टाइटन पनडुब्बीमा 'अन्तःस्फोटन', कारण पत्ता लगाउन अनुसन्धान सुरु

टाइटनको लन्चिङ प्याड

तस्बिर स्रोत, PA

अमेरिकी अधिकारीहरूले उत्तर आन्ध्र महासागरमा भेटिएका भग्नावशेषका आधारमा ‘ओशनगेट टाइटन’ पनडुब्बीमा ‘विनाशकारी अन्तःस्फोटन’ भएको सङ्केत देखिएको बताएका छन्। उक्त पनडुब्बी समुद्रको पीँधतर्फ टाइटानिक पानीजहाजको भग्नावशेष भएको ठाउँमा पर्यटकहरू लिएर गएको थियो।

यूएस कोस्ट गार्डले यो दुर्घटनाको कारण पत्ता लगाउन औपचारिक अनुसन्धान सुरु भएको बताएको छ।

मुख्य अनुसन्धानकर्ता क्याप्टेन जेसन नोयबाउअरका अनुसार उक्त पनडुब्बीको भग्नावशेष सङ्कलन गर्नु अनुसन्धानको प्राथमिकता भएको बताएका छन्। उनले मानव अवशेष भेटिए विशेष सावधानी अपनाइने बताए।

सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले अनुसन्धानबाट कस्तो अभियोग लगाउने भन्ने निर्क्योल हुनसक्छ।

उनका अनुसार अमेरिका, क्यानडा, यूके र फ्रान्सका निकायहरूले संयुक्त रूपमा अनुसन्धान गर्ने छन्।

उक्त दुर्घटनापछि त्यसमा सवार पाँच जनाको तत्कालै मृत्यु भएको अधिकारीहरूले बताएका थिए।

टाइटन पनडुब्बी

अमेरिकी अधिकारीहरूले गत जुन १८ उक्त पनडुब्बी सम्पर्कविहीन भएको केही क्षणमै "पड्किएको आवाज" पहिचान भएको बताएका छन्।

समुद्रको बाहिरी सतहभन्दा ३,८०० मिटर गहिराइमा रहेको टाइटानिक पानीजहाजको भग्नावशेषतर्फ गइरहेको समुद्रको अधिक गहिराइसम्म पुग्न सक्ने जहाज हराएको कुरा क्यानडाको न्यूफाउन्डल्यान्ड टापु क्षेत्रमा लामो खोजी गरिएपछि मात्रै पुष्टि भएको थियो।

अहिलेसम्म उक्त पनडुब्बीका पाँचवटा मुख्य भाग फेला परेका छन्।

अन्तःस्फोटन के हो?

अन्तःस्फोटनको अर्थ अचानक टुक्राटुक्रा हुनु हो।

पानीको अत्यन्तै ठूलो चापका कारण यस्तो भएको हुनसक्ने बीबीसीका विज्ञान संवाददाता पल्लब घोष बताउँछन्।

अन्तःस्फोटन एक प्रकारको विस्फोटनजस्तै हो।

विस्फोटन हुने वस्तुको भित्रबाट बाहिर बल आउँछ तर अन्त:स्फोटनमा त्यसो हुँदैन।

सम्पर्कविहीन हुँदा उक्त पनडुब्बी समुद्र सतहबाट ३,५०० गहिराइमा रहेको ठानिएको छ।

कुनै पनडुब्बीको 'हल' अर्थात् मुख्य भाग भत्किँदा त्यो २,४१४ किमि प्रतिघण्टा अर्थात् ६७१ मिटर प्रतिसेकन्डको वेगमा भित्र धसिने परमाणु पनडुब्बीसँग परिचित भूतपूर्व अमेरिकी सैन्य अधिकारी डेभ कोर्लीले बताए।

पूरै भत्किन एक सेकन्डको १,००० अंश जति मात्रै समय लाग्छ।

भिक्टर ६००० आरओभी

कसरी भयो दुर्घटना?

