टाइटन सब र ग्रीसमा डुङ्गा दुर्घटनाले मानिसको जीवनको मूल्यबारे उठाएको बहस

प्रे फर टाइटन

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, टाइटन सबमा ज्यान गुमाएका पाँच जना झल्कनेगरी बनाइएको कलाकृति

संसारभर अर्बौँ मानिसले पाँच जना सवार एक बेपत्ता पनडुब्बीको खोज तथा उद्धार मिशनको समाचारलाई निरन्तर पछ्याएका थिए।

आइतबारयता बेपत्ता भएको उक्त पनडुब्बीमा "अन्तःस्फोटन" भएको र त्यसमा सवार पाँचै जनाको मृत्यु भएको बिहीवार पुष्टि गरिएको थियो।

चर्चित टाइटानिक पानीजहाजको भग्नावशेष अवलोकन गर्न जाने क्रममा उक्त दुर्घटना भएको हो।

टाइटन पनडुब्बीमा चढ्नका लागि २,५०,००० अमेरिकी डलर तिरेका यात्रुहरूको तस्बिर यतिखेर संसारभर सेअर गरिएको छ।

लाइन
लाइन

अमेरिकी कोस्ट गार्डबाट आउने हरेक जानकारी मानिसहरूले पाएका छन्, अनलाइनहरूले लाइभ पेज सञ्चालन गर्दा त्यसमा उच्च सङ्ख्यामा मानिसहरूको ध्यान पुगेको छ।

ओसनगेट कम्पनीले सञ्चालन गर्ने उक्त सानो जलवाहन कस्तो देखिन्छ भन्ने त्यसअघिका अन्तर्वार्ताहरू समेत अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा छाएका थिए।

तर किन "समुद्रका अन्य बेपत्ता"को तुलनामा यी कथा मानिसहरूका लागि चाखलाग्दा ठानिए?

इस्लामावादस्थित बीबीसी उर्दूकी संवाददाता सहेर बलोचले यी विषयमा पाकिस्तानका सामाजिक सञ्जालमा चलेका चर्चालाई नियालेकी छन्।

Thin line

उक्त पनडुब्बी हराएको खबर आउन थालेपछि पाकिस्तानमा सामाजिक सञ्जालहरूमा मानिसहरू मौन रहन सकेनन्।

उनीहरूले समुद्र नै जोडिएको अर्को समाचारसँग त्यसलाई तुलना गर्दै तिनलाई दिइएका प्राथमिकता र तिनमा समेटिएका विषयवस्तुको तुलना गर्न थाले।

तुलना गर्न लागिएको अर्को घटना १४ जुनको हो। अन्दाजी ७ सय मानिसहरू सवार एक माछा मार्ने डुङ्गा दक्षिण ग्रीसमा पल्टिएको थियो।

उक्त घटना युरोपको सबैभन्दा खराबमध्येको आप्रवासी विपद् हो।

त्यसमा बच्न सफल भएकाहरूले बताए अनुसार त्यसमा १०० जना जति बालबालिका थिए र कम्तीमा ७८ जनाको मृत्युको पुष्टि भएको छ।

तर सयौँ मानिसहरू अझै हराइरहेका छन्।

ग्रीसको कोस्टगार्डको दाबी अनुसार उक्त डुङ्गा इटली जाने क्रममा थियो र त्यसलाई उद्धार आवश्यक थिएन।

तर त्यस घटनाको यस पक्षबारे सन्देह उत्पन्न गर्ने प्रमाण बीबीसीले फेला पारेको छ।

त्यस क्षेत्रमा रहेका अन्य पानीजहाजहरूको आउजाउलाई विश्लेषण गर्दा त्यो डुङ्गा पल्टनुअघि कम्तीमा सात घण्टा पानीमा अडिएर रहेको थियो।

ग्रीक अधिकारीहरूले बीबीसीको उक्त विवरणका विषयमा अहिलेसम्म प्रतिक्रिया जनाएका छैनन्।

पल्टनुअघिको अवस्था देखिने भिडभाडयुक्त डुङ्गाको तस्बिर ग्रीक कोस्ट गार्डले सार्वजनिक गरेको छ

तस्बिर स्रोत, Hellenic Coast Guard

तस्बिरको क्याप्शन, पल्टनुअघिको अवस्था देखिने भिडभाडयुक्त डुङ्गाको तस्बिर ग्रीक कोस्ट गार्डले सार्वजनिक गरेको छ

एक विज्ञप्तिमार्फत् पाकिस्तानको सिनेटका अध्यक्षले उक्त डुङ्गा डुब्दा ३०० पाकिस्तानी नागरिकको मृत्यु भएको जनाएपछि उक्त विषय देशमा ठूलो चर्चाको विषय बनेको छ।

अर्कोतर्फ, पाँच जना सवार पनडुब्बी समुद्रमुनि झरेपछिको १ घण्टा ४५ मिनेटमै सम्पर्कविहीन भएको थियो।

अमेरिकी कोस्ट गार्डका अनुसार उनीहरूले उक्त पनडुब्बीको समस्याका बारेमा आठ घण्टा ढिलो जानकारी पाएका थिए।

र लगत्तै अमेरिकी अधिकारीहरू मात्र नभई क्यानडा र फ्रान्सका उद्धारकर्ताहरू खोज अभियानमा जुटे।

