टाइटन पनडुब्बी सुरक्षित नभएको भन्दै पहिल्यै उठेको थियो प्रश्न

ओशनगेटले उपलब्ध गराएको टाइटन पनडुब्बीको तस्बिर

तस्बिर स्रोत, PA

तस्बिरको क्याप्शन, ओशनगेटले उपलब्ध गराएको टाइटन पनडुब्बीको तस्बिर
    • Author, रेबेका मोरल र जेक हर्टन
    • Role, बीबीसी न्यूज

उत्तरी आन्ध्र महासागरमा अहिले हराइरहेको टाइटन पनडुब्बी सञ्चालन गर्ने कम्पनी ओशनगेटका एक कर्मचारीले सन् २०१८ मै उक्त 'सबमर्सबल'मा उत्पन्न हुनसक्ने सम्भावित सुरक्षा खतराबारे चेतावनी दिएको पाइएको छ।

संयुक्त राज्य अमेरिकाको अदालतमा पेस भएका कागजपत्रमा कम्पनीका मरीन अपरेशन निर्देशक डेभिड लाक्रिजले उक्त पनडुब्बीको परीक्षणपछि तयार पारेको प्रतिवेदनमा चिन्ता व्यक्त गरेका थिए भन्ने देखिन्छ।

उक्त प्रतिवेदनमा "गम्भीर सुरक्षा चिन्ता उत्पन्न गराउने धेरै कुराको पहिचान गरिएको" थियो।

त्यसमा टाइटन पनडुब्बीको 'हल' अर्थात् मुख्यभागको परीक्षण गरिएको तरिकामाथि प्रश्न उठाइएको थियो।

उक्त पनडुब्बी समुद्रमा निकै तल पुग्ने भएकाले लाक्रिजले "टाइटनका यात्रुलाई हुनसक्ने खतराहरू" औँल्याएका थिए।

टाइटन पनडुब्बी

तस्बिर स्रोत, Reuters

तर प्रश्न गरेपछि जागिरबाट हटाइयो

ती दस्तावेजका अनुसार उनको चेतावनीलाई बेवास्ता गरियो। ओशनगेटका सञ्चालकहरूले बैठक बोलाए अनि उनलाई जागिरबाट बर्खास्त गरियो।

कम्पनीले गोप्य जानकारी चुहाएको भन्दै उनलाई मुद्दा हाल्यो। उनले कम्पनीले अनुचित रूपमा आफूलाई बर्खास्त गरेको भन्दै अदालतमा चुनौती दिए।

उक्त मुद्दामा पछि मिलापत्र भयो।

तर कस्तो सम्झौतामा त्यो टुङ्गियो भन्ने विवरण थाहा हुन सकेको छैन।

बीबीसीले लाक्रिजलाई सम्पर्क गर्ने प्रयास गरे पनि उनले उक्त विषयमा टिप्पणी गर्न चाहेनन्।

टाइटनको खोजी

एमटीएसको पत्र

सन् २०१८ मार्चमा मरीन टेक्नोलजी सोसाइटी (एमटीएस) ले ओशनगेटलाई पठाएको पत्र न्यूयोर्क टाइम्स पत्रिकाले प्राप्त गरेको थियो।

त्यसमा पनि "ओशनगेटद्वारा अपनाइएको वर्तमान 'प्रयोगात्मक' तरिकाले... नकारात्मक परिणाम (सानोतिनोदेखि विनाशकारीसम्म) निम्त्याउन सक्छ " भनिएको थियो।

ओशनगेटका एक प्रवक्ताले लाक्रिजले र एमटीएसले उठाएका सुरक्षासम्बन्धी विषयमा टिप्पणी गर्न अस्वीकार गरे।

साङ्केतिक तस्बिर

असामान्य सामग्री र बनोट

'टाइटन सब'लाई कम्पनीले "प्रयोगात्मक" भनेको छ। तर समुद्रको गहिरो भागमा जाने वाहन भए पनि त्यो असामान्य सामग्रीबाट बनेको देखिन्छ।

मानिसहरू बस्ने त्यसको मुख्य भागको निर्माणका लागि 'कार्बन फाइबर' र 'टाइटेनिअम एन्ड प्लेट' प्रयोग गरिएको छ। त्यसको एक छेउमा एउटा सानो झ्याल पनि छ।

"सामान्यतया 'डीप-सी सबमर्सबल' (समुद्रको गहिरो भागमा जाने पनडुब्बी) को आवासीय भागमा मानिसका लागि टिटेनिअमबाट बनाइएको झन्डै दुई मिटर व्यास भएको ठाउँ हुन्छ," यूनिभर्सिटी अफ पोर्टस्मथमा समुद्री जीवविज्ञान प्राध्यापन गर्ने डा. निकोलाई रोटर्मनले भने।