टाइटन पनडुब्बी

पानीको अत्यन्तै ठूलो चापले पनडुब्बीको बाहिरी भाग भत्किएको ठानिएको छ। समुद्रको यो गहिराइमा पानीको चाप आइफल टावरको जत्तिकै वा १०,००० टन बराबर हुने घोष बताउँछन्।

अमेरिकी जलसेनाका प्रवक्ताले टाइटन पनडुब्बी सञ्चालकसँग उक्त पनडुब्बीको सम्पर्क टुटेलगत्तै “अन्तःस्फोटनको जस्तै” आवाज सुनिएको बताएका छन्।

यस्तो पनडुब्बीभित्र रहने मानिसहरूलाई जहाजभित्रको चाप व्यवस्थापन गरेर सुरक्षित राखिन्छ। तर यस्तो जहाजको आवरण वा संरचनामा कुनै टुटफुट भयो भने बाहिरको ठूलो चापले यसलाई थप दबाव पुग्छ।

डेभ कोर्लीका अनुसार यसको आवरण भत्किएर ६७१ मिटर प्रतिसेकन्डका दरले भित्रतिर दबिएको थियो।

प्रारम्भिक अन्तःस्फोटनपछि भित्रको हावा तीव्र गतिमा बाहिर आउँदा त्यसमा विस्फोटन भएको हुनसक्ने ठानिएको छ।

त्यस्तो अवस्थामा मानिसको शरीर जल्छ र तत्कालै खरानी र धूलोपीठो बन्छ।

यो दुर्घटनापछि धेरैले पानीमुनिको गहिराइमा जहाजमा अन्तःस्फोटन भएपछि हुने असर देखाउने भिडिओहरू सामाजिक सञ्जालमा हेरिरहेका छन्।

टाइटन पनडुब्बी

तस्बिर स्रोत, PA Media

टाइटनमा के कारणले अन्तःस्फोटन भएको हुनसक्छ?

न्यूफाउन्डल्यान्डबाट पर्यटकहरू ओसार्न प्रयोग गरिने पोलार प्रिन्स जहाज

तस्बिर स्रोत, PA Media / Action Aviation

तस्बिरको क्याप्शन, न्यूफाउन्डल्यान्डबाट पर्यटकहरू ओसार्न प्रयोग गरिने पोलार प्रिन्स जहाज

ब्रिटिश जलसेनामा पनडुब्बीका पूर्वक्याप्टेन रायन राम्सेले दुईमध्ये एउटा कारणले अन्तःस्फोटन भएको हुनसक्ने पीए समाचारसंस्थालाई बताएका छन्।

समुद्रको गहिराइमा “आधा पुगेपछि पानीको ठूलो चापका कारण” १७ वटा बोल्ट प्रयोग गरेर बन्द गरिएको यात्रुहरू प्रवेश गर्ने प्वाल भत्किएको हुनसक्ने उनको अनुमान छ।

"अर्को सम्भावना भनेको जहाजमा त्यसअघि नै कुनै खराबी हुनुपर्छ र त्यसले पनि आवरण भत्किएको हुनसक्छ," उनी भन्छन्।

“यसको एउटै मात्र सकारात्मक पाटो के हो भने जे भयो त्यो एकदमै छिटो भयो र उनीहरूले केही पनि थाहै पाएनन्,” यात्रुहरूबारे उनले भने।

टाइटन पनडुब्बीमा के भएको थियो भन्ने कसरी थाहा होला?

