यूएईलाई त्रिकोणात्मक क्रिकेट शृङ्खलाको उपाधि

- Author, निरञ्जन राजवंशी
- Role, काठमाण्डू
पछिल्लो समय यूएईविरुद्ध एकतर्फी जित हात पार्दै आएको नेपालले शुक्रवार त्रिकोणात्मक टी-२० आई शृङ्खलाको फाइनलमा उक्त खाडी देशसँग पराजय भोगेको छ।
हङकङसमेत सहभागी शृङ्खलाको लीगका सबै चार खेल जितेको नेपालले कीर्तिपुर क्रिकेट मैदानमा खेलिएको फाइनलमा भने यूएईलाई पन्छाउन सकेन।
नेपाल चार विकेटले पराजित भयो।
यूएईले टस जितेर नेपाललाई ब्याटिङ गर्न पठाएर १६२ रनमा समेट्यो।
जबाफमा यूएईले एक बल बाँकी छँदै छक्का प्रहार गरेर १६७ रन बनाउँदै जित हासिल गरेको थियो।
रोचक अन्तिम दुई ओभर
अन्तिम दुई ओभरमा यूएईलाई जितका लागि १४ रनको आवश्यकता थियो र टोलीसँग पाँच खेलाडी बाँकी थिए।
जितका लागि सहज मानिएको त्यो अवस्थामा 'डेथ बल स्पेशलिस्ट' का रूपमा परिचित अविनाश बोहोराले कमान्ड सम्हाले।
र १८ ओभरको चौथो बलमा अलि नासिरलाई बोल्ड गर्दै खेललाई रोचक मोडमा पुर्याए।
तर ओभरको अन्तिम बलमा उनलाई आयान अब्जल खानले चौका प्रहार गरिदिएपछि नेपाल फेरि अप्ठेरोमा पुग्यो।
अब अन्तिम छ बलमा यूएईलाई जितको लागि सात रन चाहिएको थियो भने नेपाललाई विकेट आवश्यक थियो।
त्यतिखेर बलिङका लागि करण केसी आए।

तस्बिर स्रोत, CAN
उनले पहिलो बलमा दुई रन, दोस्रो रन डट र तेस्रो बलमा एक रन दिए। तर चौथो बलमा वाइड र एक रन दिन पुगे।
त्यसपछि खेल जित्न यूएईलाई दुई बलमा दुई रनको आवश्यकता पर्यो।
त्यस्तो दबाबपूर्ण स्थितिमा पाँचौ बलमा बसिल हमिदले छक्का प्रहार गरेपछि नेपाल पराजित हुन पुगेको थियो।
पूरा खेललाई मूल्याङ्कन गर्दा 'मिस फिल्ड'का केही दृश्यहरू, नेपालले ब्याटिङमा गरेको सङ्घर्ष, यूएईका बलरहरूले दिएको चुनौती तर सदाझैँ दर्शकहरूको उच्च हौसलाकाबीच नेपालले त्रिकोणात्मक श्रृङ्खला गुमाएको छ।
र, यो पराजयले टी-२० विश्वकपको मुखमा खेलिएको खेलमा नेपालले महत्त्वपूर्ण शिक्षा प्राप्त गरेको विश्लेषण भइरहेको छ।
प्रशिक्षक मोन्टी देशाईको आगमनपछि नेपालले कीर्तिपुरमा हारेको यो पहिलो शृङ्खलासमेत बनेको छ।
यूएईको पुनरागमन