सामान्यतः टाइटन सब ४ दिनलाई पुग्ने आपत्कालीन अक्सिजनसाथ समुद्रमुनि जाने गर्छ। 

त्यसका भग्नावशेष फेला पर्दासम्म अक्सिजनको उक्त मात्रा सकिसकेको थियो।

हराइरहेको पनडुब्बी खोज्न थप प्रयासहरू भइरहँदा समाजिक सञ्जालमा ती दुवै दुर्घटनाबारे टिप्पणी र विचार व्यापक रूपमा आइरहेका थिए। तीमध्ये धेरैजसो ती दुई घटनामा गरिएका व्यवहारबारे केन्द्रित थिए।

लाइन
लाइन

पाकिस्तानको मानव अधिकार आयोगकी निर्देशक फराह जियाको विचारमा पनडुब्बीले समाचारहरूमा धेरै चर्चा पाउनु स्वाभाविक हो।

उनले बीबीसीसँग भनिन्: "संसारभर जब धनीहरूलाई विपद् पर्छ तब त्यसले धेरै महत्त्व पाउँछ किनभने मानिसहरूको उनीहरूको जीवनमा रुचि हुन्छ। त्यसैले स्वाभाविक रूपमा सञ्चारमाध्यमले समेत त्यसलाई समेट्छन्।"

तर उनका विचारमा यस बहसले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका लागि "त्यसको समीक्षा गर्दै विविधतापूर्ण मतलाई हेर्ने" उचित अवसर दिएको छ।

अन्य विश्लेषकहरू ती दुई दुर्घटनालाई लिएर गरिएका टिप्पणीप्रति थप आलोचनात्मक देखिएका थिए।

एक ट्विटर प्रयोगकर्ता मर्यमले लेखे अनुसार "अन्तर्राष्ट्रिय उद्धार अपरेसनहरू र पनडुब्बीमा रहेका धनी पर्यटकका समाचार र पल्टिएको डुङ्गामा रहेका गरिबीले पिल्सिएका आप्रवासीहरूले नपाएको पर्याप्त चासोले हामीलाई हामी बाँचिरहेको संसारबारे सब थोक बताउँछ।"

तर टिप्पणीकार तथा पत्रकार जरर खुरोले भने अर्कै सोच्छन्।

उनी भन्छन्: "मलाई लाग्छ कुनै पनि दु:खद् घटनापछि तपाईँले एकै साथ मानवताले प्रस्तुत गर्ने सबैभन्दा राम्रो र सबैभन्दा नराम्रो देख्नुहुनेछ।"

ग्रीसको तटबाहिर पल्टिएको आप्रवासी डुङ्गाबारे उनी भन्छन्: "त्यस अवस्थामा हामी ग्रीक तट रक्षकको निन्दनीय व्यवहार देख्छौँ। तर हामीले एथेन्सको सडकमा हजारौँ मानिसहरूलाई विरोध गरिरहेको समेत देख्छौँ। सायद पहिलो पटक हामीले आप्रवासीले ज्यान गुमाउनु परेको अवस्थाको निन्दा गर्नको लागि यति ठूलो प्रदर्शन भएको देख्यौँ।"

एक अर्को विवरण अनुसार भूमध्यसागरमा एक "सुपर याट"ले समेत समस्याको सङ्केत पाएर सहयोगका लागि गएको थियो।

सामाजिक सञ्जाल

जरर भन्छन्: "सोसल मिडियाले मानिसलाई उग्र रूपमा प्रस्तुत हुने क्षमता प्रदान गर्छ। उनीहरूले कुनै समस्याबिच जे पनि भन्न सकिने ठान्छन्।"

सुलेमन दाउद, १९ र उनका बुवा शहजादा दाउद दुर्घटनाग्रस्त टाइटन सबमा थिए

तस्बिर स्रोत, Dawood family

तस्बिरको क्याप्शन, सुलेमन दाउद, १९ र उनका बुवा शहजादा दाउद दुर्घटनाग्रस्त टाइटन सबमा थिए
Thin line

सोसल मिडिया मञ्चहरूमा यतिखेर यी कसरी "स्पष्ट वर्ग विभाजन" हुन् भनेर बहसहरू चलिरहेका छन् तर संवादहरू घुमिफिर मानव जीवनसँगै जोडिन्छन्।

एक जना टिप्पणीकारले ट्विटरमा लेखेका छन्: "उस्तै खाले दु:खद् घटना भइकन पनि कठोर अन्तर।"

जरर भन्छन्: "यस्तो लाग्छ सामाजिक सञ्जालमा मानिसहरूले पनडुब्बीमा रहेको एक १९ वर्षीय बालकको लागि पीडादायी मृत्युको कामना गरिरहेका छन्। किन? उनका बुवा धनी भइदिएर? ती मानिसहरूले समग्रमै पनि एक प्रतिशत त्यस्ता मानिसलाई सहयोग गर्न सक्दैनन् जसलाई दाउद परिवारले पुस्तौँदेखि गर्दै आएको छ।"

अन्त्यमा उनले यो आदर्श विश्व नभएको बताउँछन्।

"उदाहरणका लागि फ्रान्समा नोट्र-डाममा आगलाली हुँदा त्यसको पुनर्निर्माणका लागि संसारभरबाट सहयोग जुटेको थियो। के विकासोन्मुख देशमा प्राकृतिक विपद् हुँदा त्यही हुन्छ? हुँदैन? के त्यसले नराम्रो महसुस गराउँछ? अवश्य। के त्यो फेरिने वाला छ? छैन।"