उनका अनुसार गहिरो समुद्रमा उत्पन्न हुने पानीको अथाह दबाव सामना गर्न अति कडा सामग्री चाहिन्छ।

कार्बन फाइबर टाइटेनिअम वा स्टीलभन्दा सस्तो पर्छ र यो अत्यन्त कडा हुन्छ। तर पनि कार्बन फाइबर टाइटनजस्ता गहिरा वाहनमा प्रयोग गर्न पर्याप्त परीक्षण भइसकेको छैन।

टाइटनको आकार पनि असामान्य खालको छ।

गहिरो डुबुल्की मार्ने पनडुब्बीको मुख्य भाग सामान्यतया गोलाकार हुन्छ त्यसले गर्दा प्रत्येक बिन्दुमा समान मात्रामा दबाव प्राप्त हुन्छ। तर टाइटनको मुख्य भाग ट्यूब आकारको छ। त्यसले गर्दा यसमा दबाव समान रूपमा फैलिँदैन।

"अनुसन्धानमा प्रयोग हुनेभन्दा टाइटन एकदमै गहिरोमा जाने पनडुब्बी हो," डा. रोटर्मानले भने।

"यद्यपि मिश्रित सामग्रीयुक्त यो डिजाइनकै कारण संरचनात्मक कमजोरी भएको कि हैन भन्ने निर्धारण इन्जिनियरहरूले गर्ने हो," उनले भने।

रश स्टक्टन
तस्बिरको क्याप्शन, सन् २०२२ मा स्टक्टन रशले बीबीसीलाई टाइटन पनडुब्बीभित्रबाटै अन्तर्वार्ता दिएका थिए

ओशनगेटका प्रमुखले के भनेका थिए

गत वर्ष 'ओशनोग्राफिक' म्यागजीनसँगको एउटा अन्तर्वार्तामा ओशनगेटका प्रमुख कार्यकारी स्टक्टन रशले भनेका थिए, "कार्बन फाइबरलाई याट (जलविहारका लागि प्रयोग गरिने ठूला डुङ्गा) र उड्डयनका लागि प्रयोग हुने जहाजहरूमा सफलतापूर्वक प्रयोग गरिन्छ तर चालकदल भएका पनडुब्बीहरूमा प्रयोग गरिएको छैन।"

अहिले हराइरहेको पनडुब्बीको स्टक्टन रशले चलाएका थिए।

अदालतमा पेस गरिएका कागजपत्रहरूमा लाक्रिजले पनडुब्बीको मुख्य भागको परीक्षण नगरिएको दाबी गरेका छन्।

उनका दाबीमा त्यसलाई अत्यधिक दबावमा राखेर र सम्भावित समस्याहरू खोज्न विश्लेषण गरिएको थिएन।

साङ्केतिक तस्बिर

उनले त्यस्तो पनडुब्बीको सानो मोडलमा गरिएको दबाव परीक्षणमा कार्बन फाइबरमा त्रुटिहरू पत्ता लागेको थियो भनेर पनि दाबी गरेका थिए।

उनले टाइटनको सिसाबाट निर्मित बाहिर हेर्ने झ्यालबारे पनि प्रश्न उठाएका थिए।

उक्त सामग्री बनाउने कम्पनीले १,३०० मिटर तलसम्म मात्र त्यसलाई प्रयोग गर्न सकिनेगरी प्रमाणीकरण गरेको उनको दाबी छ।

ओशनगेटको दाबी

सन् २०१८ डिसेम्बरमा ओशनगेटले एउटा वक्तव्यमा टाइटनले ४,००० मिटर तलसम्मको यात्रा पूरा गरेको दाबी गरेको थियो।

त्यसले "ओशनगेटको नवप्रवर्तित इन्जिनियरिङ र टाइटनको कार्बन फाइबर तथा टाइटेनिअमयुक्त मुख्य भागको निर्माणलाई पूर्ण रूपमा प्रमाणित" गर्ने उसको भनाइ थियो।

सन् २०२० मा 'गीकवायर'सँगको अन्तर्वार्तामा रशले परीक्षणहरू गरिएको र तिनबाट टाइटनको मुख्य भागमा "चक्रीय थकानका सङ्केतहरू" देखा परेको पत्ता लागेको बताएका थिए।

सन् २०२१ को मेमा अदालतमा पेस गरिएका कागजपत्रमा उक्त कम्पनीले टाइटनले बहामासको गहिरो पानीमा र दबाव कक्षमा टाइटानिकको बराबरको गहिराइसहित ५० वटाभन्दा बढी परीक्षणका लागि यात्रा गरेको बताएको थियो।

यो पनडुब्बीको प्रमाणीकरण किन भएको थिएन

अदालतमा पेस भएका कागजपत्रहरूमा लाक्रिजले ओशनगेटलाई पनडुब्बीको निरीक्षण र प्रमाणित गर्न आग्रह गरेको जनाएका छन्।