नेपाल र यूएईबीच खेलिएको आठ वटा टी-२० शृङ्खलामा शुक्रवारको हारसँगै दुबैको चार जित र चार हारको स्थिति बनेको छ।
गत आइसिसी विश्वकप लीग-२ देखि लगातार नेपालसँग पराजित हुँदै आएको यूएईले कीर्तिपुर मैदानमै नेपाललाई पराजित गरेर सुखद बदला लिएको छ।
दोस्रो ब्याटिङ गर्न आएको यूएईले पहिलो बलमा नै करण केसीको बलमा छक्का प्रहार गर्दै आफ्नो मनसाय व्यक्त गरिसकेको थियो।
दिउँसोको मौसममा कीर्तिपुरमा ब्याटिङ गर्न सहज हुने अनुमान गरिएझैँ यूएईका खेलाडीहरूले राम्रो सुरुआत गरे।
सुरुवाती ब्याटर मोहम्मद वसिम र अर्यान्स शर्माले सात ओभरमा ७१ रनको साझेदारी जितको आधार तय गरिदिएका थिए।
हुन त यस क्रममा वसिम दुई पटक मुस्किलले आउट हुनबाट जोगिन सकेका थिए।
सातौँ ओभरमा नेपालका गुलशन झाले पहिलो विकेट लिए भने २२ बलमा ४५ रन बनाएका वसिमलाई उनले बोल्ड गरिदिए।
त्यसपछि कुशल मल्लले अर्का ओपनर आर्यान्स शर्मा (२५ रन) लाई आउट गरेका थिए।
उता २६ रन बनाएर खेलिरहेको अवस्थामा वृत्य अरविन्द रन आउट भएपछि खेल रोचक मोडमा पुगेको थियो।
साथै १५.४ ओभरमा दीपेन्द्र सिंह ऐरीले अरविन्दलाई आउट गरेपछि खेल नेपालको पक्षमा ढल्किन सक्ने अवस्था देखिन्थ्यो।
तर अन्तिममा बसिल हमिद नायक बनेपछि यूएईले खेल जित्यो।
जितका लागि एक बल अगाडि करण केसीलाई छक्का प्रहार गरेका बसिल १६ बलमा २२ रन बनाएर अविजित रहेका थिए।
नेपाललाई ब्याटिङमा सङ्घर्ष

लीगका चार वटै खेलमा रन बनाउन नसकेका ओपनर कुशल भुर्तेलको फाइनलमा कमब्याक भयो।
टी-२० विश्वकप क्वालिफायरअगाडि नेपालका लागि यो खुसीको खबर थियो।
५० रनको अर्धशतकिय पारी खेलेका कुशलको यो छैटौँ टी-२० आई अर्धशतक हो।
यद्यपि उनी दुई पटक मुस्किलले बच्न सफल भए।
एक पटक दोस्रो ओभरमा पाँच रन साथ हुँदा र दोस्रो पटक २४ रन बनाएका बेला उनी जोगिएका थिए।
कुशलबाहेक अन्य नेपाली ब्याटरहरूले भने रनको लागि सङ्घर्ष गर्नुपर्यो।
पछिल्लो समय ब्याटिङमा निकै प्रगति गरिरहेका खेलाडीहरूले लामो समयपछि ब्याटिङमा सङ्घर्ष गरेको देखिएको थियो।
नेपालका पाँच प्रमुख खेलाडीहरू बोल्ड हुन पुगेका थिए।
त्यसमध्ये यूएईका आयान अब्जल खानले तीन नेपालीलाई बोल्ड गरेका थिए।
आशिफ शेख (७ रन), कुशल मल्ल (१ रन) र सोमपाल कामी (१३ रन) आयानको बलमा आउट भएका थिए।

आशिफ र कुशल सातौँ ओभरमा पभिल्यन फर्केपछि अर्धशतक बनाएका कुशल भुर्तेल पनि अर्को ओभरमा आउट भए।
त्यसपछि खेल सम्हाल्न आएका कप्तान रोहित पौडेल ( १७ रन) र दीपेन्द्र सिंह ऐरी (२० रन) ले पनि टिकाउ इनिङ्स खेल्न सकेनन्।
त्यसपछि यूएई खेलमा हाबी भएको थियो।
नेपालले पहिलो १० ओभरमा ९५ रन जोडेको थियो भने त्यसपछि १० ओभरमा ६७ रन मात्र जोड्न सक्यो।
सन्दीप जोरा १० रनमा, सोमपाल कामी १३ रन तथा गुलशन झाले पाँच रन मात्र बनाए।
करण केसीले अविजित २५ रन बनाए। अन्तिम ओभरमा आक्रमक प्रयास गरेका करणले पाँच डट बल खेलेका थिए।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








