मस्कोको मध्य भागमा रहेको भवनमा ड्रोन आक्रमण

रुसको राजधानी मस्कोको मध्य भागस्थित एक निर्माणाधीन भवनमा ड्रोनबाट आक्रमण भएको त्यहाँका मेयरले बताएका छन्।

मेयर सेर्गेइ सोब्यानिनले सामाजिक सञ्जाल टेलिग्राम मार्फत दिएको जानकारी अनुसार हवाई प्रतिरक्षा प्रणालीले अर्को ड्रोन मस्कोको मोजाइस्क इलाकामा खसालिदिएको थियो।

कुनै हताहत भएको खबर भने आएको छैन।

थप विस्फोटनका घटना

रिया समाचार एजेन्सीका अनुसार खिम्की र मितिनो इलाकामा पनि विस्फोटनहरू भएका बारे आपत्कालीन सेवा प्रदायकहरूलाई सूचना गरिएको थियो।

रुसको रक्षा मन्त्रालयले उसले युक्रेनबाट भएका ड्रोन हमलालाई विफल बनाइदिएको बताएको छ।

उसका अनुसार हवाई प्रतिरक्षा प्रणालीले मस्कोतर्फ आइरहेका तीनवटा मानवरहित ड्रोनलाई खसालिदिएको थियो।

दुईवटा ड्रोन मोजाइस्क र खिम्की इलाकामा नष्ट गरिएको तर तेस्रो ड्रोन अनियन्त्रित भइ मस्को सहरको एक व्यापारिक कम्प्लेक्समा रहेको निर्माणाधीन भवनमा ठोक्किन पुगेको उसले बताएको छ।

लगातार दोस्रो रात मस्कोका विमानस्थलहरूमा भित्रने र बाहिरिने उडानहरू अस्थायी स्थगन भएका छन्।

यसै साता युक्रेनी ड्रोन आक्रमणमा परी रुसको लामो दूरीको बमवर्षक विमान नष्ट भएको विवरणहरू सार्वजनिक भएका थिए।

सेन्ट पिटर्सबर्गको दक्षिणमा रहेको सोल्टसी–२ हवाई अखाडामा रहेको टुपोलेभ टीयू–२२ विमानमा आगो लागेको थियो।

साथै रक्षा अधिकारीहरूका अनुसार युक्रेनी सीमाको उत्तर–पूर्वमा रहेको ब्रायन्स्क क्षेत्रमा अन्य दुई वटा ड्रोनलाई रोकिएको थियो।

रुसी अधिकारीहरूले ड्रोन हमलालाई युक्रेनले गराएको आतङ्ककारी कार्य भनेका छन्।

ड्रोन हमलाबारेका विवरणमा टिप्पणी गर्दै अमेरिकी विदेश मन्त्रालयले उसले रुसभित्र ड्रोन आक्रमण गर्न प्रोत्साहन नगरेको जनाएको छ।

रुसी नेताद्वारा ब्रिक्सलाई सम्बोधन

यसबीच रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका सम्मिलित ब्रिक्स समूहको सम्मेलनलाई सम्बोधन गर्दै उक्त समूह विश्वका अधिकांश मानिसहरूको आकाङ्क्षा पूरा गर्ने दिशामा लागिपरेको बताए।

राष्ट्रपति पुटिनले उक्त सम्मेलनलाई भिडिओमार्फत सम्बोधन गरेका थिए। किनभने उनी विरुद्ध युद्ध अपराधका अभियोगमा अन्तर्राष्ट्रिय पक्राउ पुर्जी जारी गरिएको थियो।

युक्रेन युद्धमा बालबालिकालाई जबरजस्ती रुस लगिएका मामिलालाई लिएर पुटिनविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसीसी)ले उक्त पक्राउ पुर्जी जारी गरेको हो।

दक्षिण अफ्रिका आइसीसीको रोम विधानको पक्ष राष्ट्र भएकाले त्यस्तो पुर्जीको कार्यान्वयन गर्नु उसको दायित्व मानिन्छ।

त्यसैले कूटनीतिक जटिलताबाट उम्कन पुटिन सम्मेलनमा भाग लिन नगएको ठानिएको छ।

ब्रिक्स समूहलाई कतिपयले पश्चिमा प्रभावविरुद्धको सङ्गठन पनि भनेका छन्।

तर ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले अमेरिकाले ब्रिक्सलाई प्रतिद्वन्द्वी नठानेको भन्दै त्यो विविध देशहरूको समूह रहेको बताए।

युक्रेनमा पनि आक्रमणका घटनाहरू

युक्रेनको पूर्वी सहर लिमान नजिकै रुसी गोलाबारीमा परी तीन जनाको मृत्यु भएको युक्रेनी अधिकारीहरूले बताएका छन्।

टोर्स्के र जाकिट्ने गाउँमा भएको आक्रमणमा परी दुई जना घाइते भएको बताइएको छ।

मृत्यु भएको भनिएका मध्ये दुई महिला र एक जना पुरुष ६३ देखि ८८ वर्ष उमेर समूहको भएको जनाइएको छ। अधिकारीहरूका अनुसार उनीहरू बसिरहेको अवस्थामा गोलाबारी भएपछि मृत्यु भएको हो।

प्रहार भएको स्थान युद्ध मैदान नजिकै छ र नियमित रूपमा आक्रमणको चपेटामा पर्छ।

रुसको कब्जामा रहेको क्राइमियाको बन्दरगाह सहर सभास्टपोलमा पनि विस्फोट भएको विवरणहरू प्राप्त भएका छन्।

उक्त प्रायद्वीपमा रुसले नियुक्त गरेको गभर्नरले त्यहाँ गोलाबारीको अभ्यास गरिरहेको बताएका छन्।

“टोर्स्केमा तीन जनाको मृत्यु भएको छ भने जाकिट्नेमा एक जना घाइते भएका छन्,” युक्रेनको डोनेट्स्क क्षेत्रका प्रमुख पाभ्लो किरिलेन्कोले टेलिग्राममार्फत भने।

टोर्स्केमा स्थानीय समयअनुसार ६:५० बजे आक्रमण भएको थियो र त्यसको आधा घण्टापछि जाकिट्नेमा आक्रमण भएको डोनेट्स्क क्षेत्रीय अभियोजकको कार्यालयले फेसबुकमार्फत जानकारी दिएको छ।

यसैबीच उत्तर पूर्वी युक्रेनको सुमी क्षेत्रको सेरेडेना-बुडामा दुई वटा ड्रोनबाट चार जना सर्वसाधारण घाइते हुनुका साथै एउटा आवासीय भवनमा क्षति पुगेको क्षेत्रीय सैन्य प्रशासनले फेसबुकमार्फत जनाएको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।