBC

तर ५.५ ओभरमा अविनाश बोहराले उनको विकेट लिन सफल भए। लङ-अफमा कुशल मल्लले उनको क्याच लिएका थिए। सोह्र बल खेलेका उनले २४ रन बनाएका थिए।

तर अर्का ओपनर शैयद अजिजले भने उत्कृष्ट इनिङ्स खेले। उनी १४.४ ओभर मैदानमा जमेका थिए। त्यस क्रममा उनले ४९ बलमा ६८ रन बनाए।

आठ चौका र दुई छक्का प्रहार गरेका शैयदलाई गुलशन झाले कुशल भुर्तेलबाट उनलाई क्याच गराएका थिए। शैयदबाहेक अन्य ब्याटरहरूलाई भने नेपाली बलरहरुले टिक्न दिएनन्।

सातौँ ओभरको अन्तिम बलमा नेपालले दोस्रो विकेट हात पार्‍यो।

कप्तान अहमद फैज (३ रन) दोस्रो रन लिने प्रयासमा रन-आउट हुन पुगे। करण केसी र आसिफ शेखले फुर्तिलो फील्डिङ गरेका थिए। 

ईपीएलको अनुभव पाएका मलेशियाका अनुभवी ब्याटर बिरन्दीप सिंह (४ रन) लाई सन्दीप लामिछानेले एलबीडब्ल्यू धरापमा पारेका थिए।

दीपेन्द्र सिंह ऐरीको अनुपस्थितिमा अफ-स्पिन बलिङ गर्न आएका कप्तान रोहित पौडेलले सर्भिन मुनियान्डीलाई कट-एन्ड-बोल्ड गरेका थिए।

मोहम्मद अमिरलाई अविनाश बोहराले बोल्ड गरे। 

पछिल्लो क्रमका ब्याटरहरू भने बोहोराको सिकार बनेका थिए। बोहराले कुल चार विकेट लिए।

आक्रामक नेपाली ब्याटिङ

नेपाली खेलाडीहरूले आफ्नो आक्रामक ब्याटिङ प्रदर्शनलाई फेरि सुन्दर ढङ्गले पस्किए।

फर्ममा रहेका कुशल भुर्तेलले त्यसको झल्को दिए। उनले २५ बलमा ४३ रन बनाए। त्यस क्रममा उनले चार चौका र चार छक्का प्रहार गरे।

आशिफ शेखसँग उनले पहिलो विकेटको लागि ४९ रनको साझेदारी गरे।

आशिफ शेख भने कट-एन्ड-बोल्डको सिकार बने। तेइस बलमा ३२ रन बनाएका उनी ११.४ ओभरमा आउट हुँदा टोलीको स्कोर ११६ पुगिसकेको थियो।

खेल नेपालको पक्षमा सहज देखिएको थियो।

कुशल भुर्तेल र कुशल मल्ल चम्किए

कुशल भुर्तेलपछि मैदानमा छाएका युवा कुशल मल्लले छक्काको वर्षा गर्दै कीर्तिपुर मैदानमा नेपाली दर्शकलाई रोमाञ्चित बनाइदिएका थिए।

उनले २६ बलमा अर्धशतक पूरा गरे। त्यस क्रममा उनले छ छ्क्का र एक चौका प्रहार गरे।

कीर्तिपुरमा नायक बनेका कुशल भुर्तेलले ३४ बलमा ६५ रन बनाए। उनले कुल सात छक्का र दुई चौका प्रहार गरेका थिए।

खेल जित्न १० रन बाँकी छँदा उनी आमिरबाट कट-एन्ड-बोल्ड हुन पुगेका थिए।

सन्दीप जोरा र विवेक यादवले लक्ष्य पूरा गर्ने काम गरेका हुन्। सन्दीप जोराले १८ र विवेक यादवले अविजित रही दुई रन जोडे।

कप्तान रोहित पौडेल भने दुई रनमा आउट भएका थिए।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।