समुद्र हेर्ने निकायहरुले पनडुब्बीहरूलाई प्रमाणित गर्न वा तनको "वर्ग" छुट्ट्याउन सक्छन्।

उदाहरणका लागि, अमेरिकन ब्यूरो अफ शिपिङ (एबीएस) वा डीएनभी (नर्वेमा रहेको विश्वव्यापी संस्था) वा लन्डनको लोयड्सद्वारा त्यस्तो प्रमाणीकरण हुने गर्छ।

यसको अर्थ हो - पनडुब्बीले स्थिरता, बल, सुरक्षा र कार्यसम्पादन लगायतका पक्षमा निश्चित मापदण्ड पूरा गर्नुपर्छ।

त्यस्तो प्रक्रियामा डिजाइन र निर्माणको समीक्षा, परीक्षण र प्रमाणीकरण परीक्षणहरू समाविष्ट हुन्छन् र एक पटक सेवा सुरु भएपछि पनडुब्बीले निश्चित समयमा ती मापदण्ड पूरा भएका छन् भनेर सुनिश्चित गर्न आवधिक जाँच गर्नु आवश्यक हुन्छ।

तर पनडुब्बीहरूको प्रमाणीकरण अनिवार्य गरिएको छैन।

साङ्केतिक तस्बिर

सन् २०१९ मा प्रकाशित ओशनगेटको एउटा ब्लगका अनुसार टाइटनलाई कहिल्यै पनि प्रमाणित वा वर्गीकृत गरिएको थिएन।

उसले टाइटन डिजाइन गरिएका स्वीकृत प्रणालीभन्दा बाहिर रहेको बताएको थियो। तर त्यसमा भनिएको थियो, "ओशनगेटले मापदण्डहरू पूरा गर्दैन भन्ने होइन।"

उसले त्यसमा थपे लेखेको छ : वर्गीकरण गर्ने निकायहरूले "नवप्रवर्तनलाई विलम्ब गरेका छन्... वास्तविक संसारमा परीक्षणमा राख्नुअघि बाहिरी निकायलाई प्रत्येक नवप्रवर्तनमा संलग्न गराउनु भनेको द्रुत रूपमा गर्न सकिने नवप्रवर्तनका लागि अभिशाप हो।"

सन् २०२२ मा टाइटनमा गएका सीबीएसका एक रिपोर्टरले यात्रा सुरु गर्नुअघि हस्ताक्षर गरेका व्यक्तिहरूलाई उद्धृत गरेर लेखेका थिए, "यो एउटा प्रयोगात्मक पनडुब्बी हो। यसलाई कुनै नियामक निकायले अनुमोदन वा प्रमाणित गरेको छैन। यसमा शारीरिक चोटपटक, भावनात्मक आघात वा मृत्यु हुन सक्छ।"

चार हजार मिटरभन्दा तल डुबुल्की मार्ने कुनै पनि पनडुब्बी ठूलो मात्रामा उत्पादन गरिँदैन।

त्यसैले त्यस्तो गहिराइमा बाँच्नको लागि डिजाइनमा नवीनता आवश्यक पर्छ।

तर त्यसको अर्थ यो वर्गीकरण प्रणालीभन्दा बाहिर पर्छ भन्ने होइन।

उदाहरणका लागि, 'लिमिटिङ फ्याक्टर' नामक पनडुब्बीलाई नै लिन सकिन्छ।

लिमिटिङ फ्याक्टर नामक पनडुब्बीको प्रमाणीकरण भएको छ

तस्बिर स्रोत, TRITON SUBMARINES

तस्बिरको क्याप्शन, लिमिटिङ फ्याक्टर नामक पनडुब्बीको प्रमाणीकरण भएको छ

ट्राइटन सबमरीन्सले डिजाइन गरेको उक्त वाहनले बारम्बार समुद्रका सर्वाधिक गहिरा ठाउँहरूमा यात्रा गरेको छ।

त्यस्ता यात्रामा म्यारीआना ट्रेन्च पनि पर्छ। उक्त क्षेत्र समुद्रमा ११ किलोमिटर तल पर्छ।

यो साँच्चै अनौठो र अत्याधुनिक जहाज हो तर उक्त टोलीले डीएनभी क्लासिङ एजन्सीसँग डिजाइनदेखि निर्माण र परीक्षणसम्म सहकार्य गरेन।

तर 'लिमिटिङ फ्याक्टर'को पूर्ण रूपमा प्रमाणीकरण भएको छ। त्यसले बारम्बार महासागरको निकै गहिराइमा डुबुल्की मार्ने गरेको छ।

थोमस स्पेन्सरद्वारा थप रिपोर्टिङ