कार्बन फाइबरबाट बनेको टाइटनलाई केन्द्रमा राखेर अनुसन्धानहरू हुने सम्भावना छ।

यस प्रकारका 'सब्मर्सबलहरू' टाइटेनिअमजस्ता बलियो धातुबाट बनेका हुन्छन्।

जहाजको सबै भागमा पानीको चाप थेग्नका लागि यिनीहरू गोलो आकारमा बनेका हुन्छन्। तर धेरै यात्रु अटाउनका लागि टाइटन पनडुब्बी चाहिँ बेलनाकारमा बनाइएको थियो।

यो टिटेनिअमको सट्टा कार्बन फाइबरबाट बनेको थियो र यसमा दुईपट्टि टिटेनिअमको बिर्को राखिएको थियो।

कार्बन फाइबर पनि धेरै नै बलियो हुन्छ। हवाईजहाजका पखेटा र रेसिङ कार बनाउन कार्बन फाइबर प्रयोग गरिन्छ।

तर पानीमुनि जाँदै गर्दा टाइटन पनडुब्बीले समुद्री सतहमा हुने वायुमण्डलीय चापभन्दा ३०० गुना बढी चाप सामना गरिरहेको थियो।

रेड लाइन
रेड लाइन

के गहिराइको पानीको चाप थेग्न नसकेका कारण उक्त पनडुब्बीमा प्रयोग गरिएका सामग्रीमा कमजोरी देखिएको हो?

अथवा पटकपटक पानीमुनि जाने क्रममा चापका कारण प्रयोग भएका सामग्री कमजोर हुँदै गएका थिए?

टाइटन भग्नावशेषका तस्बिरहरू लिएर र ती तस्बिरहरू फरेन्सिक प्रयोगशालामा राखेर विज्ञहरूले उक्त सब्मर्सबलको कुन चाहिँ भाग चापका कारण दबिएको थियो भन्ने पहिचान गर्न सक्छन्।

अनुसन्धानकर्ताहरूले कार्बन फाइबरका टुक्राहरू बाहिर ल्याएर तिनको विश्लेषण गर्न सक्छन्। हरेक टुक्रालाई एकदमै नजिकबाट र गहन रूपमा नियालेर कार्बन फाइबर कुन दिशातर्फ च्यातिएको छ भन्ने अध्ययन हुन सक्छ।

टाइटानिकको भग्नावशेष चाहिँ न्यूफाउन्डल्यान्डको समुद्री तटबाट झन्डै ६०० किलोमिटर टाढा छ।

रिमोटबाट सञ्चालन हुने आरओभीहरूले समुद्रको पीँधमा खोज्ने क्रममा भग्नावशेषहरूको दुई भाग भेटेका थिए। एउटा पुच्छरपट्टिको 'टेल कोन' र अर्को अवतरणका लागि उपयोगी 'ल्यान्डिङ फ्रेम'।

यसले के देखाउँछ भने पनडुब्बी टुक्रिएपछि ती भाग छुट्टिएका हुन्।

टाइटानिक रहेको ठाउँ

यसअघि कस्ता प्रश्न उठेका थिए?

लस एन्जलसस्थित मानिसहरूलाई पानीमुनि पठाउने 'म्यान्ड अन्डरवाटर भिअकल कमिटी'का प्रमुख विलियम कोननले टाइटन पनडुब्बीको नियमनको आलोचना गरेका छन्।

कोननले टाइटनका सञ्चालकहरूलाई पत्र लेखेर यसको सुरक्षाबारे चिन्ता व्यक्त गरेका थिए।

उनले यो विपत्ति रोक्न सकिने बीबीसीसँग बताए।

उनका अनुसार सन् १९६० यता पानीमुनि सञ्चालन हुने सब्मर्सबलसँग सम्बन्धित कुनै पनि दुर्घटना भएको थिएन।

तर ओशनगेटले अन्तर्राष्ट्रिय जलक्षेत्रमा टाइटनलाई सञ्चालन गरेर राष्ट्रिय नियमहरू उल्लङ्घन गरेको थियो।

"प्रमाणीकरणबिना पर्यटकहरू बोकेर यस प्रकारका पनडुब्बीलाई अमेरिकी, ब्रिटिश वा क्यानडेली जलक्षेत्रमा सञ्चालन गर्न दिनै हुँदैनथ्यो," उनी भन्छन्।